​खड्गप्रसादको खोपी कथन

writer

विमल आचार्य

बुधबार, १० बैशाख २०७७


शीर्षकबाटै कथन सुरु गर्छु। यो शीर्षक मैले मेरा मित्र खगेन्द्र संग्रौलाबाट उहाँलाई नसोधी सापट लिएको हुँ। उहाँ मेरो अभिन्न आलोचक अर्थात् सदाबहार ‘प्रधान शत्रु’ हुनुहुन्छ। २०६२-६३ को जनआन्दोलनताका मैले आफ्नो सानो झुपडीको पाँचौँ तलाको बार्दलीमा बसी भुटेका काजु–बदाम खाँदै बयलगाडा चढेर अमेरिकातर्फ गइरहेको रहस्यपूर्ण माखेसाङ्लो हेरिरहेको पनि उहाँले देख्नुभएको रहेछ। उहाँ सर्वव्यापी हुनुहुन्छ, अन्तर्यामी हुनुहुन्छ। उहाँलाई मेरो अभिवादन छ।

त, उहाँसित मेरो गुनासो पनि छ। पहिला–पहिला उहाँले धेरैका गोप्य खोपीकथन लेख्नुभयो। तिनलाई अजर–अमर बनाइदिनुभयो। तर, अहिले मैले यत्रो उपद्रो मच्चाइरहँदा पनि उहाँले मेरो गोप्य खोपीकथन लेख्नुभएन, मलाई बालै दिनुभएन। म उहाँसित क्रोधित भएको छु। अनि, म आज आफूलाई आफैँ लेख्न विवश भएको छु। (अँ, यो लेखिसकेपछि यो डायरीको पानामा सबैभन्दा माथि लेख्नुपर्ला- यो डायरी मेरो जीवनकालपछि मात्र सार्वजनिक गर्नू।)

म कवि हुँ। यति कुरा यहाँहरूलाई ज्ञात हुनु नै पर्ने हो।

यहाँ आफूलाई बडो साहित्यप्रेमी भनाउन र देखाउन मन पराउने जमातलाई समेत केही थाहा छैन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी कविता संग्रह’को पेज नम्बर १८३ पल्टाउनुस्। त्यहाँ एउटा कविताको शीर्षक छ, ‘अहो ! मलाई ताजूब लाग्छ।’ (कविता अहिलेको मेरो मसित मेल पनि खान्छ।)देवकोटाको तीन पृष्ठ लामो कविताकै शीर्षक उडाएर म भाषण गर्छु। उनीहरू चाल पाउँदैनन्। अनि मलाई बडो ताजूब लाग्छ।अनि मलाईबडो आश्चर्य पनि लाग्छ।

अब अहिलेको मेरो मनोदशातिर फर्किनु वाञ्छनीय हुनेछ।

‘नेपाल बन्द’ भनूँ- विप्लवले जस लिइदिने। ‘कफ्र्यू’ भनूँ- कमल थापाले जस लिइदिने। अनि म एक राष्ट्रवादी राजनेता पनि उही ‘लकडाउन’ भन्न बाध्य भएँ। सारा नेपालीको भाग्यडाउन गरेर घरघरै थुनिदिएपछि मलाई हाइसञ्चो भाछ। न संसद्को कचकच, न सडकको किचकिच, न माइतीघरको रडाको, न रत्नपार्कको नाराबाजी।

आज मैले देशव्यापी लकडाउन आयोजना गरेको पनि २९ दिन पूरा भयो। हुन त म यस्तो लकडाउन–सकडाउन मन पराउने राइनोवादी मनुष्य किमार्थ हैन। तर, लकडाउनकै पर्यायवाची ‘नेपाल बन्द’ भनूँ- विप्लवले जस लिइदिने।‘कफ्र्यू’ भनूँ- कमल थापाले जस लिइदिने। अनि म एक राष्ट्रवादी राजनेता पनि उही ‘लकडाउन’ भन्न बाध्य भएँ।सारा नेपालीको भाग्यडाउन गरेर घरघरै थुनिदिएपछि मलाई हाइसञ्चो भाछ। न संसद्को कचकच, न सडकको किचकिच, न माइतीघरको रडाको, न रत्नपार्कको नाराबाजी। ज्यानको मायाले सारा जनता यसरी आफैँ थुनिएर चुप बसेका बेला म–राजनले, मेरा युवराजले, मेरा ईश्वर–विष्णुहरूले नकमाए कहिले कमाउने ?

अँ, यसबीच मलाई सम्बोधन गरेर (मेरो नजरमा निन्दा गरेर) धेरैले खुला चिठी लेखे। फेसबुक र ट्वीटरमा नानाभाँती लेखेँ। म ती सबै खुला चिठीको एकमुष्ट गोप्य जवाफ लेख्न बसिरहेछु, यति बेला।

उमेर १५ पुगेको छैन। म ५१ वर्षदेखि राजनीति गरिरहेकोपरिपक्व अनुभवी सर्वमान्य नेतालाई यो गर् र त्यो नगर् भनेर उपदेश दिने ?यस्तो बिरामी हुँदा (सरी सरी, म एकदम ठीकठाक छु) पनि दैनिक १८ घण्टा देशको चिन्ता गरिरहने म। अनि १८ वर्षै नपुगेका, मलाई र मेरो पार्टीलाई भोटै नहालेका, मतदातै नभएका ठिटाठिटीले म सधैँ देश सोच्नेलाई नै उपदेश दिनी ?हेप्नी ?

विदेशबाट फर्केर दोकान खोलेको, दोकान खोलेको पनि के भन्ने, खोचे थापेको, बल्छी थापेको छ महिना भएको छैन, म छ महिना निर्वासनमा बसेको मान्छेलाई शासनशैली सिकाउने ? म छ महिना उता निर्वासनमा बसेँ, उनीहरूले छ दिन उतै बसेर आमाको किरिया गर्न नहुने ?

भूमिगत राजनीति गरिरहेका झुसिल्किराहरूलाई पुतली बनाउने म। अनि छ वर्ष भूमिगत बसेको मलाई दाउपेच र षड्यन्त्रमा जित्न खोज्ने ती वनमारा ?बालुवाटारमा उम्रेको पीपलको लहलहाउँदो बिरुवालाई वनमाराले क्षणिक रूपमा छोप्यो भन्दै काखी बजार्ने बज्रुकहरूका पीपल हरायो भन्ने विश्लेषण नै मैले रोजरोज पढ्नुपर्ने ? पीपल बढ्दै गएपछि वनमाराको झाडी आफँै खुइलिएर जान्छ, यत्ति पनि थाह छैन ? पत्रकारको क्वोटका आधारमा मात्र विश्लेषणको कोट काट्ने मुसाहरूलाई ढाडे बिरालोको किंवदन्ती पनि थाहा छैन ? हत्तेरिका ! कस्ता स्वाँठहरूकोदेशमा प्रधानमन्त्री हुन पुगेँ यार म ? मजस्तो महान् प्रतिभा यहाँ जन्मिनु नै जियोग्राफिकल मिस्टेक हो रहेछ। सबथोक मै एक्लैले गर्नुपरेको छ। विश्लेषक पनि मै, डाक्टर पनि मै, पत्रकार पनि मै, कवि पनि मै, डबल विद्यावारिधि प्राध्यापक पनि मै। कसैलाई केही थाहा छैन, सबैतिर म एक्लैले भ्याउनुपर्‍या छ। ढुंगामाथि मुटु राखी रुनु पर्‍या छ। (यत्रा सल्लाहकार, सहयोगी भर्ती गर्‍या छु, खुला चिठीहरूको जवाफ पनि म आफैँले लेख्नुपर्‍या छ। हिज्जे पनि आफैँ हेर्नुपर्‍या छ।)

१४ वटा भोट पनि नल्याउने प्रतिद्वन्द्वीले म १४ वर्ष जेलनेल भोगेको राजनेतालाई सुशासन, विकास र समृद्धि सिकाउने ? खतिवडा, रिमाल, राजनजस्ता अनिर्वाचित, जनताबाट अपरिचितहरूलाई सधैँ सारथि बनाउने भनेर मेरो निन्दा गर्ने भगौडा चैतन्य मिश्रहरूले आफूले चाहिँ कतिवटा चुनाव लड्या छन् ? दुईतिहाइमा पनि देशले कोल्टे फेरेन भन्ने पीताम्बर शर्माहरूले देश कोल्टे फेरिवरी उत्तानो परेर पीताम्बर ओढिराख्या किन देखिरा छैनन् ? मलाई ताजूब लाग्छ, यार !

सोसल भनाउँदो उग्रपन्थी, भड्काउवादी मिडिया हेर्छु, सबका सब भनिराख्या हुन्छन्- म सबैतिरबाट अलोकप्रिय हुँदै गएँ रे। तिमीहरूलाई म एउटा दृष्टान्त पेश गरिदिन्छु, सुन ः(राजाले रैतीहरूलाई तिमी भन्ने नै हो, तिमीहरूले चाहिँ हामीजस्ता शासकलाई हजुर भन्नुपर्छ ल। कुरा बुझ्या हो नि ?)

२०५५ सालमा ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ किताब नै लेखियो। यी ५१ अपराधमा ५१ सालमा गृहमन्त्री हुनेको ठूलै रोल छ। यो दुनियाँलाई अवगत भएकै कुरा हो। ती गृहमन्त्रीले मन्त्रालयका लागि गाडी किन्दा  करोडौँ कमिसन खाएको लेखा समितिकै रिपोर्टमा लेख्या छ। मैले त्यतिबेला कमिसनको करप्सन काण्ड नमच्चाको भए निर्धो म निमुखाकै निमुखा, सधैँ निरीह भई रोई बस्नुपथ्र्यो। शेरबहादुरहरूले गरेको लकडाउनका कारण काठमाडौँ-कन्काई किनारसम्म म हिँड्दैहिँड्दै हप्तौँ कष्टकर यात्रा गर्नुपथ्र्यो। न इँटाभट्टाको मालिकले मेरो फोन उठाउँथ्यो, न ईश्वरहरूले मसित क्षमा नै माग्थे। मेरो शानसौकत र धनदौलत यति कसरी हुने थियो ? के अर्थशास्त्री स्वर्णिम वाग्लेले राजनीतिबिना पनि धनी हुने कुनै विकल्प दिन सक्छन्? पहिलोपल्ट मन्त्री हुँदा तस्करी नगरेको भए मैले अहिले मत किन्न सक्ने थिएँ त ?

अब खास कुरा- मेरा ती कर्तुत सार्वजनिक गर्दै किताब लेख्ने योगश भट्टराई, घनश्याम भूसालहरू अहिले मेरा सारथि छन्। उनीहरू चुप मात्र छैनन्, मेरो चाकडीमा छन्, मेरा अशिंयार हुन्। अब पार्टीभित्रैका यस्ता विरोधी चिन्तक र विचारकहरू मेरो जयजयगानमा मात्र छैनन्, उनीहरू मेरो उत्कृष्ट शासनशैलीलाई सैद्धान्तीकरण गर्दै ओलिगार्की भन्ने थियोरी नि प्रतिपादन गर्दैछन्। बिचरा महान् विचारकद्वयहरूको अहिले यो पतन हालत बनाइदिया छु।

यति मात्र कहाँ हो र, सय वर्ष पार गरेका राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशीज्यूहरू मेरै दरबारमा आई मेरो ग्रन्थको लोकार्पण गर्दै भन्नुहुन्छ-‘आधुनिक महाकवि केपीज्यूको कवित्व मेरोभन्दा कता हो कता माथि छ, विशिष्ट छ। संस्कृतिविद् ओलीज्यूको विराट् ज्ञानका अघि त मेरो विद्वता एक प्रतिशत पनि छैन।’ सत्यमोहनज्यूको सत्य कुरा।

यति मात्र पनि कहाँ हो र, ओलिगार्की सिद्धान्त पछ्याउँदै आफूलाई स्वतःस्फूर्त ओलिंगाल बताउने ट्वीटेहरू नै दिन दुगुना रात चौगुना बढेर लाखौँ पुगिसकेका छन्। के कोही प्रधानमन्त्रीको बर्थडे केक बोक्न जनताले आफ्नै खुशी र खर्चमा हेलिकप्टर चार्टर गरेका थिए ? के यस्तो कुनै इतिहास छ त,डा. महेशराज पन्तज्यू ? मेरो नाम गिनिज बुकमा लेखिन के योग्यता पुगेन, रवि लामिछानेज्यू ? त म कसरी अलोकप्रिय भएँ ?

जन्मजात विरोध गर्ने, मेरो अनुहारै देख्यो कि बान्ता आउला जस्तो हुनेहरूले के मनन गर्नु वाञ्छनीय हुनेछ भने गोरु नांगो देख्दा मलाई अहिलेसम्म कहिल्यै लाज लागेको छैन, तिमीहरूलाई मात्र यो केको ट्याउँ-ट्याउँ ?

रत्नाकरहरूलाई वाल्मीकि बनाउन खोजिएकै हो। झुसिल्किराहरूलाई पुतली बनाउन खोजिएकै हो। तर, अवस्था कस्तो आयो भने छोरोको तिघ्रो ठूलो छ भन्दैमा बाबुलाई अभिभावकै नभनिदिने ? यो मलाई किमार्थ स्वीकार्य छैन। म बच्चैदेखि छुच्चो र छुद्र, मुखाले र मैमत्त हुँ। मेरो शैली टुइँके शैली हो। यो सम्बन्धित सबैलाई, मलाई हुर्काउने–बढाउने तर अहिले मैले वास्तै नगर्ने बडीआमा सबैैलाई थाहा छ। मबाट विनम्रता र शिष्टता, क्षमा र करुणा, सद्भाव र संयमको अपेक्षा राख्नु गोरुको टाङमुनि गबुवा राखेर दूध झर्ला र खाउँला भनेर अपेक्षा गर्नु बराबर हो।     

हात्ती ४० प्रतिशत दुब्लाउँदैमा मुसो बन्दैन। अब हात्तीबोरामा अर्थात् बालुवाटारमा मात्र अट्दैन।यो अब टंगालसम्म छिर्छ।म र मेरा सारथिहरूको आलोचना गर्ने, भत्र्सना गर्ने, निन्दा गर्ने एकेक मुसाहरूलाई अब टंगालको हात्तीले के–के गर्छ, हेर्दै जाओ ए उपद्र्याहाहरू !

दुईवटा गोरु जुधेका बेला शिवपुरीतिरको सानो बाच्छोले जुधाइ सिक्न ठूलो गोरुको तिघ्रामा भुक्क हानेजस्तो गर्नुको अब कुनै तुक छैन। पछार्न किन असारकै हिलो पर्खिने ?वैशाखकै भ्रष्टाचार/भाइरस पर्याप्त छ। सँगै सुत्न, घुस्रिन आउने अनि निदाएको बेला किन खुट्टा बोकाइस् भनेर कुर्लने पार्टनरसित डिभोर्स नगरी के गर्ने, भीमार्जनु ?

एक माना दूधलाई एक पाथीको भाँडामा हालेर उमाल्दा भाँडोभरि देखिएजस्तो फोका मात्र हो, मेरो ट्वीटे–ट्वाँके निन्दा। मलाई लेखिएका खुला चिठीका ‘शीतविन्दु’लाई छिनमै ‘सूर्य’को किरणले निलिदिन्छ, हेक्का राखे वाञ्छनीय हुनेछ।

म मेरा अनुयायी ओलिगार्कीपथका सकल ओलिंगालहरूलाई निराश, हतास र उदास नहुन आदेश दिन्छु। रूखबाट (कांग्रेसको रूखबाट समेत) दुई–तीनवटा आँप झरे भन्दैमा बगैँचा नै रित्तियो भन्ने ठान्नु हुँदैन। म कार्डमा विश्वास गर्दिनँ। न म तास खेल्छु, न जुवा। यो लकडाउनमा त म क्यारेम र चेस मात्र खेलिरहेछु।

झुम्रा, कागज र मटेरियल पहिले नै थिए भन्दैमा कसैले पुतली बनाएँ भन्ने सोच्नु घातक हुनेछ। कठपुतलीलाई पुतलीको महत्त्व के थाहा ?

कवि हुनुको नाताले डायरीको अन्त्य पनि उनै देवकोटाबाटै गर्छु। हे महाकवि ! झरनाका प्राकृतिक वेद टिप्न खोज्दा तिमीलाई पागल भने, राँची लगे। यता मलाई मैले सिलिन्डिरको युग समाप्त गरिदिन्छु भन्दा सिल्ली भने। मेरो खिल्ली उडाए। @BimalSalyan

तपाईको कमेन्ट

मुख्य समाचार