निर्मला हत्या प्रकरण : ‘निर्मलालाई न्याय’का योद्धा

writer

उपेन्द्र अर्याल

बिहिबार, ०५ पुष २०७५


'सरकार भेटियो, न्याय भेटिएन !'

पोस्टरको बेहोरा यत्ति हो। दिवंगत निर्मला पन्तलाई न्याय दिलाउन संघर्षरत एउटा समूहलाई यही पोस्टर टाँस्दाटाँस्दै प्रहरीले पक्राउ गर्यो। 

कविहरूले सडकमा ‘निर्मलालाई न्याय’का निम्ति कविता वाचन गरे। कलाकारले नाटक देखाए। निर्मलाका नाममा कैयन् जुलुस निक्ले। सामाजिक सञ्जालका भित्ता ‘जस्टिस फर निर्मला’ ह्यासट्यागले भरिए। माइतीघर मण्डलमा मैनबत्ती बालिए। राष्ट्रपतिभवनअगाडि प्रदर्शन भयो। अर्धनग्न प्रदर्शन भयो। सामूहिक कपाल मुण्डन पनि भए।

यसरी विरोधका जेजति हतियार थिए, सबै प्रयोग भए। अहिले पनि प्रयोग भइरहेका छन्। तर, निर्मलाले न्याय पाएकी छैनन्। लेखक तथा अभियन्ता अर्चना थापा भन्छिन्, ‘अहिलेसम्म अपराधी नसमातिँदा हामी स्तब्ध छौँ। विभिन्न आयोग बनेका छन्। जाँचबुझ समिति बनेका छन्। तर, पनि अपराधी समातिन नसक्नु अचम्मको कुरा हो।’ 

बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय दिलाउन थुप्रै नेपाली योद्धाजसरी लडिरहेका छन्। निर्मलालाई न्यायका लागि लडिरहेका उनीहरूमाथि प्रहरी, प्रशासन र सरकारले अन्याय गरिरहेका छन्। 

न्याय पाउन स‌घर्षरत पन्त परिवार


कञ्चनपुरको महेन्द्रनगरका यज्ञराज पन्त र दुर्गादेवी पन्त यति बेला न्याय पाउन संघर्षरत छन्। न्यायका लागि उनीहरू जतातता धाइरहेका छन्। धर्ना बसिरहेका छन्। गत साउन ११ गतेबाट उनीहरू न्यायको खोजीमा भौँतारिरहेका छन्। पन्त परिवार महेन्द्रनगरको भीमदत्त नगरपालिका–२ मा बसोबास गर्दैै आएको छ।

उनीहरूका तीन छोरीमध्ये निर्मला माहिली थिइन्। आमा घरमै चनाचटपटे बेच्थिन्। बुबा नजिकैको बजारमा पानीपुरी बेच्ने गर्थे। उनीहरूको गुजारा यसरी नै चलिरहेको थियो र दैनिकी पनि यही नै थियो। तर, अहिले उनीहरूको दैनिकी बद्लिएको छ। धर्ना बस्नु, न्यायका लागि भौँतारिनु उनीहरूको दैनिकी बनेको छ।

>>> निर्मला हत्या प्रकरण : प्रहरी र नेताको नाटक चलिरहेको छ

१३ वर्षीया निर्मला स्थानीय विद्यालय सरस्वती माविमा कक्षा नौमा पढ्थिन्। साउन १० गते उनी होकवर्क गर्न भनेर साथी रोशनी बमकहाँ गएकी थिइन्। तर, अबेरसम्म त्यहाँबाट नफर्केपछि आमा र छिमेकीले खोजी गरे। अत्तोपत्तो लागेन। रोशनीकहाँ जाँदा निर्मला दिउँसै फर्केको उनले बताइन्।

निर्मलाकी आमाले घरभित्र पसेर छोरी भएको÷नभएको हेर्न खोजिन्। तर, रोशनीकी दिदी बबिता बमले घरभित्र पस्न दिइनन्। आफूलाई उल्टै गाली गरेर पठाएको दुर्गादेवीले सञ्चारमाध्यमलाई बताएकी थिइन्।

दुर्गादेवीले साँझ ५ बजे प्रहरीमा छोरी हराएको खबर गरेकी थिइन्। तर, प्रहरीले कुनै वास्ता गरेन। राति फेरि वडा नं. १८ को प्रहरी बिटमा आफूले जानकारी गराएको दुर्गादेवीले सञ्चारमाध्यममा बताएकी थिइन्। ११ गते बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउको उखुबारीमा निर्मलाको शव भेटिएको थियो। उनले चलाएको साइकल भने महेन्द्रनगरको बाजफाँट सडकछेउमा भेटिएको थियो। हराएकै दिन निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको थियो।

शव भेटिएपछि स्थानीयले हत्यारा पत्ता लगाई दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका थिए। घटनाबारे मेयर सुरेन्द्र विष्टलाई जानकारी गराउँदा उनले पनि बेवास्ता गरेपछि स्थानीय आक्रोशित बनेका थिए।

पीडित परिवारले घटना भएको तीन दिनसम्म शव उठाएको थिएन। तर, प्रहरीले दबाब दिएपछि परिवारले शव बुझेको थियो। प्रहरीले अनुसन्धानको पहिलो चरणमा स्थानीयलाई सोधपुछका लागि नियन्त्रणमा लिएकोे थियो। 

न्याय माग्दा अन्यायमा पर्नेहरू

प्रहरीले घटना भएको २६ दिनपछि ४१ वर्षीय दिलिपसिंह विष्टलाई अपराध करार गरी सार्वजनिक गर्यो। विष्टले अपराध कबुल गरेको कञ्चनपुरका डीएसपी ज्ञानबहादुुर सेठीले बताएका थिए। विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन्।

प्रहरीले अपराधी लुकाउन मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी करार दिएर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउँदै स्थानीय आन्दोलनमा उत्रिएका थिए। आन्दोलनले आक्रामक रूप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। 

झडपमा प्रहरीले गोली चलाउँदा महेन्द्रनगरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। घाइतेको सेती अञ्चल अस्पतालमा उपचार गरिएको  थियो। गम्भीर घाइते भएका भीमदत्त–४ का अर्जुन भण्डारी र भीमदत्त–१ का उमेश देउवालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

उमेशको कोखा र खुट्टामा गोली लागेको थियो। अर्जुनको भने खुट्टामा गोली लागेको थियो। उनको खुट्टा काटिएको छ। उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। अहिले पनि बोल्न सक्दैनन्, अर्जुन। 

न्यायका लागि आन्दोलन गर्ने क्रममा नागरिक अभियन्ता लोकेन्द्र भण्डारीले पनि प्रहरीको कुटाइ खाएका थिए। प्रहरीको कुटाइबाट उनी गम्भीर घाइते भएका थिए। त्यस्तै, महिला अधिकारर्र्की लक्ष्मी मल्लले पनि आफूलाई प्रहरीले बन्दुकको नालले ढाडमा हिर्काएको सञ्चार माध्यममा बताएकी थिइन्। उनलाई हिरासतमा समेत राखिएको थियो। 

कञ्चनपुरको आन्दोलनपछि ‘जस्टिस फर निर्मला’ भन्दै देशैभरि विभिन्न प्रदर्शन र विरोध भए। अहिले पनि भइरहेका छन्। गत भदौ २ गते महिलाहरूले बलात्कारविरुद्ध अर्धनग्न भएर प्रदर्शन गरे। नाराबाजी गरे। उनीहरूलाई प्रहरीले पक्रियो। पक्राउ पर्नेमध्ये एक थिइन्, सावित्री सुवेदी।

‘प्रहरीले हामीलाई चार घण्टा हिरासतमा राख्यो,’ उनले भनिन्। निर्मलाका निम्ति न्याय माग्ने अभियन्ताहरूले सामूहिक केश मुन्डन पनि गरेका थिए। न्याय माग्न जाँदा अन्यायमा परे पनि अभियन्ता पछि हटेका छैनन्। अभियान चलिरहेकै देखिन्छन्। 

 

निर्मलाका लागि न्याय माग्दै राजधानीका विभिन्न थिएटरले सडक नाटक देखाए। कविहरूले न्यायका निम्ति कवितावाचन गरे। पछिल्लो समय राजधानीमा भएको एउटा घटनाले सबैको ध्यान तानेको छ। घटनामा एउटा समूह युवाको थियो। जो सडकछेउका बिजुलीका खम्बा र भित्तामा पोस्टर टाँस्दै थियो।

अर्को समूह प्रहरीको थियो। जो युवाले टाँसेका पोस्टर उप्काइरहेको थियो। पोस्टरमा लेखिएको थियो– ‘सरकार भेटियो, न्याय भेटिएन’। उक्त समूहले काठमाडौँका भित्तामा मात्र होइन, सवारी साधनमा पनि स्टिकर टाँसेको थियो। सार्वजनिक हुन नचाहने यस समूहका एक अभियन्ता भन्छन्, ‘यो अभियान निर्मलाका निम्ति न्याय माग्न हो।’ यस समूहबाहेक अन्य युवाले पनि पोस्टर टाँसिरहेका छन्। यही अभियानका क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको थियो। 

निर्मलाका निम्ति न्याय माग्दा अन्यायमा पर्नेमध्ये स्वयं निर्मलाका बुबा पनि हुन्। न्यायका लड्दालड्दै उनी विक्षिप्त अवस्थामा पुगेका छन्। उनको मानसिक सन्तुलन नै बिग्रिएको छ। उनलाई उपचारका लागि कञ्चनपुरबाट काठमाडौँ ल्याइएको थियो। त्रिवि शिक्षण अस्पतालमा तीन साता लामो उपचारपछि चिकित्सकले उनी पूर्ण रूपमा निको भएको भनेपछि यज्ञराज फेरि कञ्चनपुर फर्किएका छन्।

प्रहरीको अनुसन्धान
घटना भएलगत्तै प्रहरीले एसपी डिल्लीराज विष्टको नेतृत्वमा अनुसन्धान थालेको थियो। तर, घटनाको अनुसन्धान प्रक्रियाबाट स्थानीय असन्तुष्ट थिए। सूचना पाउनेबित्तिकै निर्मलाको खोजीमा सक्रिय हुनुपर्नेमा प्रहरीले बेवास्ता गर्यो भन्दै असन्तुष्ट स्थानीयले आन्दोलन चर्काएका थिए।

मानसिक सन्तुलन गुमाएका स्थानीय दिलिपसिंह विष्टलाई नै प्रहरीले दोषी करार दिई सार्वजनिक गरेपछि आन्दोलनले ठूलो रूप लिएको थियो। यसै क्रममा प्रहरीले नै प्रमाण नष्ट गरेको भिडियो सार्वजनिक भयो। जसले गर्दा प्रहरीको सर्वत्र आलोचना भयो।

तत्कालीन प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई गृहमन्त्रालयमा तानिएको थियो। अनुसन्धानको लागि कञ्चनपुरमा नया समूह पठाइएको थियो। घटनाको छानबिन गर्न गृहमन्त्रालयले एउटा उच्च स्तरीय समिति गठन गर्यो।

हरि मैनाली समितिका संयोजक थिए। घटनाको छानबिन गर्ने क्रममा केही समयपछि समितिका एक सदस्यले आफ्नो ज्यानको सुरक्षाका लागि भन्दै समितिबाट राजीनामा दिएका थिए। केही समयपछि उनी फेरि समितिमा फर्किएका थिए।

उक्त समितिको प्रतिवेदनले प्रहरीबाट लापर्बाही भएको, घटना लाश जाँच मुचुल्कामा बाबुको सही छाप किर्ते भएको, प्रहरीबाट भएका काम त्रुटिपूर्ण भएको भन्ने सार्वजनिक गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले रोशनी र बबिता बमलाई पनि हिरासतमा लिएको थियो। तर, केही तथ्य फेला नपरेको भनी उनीहरू धरौटीमा छुटेका थिए।

पछिल्लो समय प्रहरीले विशाल चौधरी र प्रदीप रावललाई अपराधीको रूपमा समातेको थियो। उनीहरूलाई पनि प्रहरीले चरम यातना दिई अपराध स्विकार्न लगाइएको कुरा विशालका बुबाले सञ्चार माध्यमलाई बताएका थिए। ‘छोरालाई लागुऔषध खुवाएर अपराध कबुल गर्न लगाउने काम भइरहेको छ,’ उनले भनेका थिए।

डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि प्रहरीले उनीहरूलाई पनि छाडेको हो। घटना भएको दिन उनीहरू कुखुरा चोरीको आरोपमा हिरासतमै रहेको कुरा उनीहरूका आफन्तले बताइरहेका छन्। 
पटक–पटक निर्दोषलाई समाउँदै अपराध कबुल गर्न लगाएकोमा प्रहरीप्रति नै शंका गर्छिन्, लेखक अर्चना थापा। ‘जनताको आँखामा छारो हाल्न प्रहरी प्रशासन नै लागेको जस्तो लाग्छ,’ उनी भन्छिन्।

डीएनए परीक्षण 
विज्ञहरूका अनुसार डीएनए परीक्षणबाट ठूलठूला अपराधी पत्ता लागेका छन्। प्रहरीले पनि अहिले कञ्चनपुर घटनाको अपराधी पत्ता लगाउन डीएनएलाई नै अनुसन्धानको प्रमुख माध्यम बनाएको छ। हालसम्म करिब १० जनाको डीएनए परीक्षण भएको छ।

एउटै मुद्दामा यति धेरै मान्छेहरूको डीएनए परीक्षण भएको यो पहिलो घटना भएको जानकारहरू बताउँछन्। निर्मलाको भजाइनल स्वाबमा भेटिएको वीर्यको परीक्षण प्रहरीले आफ्नै विधि प्रयोगशालामा गराएको थियो। एसपी डिल्लीराज विष्टसहित अन्यको पनि प्रहरीकै ल्याबमा परीक्षण गरिएको थियो।

दिलिपसिंह विष्टलगायत केहीको मात्र राष्ट्रिय विधि विज्ञान प्रयोशालामा परीक्षण गर्न लगिएको निर्देशक वीरेन्द्रराज शाक्यले सञ्चार माध्यममा बताएका छन्। प्रहरीकै प्रयोगशालामा डीएनए परीक्षण गरेकोमा पनि शंका गर्छिन्, लेखक अर्चना थापा। ‘प्रहरीकै जाँचबुझमा शंका लागेका छ,’ उनी भन्छिन्, ‘प्रहरीकै ल्याबमा डीएनए  परीक्षण गर्नु ठीक होइन। अहिलेसम्म गरिएको डीएनए परीक्षण कसैसँग पनि मेल खाएको छैन।’  
 

तपाईको कमेन्ट