लकडाउनमा पत्रिका वितरकको बयान :‘भाइरसको भयबीच  घर–घर खबर पुर्‍याइरहेका छौँ’

writer

सम्पूर्ण

शनिबार, २२ चैत २०७६


कोरोना भाइरसको सन्त्रासका कारण देशै बन्द छ। यस्तो अवस्थामा ठूलो जोखिम उठाएर पत्रिका वितरकहरू घर–घरमा समाचार र सूचना पुर्‍याइरहेका छन्। ‘अन्नपूर्ण सम्पूर्ण’सँग उनीहरूले आफ्ना भावना साटेका छन्। 


सविन प्रजा 

बिहान त पत्रिका बाँडिरहेको छु। तर, दिउँसोको काम गर्न पाएको छैन। कतै खाद्यान्न सकिएर किन्न पो नसकिने हो कि ? भन्ने चिन्ताले सताइरहेको छ। हरेक सामग्रीको अभाव छ। त्यसमाथि काम गर्न नपाएर आम्दानी पनि राम्रो छैन। बिहान बाँडेको पत्रिका पनि कतिपयले टिप्दै टिप्दैनन्। नटिपे पनि हामीले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौँ। यस्तो संकटमा पनि आफ्नो ज्यान जोखिममा पारी पाठकको घरसम्म पत्रिका पु¥याइरहेका छौँ।

दीपक पाठक

हिजोआज बिहान ४ बजेदेखि नै प्रहरी चोक–चोकमा बसेका हुन्छन्। ‘सबै पत्रिका बन्द भइसके, तिमीहरूको यस्तो अवस्थामा पनि बन्द किन नभएको ?’ भनेर ठाउँ– ठाउँमा रोकेर सोध्ने गर्छन्। कतै पत्रिकाबाटै भाइरस भित्रिएला भनेर मान्छेहरू अहिले छुन पनि डराउँछन्। यस्तो अवस्थामा पनि काम गरेका छौँ। कोठामा सामान पनि सकिन थालेको छ। वरपरका सबै पसल बन्द छन्। सजिलै बाहिर निस्किएर किन्न सकिने अवस्था छैन। बरु, गाउँ जान पाए आनन्द हुन्थ्योजस्तो लागिरहेको छ। 

गोपालप्रसाद मैनाली 

हिजो पत्रिका बाँड्न जाँदै थिएँ। साइकल पंक्चर भयो। त्यसपछि तीन घण्टासम्म हिँड्दै बाँडेँ। अघिपछि भएको भए काममा जानुपथ्र्यो। यसरी हिँडेर बाँड्न गाह्रो हुन्थ्यो। तर, लकडाउन चलिरहेकोले दिउँसोको काम बन्द छ। त्यसैले हिँडेर भए पनि पत्रिका बाँडेँ। यसरी काम नगरे खान पाइँदैन। पेट भोकै राख्न सकिँदैन। संक्रमणको डर हुँदाहुँदै पनि काम गरिरहेको छु। प्रहरीले ठाउँ–ठाउँमा रोक्छन्। सोधपुछ गर्छन्। बरु, अफिसले एउटा ज्याकेटको व्यवस्था गरिदिए प्रहरीले ठाउँ–ठाउँमा रोक्दैनथे कि !

सरोजचन्द्र मगर 

बिहान ४ बजे उठेर जानुपर्छ। पुलिसले ‘कहाँ जान लागेको ?’ भनेर रोकेको रोक्यै गर्छन्। त्यसमाथि भाइरस सर्छ कि भन्ने डर लाग्छ। हुन त मास्क लगाएर जान्छु। तैपनि डर लाग्छ। घरमा ग्यास सकिएर दाउरामा पकाउन थालेको चारपाँच दिन भइसक्यो। दाउरा पनि सकियो भने भोकै मरिनै अवस्था आउनेछ। ग्यास नपाउनाले समस्या परेको छ। सरकारले सहज आपूर्ति गर्छु त भन्छ तर गरेको छैन। नत्र, सजिलै ग्यास पाइहाल्थ्यो नि !  

असीमकुमार भण्डारी 

हामीलाई कम्पनीले ज्याकेट दिएको छैन। ठाउँ–ठाउँमा प्रहरीले रोकेर झमेला गर्छन्। मास्क छैन, पञ्जा छैन। कुन बेला, कताबाट भाइरस लाग्ने हो भन्ने त्रास उत्तिकै छ। बाटोमा हिँड्न पनि निकै डर लाग्छ। अफिसको नाम लेखेको ज्याकेट लगाउन पाए निकै सहज हुन्थ्यो। लकडाउनले ठूलो समस्या निम्ताएको छ। हातमा पैसा छैन। बैंक बन्द छन्। पहिले दिउँसो अरू काम पनि गरिन्थ्यो। आम्दानी हुन्थ्यो। अहिले त्यो पनि गुम्यो। मजदुरी गर्ने मान्छेलाई ज्यान बचाउन यसै गाह्रो, त्यसै गाह्रो। 

भीमप्रसाद घिमिरे 

बिहान पत्रिका उठाउँदा पनि निकै मुश्किल हुन्छ। प्रहरीहरूले बीच–बीचमा रोक्छन्, सोध्छन्। ज्यान जोखिममा पारेर काम गर्नुपरेको छ। त्यसमाथि आफ्नो मात्र कुरा रहेन। कतै आफूले भाइरस बोकेर ल्याए परिवारलाई सारिन्छ कि ? भन्ने डर पनि उत्तिकै छ। यसो हुँदाहुँदै पनि घरपरिवार पाल्न संघर्ष गरिरहेका छौँ। दुई छाक हातमुख जोड्नैप¥यो। 

महेश वाग्ले 

बाटोमा सुरक्षाकर्मीले ‘के हो, यस्तो अवस्थामा पनि हिँड्ने ?’ भन्ने गर्छन्। अहिलेसम्म ठूलो समस्या परेको छैन। ‘यो हाम्रो काम हो र यसलाई जस्तोसुकै परिस्थितिमा पनि पूरा गर्नुपर्छ’ भन्ने सोचले यस्तो संकटमा पनि काम छाडेका छैनाँै। संक्रमण होला कि भन्ने डर त लाग्छ तर अहिलेसम्म सचेत भएर हिँडिरहेको छु।

वीरबहादुर रानामगर 

बिहान पत्रिका लग्ने बेलामा त सजिलै जान पाइन्छ। तर, पत्रिका बाँडेर फर्किने बेलामा प्रहरीले रोकेर सोधपुछ गर्छन्। त्यसमाथि मसँग त आईडी पनि छैन। कुन दिन प्रहरीले कुट्ने पो हो कि भनेर डर पनि लाग्छ। त्यस्तै, अरू बेला दिनमा अन्य काम गर्थें। लकडाउन सुरु भएपछि बाहिरको काम ठप्प भएको छ। बाहिर हिँड्ने गरेको मान्छेलाई घरमा बस्दा उकुसमुकुस हुने रहेछ, तर परिवारलाई समय दिन पाएकोमा खुशी लागेको छ।

जुजुभाइ महर्जन 

अन्य पत्रिका त बन्द भइसके तर हाम्रो पत्रिका निस्किरहेको छ। हामीले पनि जोखिम मोलेर पत्रिका पाठकको घर–घरमा पु¥याइरहेका छौँ। बाहिर निस्किँदा भाइरस लाग्छ कि भन्ने डर लाग्छ। तर, यो हाम्रो काम भएकाले गर्नु नै पर्छ भन्ने पनि छ। आज काम गरिएन भने भोलि भोकै बस्नुपर्ने अवस्था आउँछ। 
 
इन्द्र श्रेष्ठ

यो हाम्रो काम हो। आफ्नो काम जसरी पनि पूरा गर्नुपर्छ भन्ने लाग्छ। अन्य मिडियाले प्रकाशन बन्द गरिसके। जेनतेन निस्किरहेको ‘अन्नपूर्ण पोस्ट्’लाई मान्छेको घर–घरसम्म पु¥याउने जिम्मवारी हाम्रो हो। त्यसलाई इमानदारीपूर्वक गर्ने प्रयास गरिरहेको छु। त्यसका लागि बिहानै उठेर काममा खटिएको छु। पत्रिका लगिएन भने पाठकले पनि ‘आज पत्रिका किन आएन ?’ भनेर फोन गर्छन्। त्यसैले आफ्नो ज्यानका माया मारेर काम गरिरहेका छौँ। 

कल्याण शिवाकोटी 

हाम्रो उद्देश्य सूचना प्रवाह गर्ने हो। यस्तो समयमा मानिसलाई सूचनाको आवश्यकता पर्छ। त्यसैले हामी खटिएर काम गरिरहेका छौँ। तर, संक्रमणले विकराल रूप लियो, समुदायमा पनि फैलिन थाल्यो भने त हामी पनि काम गर्न सक्दैनौँ। तर, जहिलेसम्म अफिस खुल्छ, तहिलेसम्म काम गछौँ। 

धननाथ खनाल 

पत्रिका बाँड्न त्यस्तो भीडभाड भएको ठाउँमा जानुपर्दैन। अहिलेसम्म त दुःखसुख बेहोरेर काम गरिरहेका छौँ। ‘कतै हामीलाई पनि भाइरस सर्ने त होइन’ भनेर डर बेला–बेलामा लाग्छ नै। तर, मास्क, पञ्जा लगाएर सुरक्षित भएर काम गरिरहेको छु। लकडाउनले गर्दा दिउँसोको काम ठप्प भएको छ। काम गरेर खाने मान्छेलाई घरमा बस्दा दिक्क लाग्ने रहेछ। 

कान्छा डंगोल 

काममा त्रास त निकै छ। तर, डरलाई किनारमा राखेर काम गरिरहेका छौँ। पत्रिका रोक्नु हुँदैन। कमसे कम मानिसहरूले खाली बसेको समयमा पत्रिमा पढ्न पाएका छन्। यसरी बन्दको समयमा पनि काम गर्दा ‘कसैलाई सेवा दिइरहेको छु’ भन्ने गर्व लागिरहेको छ। 

प्रस्तुतिः सुमित सुवेदी 

तपाईको कमेन्ट