'कालो धूलो'ले छोपेको वर्ष

writer

सामीप्यराज तिमल्सेना

आइतबार, ३० चैत २०७६


वर्ष समीक्षा २०७६: नेपाली फिल्म

 

२०७६ सालमा रिलिज भएको पहिलो फिल्म थियो, ‘कालो वर्ष’। र, अन्तिम थियो, ‘धूलो’। नभन्दै २०७६ साललाई ‘कालो धूलो’ले छोप्यो। केही फिल्मले नयाँ कथा भन्ने प्रयत्न नगरेका भने होइनन्। तर, सालाखाला यो साल पनि उस्तै रह्यो, नेपाली फिल्मले कुनै उल्लेख्य उपलब्धि हात पारेन।


‘मर्निङ सोज द डे’ अर्थात् बिहानले दिनको संकेत गर्छ। यो साल रिलिज भएको पहिलो नेपाली फिल्मलाई यस्तै संकेत मान्ने हो भने यो साल नेपाली फिल्म उद्योगका लागि बिर्सनलायक रह्यो।  किनकि, यो साल रिलिज भएको पहिलो फिल्मको नाम थियो, ‘कालो वर्ष’। उद्योगका भाग्यवादीहरूले पहिलो फिल्मले नै नेपाली फिल्म उद्योगका लागि यो वर्ष गतिलो नहुने संकेत गरिसकेको बताएका थिए। संयोगहरूले उनीहरूको अनुमान गलत साबित हुन दिएनन्।

वर्षभरि रिलिज भएका फिल्ममध्ये पाँच फिल्मले मुनाफा कमाए, तर तिनको कमाइमा गर्व गर्ने ठाउँ रहेन। कि त यी फिल्म सफल फिल्मका सिरिज थिए, कि त उही गाईजात्रे कमेडी। वितरकले दिएको अन्तिम तथ्यांकअनुसार यो साल कमाउने पाँच फिल्ममा ‘जात्रैजात्रा’, ‘कबड्डी ३’, ‘छ माया छपक्कै’, ‘दाल भात तरकारी’ र ‘आमा’ हुन्।

यो साल जम्माजम्मी ५५ फिल्म रिलिज भए, जुन अघिल्लो वर्षको तुलनामा आधा कम हो। गत साल ९६ वटा फिल्म रिलिज भएका थिए। फागुनको मध्यदेखि नै कोरोना भाइरसको त्रास बढेपछि रिलिजको सँघारमा रहेका केही फिल्मले प्रदर्शन स्थगन गरे। ‘म यस्तो गीत गाउँछु २’, ‘नीरफूल’, ‘लक्का जवान’, ‘चपली हाइट ३’, ‘प्रेमगीत ३’ र ‘माइकल अधिकारी’ले यही वर्षभित्र प्रदर्शन हुने गरी प्रचारप्रसार थालेका थिए, तर बीचैमा कोरोना भाइरसले विश्वभर ‘इन्ट्री मार्न’ थालेपछि नेपाल सरकारले बन्द गर्न आग्रह गरेको पहिलो ठाउँ नै सिनेमा हल थियो। हल नै बन्द भएपछि सिनेमा रिलिज हुने कुरा कुरा थिएन। बन्दाबन्दीको घोषणा भएपछि माथि उल्लिखित फिल्म प्रदर्शन हुन पाएनन्। यी फिल्म प्रदर्शन हुँदा सफल फिल्मको सूचीमा एकाध फिल्मको नाम थपिन पनि सक्थ्यो होला, तर प्रचारका लागि सार्वजनिक भएका सामग्रीका आधारमा भन्ने हो भने ती फिल्म पनि उही ड्याङको मुला कहलाउनबाट बच्न सक्ने थिएनन्। फिल्मलाई बक्स अफिसको तथ्यांक मात्र नमानेर रचनात्मक कथावाचनको माध्यम पनि मान्दा प्रदर्शन रोकिएका फिल्मले पनि उद्योगलाई खास दिशा दिने थिएनन्। किनकि, यी पनि केही सिरिज थिए भने बाँकी कमेडी। प्रचार सामग्रीका आधारमा मूल्यांकन गर्दा भूकम्पको कथामा बनेको ‘नीरफूल’ मात्र केही फरक लाग्थ्यो।

फिल्मको सफलतालाई बक्स अफिसको आँकडामा मात्र सीमित गरिरहँदा ढिलो–चाँडो यसले उद्योगलाई क्षति गर्छ। यसले कस्तो कथा भन्यो र कलात्मक कथावाचनमा कत्तिको नयाँपन दियो ? त्यसको आधारमा पनि फिल्मको सफलता मापन गर्नुपर्छ। तर, यो साल न धेरै फिल्मले पैसा कमाए, न कथावाचनमा योगदान गरे। ‘घामड शेरे’, ‘सेल्फी किङ’, ‘जीवन काँडा कि फूल’ र ‘कीर्तिपुर’ले नयाँ कथा भन्ने प्रयास गरेका थिए, तर प्रस्तुतिमा चुक्दा तिनले पनि पाउनुपर्ने जति जस पाएनन्।

यो साल न धेरै फिल्मले पैसा कमाए, न कथावाचनमा योगदान गरे। ‘घामड शेरे’, ‘सेल्फी किङ’, ‘जीवन काँडा कि फूल’ र ‘कीर्तिपुर’ले नयाँ कथा भन्ने प्रयास गरेका थिए, तर प्रस्तुतिमा चुक्दा तिनले पनि पाउनुपर्ने जति जस पाएनन्।

नयाँ स्टार मानिएका अनमोल केसी र प्रदीप खड्का दुवैका यो साल फिल्म रिलिज हुन पाएनन्। अनमोलले होम प्रोडक्सनको फिल्म फ्लोरमै लैजान सकेनन् भने प्रदीपको ‘प्रेमगीत ३’ अन्तिम समयमा आएर रोकियो। त्यसैले पनि यो साल दर्शकले गोपीकृष्ण हलको बाल्कोनीबाट दुवै स्टारले भीड देखिने गरी खिचेको सेल्फी देख्न पाएनन्। तर, पूजा शर्मा र साम्राज्ञीराज्यलक्ष्मी शाहले त्यो कमी पूरा गरे। शनिबारको दिन सात पर्दा भएको गोपीकृष्ण हलको टुप्पोबाट सेल्फी खिचेर फिल्मले करोडका करोड व्यापार गरेको डंका पिटाउने प्रचलन छ।

पछिल्ला वर्षमा लोकगीत बिनाका फिल्म कल्पना गर्न मुस्किल भइसकेको थियो। यो साल पनि फिल्ममा लोकगीतको उपस्थिति उस्तै थियो, तर दर्शक त्यस्ता गीतबाट अघाएझैँ देखियो। त्यस्तै अवस्था प्रेमगीतको पनि रह्यो। निर्माता/निर्देशकले यसलाई दर्शक फिल्मबाट मात्र होइन, एकै खालका गीतबाट पनि वाक्क भइसकेको संकेतका रूपमा बुझ्दा जाती हुन्छ।

कान चिरेका नयाँ जोगी

नेपाली फिल्ममा लगानी गर्ने निर्माताको आँकडा हेर्‍यो भने हरेक साल नयाँ निर्माताको संख्या बढी देखिन्छ। नेपाली फिल्मको घाटादर यति छ कि एकचोटि फिल्म बनाएको मान्छे दोहोर्‍याएर फिल्म बनाउने आँट गर्दैन। यही आँकडा निर्देशकका हकमा जुधाएर हेर्‍यो भने तस्बिर अर्कै देखिन्छ। नयाँ निर्देशकभन्दा पुराना निर्देशककै वर्चस्व पाइन्छ। तर, यो साल स्थिति फरक रह्यो। निर्माता त नयाँ थिए नै, निर्देशक पनि नयाँ धेरै देखिए। २०७६ सालमा रिलिज भएका ५५ वटा फिल्मबाट नयाँ/पुराना निर्देशकको तथ्यांक हेर्दा ५५ मा ४० हाराहारी नयाँ निर्देशक देखिन्छन्। तर, दुःखको कुरा कुनैले पनि सुखद संकेत देखाएनन्, जसमा अमेरिकादेखि पढेर आएको भनिएका विशाल सापकोटादेखि एक्सन स्टार मानिएका विराज भट्टसम्म सामेल रहे। ‘दाल भात तरकारी’ बाट सुदन केसी, ‘जाइरा’बाट आशुतोष श्रेष्ठ, ‘पासवर्ड’बाट सम्राट बस्नेत र ‘सरौतो’बाट हरि हुमागाईंको डेब्यूलाई पनि धेरैले अपेक्षाका साथ हेरेका थिए, तर शुक्रबारको दिनसँगै उनीहरूमाथिको अपेक्षा व्यर्थ साबित भयो। खाइखेली आएका पुराना निर्देशक बलिउडभन्दा पर जान नसकेको सदाबहार आरोप छ। त्यसैले निर्माताहरू यो पालि नयाँ निर्देशकमा भर परेका थिए। तर, नयाँ निर्देशकले पनि मौकामा चौका हान्न सकेनन्। उनीहरूले छानेको कथा, प्रस्तुति र फिल्मको कमाइले दर्शकलाई जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सम्झन बाध्य बनायो।

पुरानो संकट

नयाँ त नयाँ भइहाले, यो साल अनुभवी पनि तीन बल्ड्याङ खाए। हिटका हिट दिँदै आएका विकास आचार्य ‘हजार जुनीसम्म’मा नराम्ररी चिप्लिए भने दशैँ पेवा बनाउन तम्सिएका अशोक शर्माले पनि ‘रातो टीका निधारमा’बाट आफ्नो मात्र होइन, छोरा अंकित शर्माको करिअरलाई पनि रेड जोनमा पारे। फिल्मले साम्राज्ञीको करिअरलाई पनि राम्रै धक्का हान्यो।

मह जोडी हर्ताकर्ता रहेको ‘दाल भात तरकारी’ले पनि दर्शक राम्रैसँग भड्कायो। मिलन चाम्सको ‘वीरविक्रम २’ पनि यही कोटीमा पर्‍यो। यसले सिर्जना गरेको विवाद पर राखेर हेर्दा पनि मिलनले फिल्मबाट राम्रै घाटा खाए। तर, कठैबरा भन्ने गरी डुबे, हेमराज बिसी। अनमोललाई लिएर हिट फिल्म दिँदै आएका उनी उनको साथ छाडेपछि हिटका लागि तड्पिरहेका थिए। निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी लिएपछि अनमोलको कमी पूरा हुन्छ भन्ने सोचेका हेमराजलाई ‘घामड शेरे’ले नराम्ररी झट्का दियो। निर्मातासमेत रहेका उनले यो फिल्मबाट राम्रै घाटा खाएको चर्चा चल्यो। निर्देशन गरेरै गाली खानेमा रामबाबु गुरुङ पनि रहे। उनी निर्देशित ‘कबड्डी ३’ ले बक्स अफिसमा कुस्त पैसा कमाए पनि यो फिल्मबाट उनले तारिफ भने पाएनन्। अझ बढेर ‘सेन्टी भाइरस’मा त उनले भक्कुमार गाली नै खाए।

न नयाँ निर्देशकले राम्रो काम गर्ने संकेत देखाए, न पुरानाले विरासत थाम्ने पारा नै। ‘क्याप्टेन अफ द सिप’ मानिने निर्देशक नै यसरी ‘कमजोर’ भएपछि यो सालका फिल्म ‘दयनीय’ देखिए।

कमजोर स्टार

अघिल्लो सालको तुलनामा यो साल पारिश्रमिकको डंका कम सुनियो। महँगो– महँगो पारिश्रमिक लिएका कलाकारका फिल्मले उनीहरूले लिएकै रकम पनि उठाउन नसकेपछि निर्माता कलाकारमा पैसा हाल्न हच्किए। अझ त्यसमाथि अघिल्लो साल मुर्‍याएर पैसा लिएका कलाकारका फिल्म उत्तानोचित खाएपछि त कसैले पनि कलाकारमा पैसा खन्याउने जोखिम लिन सकेनन्।

केही वर्षदेखि आर्यन सिग्देलको करिअर अफट्र्याक दौडिरहेको थियो, जो यो साल पनि कायम रह्यो। उनले अपेक्षा गरेका ‘हजार जुनीसम्म’ र ‘च च हुइँ’ दुवै चलेनन्। आफूलाई बाघसँग तुलना गर्दै आएका विराज भट्टको पनि हालत उस्तै रह्यो। आफ्नो फिल्म बलिउड र साउथले पनि चोर्न सक्ने गफ दिएका उनको ‘साङ्लो’लाई दर्शकले खासै भाउ दिएनन्। सिंगल थिएटरमा ठीकठाक चलेको फिल्म मल्टिप्लेक्समा निरीह साबित भयो।

फिल्म निर्देशन छाडेर अभिनयतिर लागेका निश्चल बस्नेतले पनि यो साल झट्का भेटे। उनको अभिनय रहेको ‘घामड शेरे’लाई हलमा तीन दिन टिक्न पनि मुस्किल पर्‍यो। दयाहाङ राईलाई ‘कबड्डी’ र ‘जात्रा’ सिरिजले बचायो। अन्यथा, उनले खेलेका ‘आप्पा’ र ‘सेन्टी भाइरस’ले निर्मातालाई राम्रै घाटा ख्वाए।

अघिल्लो सालझैँ सौगात मल्लको चालचोल देखिएन। उनले काम गरेका ‘पोइ पर्‍यो काले’ र ‘माछा माछा’ दुई फिल्म यो साल रिलिज भए, तर दुवैले आउनु र जानुको धर्म मात्र पूरा गरे। यो साल सृष्टि श्रेष्ठसँग जोडी बाँध्नमा भने उनले अभूतपूर्व सफलता प्राप्त गरे। अफेयरमा रहेको यो जोडीको अघिल्लो साल कम्तीमा आधा दर्जन फिल्म रिलिज हुने छाँट छ। हिरोइनतर्फ पनि चल्तीका हिरोइनका लागि यो वर्ष निराशाजनक नै रह्यो। बढी पैसा लिन प्रतिस्पर्धा गरिरहेका साम्राज्ञी र पूजा शर्माको फुर्तीफार्ती पनि पैसा लिनमा मात्र सीमित रह्यो। दुवैका फिल्मले निर्माताको रित्तिएको गोजी भर्न कुनै मद्दत गरेनन्। महँगो पारिश्रमिक माग्नमा कहलिएकी नम्रता श्रेष्ठले पनि यो साल फ्यानलाई राम्रै निराश बनाइन्। ‘जाइरा’मा एक्सन गर्न तम्सिएका उनलाई दर्शकले अलिकति पनि रुचाएनन्। अघिल्लो साल सफलतामा ह्याट्रिक गरेकी स्वस्तिमा खड्का पनि यो साल निष्प्रभाव रहिन्। उनी अभिनीत ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’दुवै बक्स अफिसमा असफल रहे। केही वर्षदेखि नम्बर वन रहेकी प्रियंका कार्की पनि यो साल फिल्म र कान्स काण्ड दुवैतिर फ्लप रहिन्। फाट्टफुट्ट फिल्म खेलिरहेका ऋचा शर्मा, आँचल शर्मा र रिष्मा गुरुङले पनि यही साल विवाह गरेर फिल्मसँगै परिवारको विकल्प रोजे।

यो साल सबैभन्दा सफल कलाकार रहिन्, केकी अधिकारी। वर्ष २०७६ मा उनले सोलो हिरोइनका रूपमा ‘छ माया छपक्कै’मार्फत पहिलो हिट फिल्म मात्र भेटिनन्, कमेडी च्याम्पियनको निर्माताका रूपमा पनि भव्य सफलता पनि हात पारिन्। ‘आमा’बाट सुरक्षा पन्तले पनि आफूलाई उम्दा हिरोइनको दौडमा सामेल गराइन्।

कमजोर डेब्यू

फिल्म कम भएपछि यो साल डेब्यू गर्ने कलाकारको संख्या स्वतः कम हुने नै भयो। तर, जतिले यो साल डेब्यू गरे, तिनको पनि पर्दामा उपस्थिति उल्लेख्य रहेन। आफ्नै बाबुको फिल्मबाट डेब्यू गरेका अंकित शर्मा, मोडलिङ र सानातिना रोल हुँदै फुल हिरोइनमा डेब्यू गरेकी सुमी मोक्तान र विकास आचार्यको फिल्मबाट डेब्यू गरेका सिक्किमका अखिलेश प्रधान, कसैले पनि लामो रेसको घोडा बन्ने संकेत देखाएनन्। ‘आप्पा’बाट डेब्यू गरेका सिद्धान्तराज तामाङ र अलोना कबु लेप्चा, ‘कप्स’बाट डेब्यू गरेकी सन्दिपा लिम्बू, ‘साइनो’बाट डेब्यू गरेका राजकुमार, ‘साङ्लो’बाट डेब्यू गरेकी पूर्व मिस नेपाल निकिता चाण्डक, कसैको पनि पहिलो फिल्ममा दमदार उपस्थिति भएन। यो साल डेब्यू गरेका मध्ये ‘जीवन काँडा कि फूल’मा झमककुमारी बनेकी रोजिता वज्राचार्य र ‘लभ डायरिज’ की रुबिना थापाले भने समीक्षकहरूबाट ‘तैबिसेक काम गरेको’ टिप्पणी पाएका थिए।

निर्मातालाई अवसर

यो साल हल पुग्ने नेपाली फिल्मको संख्या कम रह्यो। त्योभन्दा कम रह्यो, नेपाली फिल्म हेर्न पुग्ने दर्शकको संख्या। डायस्पोराले पनि एकाध फिल्ममा बाहेक चासो दिएन। नेपालमा चलेका उही ‘जात्रैजात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ मात्र विदेश पुगे। अन्तर्राष्ट्रिय फेस्टिभलतिर पनि यो साल नेपालको सहगागिता न्यून रह्यो। सार्क फिल्म फेस्टिभल र फ्रान्सको एउटा फिल्म फेस्टिभलमा ‘बुलबुल’ ले अवार्ड जित्यो भने मीन भामको ‘चिसो वर्ष’ले केही ठाउँबाट ग्रान्ट पायो।

यदि कोरानोका महामारी नफैलँदो हो भने पनि यो साल प्रदर्शन हुने फिल्मको संख्यामा राम्रै गिरावट आउने थियो। प्रदर्शन हुन बाँकी रहेका फिल्म गन्दा पनि ६० हाराहारी हुन आउँथे, जुन चिन्ताजनक संख्या हुने थिएन। अघिल्ला वर्षमा धेरै फिल्म बन्दा निर्माताको ‘बार्गेनिङ पावर’ चौतर्फी कम भएको थियो। निर्माता कलाकार, हलमालिक, वितरक सबैतिरबाट शोषण गर्ने माध्यम बनेका थिए। कलाकारले जथाभावी पैसा माग्न थालेका थिए भने डिजिटल प्लेटफर्ममा पनि निर्माताले ‘मेरो फिल्म लिइदेऊ’ भनेर बिन्ती गर्नुपर्ने अवस्था आएको थियो। तर, लकडाउनका कारण फिल्म कम बनेपछि निर्माताको हात फेरि एक पटक माथि हुने निश्चित छ। हल, वितरक, डिजिटल व्यापारी सबै जना निर्माताको पछि लाग्ने अवस्था आउनेछ। यही बीचमा निर्माताले हेलचेक्य्राइँ नगरी राम्रो फिल्म बनाएर दिने हो भने यो संकटले उनीहरूका त दिन फिराउनेछ नै, उद्योगका पनि दिन फिर्नेछन्।

यो साल रिलिज भएको पहिलो फिल्म ‘कालो वर्ष’ थियो भने अन्तिम फिल्म थियो, ‘धूलो’। यो साल कालो र धूलोको बीचमा हराए पनि आउँदो साल चाहिँ नेपाली फिल्मले दर्शकसँगै देशलाई पनि गौरवान्वित बनाओस्। यो सालको पूर्वसन्ध्यामा यति कामना गरौँ।

तपाईको कमेन्ट