चौतारोको लकडाउन–दैनिकी

ज्वालामुखी लामिछाने
शुक्रबार, ०५ बैशाख २०७७
महिला घरबाट बाहिर निकै कम निस्कन्छन्। भीडभाडमा जाँदैनन्। तर, पनि संक्रमणको नजिक छन्। तिनका श्रीमान्, छोरा या परिवारका अन्य पुरुष सदस्य कि त जुवातास खेल्दै रोगको संक्रमणलाई निम्त्याउँदै छन्, कि त विदेशबाट आएकासँग भीडभाड गर्दै जंगल चहार्न व्यस्त छन्।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, लामाचौरस्थित झण्डै दुई सय वर्ष पुरानो मानिएको ठूलो पीपलको रूखसहितको चौतारोको एक दिनको दैनिकीः
बिहान
घामको पहिलो झुल्कोसँगै १० देखि १५ जना भेला हुने! कोरोनाबाट मृत्युु भएको मानिसको तथ्यांकबारे आ–आफ्नो बुझाइको धरातलबाट बहस गर्ने!आ–आफ्नो सूचनाको स्रोतलाई आधिकारिक मान्ने र दोस्रोको स्रोतलाई खण्डन गर्ने। उज्यालो नेटवर्कको कायाकैरन, सीआईएनको साझा खबर या टेलिभिजन स्क्रिनमा लगातार देखाइरहने बटम न्युज...यिनै स्रोतको आधारमा हुने तर्कवितर्कमा त्यतिखेर पूर्णविराम लाग्छ, जब चिल्ला मोबाइलमार्फत गुगलसम्म पहुँच हुने अल्लारे(?) युवाहरू चौतारामा उपस्थित हुन्छन् र ती सबैका अगाडि ‘कोरोना लाइभ’ टाइप गर्दै गुगल गर्छन् र ताजा तथ्यांक प्रस्तुत गर्छन्।घाम निकै माथि आइसकेको हुन्छ, त्यतिखेरसम्म।खेत खन्ने र रोप्ने मिति तय गर्नु, खेताला खोज्नु, खेतमा प्रयोग गर्ने मलखाद र कीटनाशक औषधिबारे छलफल गर्नु पनि भेला हुनेकालागि सहायक विषय हुन्छन्।यतिबेलासम्म पनि घरमा भात पाक्ने समय भैसकेको हुँदैन।अनि केही सहभागी छुट्टिन्छन् र खोपी खेल्न थाल्छन्। बाँकी केही सहभागी दिउँसो म्यारिज खेल्ने सुरक्षित स्थान र साथीहरूको खोजीका लागि छलफल सुरु गर्छन्।काठमाडौँ र भारतबाट फर्केका युवा उहिल्यै हिँडिसकेका छन्, यहाँबाट।सायद जंगल डुल्न गए।
यो चौतारोको एक छेउमा धारा छ, गाउँभरिको साझा धारो।अर्को छेउमा कुटानी–पिसानी मिल छ भने दुइटा किराना पसल पनि चौताराको आडैमा छन्। एउटा प्रतीक्षालय पनि गजधम्म छ, चौतारोको छेवैमा।यी सबै संरचनाको केन्द्रीकरण पनि यतिखेर घातक बनेको छ यहाँका लागि।धारामा, पसलमा या मिलमा आउनेहरूको संख्या बढेसँगै भिन्न–भिन्न समूहको गुटबन्दी हुन थाल्छ।तर, पितृसत्तात्मक समाजको प्रभाव यति बलियो छ कि पुरुषको समूहमा महिला भेट्टाउनु असम्भव जस्तै छ।महिलावाला समूहमा अपवादबाहेक कोरोना बहसले प्रवेश पाउँदैन।भात–भान्छा, खेत–खलिहान अनि वनपाखाका मुद्दानै काफी छन्, ती समूहका लागि।
हरेक बिहान एकपटक यस चौतारोमा मान्छेहरूको भागाभाग हुन्छ।प्रहरीहरू एकैठाउँ बस्न नपाइने, भौतिक दूरी कायम गर्नुपर्ने अनि घरबाट अत्यावश्यक कामबाहेक अन्य समय बाहिर निस्कन नपाउने सरकारी उर्दी लागू गर्न मोटरसाइकलमा आएपछि चौतारो त्यो दिन साँझसम्मका लागि शून्य हुन्छ।
दिउँसो
चौतारो लगभग शून्यः हुन्छ दिनभरजसो।लकडाउनको प्रभाव निकै कम पर्ने निम्नमध्यमवर्गीय र मध्यमवर्गीय किसानहरूको बाहुल्य रहेको यो गाउँमा लगभग सबैजसो किसान चैते धान रोपाइँका लागि खेत खन्न र रोपाइँ गर्न तल बेसी झरिसकेका हुन्छन्, दिउँसो।केही किसान बिहानैदेखी पनि तल झरिसकेका हुन्छन्।महिलाहरू पनि रोप्ने अनि घाँसपात जम्मा गर्ने उद्देश्यले बेसी झरेका हुन्छन्। बाँकी महिला पनि बस्तुभाउलाई घाँसपानी गर्ने, कपडा धुने लगायत उनीहरूका लागि शदियौँदेखि छुट्याइएको काममै व्यस्त हुन्छन्।
काठमाडौँ र भारतबाट आएको किशोर र युवाहरूको एउटा समूहलाई यो लकडाउन साथीभाइ मिलनको अभूतपूर्व अवसरजस्तो भएको छ। उनीहरू सल्लेघारीको डाँडो उक्लने या वडाकार्यालयको वाइफाई चलाउँदै समय बिताउने काममा व्यस्त हुन्छन्।भौतिक दूरी कायम गर्नु या भीडभाड कम गर्नु उनीहरूका लागि वाहियात कुरो हो।कोरोना त्रासबाट उनीहरू बार हातको टाँगोले पनि नभेट्ने गरी टाढा छन्।मेरो डर भने बढ्दो छ। जुवातासमा धेरथोर लत बसेकाहरू पनि भौतिक दूरी र भीडभाडको कथालाई लत्याउँदै कुनै घरको कोठा या कुखुरापालनका लागि निर्मित टहरामा मस्त छन् यतिखेर।चौतारो सुनसान छ।
पानी लिन आउने महिलाको फाट्टफुट्ट उपस्थितिले चौतारोलाई मृतप्रायः हुनबाट जोगाएको छ।
यो भाइरसको प्रभाव पनि लंैगिक विभेदमै आधारित छ, कमसेकम मेरो गाउँका लागि।घरबाट बाहिर निकै कम निस्कन्छन् महिलाहरू।भीडभाडमा जाँदैनन् र नयाँ मान्छे या विदेशबाट आएकासँग उनीहरूको भेटघाट लगभग हुँदैन।तर, पनि उनीहरू बिनागल्ती नै रोगबाट संक्रमित हुने सम्भावनाको निकै नजिक छन्।ती महिलाका श्रीमान्, छोरा या परिवारका अन्य पुरुष सदस्य कि त जुवातास खेल्दै रोगको संक्रमणलाई निम्त्याउँदै छन् कि त विदेशबाट आएकासँग भीडभाड गर्दै जंगल चहार्न या त गाउँघर डुल्न व्यस्त छन्।अनि ती महिला बिनादोष रोगको निकट पुगिराखेका छन्।
साँझ
चौतारो पुनः जुर्मुराउँछ, एकपटक।बेसीबाट गाउँ उक्लन्छन्किसानहरू र थकाइ मार्न चौतारोमा निर्मित प्रतीक्षालय(पाटी)मा बस्छन्।जुवातासमा व्यस्तहरूको पनि मेलो सकिन्छ र आउँछन् चौतारीमा।किशोरहरूको समूह त्यहीँ आउँछ।पसलमा किनमेल गर्नेहरूको सानोतिनो भीड त्यहीँ हुन्छ।कोरोना बहसका अतिरिक्त साँझमा पार्टी कहाँ गर्ने, पार्टीमा कुन–कुन आइटम समावेश गर्ने, छलफल हुन्छ।किसानहरू पसिना ओभाएपछि लुरुलुरु बाटो लाग्छन्।
म त्रासले लामो श्वास फेर्छु र सोच्छुः के यी किसान दिनभर भीडभाडमै जमेर आएका अन्य समूहबाट सुरक्षित छन् ?यो असुरक्षाबारे उनीहरू सूचित छन् ? के सूचित नहुनु नै उनीहरूको दोष हो? दिनभर खेतमा काम गर्ने र साँझ मीठो निद्राको कामना गर्दै निदाउने किसानहरू संक्रमित भए दोष कसको हुन्छ?वर्गीय रूप हुनेरहेछ, कोरोनाको।बिनागल्ती पनि संक्रमित हुँदारहेछन् गरिबहरू।
कुखुरापालन गर्ने किसानहरूको बाहुल्य नै छ यहाँ।कुखुराको बढेको भाउ, दानाको आपूर्तिमा आएको व्यवधान, कुखुराको औषधिको उपलब्धता, यी विषयबारे पनि गफगाफ हुन्छ यहाँ।त्यतिखेरै म फेरि सोचमा डुब्छुः सरकार मासु र अण्डा खाऊ, रोगप्रतिरोधात्मक क्षमता बढाऊ भन्छ।अनि यता कुखुरापालनको देशव्यापी तरिका(यो सबैतिर उस्तै होला भन्ने अनुमानमा आधारित) हेर्दा लाग्छ– यो कुखुराबाट मासु होइन, बरु रासायनिक तŒवहरूमात्र प्राप्त हुन्छन्, जुन यी कुखुराले अण्डा कोरल्दाकै अवस्थादेखि अहिलेसम्म दिन नबिराई औषधिका रूपमा सेवन गरेका छन्।
अन्त्यमा,
सबै मान्छेहरूको गाउँमा उपस्थितिले गाउँलाई कुनै चाडपर्वभन्दा अझ सघन बनाएको छ।गाउँ पुँजीवादको गन्ध पसेको तर पुँजीवादी संरचनामा नपुगिसकेको अधकल्चो इकाई हो, राज्यको।महामारी र युद्धको समय आएपछि पुँजीवादी व्यवस्था र यसले निर्माण गरेका यावत् संरचना वाहियात साबित हुन्छन्। महामारी र युद्ध अल्पकालीन हुन्छन्।जब तिनको अन्त्य हुन्छ, फेरि पुँजीवादी व्यवस्था नै गर्जन गर्न थाल्छ।समाजवादको काल्पनिक लड्डु घिउसँग खाँदै पुँजीवादको गन्धेपोखरीमा डुब्नु पनि कम्ता पीडाको विषय होइन रहेछ।
भोलि बिहान गाउँसँगै फेरि बिउँझनेछ चौतारो।
आशा गर्छु– भोलिको चौतारो फरक तरिकाबाट बिउँझनेछ र चौताराको भोलिको दैनिकी अर्कै हुनेछ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७