'टप फोर'बारे के भन्छन् निर्णायक?

writer

सम्पूर्ण

बुधबार, ०४ पुष २०७५


अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो ‘नेपाल आइडल’ गत वर्ष नेपालमा पहिलो पटक भित्रियो। पोखराका बुद्ध लामा पहिलो आइडल विजेता बने। मोरङका निशान भट्टराई र ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप बन्न सफल भए। 

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको दोस्रो संस्करण यति बेला अन्तिम चरणमा पुगेको छ। दर्शकसँगै प्रतिस्पर्धी र निर्णायक सबैको मनमा एउटै जिज्ञासा छ– ‘को बन्ला नेपाल आइडल सिजन–२ ?’ अब आउने शुक्रबार ललितपुरको पुल्चोक इन्जिजियरिङ क्याम्पसमा त्यो कौतूहल मेटिँदै छ। नेपाल आइडलका चार प्रतिस्पर्धी अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र सुमित पाठकमध्ये एक जना विजेता घोषित हुँदै छन्। तर, अहिले नै यी चार प्रतिस्पर्धी देशको दिल विजेता भने भइसकेका छन्। 

‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन्। साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन्। निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। 

उनै निर्णायककाे नजरमा 'टप फोर' :

चारैजना आइडल हुन् : न्ह्यू वज्राचार्य 

अहिलेसम्मको नेपाल आइडलको अनुभव एकदमै रमाइलो रह्यो। सबै प्रतिस्पर्धी हाम्रा लागि समान छन्। हामी भावनात्मक हिसाबले पनि धेरै नजिकियौँ। जीवनभरि याद भइराख्ने सम्बन्ध बन्यो। प्रतिस्पर्धीहरूमा प्रतिस्पर्धाभन्दा बढी मित्रताको भावना छ।

हाम्रो पालामा प्रतिस्पर्धा हुँदा प्रतिस्पर्धीलाई दुश्मनको नजरले हेरिन्थ्यो। त्यहीअनुसार व्यवहार गरिन्थ्यो। तर, आइडलका सबै प्रतिस्पर्धीलाई फरक किसिमले ‘गु्रमिङ’ गरिएको छ। एउटै फिल्डमा भएपछि एकअर्कालाई कसरी सहयोग गर्ने ? त्यो धेरैले सिकेका हुँदैनन्। 

कलाकारको मन सफा र राम्रो हुनुपर्छ। मन नै राम्रो भएन भने ऊबाट निस्किने कुरा पनि राम्रो हुँदैन। आर्टिस्टको दायित्व गीतसँग मात्रै हुँदैन। समाजसँग पनि हुन्छ। त्यो कुरा आइडलको टिमले उनीहरूलाई सिकाउन सफल भएको छ। सबै प्रतिस्पर्धी एकअर्कालाई मद्दत गर्दै यहाँसम्म आइपुगेका छन्। 

नेपाली ढर्राको गीतमा रवि एकदमै माथि छ। विक्रम रकमा राम्रो छ। ऊ नेपाल आइडलको ‘भर्सटाइल’ गायक हो। सुमित क्लासिकल गीतमा भयंकर राम्रो छ। नेपाल आइडलमा आएदेखि अस्मिताले जति अरू कसैले प्रगति गरेको छैन। चारै जनाको आ–आफ्नै किसिमको विशेषता छ। उनीहरू चारै जना हाम्रा लागि आइडल बनिसके।

सबैको शुभचिन्तक म : इन्दिरा जोशी

फिनालेको नजिकसम्म आइपुग्दा सो झन् रोचक हुँदै गइरहेको छ। दर्शकहरूको प्रतिक्रिया पनि राम्रो छ। नेपाल आइडलका एपिसोडहरूले युट्युबमा राम्रो रेकर्ड राख्न सफल भएका छन्। पहिलाको सिजनले हामीलाई धेरै कुरा सिकायो। यो सिजनमा धेरै कुरा सुधारेर अगाडि बढ्यौँ। 

महिला नेपाल आइडल हुनुपर्छ भनेर म बारम्बार भन्दै आइरहेकी छु। यस पटक अस्मितालाई लिएर एकदमै आशावादी छु। रियालिटी सोमा महिलाले धेरै भोटिङ पाएर विजेता बनेको बिरलै देख्न पाइन्छ। महिलालाई समाजले अझै पनि विश्वास गरेको देखिँदैन। पुरुषलाई ‘फलानो ठाउँको शान’ भनिन्छ। महिलाको हकमा त्यस्तो भनिएको पाइँदैन। 

म चारै जनालाई बराबर माया र सम्मान गर्छु। हाम्रो सम्बन्ध क्यामरा अन भएपछि मात्र निर्णायक र प्रतियोगीको जस्तो हो। बाहिर हामी एकअर्काका सपोर्टर र शुभचिन्तक हौँ। 

हार–जीतले अब अर्थ राख्दैन : कालीप्रसाद बाँस्कोटा

नेपाल आइडलको फस्ट सिजनले एकदमै राम्रो प्रतिक्रिया बटुलिसकेको थियो। त्यसैले सेकेन्ड सिजन झन् राम्रो बनाउने चुनौती थियो। त्यसलाई आत्मसात् गर्दै, धेरै कुरा सिक्दै फाइनलसम्म आइपुगेका छाैँ। हामीले यत्रो महिनाको दुःखको फल पाउँदै छाैँ।

नतिजालाई लिएर हामी निकै उत्साहित छौँ। केही समयअगाडि यत्रो मान्छेबाट टप टेनमा को–को पर्ला ? भन्ने लाग्थ्यो। फिनालेमा पुग्दासम्म त्यो एक्साइटमेन्ट झनै बढेर गएको छ। अब सबै कुरा जनताको हातमा छ। 

चारै जना प्रतिस्पर्धीले फिनालेसम्म आइपुग्दा धेरै कुरा सिकेका छन्। उनीहरू आफ्नो गायकीमा विश्वास गर्न थालेका छन्। सबै जना राम्रो गाउँछन्। राम्रो गायक सँगसँगै उनीहरू ‘गुड ह्युमन बिइङ’ पनि हुन्। प्रतिस्पर्धी भए पनि एकअर्कालाई एकदमै सपोर्ट गर्छन्।

कुनै पनि प्रतिस्पर्धामा यस्तो खालको बन्डिङ कमै देख्न पाइन्छ। प्रतिस्पर्धीलाई नेपाल आइडलले गीत–संगीत मात्रै सिकाएन। अनुशासन र अरू  व्यावहारिक ज्ञान पनि सिकायो। 

मेरा छोराछोरीजस्ता प्रतिस्पर्धी : सूर्य गुरुङ, डिसिप्लिन इन्चार्ज

नेपाल आइडलको पहिलो संस्करणमा भोलन्टियर कन्ट्रोलर भएर प्रवेश गरेँ। अहिले डिसिप्लिन इन्चार्जका रूपमा काम गरिरहेको छु। आजभोलि मेरो दैनिकी प्रतिस्पर्धीको व्यवस्थापनमा बित्छ। मैले आइडलका सबै प्रतिस्पर्धीलाई नजिकबाट चिनेको छु। नेपाल आइडलको पहिलो संस्करणमा डीआईको जिम्मेवारी सम्हाल्दा ‘एकदम ठूलो जिम्मेवारी’ जस्तो लागेको थियो। दोस्रो संस्करणमा आइपुग्दा बानी परिसकेछ। 

डीआईले कति ठाउँमा कडा बन्नुपर्छ, कति ठाउँमा नरम। सुरुमा धेरै प्रतिस्पर्धी थिए। बिस्तारै घट्दै गए। जति थोरै हुन्छन्, आनीबानी थाहा पाउन सहज हुन्छ। सबैले मलाई आफ्नो अभिभावक ठान्छन्। मेरा निम्ति पनि उनीहरू छोराछोरीजस्तै हुन्। 

मलाई विक्रम बराल एकदमै बिन्दास लाग्छन्। उनी टेन्सन लिँदैनन्। अरूको तुलनामा सुमित अलि बढी सुत्छन्। तर, एकदमै मेहनत गर्छन्। रवि मलाई साहे्रै सोझा लाग्छन्। ‘स्टेजमा कुन लुगा लाउँदा राम्रो होला, डीआई सर ?’ भन्दै सोध्न आउँछ। अस्मिता जे भने पनि ‘हस् सर’ भन्छिन्। उनको स्वभाव एकदमै नरम छ। 

यस पटकका फाइनल प्रतिस्पर्धीलाई जीत–हारको खासै मतलब छैन। सबै जना ‘यहाँसम्म पुग्नु नै जीत हो’ भन्छन्। उनीहरू फाइनल नजिक पुगिसक्दा पनि भावनात्मक रूपले निकै नजिक छन्। कहीँकतै होडबाजी देखिन्न। एकअर्काले खाए÷नखाएको सोधखोज गर्छन्। सञ्चो–बिसञ्चो विचार गर्छन्। 

तपाईको कमेन्ट