‘ट्रायल’ होइन, ‘टेस्ट’ बढाऊ

writer

सम्पूर्ण

बुधबार, २६ चैत २०७६


कोभिड–१९ को संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै ‘सोसल डिस्ट्यान्सिङ’ का लागि अपनाइएको विधि ‘लकडाउन’ तेस्रो चरणमा प्रवेश गरेको छ । विदेशबाट फर्किएका व्यक्तिबाट आफन्तलाई कोभिड–१९ सरेको पुष्टि भएपछि सरकारले नेपालमा संक्रमणको दोस्रो चरण सुरु भएको घोषणा गरेको हो । संक्रमित व्यक्तिबाट समुदायमा संक्रमण फैलिन नदिनका लागि लकडाउन निर्विकल्प उपायका रूपमा विश्वभर अवलम्बन गरिएको छ । 

लकडाउन सजिलो उपाय पक्कै होइन । देशका सम्पूर्ण जनतालाई घरभित्र थुनेर राखिने यो विधिले भाइरस नियन्त्रणसँगै ल्याउने आर्थिक तथा सामाजिक दुष्परिणामहरू भविष्यमा देखिने नै छन् । लकडाउनकै अवधिमा विपन्न वर्ग र दैनिक ज्याला–मजदुरी गरेर खानेको कुन हबिगत भएको छ, त्यो हामी सबैले देखिरहेका छौँ । दैनिक पसिना बगाएर खानेका लागि सरकारले राहत प्याकेज घोषणा गरे पनि राजधानीलगायत अन्य शहरमा श्रमिकहरू सयौँ किलोमिटर पैदल हिँडेर भोकभोकै आ–आफ्ना गाउँ फर्किरहेका छन् । जो जहाँ छन्, त्यहीँ सुरक्षित तरिकाले बसून्, कुनै अप्ठेरो प¥यो भने सरकारले मद्दत गर्छ भनेर गरिएका वाचाअनुसार काम नभएपछि दैनिक काम गरेर छाक टार्ने विपन्न वर्ग तथा श्रमिक आफ्ना थातथलोतिर फर्किएका हुन् । कोरोना भाइरसबाट संक्रमितले यसलाई अर्को स्थानसम्म पु¥याउने भएकाले मानिसको आवतजावत अहिले सबैभन्दा खतरनाक भएको हो । 

दुबईबाट भारत हुँदै आएका कैलालीका एक युवाबाट आफन्तमा कोभिड–१९ सरेपछि यसको रोकथाममा सक्रिय व्यक्ति तथा संस्था र सर्वसाधारणमा चिन्ता थपिएको छ । आयातीत केसबाट स्थानीय व्यक्तिमा सर्ने र त्यसपछि समुदायमा फैलिने अवस्था आयो भने त्यो भयावह हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन स्थानीय स्तरमा संक्रमण देखिएपछि पनि अझै हेलचेक्य्राइँ गर्दै गए अप्रिय घटना हुन सक्ने बताउँछन् । स्थानीय स्तरमा कोरोना देखिएको ठाउँमा जतिसक्दो छिटो ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्ने सुझाव डा. पुनको छ । 

संक्रमण फैलिएका देशबाट नेपाल आएका जो कोहीलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा राख्न र उनीहरूको विस्तृत विवरण लिन सकिएको भए उनीहरूलाई ‘ट्रेसिङ’ गर्न सकिन्थ्यो । संक्रमण फैलिसकेपछि हवाई मार्ग हुँदै आएका यात्रु हुन् या भारतबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका हुन्, कसैको पनि विस्तृत विवरण राख्न नसक्दा नेपाल प्रवेश गरेकाहरूको ट्रेसिङ गर्न सकिएको छैन । भारतमा संक्रमण फैलिसकेपछि हजारौँ मानिस हूल बाँधेर नेपाल फर्किएका थिए । सीमा नाकामा उनीहरूको विस्तृत विवरण टिपेर राख्न सकेको भए उनीहरूलाई ट्रेसिङ गर्न सकिन्थ्यो । नेपाल प्रवेश गरेपछि उनीहरू क्वारेन्टिनमा बसे कि बसेनन्, उनीहरूमा कोभिड–१९ संक्रमणको कुनै लक्षण देखियो कि ? उनीहरूको स्वास्थ्य जाँच र निगरानीमा ध्यान पु¥याउन सकिएको छैन । लकडाउनमा शहरका मानिस घरभित्र बसेका छन् भनेर ढुक्क भएर मात्र यो महाव्याधिबाट पार पाउन सकिने अवस्था छैन । 

स्रोत र साधनका हिसाबले पिछडिएको सुदूरपश्चिम प्रदेश कोरोनाको इपिसेन्टर बन्न सक्ने भन्दै विज्ञहरू चिन्तित भइरहेका छन् । छिमकी देश भारतबाट फर्किएका करिब दुई लाख मानिसमध्ये अधिकांश सुदूरपश्चिमका भएकाले उनीहरूको पहिचान गरेर ‘¥यापिड टेस्टिङ किट’ मार्फत परीक्षण गर्न सक्दा मात्र संक्रमणलाई काबुबाहिर जानबाट रोक्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशकले कोरोना भाइरस (कोभिड–१९) माथि नियन्त्रण पाउन ‘परीक्षण, परीक्षण, परीक्षण’ को नीति अवलम्बन गर्न सबै देशलाई आग्रह गरिसकेका छन् । एक, दुई वा तीन पटकसम्म परीक्षण गर्दा पनि कोभिड–१९ नेगेटिभ देखिएको र चौथो पटक चेक गर्दा पोजिटिभ देखिएका केस पनि छन् ।

‘त्यसैले लकडाउन गरिएकै छ, अलिअलि चेक पनि भएकै छ’ भनेर आलटाल गर्ने हो भने हामीले अकल्पनीय दुःखद परिणाम पनि भोग्नुपर्ने हुन सक्छ । पूर्वाधारयुक्त अस्पताल तथा पर्याप्त चिकित्सक नभएको सुदूरपश्चिममा कोरोनाको महामारी फैलिन नदिन फागुन लागेपछि भारत तथा अन्य देशबाट सुदूरपश्चिम भित्रिएका सबैलाई पहिचान गरेर नमुना परीक्षण गर्नुपर्छ । १४ दिन क्वारेन्टिनमा बसिसकेकालाई थप सात दिन बस्नुपर्ने नियम सरकारले गरेको छ । यसको पनि पूर्ण पालना गरिनुपर्छ । देशभरकै स्थानीय सरकारले प्रत्येक घरमा पुगेर विदेशबाट आएका मानिस छन कि छैनन् भनेर पहिचान गर्ने, त्यसपछि परीक्षण गर्ने र संक्रमितको गुणस्तरीय उपचारको प्रबन्ध गर्न सक्दा मात्र यो महाव्याधिसँग जुध्न सकिन्छ । अब पनि सरकारले यसो गर्दा होला कि उसो गर्दा होला कि भनेर ‘ट्रायल’ गरिरहने हो भने हामीले अकल्पनीय क्षति व्यहोर्नुपर्ने हुन सक्छ । 

तपाईको कमेन्ट

मुख्य समाचार