गाउँ फर्केका युवा लकडाउनमा रमाउँदै,बाख्रा चराउँदै

writer

सम्पूर्ण

बिहिबार, २७ चैत २०७६


सुमित सुवेदी 

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपालमा पनि त्यसको त्रास बढ्यो । नेपाल सरकारले ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धेरै युवा गाउँघर फर्किए । त्यहाँ उनीहरू मकै गोड्दै, दाउरा चिर्दै, बाख्रा चराउँदै समय बिताइरहेका छन् ।


लामो समयदेखि सुनसान गाउँहरूमा केही सातायता चलहलपहल बढेको छ । गफ गर्न मान्छे नपाएका बूढापाकाले फेरि दुःख पोख्ने साथी पाएका छन् । मलजलको अभावमा वर्षोंदेखि बाँझो रहेका खेतका डल्ला पुनः फोरिन थालेका छन् । कारण, पढाइ र रोजगारीका लागि शहर छिरेका युवा फेरि गाउँ फर्किएका छन् । कोरोना संक्रमण फैलने डरले काठमाडौँबाट लाखौँ युवा आफ्नो गाउँघर फर्केका छन् । सुविधासम्पन्न शहरमा बसेका उनीहरूले संकटमा आफ्नो गाउँ सम्झिएका छन् ।

सरकारले ‘लकडाउन’ गर्ने तयारी गरेपछि मदन केसी गाउँ फर्किए । उनी बाइकमै काठमाडौँबाट सोलुखुम्बु पुगेका थिए । पढाइ र अफिसको काममा सधैँ व्यस्त रहने उनी लकडाउनमा केही फुर्सद पाएको बताउँछन् । ‘लकडाउनले केही दिन भए पनि आमाबाबुसँग समय बिताउने अवसर जुराइदिएको छ,’ उनी भन्छन्, ‘लामो समयपछि आफू हुर्किएको माटोमा फेरि खेल्न पाएको छु ।’ घरमा उनी खाली हात बस्दैनन् । कहिले खेतमा मल बोक्छन् त, कहिले बाँझो खेत जोत्ने गर्छन् । ‘शहरमा कलम समात्दासमात्दै थाकेका हातले माटो छुन पाउँदा निकै खुशी लागेको छ,’ उनी सुनाउँछन्, ‘शहर त सपना पूरा गर्न सघाउने अस्थायी ठाउँ मात्र हो । स्थायी त आफ्नो गाउँ नै हो ।’ मेहनतसाथ खेतीकिसानी गर्दा वर्षभरि खान पाइने उनी बताउँछन् । 

‘बिहानै उठ्छु,’ अहिलेको आफ्नो दिनचर्या सुनाउँदै उनी भन्छन्, ‘चियाखाजा खाएर बुबासँग खेतमा जान्छु । गर्मी मौसम आउँदै छ । यो दाउरा काट्ने सिजन हो । दुईचार दिनदेखि दाउरा काटेर बोकिराखेका छौँ ।’ दाउरा बोक्नुलाई उनले शारीरिक कसरतका रूपमा लिएका छन् । ‘शहरमा पैसा तिरेर जिम जान्छौँ,’ उनी भन्छन्, ‘गाउँमा दाउरा चिर्दा, बोक्दा त्योभन्दा बढी व्यायाम हुन्छ ।’ 

मिलेर काम गर्दा रमाइलो 

सरकारले बन्दाबन्दी गर्ने थाहा पाएपछि गाउँ पुगेका थिए, जगन्नाथ आचार्य । ‘सरकारले लकडाउन घोषणा गर्नुअघि नै अफिस अनिश्चित समयका लागि बन्द भइसकेको थियो,’ उनी भन्छन्, ‘बन्दको बेलामा काठमाडौँजस्तो ठाउँमा एक्लै कोठामा बस्न मनासिब लागेन ।’ चैत १० मा उनी झोलाझाम्टा बोकेर काभ्रे जिल्ला, मण्डनपुर नगरपालिकास्थित आफ्नो घरमा पुगे । ‘बिदा मनाउन घर आएजस्तै भएको छ,’ उनी सुनाउँछन्, ‘अफिसको व्यस्तताले गर्दा घर आउन पाइँदैनथ्यो । लकडाउनले केही हप्ता भए पनि शान्तसँग घरमा बिताउने अवसर पाइयो ।’ गाउँमा काम गरेर समय बिताइरहेको उनी बताउँछन् । ‘हिजो मात्र मकैको ढोड सँगलेर बारीमा डढाएँ,’ उनी भन्छन्, ‘मकै भाँचेपछि ढोड त्यसै रहेछ । त्यसलाई बारीमा लगेर डढाएँ । अब त्यसले मलको काम गर्छ ।’ 

आफूजस्तै गाउँमा धेरै मानिस फर्किएको उनी बताउँछन् । ‘काम र पढाइका लागि शहरबजारमा बस्ने थुप्रै साथी अहिले गाउँ फर्किएका छन्,’ उनी भन्छन्, ‘हामी सबै मिलेर काम गर्छौं । यसरी काम गर्दा रमाइलो हुने रहेछ ।’

शहरमा कोरोनाको त्रास बढेसँगै नवलपरासी पुगेका हुन्, विकास न्यौपाने । काठमाडौँमा पढाइसँगसँगै काम पनि गर्छन् । कोरोनाले काम ठप्प भएपछि यहाँ बस्न मन लागेन । हानिए गाउँतिर । अहिले उनको घरमा सबै जना भेला भएका छन् । ‘दाइ, बहिनी पनि घर फर्किएका छन्,’ उनी भन्छन्, ‘सबै छोराछोरी घर आउँदा आमाबुबा पनि खुशी हुनुहुन्छ । लकडाउनले कोरोनाबाट बच्न मात्र सहयोग गरेन । पारिवारिक भेटघाटको अवसर पनि जुराइदिएको छ ।’ 

शहरमा व्यस्त भइरहने बानीले गर्दा उनलाई घरमा यसै बस्न मन लाग्दैन । उनी खेतबारीको काममा आमाबुबालाई सघाइरहेका छन् । ‘हिजो बारीमा मकै गोडियो,’ उनी भन्छन्, ‘लामो समयपछि गोडेको । पहिले–पहिले त जति काम गर्दा पनि थकाइ लाग्दैनथ्यो । आजकल सकिँदो रहेनछ । थोरै गर्दा पनि थकाइ लाग्दो रहेछ ।’ काठमाडौँमा यताउता गरिराखेको बानीले गर्दा घरमा बसिरहँदा कहिलेकाहीँ आफूलाई दिक्क पनि लाग्ने गरेको उनी सुनाउँछन् । ‘दिक्क लाग्दा दिनमा एक घण्टा घरवरिपरि साइकल चलाउने गर्छु,’ उनी भन्छन् । 

गाउँमा देखिँदैन कोरोनाको त्रास 

भक्तपुर बस्दै आएका गणेश भण्डारी लकडाउन हुन थालेपछि सिन्धुपाल्चोक पुगे । त्यहाँ उनले घरको काम गरेर दिन बिताइरहेका छन् । ‘यसै पनि खाली बस्न मन पर्दैनथ्यो,’ उनी भन्छन्, ‘घरमा आएपछि त झन् के खाली बस्नु ? केही न केही काम गरिराख्छु ।’ बिहान उठेर दाउरा चिर्छन् । ‘अस्ति दुई दिन दाउरा काटेर बोकियो,’ उनी भन्छन्, ‘अहिले बिहानै उठेर दाउरा चिर्न थालेको छु ।’ शहरमा जिम धाउने गर्थे, उनी । ‘दाउरा चिर्नु जिमभन्दा कम रहेनछ,’ उनी सुनाउँछन्, ‘दाउरा चिर्दा ढाड र हातको निकै राम्रो कसरत हुने रहेछ । जिम नगए पनि मेरो कसरत रोकिएको छैन ।’ 

उनले खेतमा मकै छर्न पनि सहयोग गरे । ‘बाँझो जग्गामा डल्ला फोरेर मकै छरियो,’ उनी भन्छन् । शहरमा लकडाउनले कामकाज ठप्प भए पनि गाउँमा त्यस्तो नभएको उनी बताउँछन् । ‘गाउँमा लकडाउनले खासै प्रभाव पारेको छैन,’ उनी सुनाउँछन्, ‘राम्ररी खेतीकिसानी गरियो भने वर्षभरिलाई खान पुग्छ ।’ लकडाउनले बाल्यकालका दिन सम्झाइदिएको उनी बताउँछन् । ‘सानोमा यसै गरी खूब काम गरियो,’ उनी भन्छन्, ‘बाल्यकालका याद ताजा गर्न फेरि मल बोक्ने, बाख्रा चराउने गर्छु ।’

दोलखाका रविन कार्की काठमाडौँ बस्थे । कोरोना संक्रमणका कारण सरकारले बन्दाबन्दी गर्दा पनि उनी यहीँ थिए । एक हप्तापछि लकडाउन खोल्ने आशमा बसिरहेका थिए । तर, सरकारले लकडाउन अवधि थपेपछि उनी तोकिएको भन्दा तीन गुना बढी भाडा तिरेर पास लिएको रिजर्भ गाडीमा गाउँ पुगेका थिए । ‘लकडाउन लम्बिने भएपछि कोठामा एक्लै बस्नै सकिनँ,’ उनी भन्छन्, ‘पास पाएको एउटा गाडी पाइयो र त्यसमै घर आएँ । घरमा न ग्यास सकिएला भन्ने चिन्ता, न भोकै भइएला भन्ने पिर !’ एक हप्ता कोठामै थुनिएका रविन गाउँमा आनन्द महसुस भइरहेको बताउँछन् । ‘एक हप्ता जेनतेन कोठामै बसेँ,’ उनी भन्छन्, ‘तर, धेरै त बस्न सकिएला जस्तो लागेन । घर आएँ । यहाँ खेतबारीको काममा मज्जाले समय कटिरहेको छ ।’ 

उनले घरको काममा सघाउने गरेका छन् । एक घरबाट अर्को घरमा नगए पनि आफ्नो खेतबारीमा काम गर्न लकडाउनले कुनै असर नगरेको उनी बताउँछन् । सुविधाका लागि काम गर्न शहर जानु परे पनि गाह्रोसाह्रोमा गाउँ नै चाहिने भन्ने कुरा कोरोना भाइरसले बुझाएको उनी बताउँछन् ।  ‘कामको सिलसिलामा शहर त जान्छौँ,’ उनी भन्छन्, ‘तर, बस्न–खान गाउँजस्तो राम्रो वातावरण शहरमा छैन । यहाँको त स्वच्छ हावाले पनि रोग लाग्न दिँदैन ।’     

तपाईको कमेन्ट