आइडल अनुभूति : रियालिटी सोको रियल तस्बिर

writer

सम्पूर्ण

बुधबार, ०४ पुष २०७५


‘सुरेशजी, हामीले आइडल ल्यायौँ भने गर्न सकिन्छ?’ 

एपीवान स्थापनाको तयारीमा जुटिरहँदा एक दिन अचानक प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलबाट यस्तो प्रश्न आयो। सुनेर हामी निकै रोमाञ्चित भयौँ। यस काममा चुनौती पनि उत्तिकै महसुस भयो। पहिला एउटा टिम बनायौँ र काम थाल्याैँ। कार्यक्रम सुरु भएपछि सकारात्मक प्रतिक्रिया पायौँ।

पत्रकार विजयकुमार पाण्डेले भन्नुभएको थियो, ‘मेरो ३० वर्षको करिअरमा नेपालमा यत्तिको स्तरीय प्रोडक्सन आजसम्म देखेको थिइनँ, नेपालमा ऐतिहासिक काम भएको छ। तपाईंहरूलाई बधाई अनि धन्यवाद !’ वल्र्ड भ्यू इन्टरनेसनल फाउन्डेसनका राजु दाहालको आशय पनि यस्तै थियो–  ‘नेपालको टेलिभिजन इतिहासमा दुइटा क्रान्ति भएका छन्। एउटा नेपाल टेलिभिजन खुल्नु र अर्को नेपाल आइडल नेपालमा भित्रिनु।’ 

राजनीतिक विषयवस्तु बढी हाबी हुँदै गएको नेपाली च्यानलहरूमा मनोरञ्जनात्मक कार्यक्रम उत्पादनमा रुचि घट्दै गएको थियो। त्यो बेला फ्रेन्चाइज सो गर्नेबारे त कसैले सोचेकै थिएनन्। यही समयमा एपी वानबाट नेपाल आइडल प्रसारण भयो। नेपाली टेलिभिजन च्यानलबाट टाढा भएका दर्शक पुनः यतातिर फर्किए। नेपाल आइडलले अन्य च्यानललाई समेत फ्रेन्चाइज सो गर्न प्रेरणा दियो। देशविदेशका दर्शकमाझ आइडल निकै चर्चित भयो। अहिले हामी सिजन टूको अन्तिमतिर आइपुगेका छौँ। 

के हो ‘रियालिटी’ ?

आइडललाई ‘सिंगिङ रियालिटी सो’ भन्ने गरिन्छ। वास्तवमा के हो त रियालिटी सो ? कस्ता कार्यक्रम रियालिटी हुन् ? 
बोना ब्रोडकास्टिङका प्रमुख तथा युरोपका अनेकौँ टेलिभिजन इन्स्टिच्युटका प्रशिक्षक तुरान अलीका अनुसार ‘सामान्य अवस्थामा त्यस्तो कार्यक्रम, जसमा स्क्रिप्ट एक पक्षका लागि मात्र तयार गरिएको छ र अर्को पक्षको प्रतिक्रिया के हुन्छ ? छायांकन नगरुञ्जेल थाहा हुन्न, त्यो रियालिटी हो।’ 

वास्तवमा ड्रामामा मात्र सर्वपक्षीय स्क्रिप्ट हुन्छ। त्योबाहेक कार्यक्रमको प्रकृति हेरेर केही रियालिटी र केही स्क्रिप्टेड हुन्छन्। जस्तो कि टेलिभिजनमा समाचारको प्रस्तुति स्क्रिप्टेड हो तर घटनाक्रम आफैँमा रियालिटी हो। त्यस्तै, कुनै इन्टरभ्यू प्रारम्भिक प्रश्नको हकमा स्क्रिप्टेड हो। तर, जब जवाफ आउन थाल्छ अनि त्यसबाट फेरि सवाल उब्जिँदै जान्छन् भने त्यो रियालिटी हो।

आइडलमा पनि सामान्यतया प्रस्तोताको भाग स्क्रिप्टेड हुन्छ। जजहरू समक्ष गाउने र गाइसकेपछि त्यसमा प्रतिक्रिया दिने काम रियालिटी हो। कहिलेकाहीँ जजहरूलाई प्रस्तोता वा प्रतिस्पर्धीसमक्ष यस्तो कुरा राख्नुस् भनेर भनिएको हुन्छ। त्यसैले आइडल पूरै रियालिटी वा पूरै स्क्रिप्टेड होइन।

त्यसो भए के हो त आइडल ? 

कुनै पनि कार्यक्रमलाई त्यसको फम्र्याटले निर्धारण गर्छ। त्यो स्तरीय होस् वा नहोस्, अनुभवीले बनाओस् वा अनाडीले, फम्र्याट जानेर बनाइएको होस् वा नजानेर। संसारभर टेलिभिजनमा जेजति कार्यक्रम बन्ने गरेका छन्, ती १० वटा फम्र्याटभित्रै रहेर बन्ने गरेका छन्।

आइडलको फम्र्याट

टेलिभिजन कार्यक्रमका १० फम्र्याट म्यागजिन, एक्चुआलिटी, रिपोर्ट, मोन्टाज, गेम, इन्टरभ्यू, टेस्टिमोनी, ड्रामा, डिस्कसन र डेमोन्सट्रेसन हुन्। यीमध्ये आइडल पाँचौँ फम्र्याट ‘गेम’ अन्तर्गत पर्छ। अनि, हरेक फम्र्याटमा कथाका स्रोत विभिन्न हुन्छन्। गेममा कथाको स्रोत त्यसको नियम हो।

कुनै पनि खेल नियममा आधारित भएजस्तै यो गेम सोमा भाग लिन उमेर १६ देखि ३० वर्षबीच हुनुपर्ने, छनोटका विभिन्न चरण पार गर्नुपर्नेलगायत आधारभूत नियम हुन्छन्। त्यसबाहेक आवश्यकता हेरी अरू नियम हुन्छन्। ग्य्रान्ड फिनालेसम्मको नतिजामा भोटिङ मात्र नभई जजहरूलाई पनि सहभागी गराइएको छ। त्यस्तै, वाइल्ड कार्ड इन्ट्री पनि राखियो, जुन सिजन वानमा थिएन।

कुनै पनि गेम सोको सफलता त्यसको नियम कत्तिको चुस्त बनाइएको छ, त्यसमा भर पर्छ। त्यसबाहेक सम्बन्धित मुलुकको वस्तुगत यथार्थ अनि प्रतिस्पर्धीका कथा जति रचनात्मक तवरले समेट्न सकियो, दर्शक त्यति नै कार्यक्रमसँग जोडिने गर्छन्। युट्युबमा एक पटकमै ७० हजारभन्दा बढी करेन्ट भ्युअर्स पुग्नुले आइडल सिजन–२ को लोकप्रियता प्रमाणित गर्छ।

अडिसन र सहभागिता

पोखरा र काठमाडौँबाहेक यस पटक अडिसन स्थल परिवर्तन गरिए। अघिल्लो सिजनमा कहाँ–कहाँबाट कस्तो खालको सहभागिता थियो भन्ने कुरामा ध्यान दिइयो। त्यसैले पश्चिममा नेपालगञ्जभन्दा सदूरपश्चिम धनगढी पुगियो, पूर्वमा इटहरीभन्दा उत्तर धरान पुगियो। त्यसबाहेक भैरहवा, हेटौँडा, वीरगञ्ज, पोखरा अनि काठमाडौँ।

चैतको पहिलो हप्ता भैरहवामा अडिसन सुरु हुँदा गर्मी बढ्दै थियो। त्यसैले सोचेजस्तो सहभागिता भएन। तर, जसलाई आफ्नो कलामा विश्वास थियो, ती आए। ‘टप फाइभ’मा पुग्ने अमित बराल भैरहवा अडिसनबाट नै आएका थिए। धनगढी अडिसनबाट रवि ओड उदाए, जो फिनालेसम्म पुगेका छन्। उनको सफलताबाट धनगढी मात्र होइन, प्रदेश नम्बर ७ नै रोमाञ्चित छ। 

हेटौँडाबाट पहिलो गोल्डेन माइक्रोफोन विजेता मीनराज पनि टप १२ सम्म पुग्न सफल भए। त्यस्तै, हेटाँैडाबाटै छानिएका ह्विलचियरमा आएका जीवन घलानले पनि अडिसनमा धेरैको मन जिते। धरानबाट आएका विश्वास उप्रेती धेरै अघि त बढ्न सकेनन् तर उनी अहिले कन्सर्टहरूमा व्यस्त छन्। यो वर्ष पोखराले नीलिमा थापामगर र विक्रम बरालका रूपमा दुइटा गोल्डेन माइक्रोफोन विजेता दियो। विक्रम फिनालेसम्म पुगेका छन्। काठमाडौँ अडिसनबाट छानिएका अस्मिता अधिकारी र गोल्डेन माइक विजेता सुमित पाठक पनि ग्य्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्दैछन्।

प्रस्तोता

रीमा विश्वकर्माको वाक्पटुता छँदै थियो। केही वर्षको अन्तरालपछि टेलिभिजनमा फर्किएका आसिफ शाह अडिसनमा केही अलमलिएको देखिए। तर, पछि उनले आफ्नो कलाकारिताको शानदार प्रदर्शन गरे। जज इन्दिरासँग उनको ‘अनस्क्रिन’ छेडछाडले दर्शकलाई भरपुर मनोरञ्जन दियो। हरेक नयाँ एपिसोडमा रीमाको नयाँ हेयरस्टाइल पनि आकर्षणको विषय बन्यो।

निर्णायक 

अघिल्लो सिजनको अनुभवले यो सिजनमा जजहरू परिपक्व देखिए। यस वर्ष अडिसनमा जानुअघि जजहरू अघिल्लो वर्षजस्तो प्रतिभा पाउनेमा सशंकित थिए। तर, नेपालमा प्रतिभाको कमी छैन भन्ने कुरा निर्णायकले छनोट गरेका गायक/गायिकाले पुष्टि गर्छ।

बहुप्रतिभाशाली गायक/संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीबाट प्रतिस्पर्धीहरूले धेरै कुरा सिक्न पाए। वरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यले टिप्पणीसँगै गरेको हाँसोठट्टा पनि कम रोचक थिएन। त्यसैको परिणाम हो, यस वर्ष सामाजिक सञ्जालमा पोहोरजस्तो जजहरूकोे आलोचना भएन। 

टिम

यस पटक नयाँ प्रयोग गरियो। डीओपी शिवराम श्रेष्ठले छायांकनका साथै स्टेज सजावटको जिम्मा पनि लिएर निर्देशकहरूलाई विषयवस्तुमा केन्द्रित हुन सहज बनाइदिए। करिब सय जनाको टिममा हर सदस्यले आफ्नो बेस्ट दिएकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्षको कार्यक्रम लोकप्रिय बन्नपुग्यो। मैले, लोकेश वज्राचार्य र एलिन श्रेष्ठले निर्देशनको जिम्मा लिएका थियौँ।हामीले आफ्नो विज्ञताबमोजिम क्षेत्र सम्हाल्यौँ। 

राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्रथम रेडियो गायिका रानुदेवी अधिकारी, शम्भूजित बाँस्कोटा, लोकगीतका तारा जयनन्द लामालगायत संगीत साधकलाई कार्यक्रममा समेट्न पाउँदा खुशी लागेको छ। राष्ट्रभक्तिमा ओतप्रोत एपिसोडले सबै नेपालीको मन जित्यो। 

यति भन्दाभन्दै हामीबाट त्रुटि नभएका हैनन्। अघिल्लो वर्षकै कुरा गरौँ। कतारबाट ग्य्रान्ड फिनालेको प्रत्यक्ष प्रसाारण गर्न नसक्दा दर्शक आक्रोशित भएका थिए। कतिपय फेसबुक प्रयोगकर्ताले ‘रिप सुरेश पौडेल’ सम्म लेख्न भ्याए। यस वर्ष दुई वटा एपिसोडमा प्रयुक्त शब्दावलीले सम्बन्धित केहीलाई बिझाउन पुग्यो, जुन जानाजान गरिएको थिएन।

हाम्रो टिम सन्तुष्ट पटक्कै छैन। अझै राम्रो कार्यक्रम बनाउने लालसा छँदै छ। इन्डियन आइडलकै तुलनामा पनि हामीले अझ धेरै गर्न बाँकी छ। हामीलाई डर थियो– इन्डियन आइडल र नेपाल आइडल चलिरहँदा कतै नेपाल आइडलमा दर्शक घट्ने त हैनन्, तर त्यस्तो भएन। आफ्नो देश र आफ्ना कलाकारको कुरा आउँदा प्रतिभा र प्राविधिक कमी–कमजोरीले महत्व राख्दैनन् भन्ने दर्शकले देखाए। 

जसरी पत्रकारका हकमा भन्ने गरिन्छ– ‘ऊ आफ्नो अन्तिम रिपोर्टमा बाँचेको हुन्छ।’ ठीक त्यही कुरा कार्यक्रममा पनि लागू हुन्छ। सधैँभरि यो चिन्ता रहन्छ– ‘नयाँ कार्यक्रम अघिल्लोभन्दा राम्रो कसरी बनाउने ?’ 

तपाईको कमेन्ट