घरबन्दीमा के छ खबर खेलाडीको ?

writer

विष्णु थापा

बुधबार, ०३ बैशाख २०७७


सदा फिट रहनुपर्ने खेलाडीहरू घरमै कसरत गरिरहेका छन्। कोही खाना पकाउन सिकिरहेका छन्, कोही परिवारका सदस्यलाई खेल सिकाइरहेका छन्। कहिले लकडाउन खुल्ला र रंगशाला पुगुँला भन्ने बेचैनी सबैमा छ।


कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरिएको छ। अत्यावश्यकबाहेक अन्य सेवा, यातायात र हिँडडुलमा समेत कडाइ गरिएको छ।

संक्रमण फैलिन नदिन गरिएको लकडाउनले आर्थिक, सामाजिक, राजनीतिकसँगै  खेलकुद क्षेत्र पनि प्रभावित बनेको छ। अहिले नेपाली खेलकुद ठप्प अवस्थामा छ। खेलकुद प्रतियोगिता रोकिएका छन् भने खेलाडी पनि घरभित्रै सीमित छन्। लकडाउनको समयावधि बढिरहँदा खेलाडीको फिटनेसलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ।

विदेशका खेलाडीले घरभित्रै बसेर विभिन्न प्रविधिमार्फत फिटनेसलाई ध्यान दिए पनि हाम्रा खेलाडी भने यी सबै कुराबाट टाढा छन्। केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले फिटनेसमा ध्यान दिन सकेका छैनन्।


आमालाई कराते सिकाउँदै अनु

अनु अधिकारी तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता खेलाडी हुन्। तेह्रौँ सागमा उनले करातेको ५० केजी तौल समूहमा स्वर्ण जितेकी थिइन्। उनले टोकियो ओलम्पिकको छात्रवृत्ति पाएकी छिन्। त्यसैले लकडाउनमा पनि उनी हरेक दिन घरको छतमा ट्रेनिङ गरिरहेकी छिन्। बिहान ध्यान गर्छिन्, त्यसपछि सामान्य ट्रेनिङ गर्छिन्। ‘बिहान गरेको ट्रेनिङको भिडियो क्लिप कोचलाई पठाउनुपर्छ,’ उनले भनिन्, ‘भिडियो हेरेर कोचले सुझाव दिनुहुन्छ।’

प्रशिक्षणका लागि आमालाई पार्टनर बनाएकी छिन्। ‘प्रशिक्षणका लागि पार्टनर चाहिने भएकाले आमालाई नै पार्टनर बनाएकी छु,’ उनले भनिन्, ‘लकडाउनमा आमाले पनि कराते सिकिरहनुभएको छ।’ बेलुका ४ देखि ५ बजेसम्म उनी भिडियो क्लासमा सहभागी हुन्छिन्। टोकियो ओलम्पिकमा वाइल्ड कार्डका लागि सिफारिसमा परेकी उनलाई विभिन्न व्यक्तिले मनोवैज्ञानिक प्रशिक्षण दिने गरेका छन्। यसबाहेक आमालाई खाना बनाउन पनि सघाउँछिन्। कहिलेकाहीँ उनी आफैँ खाना पकाएर पनि खुवाउँछिन्। यसका साथै उनी पढाइमा पनि व्यस्त हुन्छिन्। एमबीएस अध्ययनरत उनी परीक्षाको तयारी गरिरहेकी छन्। फुर्सदमा फिल्म पनि हेर्ने गरेकी छिन्।


 

पुरुषोत्तमको सन्न्यास स्थगित

टेबल टेनिस स्टार हुन्, पुरुषोत्तम वज्राचार्य। तेह्रौँ सागमा उनी सम्मिलित टिमले रजत पदक जित्यो भने पुरुष सिंगलमा उनले कांस्य पदक जिते। सागमा अहिलेसम्म सेमिफाइनलमा पुग्न नसकेको नेपाली खेलाडीको इतिहास तोड्दै पुरुषोत्तम र स्यान्टु श्रेष्ठले नयाँ इतिहास बनाए। नेपाली खेलकुदमा दुई दशकभन्दा बढी सक्रिय योगदान पुर्‍याएका उनी टेबल टेनिसका सिद्धहस्त खेलाडी मात्र होइनन्, कुशल प्रशिक्षक पनि हुन्। उनले खेल जीवनबाट सन्न्यास लिने योजना बुनिरहेका छन्।

अप्रिल ६ मा विशेष कार्यक्रम गरी सन्न्यास लिने योजना बनाएका थिए। उक्त दिन विश्व टेबल टेनिस दिवस भएकाले पनि उनले सो दिन सन्न्यासको योजना बनाएका थिए। तर, लकडाउनका कारण उनले सन्न्यास लिन पाएनन्। ‘लकडाउन जीवनकै नौलो अनुभूति भयो,’ उनले भने, ‘यसकै कारण सन्न्यास लिन पाइएको छैन।’

अहिले घरबन्दीमा उनी गिटार बजाउने, गीत गाउने, नयाँ–नयाँ परिकार पकाएर दिन कटाइरहेका छन्। विभिन्न क्रियाकलापमा सरिक हुँदा समय बिताउन सजिलो भए पनि फिटनेसको चिन्ताले उनलाई सताउने गरेको छ। त्यसैले घरमै सामान्य कसरत गर्दै आएका छन्। बाहिर खुला आकाशमुनि गरिएको कसरतजस्तो नभए पनि फिट राख्न यसले मद्दत गरिरहेको उनले बताए।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यसमेत रहेका पुरुषोत्तमले घरमै बसेर सुरक्षित रहन सम्पूर्ण खेलाडीलाई अनुरोध गरे। ‘अहिले हामी जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ,’ उनले भने, ‘यो घरमै बसेर सुरक्षित रहने समय हो। आफ्नो फिटनेसमा पनि ध्यान पुर्‍याउनु आवश्यक छ। घरमै सामान्य कसरत गर्दा पनि फिटनेसको समस्या हुँदैन।’


 

खेलाडीको समस्या बुझिरहेका वीर

नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामाले घरमै रहेर खेलाडीको समस्याबारे जानकारी लिइरहेका छन्। नेपाली उसुका अभिभावक उनले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीसँग नियमित सम्पर्क गरी उनीहरूको समस्या बुझिरहेको बताए। ‘लकडाउनलाई सहयोग गर्दै घरमै बसिरहेको छु,’ उनले भने, ‘घरबाटै खेलाडीको समस्या बुझिरहेको छु। समस्यामा परेकालाई सहयोग पनि गरिरहेको छु।’

लकडाउनका कारण लामो समयसम्म घरमै बस्दा आफ्नो स्वास्थ्य र फिटनेसलाई भने सदैव ख्याल गर्दै आएको उनले बताए। हरेक बिहान दुई घण्टा ताइची खेल्ने गर्छन्। छोराछोरी पनि उनीसँगै ताइची खेल्छन्।

ताइची चिनियाँ मार्सल आर्ट्स हो। यो खेल आत्मसुरक्षा, ध्यान र स्वास्थ्यका लागि उत्तम मानिन्छ। यो खेल खेल्दा ‘माइन्ड’ र ‘बडी’लाई नियन्त्रण गरी शरीरबाट शक्ति उत्पादन गर्न मद्दत पुर्‍याउने उनले बताए। ‘ताइची योग र खेलकुदको मिश्रणजस्तै हो,’ उनले भने।

कोरोना भाइरस, त्यसको संक्रमण र लकडाउनबारे छरछिमेकलाई जनचेतना दिने काम पनि उनले गर्दै आएका छन्। ‘सबैले लकडाउन आफ्नै लागि हो भन्ने कुरा बुझ्नु जरुरी छ,’ उनले भने, ‘जति चाँडो हामीले यो कुरा बुझ्छौँ, त्यति छिटो लकडाउन पनि खुल्नेछ।’


 

चिन्तित कृष्ण

कृष्ण क्षत्री नेपालको रग्बी टिमका कप्तान हुन्। ललितपुरमै घरभित्र बसिरहेका उनले लकडाउनले रग्बीका धेरै प्रतियोगितालाई प्रभावित पारेको बताए। ‘लकडाउनले जापानी एम्बेस्डर कपलगायत थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा असर गरेको छ,’ उनले भने, ‘लकडाउनकै कारण रग्बीको राष्ट्रिय टोलीको छनोटसमेत हुन सकेको छैन। इन्डोनेसियामा आगामी अगस्टमा हुने एसियन रग्बी सेभेन सिरिजका लागि खेलाडी छनोट र प्रशिक्षण हुन सकेको छैन।’ त्यसैले उनलाई चिन्ताले सताएको छ। ‘महŒवपूर्ण घरेलु प्रतियोगिता अनिश्चित भएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पनि के हुन्छ भन्ने निक्र्योल भइसकेको छैन। त्यसैले नराम्रो लागिरहेको छ।’   

लकडाउनमा उनले घरमै सामान्य प्रशिक्षण गर्दै आएका छन्। घरछेउमा अलि खुला ठाउँ भएकाले उनलाई प्रशिक्षण गर्न सजिलो भएको छ। अरू सामान्य कसरत भने घरमै गरिरहेका हुन्छन्। यसै गरी विभिन्न प्रतियोगिताको भिडियो हेरेर टेक्निक सिकिरहेका छन्। ‘घरमै बसेर सामान्य कसरत गर्दै फिटनेसलाई मेनटेन गरिरहेको छु,’ उनले भने, ‘कहिले लकडाउन खुल्ला र मैदानमा खेल्न पाइएला भनेर बेचैन छु।’

उनी गोर्खाली रग्बी क्लबका प्रशिक्षक पनि हुन्। चैतमा विद्यालयस्तरीय परीक्षा सकिएपछि विद्यार्थीलाई एकमहिने विशेष प्रशिक्षण गराउने योजना लकडाउनले बिथोलिदिएको उनले बताए। ‘लकडाउनका कारण त्यो योजना अधुरै रह्यो,’ उनले भने।


 

पाक्कलामा रमाउँदै रेश्मा

रेश्मा भण्डारी नेपाली महिला भलिबलमा स्थापित नाम हो। राष्ट्रिय टोलीकी सदस्य उनी नेपाल एपीएफ क्लबकी सशक्त खेलाडी हुन्। तेह्रौँ सागमा नेपालले भलिबलमा ऐतिहासिक रजत पदक जित्दा रेश्मा टोलीकी महŒवपूर्ण सदस्य थिइन्। बंगलादेशमा आयोजना भएको प्रथम सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्दा पनि उनले महŒवपूर्ण योगदान दिएकी थिइन्।  

लकडाउनमा उनी घरायसी काममा रमाइरहेकी छन्। काठमाडौँ, ढुंगेअड्डाकी रेश्मा आमासँग खाना पकाउन सिकिरहेकी छिन्। ‘लकडाउनमा घरको काममै व्यस्त छु,’ उनले भनिन्, ‘विभिन्न परिकार पकाउन सिकिरहेकी छु।’

शरीरलाई फिट राख्न उनले दैनिक शारीरिक कसरत गर्छिन्। तर, घरमा गरेको कसरत आफूलाई चित्त नबुझेको उनले बताइन्। ‘घरमा गरेको एक्सरसाइज खासै चित्त बुझेको छैन,’ उनले भनिन्, ‘खुला ठाउँमा नदौडीकन कसरत नहुने रहेछ। कहिले लकडाउन सकिएला र राम्रोसँग ट्रेनिङ गर्न पाइएला भन्ने भइरहेको छ।’

त्यसबाहेक युट्युबमा भलिबलका खेल हेर्ने र फिल्म हेर्ने गरेकी छिन्। सरकारले विभागीय टोलीका खेलाडीलाई ड्युटीमा खटाउने निर्णय गरे पनि महिला भलिबल टोलीका धेरै सदस्य घाइते भएका कारण एपीएफले खटाइनसकेको उनले बताइन्।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि