पढ्न स्कुलै जानुपर्छ भन्ने छैन

writer

डा. विद्यानाथ कोइराला

बुधबार, ०३ बैशाख २०७७


घरमै पनि स्कुलमा भन्दा राम्ररी पढ्न सकिन्छ। १० कक्षाको जाँच दिन यति आत्तिनुपर्दैन। उस्तै परे ११ कक्षा पढ्दापढ्दै १० कक्षाको जाँच दिए पनि हुन्छ। यहाँ कोही पनि फेल हुँदैन।


लकडाउनले असर पुर्‍याएको एउटा महत्त्वपूर्ण क्षेत्र हो, शिक्षा। शिक्षाक्षेत्रमा अबका दिनमा हामीसँग दुई वटा उपाय छन्। पहिलो, आक्रामक ढंगले काम गर्ने।दोस्रो, यस्तै भयो भनेर बिजोग हेरेर बस्ने। अहिले यो क्षेत्रमा यिनै दुइटा कुराको लडाइँ चलिरहेको छ।

तत्काल शिक्षा क्षेत्रमा छ वटा काम एकसाथ गर्नु अत्यावश्यक छ।

पहिलो, शिक्षाका लागि विभिन्न प्याकेज बनाउनुपर्छ। जसको पहुँचमा रेडियो, टेलिभिजन, मोबाइल र इन्टरनेट छैन, त्यस्ता समूहका लागि विशेष प्याकेज चाहिन्छ। त्यो प्याकेज बनाएर उनीहरूलाई पढ्न प्रेरित गर्नुपर्छ। त्यस्तो प्याकेज पहिला कागजमा,त्यसपछि रेडियोमा, त्यसपछि टेलिभिजनमा र चौथोमा अनलाइनमा जाने होस्।

दोस्रो, प्याकेज बनेपछि त्यसलाई डेलिभरी पनि गर्नुपर्छ।साधन उपलब्ध नभएको पालिका, जहाँका विद्यार्थी गरिब छन्, त्यहाँ एउटा सेन्टर बनाइदिनुपर्छ।किताब, टेलिभिजन, रेडियो, इन्टरनेट जे राख्न सकिन्छ, राख्नुपर्छ। र, विद्यार्थीलाई पालो–पालो तीन–चारजनाको दरले टाढा–टाढा दूरी कायम गरेर पढ्ने व्यवस्था मिलाउनुपर्छ।

तेस्रो, यसका लागि शिक्षकहरूलाई अभिमुखीकरण गर्नुपर्छ। उनीहरूमा अहिलेसम्मकिताब समातेर पढाउनेबानी छ। शिक्षकलाई ‘मेसिन समातेर कसरी पढाउने?’ भन्ने हुन सक्छ। त्यसको निमित्त उनीहरूलाई व्यापक अभिमुखीकरण आवश्यक हुन्छ।

चौथो, लगानी। कसले लगानी गर्ने? प्रश्न उब्जिन सक्छ। किनभने, एनजीओ थोरै काम गर्छन्, धेरै हल्ला गर्छन्। त्यसरी हुँदैन। एनजीओले कति पैसा हाल्ने र सरकारले कति पैसा हाल्ने?गाउँपालिका वा नगरपालिकाले कति पैसा हाल्ने र प्रदेशले कति पैसा हाल्ने ? भनेर सोध्नुपर्छ। यसरी लगानी टुंगो लगाउन सकिन्छ।

पाँचौँ, अर्को अभिमुखीकरण गर्नुपर्ने समुदाय हो, अभिभावक। किनभने, अहिले अभिभावकलाई आफ्ना छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ। पहिला भए छोराछोरीलाई स्कुल पठाइदिए पुग्थ्यो। अहिले सबै घरमै छन्। तिनलाई के गर्ने? भन्ने हुन्छ। उनीहरूलाई रेडियो, टेलिभिजन र इन्टरनेटबाट पनि छोराछोरीलाई पढाउन सकिन्छ भनेर सचेत गराउनुपर्छ।

छैटौँ, विद्यार्थीलाई पनि अभिमुखीकरण गर्नुपर्छ। उनीहरूले पनि पढ्ने भनेको स्कुलमा गएर मात्र हो भनेर बुझेका हुन्छन्। उनीहरूले योबाहेक फरक खालको तौरतरिका सिकेका हुँदैनन्। यस्ता विद्यार्थीलाई टेलिभिजन, रेडियो र इन्टरनेटबाट कसरी पढ्न सकिन्छ भनेर सिकाउनुपर्छ।

अनि, स्थानीय सरकारलाई पनि यसमा जिम्मेवार बनाउनुपर्छ। आर्थिक र व्यवस्थापन पक्षमा उनीहरूलाई लगाउन सकिन्छ। यति सकियो भने भोलिका दिनमा शिक्षकहरूको संख्या ह्वातै घट्छ।यहाँ गुणस्तरीय शिक्षक छैनन्। हामीले बेकारमा गुणस्तरहीन शिक्षक पालिरहेका छौँ। यसको विकल्पमा मान्छेभन्दा मेसिन पाल्नु सजिलो हो। जसले न खाना माग्छ, न लगाउन। इन्टरनेट एकदमै सजिलो छ। जसको सदुपयोग भइरहेको छैन।

माथि उल्लिखित कुरा मात्र गर्न सक्यौँ भने विद्यार्थीको जाँच पनि रोकिँदैन। रेडियोबाट दिनेले ‘इन्टरएक्टिभ’ डिजाइनबाट जाँच दिन्छन्। टेलिभिजनबाट ‘क्लोज्ड सर्किट’ डिजाइनबाट जाँच दिन सक्छन्। अनलाइन त झन् सजिलो माध्यम भइहाल्यो।

यी कुरा यत्तिकै लागू गर्न सकिँदैन। यसमा केही चुनौती छन्। प्रमुख चुनौती शिक्षक हुन्। किनभने, शिक्षक यसमा अभ्यस्त छैनन्। उनीहरूलाई बानी नपरेको हुनाले प्रयोगमा ल्याउन गाह्रो हुन्छ। विद्यार्थीका लागि पनि यो डिजाइन केही अप्ठ्यारो छ। टेलिभिजन र इन्टरनेटमा रमाइलो गर्न उनीहरूले जानेका छन्। तर, रमाइलोसँगै त्यहाँ पढाइ पनि गर्न सकिन्छ भन्ने कुरा उनीहरूलाई थाहा छैन। कार्टुन हेर्दा एनिमेसनका हजार तरिका थाहा हुन्छ। कार्टुन हेर्ने केटाकेटी एनिमेसनमा खप्पिस हुनुपर्ने हो। त्यसमा विज्ञ हुनुपर्ने हो। तर, उनीहरूले त्यहाँ रमाइलो मात्र देख्छन्।त्यसबाट कति धेरै एनिमेसन सिक्न सकिन्छ भनेर हेर्दैनन्। त्यसले के सिकाउन खोजेको छ भनेर त्यसको अर्थ खोज्दैनन्। त्यसैले, बालबालिकालाई पनि परिवर्तन गर्न चुनौती छ।

त्यस्तै, पालिकाका व्यक्तिको नेतृत्व क्षमताको पुनः अभिमुखीकरण पनि अर्को पाटो हो।सबैभन्दा ठूलो समस्या नेतृत्वलाई परिवर्तन गर्न गाह्रो छ। किनभने, पैसा उनीहरूसँगै हुन्छ। निर्णय उनैले गर्ने हो।

‘घरबाटै एसईई दिए हुन्छ’

एसईईलाई लिएर धेरै हल्लाखल्ला भइरहेको छ।यत्रो हल्लाखल्ला गर्नुपर्ने विषय नै होइन।उनीहरूलाईघरैबाट जाँच दिन लगाए हुन्छ। एसईईको जाँच संघीय सरकारले लिनैपर्दैन। किनभने, यो प्रदेश सरकारको जिम्मेवारी हो। एसईई भनेको १० कक्षा हो। ‘टर्मिनेटिङ’ जाँच होइन। माध्यमिक विद्यालय भनेको कक्षा १२ हो। त्यस्तै, आधारभूत भनेको कक्षा ८ हो। कक्षा ८ र १२ को जाँच टर्मिनेटिङ जाँच हो। तैपनि, अहिले कोही फेल हुँदैन, कोही पास हुँदैन। सबै विद्यार्थी गेटबाट बाहिर निस्किने मात्र हुन्। त्यसैले के–के न भयो भनेर यत्रो हल्ला गर्नआवश्यक छैन। बरु, घरबाटै जाँच दिन सकिनेडिजाइन तयार पार्न सकिन्छ। त्यही प्रश्नपत्रलाई घरमै बसेर जाँच दिने डिजाइनमा ‘रिमोडलिङ’ गर्‍यो भने विद्यार्थीले घरबाटै जाँच दिन्छन्। अब पनि परम्परागत बुद्धिभन्दा माथि जान सकेनौँ भने हामी धेरै पछि पर्छौं। बुद्धि लगाउने हो भनेधेरै चिन्ता गरिरहनुपर्दैन। तर, नेतृत्वलाई त्यो बुद्धि र आँट हुनुपर्छ।नेतृत्वमा बसेकाले नै विभिन्न वैकल्पिक बाटो अपनाउनुपर्छ।

पढ्न स्कुल नै जानुपर्छ भन्ने छैन। घरमै पनि स्कुलमा भन्दा राम्ररी पढ्न सकिन्छ। १० कक्षाको जाँच दिन यति आत्तिनुपर्दैन। उस्तै परे११ कक्षा पढ्दापढ्दै १० कक्षाको जाँच दिए पनि हुन्छ। यहाँ कोही पनि फेल हुँदैन। कसैको ‘ए’ आउँछ, कसैको ‘ई’, फरक यति मात्र हो। ‘ई’ आउने सम्भावना बोकेकाले ११ कक्षामा पढ्ने आँट गर्दैनन्। ‘ए’, ‘बी’, ‘सी’ आउने पढ्न जान्छन्।

यही ढंगले गइयो भनेअबको १० वर्षपछि स्कुल पनि बनाइराख्नुपर्दैन। एउटा सानो ठाउँमा बसेर छलफल गरेर पढाइ र सिकाइ हुन सक्छ।विद्यार्थीको सबैभन्दा राम्रो सिकाइ घरमै हुन्छ। यसलाई हामीले उपयोग गर्न मात्रै नजानेका हौँ।

(शिक्षाविद् कोइरालासँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)

तपाईको कमेन्ट

मुख्य समाचार