कोरोना विजेताका बयान

writer

सम्पूर्ण

बुधबार, १० बैशाख २०७७


कोरोना भाइरसलाई पराजित गरेका तीन जना विजेताले ‘अन्नपूर्ण सम्पूर्ण’सँग आफ्ना कथा बाँडेका छन्।


‘भाइरसलाई हिम्मतले हराएँ’

राज विक (१९), कैलाली

कामका लागि भारत, मुम्बईमा बस्थेँ। भारत सरकारले जनता कफ्र्यू लगाएपछि घर फर्किने सोच बनाएँ। मुम्बईबाट तीनचार दिन लगाएर चैत १० को मध्यरातमा कैलालीको सीमा क्षेत्र गौरीफन्टा पुगेँ। चैत ११ मा नेपालमा पनि लकडाउन भयो। रातभरि भारतीय सीमामा अलपत्र परेँ। त्यहाँ मबाहेक ९ सय ९८ जना थिए। हामी सबैलाई सीमा नाकामै रोकियो। नेपाल सरकारको विरोधमा नाराबाजी गर्दै एक पटक त प्रहरीलाई नै लखेटेर नेपाल आउने प्रयास गर्‍यौँ। कसैले नजिकै रहेको मोहना नदी तरेर जबर्जस्ती नेपाल आउने प्रयास गरे। कसैले प्रहरीलाई ढुंगामुढा गरे।

पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले हामी सबैलाई दशगजामा जम्मा गर्दै बेलुकीसम्म घर पठाउने भन्यो। चैत ११ को बेलुकी स्कर्टिङ गरेर हामी सबैलाई आ–आफ्नो स्थानीय तहको क्वारेन्टिनमा पठाइयो।

लम्कीचुहा नगरपालिकाको वडा–९ मा रहेको सरस्वती माविको क्वारेन्टिनमा बस्यौँ। नेपाली सेनाको छाउनी अस्पतालको टोलीले हाम्रो थ्रोट स्वाब संकलन गर्‍यो। त्यसमा मेरो रिपोर्ट पोजिटिभ देखियो। चैत २२ मा सेती प्रादेशिक अस्पतालमा ल्याएर मेरो उपचार थालिएको थियो।

मुम्बईबाट फर्किदा थुपै्र बस चढेर आएको थिएँ। कुन ठाउँमा कोरोना सर्‍यो, पत्तै पाइनँ। मुम्बईबाट मास्क लगाएर नै आएको थिएँ। सावधानी अपनाउँदा–अपनाउँदै पनि संक्रमित भएछु। त्यसैले कोबाट, कहाँनिर कोरोना सर्छ पत्तै नहुने रहेछ। मलाई अहिलेसम्म रुघाखोकी पनि लागेको छैन, न ज्वरो नै आएको छ। तर, पनि मलाई संक्रमण भएको रहेछ। यसको लक्षण नदेखिए पनि यो रोग सर्न सक्छ। त्यसैले आफैँ ध्यान दिनुपर्ने रहेछ। सबै मानिसले अलिक बढी चनाखो हुन जरुरी छ।

धन्न, सीमा नाकामा मसँगै रहेको भीडमा संक्रमण सरेनछ। उनीहरूमा संक्रमण नदेखिँदा असाध्यै खुशी लाग्यो। नत्र, सबै दोष ममाथि आउँथ्यो होला। भाइरस सर्ने/नसर्ने कुरा मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पनि भर पर्दो रहेछ। साथै, मनोबल उच्च राख्नुपर्छ। हिम्मत हार्नु हुँदैन। हिम्मत राखेर नै १६ दिनमा कोरानालाई हराउन सफल भएँ।

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीबाट पनि राम्रो व्यवहार र हौसला पाएँ। त्यसले पनि चाँडै निको हुन मद्दत गर्‍यो। डाक्टरले अझै घरमा १५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न भनेका छन्। डाक्टरको सल्लाहअनुसार काम गर्नेछु।

प्रस्तुतिः शिवराज भट्ट


 

‘मनोबल नै कोरोनाको भ्याक्सिन’

मनकुमारी पौडेल (६५), बागलुङ

चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिएँ। विदेशबाट आएलगत्तै संक्रमण भएको थाहा पाएपछि होम क्वारेन्टिनमा बसेँ। चैत १७ गते राति मलाई धौलागिरी अञ्चल अस्पताल ल्याइयो। अस्पतालको आइसोलेसन वार्डमा उपचार थालियो। कोरोना रोगभन्दा पनि आइसोलेसनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भयो। परिस्थिति खराब भए पनि मेरो मनस्थिति बलियो थियो। कोरोनालाई जित्छु भन्ने संकल्प गरेकी थिएँ। उपचारका क्रममा रक्तचाप केही बढेकाले त्यसको औषधि चलाइयो। बीचमा दाँत र कान दुख्ने समस्या देखिए पनि अहिले कुनै समस्या छैन।

कोरोना लागेर विभिन्न देशमा दिनहुँ मान्छे मरिरहेको खबर एफएम रेडियो, परिवार र आफन्तबाट थाहा पाउँदा डर लाग्थ्यो। तर, पनि मर्छु भन्ने चाहिँ कहिल्यै लागेन। मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो।

दिनमा पाँच लिटरसम्म तातो पानी खान्थेँ। बिहान–बेलुका दूध खान्थेँ। खाना, खाजाको व्यवस्था अस्पतालले निःशुल्क उपलब्ध गराएको थियो।

नर्स र चिकित्सक बिहान–बेलुका मात्रै आउँथे। धेरैजसो फोनबाटै सञ्चो–बिसञ्चो सोध्ने गर्थे। ‘गाह्रो भए फोन गर्नुस्, फोन गर्न जान्नुभएन भने घण्टी बजाउनुस्’ भन्थे। तर, फोन गर्ने स्थिति आएन। अस्पतालमा सबै सेवा–सुविधा राम्रो थियो। स्वास्थ्यकर्मी भगवान्सरह हुन्। उनीहरूको साथ र सहयोगले भाइरसलाई जित्न सकेँ।

पहिलो र दोस्रो पोजिटिभ आए पनि तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आयो। रिपोर्ट नेगेटिभ आएपछि डाक्टरले घर जान भने। मेरो उमेर अलि बढी भएकाले चिकित्सक मात्र होइन, संक्रमण हुँदा परिवारका सदस्य, आफन्त सबै डराएका थिए। मैले कोरोनालाई जित्नेमा संशकित थिए। त्यसमाथि १५/१६ वर्षदेखि दम र प्रेसरको बिरामी भएको थाहा पाएपछि उनीहरू थप निराश थिए।

मैले १८ दिनमै कोरोनालाई जितेर घर फर्किन्छु भनेर सायदै कसैले सोचेका थिए। तर, उच्च मनोबल भए सहजै जित्न सकिँदो रहेछ। म त भन्छु, उच्च मनोबल नै कोरोनाको भ्याक्सिन हो।

प्रस्तुतिः दिल शिरीष


                

‘रोग र अपजस दुवैलाई जितेँ’

प्रसिद्धि श्रेष्ठ (१९), काठमाडौँ

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित बिरामी हुँ। फ्रान्सको राजधानी पेरिसस्थित विश्वविद्यालयमा अध्ययनरत छु। काठमाडौँ फर्कने बेला भियतनामकी साथी पनि सँगै थिइन्। हामीले कतारसम्म सँगै हवाईयात्रा गरेका थियौँ। कोरोनाबारे जानकारी थियो। त्यसैले यात्रामा सावधानी अपनाएकी थिएँ। मास्क, स्यानिटाइजर प्रयोग गरेकी थिएँ।

चैत ५ मा काठमाडौँ आइपुगेँ। कतै भाइरसको संक्रमण त भएको छैन भन्ने लागेर घरमै सेल्फ क्वारेन्टिनमा बसेँ। यसैबीच भियतनामकी साथीले फोन गरिन्। उनलाई कोभिड–१९ पोजिटिभ देखिएको सुनाइन्। त्यसपछि आफूलाई पनि संक्रमण पो भयो कि भन्ने शंका लाग्यो। चैत ७ मा जँचाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएँ। त्यहाँ घाँटी र नाकभित्रको स्वाब परीक्षण गरियो।

दुई दिनपछि रिपोर्ट पोजिटिभ आयो। मेरो परिवारलाई राति १० बजे जानकारी दिइएको थियो। संक्रमण हुँदा देखिने कुनै लक्षण नदेखिएकाले विश्वासै लागेन। मलाई लिन घरमै अस्पतालले एम्बुलेन्स पठायो। चैत ९ मा अस्पताल भर्ना हुन जाँदा प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलालगायत चिकित्सक र स्वास्थ्यकर्मीले स्वागत गर्नुभएको थियो।

मेरो केसपछि देशमा लकडाउन घोषणा गर्ने अवस्था आयो। म अस्पतालको बेडमा सोचिरहेकी थिएँ– ‘म त आफ्नो कोठामा क्वारेन्टिनमा बसेकी छु। कसरी मैले राष्ट्रलाई लकडाउन घोषणा गर्ने अवस्थामा पुर्‍याएँ ?’  देशमा लकडाउन गराउने कारक मै हुँ कि जस्तो लाग्यो।

अस्पताल भर्ना भएपछि मिडियामा मेरो बारेमा विभिन्न कुरा सार्वजनिक भए। केही सत्य थिए, केही असत्य। एउटा अंग्रेजी अखबारले त मैले संक्रमण फैलाएको भन्ने खालको समाचार छापेको थियो। त्यस पत्रिकाले मलाई ‘सुपर स्पे्रडर’ भन्ने लेबल लगाइदियो। मैले संक्रमण फैलाएको प्रमाण उनीहरूसँग थिएन। मिडियाका लागि म समाचारको विषय बन्न पुगेँ। सामाजिक सञ्जालमा पनि त्यस्तै थियो। मानिसहरूले मलाई दोष लगाइरहेका थिए। घृणा गरिरहेका थिए। सोसल मिडियामा त मलाई मार्नेसम्मका अभिव्यक्ति पनि देखेँ। चिकित्सकहरू मलाई समाचार नहेर्न फोन गर्थे। म सेल्फ क्वारेन्टिनमा थिएँ। मसँग त्यसको प्रमाण थियो, तर आवाज थिएन। गलत सूचना र जानकारीका कारण मान्छेहरूको दृष्टिकोण मप्रति नकारात्मक भयो।

सुरुमा कुनै लक्षण देखिएन। अस्पताल भर्ना भएपछि बिस्तारै लक्षण देखिए। श्वासप्रश्वासमा गाह्रो भयो। पेट दुखेको महसुस हुन्थ्यो। खोकी लाग्न थाल्यो। थकाइ लाग्थ्यो।

अस्पतालमा आइसोलेसनमा रहेर उपचार भइरहेको बेला पनि सोसल मिडियामा आपूmबारे नकारात्मक टिप्पणी पढ्दा दुःख लाग्थ्यो। मैले धेरैलाई संक्रमण फैलाएको जसरी दोष लगाइएको थियो। मेरो कारणले नेपाली जनतामा डर उत्पन्न भयो। तर, मैले सावधानी अपनाएको बारेमा कतिपय मिडियाले उल्लेख नै गरेनन्। अनलाइन न्युज पोर्टलले जथाभावी लेखे। म सेल्फ क्वारेन्टिनमा बसेको बारेमा समाचारमा बनाएनन्। सत्य समाचार प्रकाशन गर्नबाट मिडिया चुक्यो।

तर, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूले मेरो हौसला बढाउनुभयो। उहाँहरूले ‘चिन्ता नलेऊ ठीक हुन्छ’ भन्नुहुन्थ्यो। अहिले मेरो मानसिक र शारीरिक स्वास्थ्य राम्रो छ। मेरो परिवार, चिकित्सक, नर्स र साथीको सहयोगका कारण यो सम्भव भएको हो। सबैले मलाई तीन सातासम्म सहयोग गर्नुभयो। मैले रोग र ममाथि आइपरेको अपजस दुवैलाई जितेँ। 

कोभिड–१९ संक्रमण हुनु कलंक होइन। यो जो कसैलाई कुनै क्षणमा हुन सक्छ। यो हामी सबैले बुझनुपर्छ। कसैलाई यस खालको अवस्था नआओस्। संक्रमणबाट जोगिन मास्क, पञ्जा लगाउनुपर्छ। अनावश्यक घुमफिर गर्नु हुँदैन।

प्रस्तुतिः दिनेश गौतम

तपाईको कमेन्ट