ओलम्पिक पनि कोरोनाको शिकार

writer

रोशन राउत

शनिबार, २२ चैत २०७६


आधुनिक ओलम्पिक खेलकुदको १ सय २४ वर्षको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्धका कारण तीन पटक ओलम्पिक स्थगित भएको छ। यसै वर्ष जुलाईमा जापानमा हुने तय भएको ओलम्पिकको ३२ औँ संस्करणमा कोरोनाले कोर्रा प्रहार गरेको छ। टोकियो ओलम्पिक अर्काे वर्ष हुनेछ। 


कोरोना भाइरसले यति बेला विश्वभर सामाजिक जीवनका हरेक आयामलाई प्रभावित तुल्याएको छ। विश्व खेलकुद पनि अपवाद रहने कुरै भएन। 

यो भाइरस महामारीका रूपमा विश्वभर फैलिन थालेपछि सबैभन्दा पहिले प्रभावित राष्ट्रका घरेलु प्रतियोगिताहरू स्थगित भए। त्यसपछि विश्वभर लोकप्रिय इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, फ्रेन्च लिग, जर्मन बुन्डेस लिगाजस्ता चर्चित युरोपेली लिग फुटबल प्रतियोगिता एकपछि अर्को गर्दै स्थगनको सूचीमा पर्न थाले। विभिन्न खेलका चर्चित खेलाडीमै पनि भाइरसको संक्रमण देखिन थालेपछि विश्व खेलकुद झनै आतंकित बन्नु स्वाभाविक थियो। 

कोरोना भाइरसकै त्रासका कारण यसै वर्ष आयोजना हुने भनिएको युरो कप फुटबल पनि एक वर्ष पछाडि सारियो। त्यसलगत्तै अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल स्पर्धा कोपा—अमेरिका पनि स्थगित हुने प्रतियोगिताको सूचीमा थपिन पुग्यो। त्यसलाई पछ्याउँदै विश्व टेनिसका चार ठूला प्रतियोगितामध्ये फ्रेन्च ओपन पनि निर्धारित समयभन्दा पछाडि सर्ने पक्का भयो। 

तर, विश्व खेलकुदको महाकुम्भ ओलम्पिकबारे भने ठोस निर्णय आउन सकिरहेको थिएन। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस ब्याच ओलम्पिक रोक्ने निर्णय लिनु हतारो हुने टिप्पणी गरिरहेका थिए।

सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म जापानको राजधानी टोकियोमा गृष्मकालीन ओलम्पिक खेलकुदको ३२ औँ संस्करण आयोजना हुने कार्यक्रम थियो। कोरोना भाइरसको संक्रमणले जापानलाई पनि नराम्ररी गाँजिरहेको थियो। यस्तो अप्ठ्यारो स्थितिमा पनि मार्चको दोस्रो साता जापानी प्रधानमन्त्री सिन्जो आबेको एउटा अप्रत्याशित अभिव्यक्ति सार्वजनिक भयो। आबेले जापान निर्धारित समयै ओलम्पिक खेलकुद आयोजना गर्न प्रतिबद्ध रहेको बताए। त्यसलगत्तै जापानका ओलम्पिक मन्त्रीले समेत आफ्ना प्रधानमन्त्रीको अभिव्यक्तिलाई समर्थन गर्दै ओलम्पिक निर्धारित समयमै हुने दाबी गरे। यसका पछाडि एउटा प्रमुख कारण थियो– जापानले ओलम्पिक आयोजनाको तयारीका क्रममा निकै ठूलो धनराशि खर्च गरिसकेको थियो। त्यसैले पनि जापान निर्धारित समयमै ओलम्पिक आयोजना गर्न इच्छुक देखिन्थ्यो।

चौतर्फी विरोध

तर, जापानी प्रधानमन्त्री सिन्जो आबेको उक्त अभिव्यक्तिले विश्व खेलकुदमा प्रतिकूल प्रभाव पार्‍यो। विश्वभरका खेलाडी, खेल पदाधिकारी, अन्तर्राष्ट्रिय खेल संघ र राष्ट्रिय ओलम्पिक कमिटीहरूले आईओसीलाई ओलम्पिक खेलकुद रोक्न दबाब दिन सुरु गरे। आईओसीकै केही सदस्य पनि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने पक्षमा उभिए।

आईओसीकी सदस्य तथा क्यानडाली पूर्वखेलाडी हेली विकनहेजरले अहिलेकै स्थितिमा ओलम्पिक खेलकुद आयोजना गरिनु ‘संवेदनहीन र गैरजिम्मेवार’ कार्य हुने अभिव्यक्ति दिइन्। ‘अहिले विश्वभर आइपरेको संकट ओलम्पिक खेलकुदभन्दा निकै ठूलो हो,’ उनले भनेकी थिइन्। जापानी सरकारी अधिकारीहरूले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरिरहँदा हेलीको यस्तो धारणा आएको थियो। 

त्यसअघि ब्रिटेनका धावक गुय लियरमन्थले पनि तत्कालका लागि ओलम्पिक स्थगित गरिनुपर्ने बताएका थिए। ‘ओलम्पिक आयोजना गर्ने यो उपयुक्त समय होइन,’ उनको कथन थियो, ‘मानिसको जीवनभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन।’ यसै गरी, आईओसीका अर्का सदस्य डिक पाउन्डले पनि यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका थिए। त्यतिबेलासम्म ओलम्पिकलाई लक्ष्य गरी गरिएको तयारीलाई समेत कतिपय देशले स्थगित गरिसकेका थिए। यद्यपि, आईओसीले भने त्यतिबेलासम्म पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको थिएन।

त्यसपछि अमेरिका र बेलायतका केही खेल संघले पनि ओलम्पिक खेलकुद सार्न प्रस्ताव गरे। अमेरिकाको राष्ट्रिय पौडी संघ र बेलायतको एथलेटिक्स संघले ओलम्पिक सन् २०२१ मा गरिनुपर्ने प्रस्ताव राखेका थिए। यी दुवै संघले कोरोना भाइरसका कारण संसारका सबै खाले खेलकुद ठूला प्रतियोगिता रोकिएको अवस्थामा ओलम्पिक क्यालेन्डर पनि सारिनुपर्ने माग राखेका थिए। 

चुपचाप जापान पुगेको ज्योति 

चौतर्फी रूपमा ओलम्पिक खेलकुद तत्कालका लागि स्थगित गरिनुपर्ने माग उठ्न थालेपछि आईओसीमाथि ठूलै दबाब पर्न थाल्यो। मार्च २२ मा आईओसी कार्यकारी बोर्डको आकस्मिक बैठक बस्यो। उक्त बैठकले अहिलको अवस्थामा ओलम्पिक हुन नसक्ने निक्र्योल पनि निकाल्यो। यद्यपि, बैठकले ओलम्पिक स्थगित गर्ने आधिकारिक निर्णय भने लिन सकेन।
 
आईओसीको उक्त बैठकले ओलम्पिकको विषयमा अन्तिम निर्णय लिन चार साताको समय माग गर्‍यो। ‘ओलम्पिक रद्द गर्नु एजेन्डा होइन, तर गतिविधिलाई सीमित पार्न वा केही फेरबदल गर्न सकिन्छ कि भन्ने विषयमा भने छलफल हुन सक्छ’, आईओसीले भनेको थियो। 

विश्वव्यापी रूपमा ओलम्पिक खेलकुद रोक्न दबाब बढिरहँदा पनि आईओसी र स्थानीय आयोजक जापान भने यसबाट अप्रभावित थिए। विवादबीच नै जापानले ग्रिसबाट ओलम्पिक ज्योति जापान ल्याउने निर्णय गर्‍यो। अन्ततः आईओसीको आपत्कालीन बैठक बस्नुभन्दा एक साताअघि नै जापानले ग्रिसबाट ओलम्पिक ज्योति आफ्नो देशमा ल्यायो। ग्रिसमा कुनै विशेष कार्यक्रम आयोजना नगरी जापानलाई ओलम्पिक ज्योति हस्तान्तरण गरियो। ज्योति हस्तान्तरण कार्यक्रम बन्द रंगशालामा गरिएको थियो। 

ओलम्पिक खेलकुद अन्यत्र सार्न सकिने त्रासका कारण पनि जापानले हतारमा ओलम्पिक ज्योति ग्रिसबाट आफ्नो देशमा ल्याएको थियो। ज्योति जापान ल्याइसकेपछि प्रतियोगिता केही समय पछाडि सरे पनि नाम र आयोजनास्थलमा भने कुनै परिवर्तन नहुने कुरा जापानले राम्ररी बुझेको थियो।  

अन्ततः झुक्यो आईओसी 

खेलाडी, खेल पदाधिकारी, खेल संघ र राष्ट्रिय ओलम्पिक कमिटीको व्यापक विरोधका विपरीत ओलम्पिक खेलकुद रोकिने कुनै छाँट नदेखेपछि अन्ततः दुई राष्ट्रले टोकियो ओलम्पिकमा भाग नलिने निर्णय गरे। सबैभन्दा पहिले क्यानडाले जापानमा आयोजना हुने ओलम्पिक खेलकुदमा भाग नलिने निर्णय गर्‍यो। 

क्यानडाले ओलम्पिक र पारा ओलम्पिक दुवै प्रतियोगितामा आफ्ना खेलाडी नपठाउने निर्णय लिएको थियो। उसले आईओसीलाई तत्काल ओलम्पिक खेलकुद एक वर्ष पछाडि सार्न सुझाव पनि दिएको थियो। 

क्यानडाको उक्त घोषणालगत्तै अस्ट्रेलियाले पनि टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने निर्णय गर्‍यो। अस्ट्रेलियाले अहिलेको स्थितिमा ओलम्पिक खेलकुद आयोजना हुन नसक्ने निष्कर्ष पनि निकालेको थियो। 

ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने चौतर्फी दबाब बढेपछि अन्ततः आईओसी र स्थानीय आयोजक जापान प्रतियोगिता स्थगित गर्न बाध्य भए। क्यानडा र अस्ट्रेलियाजस्ता राष्ट्रले प्रतियोगितामा आफ्ना खेलाडी सहभागी नगराउने निर्णय लिनु र ओलम्पिकका छनोट प्रतियोगिताहरू धमाधम स्थगित हुनु यसको प्रमुख कारण थियो। 

ओलम्पिकका छनोट प्रतियोगितामा सहभागी खेलाडीहरू पनि कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्नु आईओसीका लागि अर्को चिन्ताको विषय बनेको थियो। छनोट प्रतियोगिताका क्रममा खेलाडी संक्रमित हुने जोखिम बढेपछि विभिन्न खेलका अन्तर्राष्ट्रिय महासंघहरू पनि ओलम्पिक स्थगित गरिनुपर्ने निष्कर्षमा पुगेका थिए।

बक्सिङको छनोट प्रतियोगितामा सहभागी छ जना खेलाडी र पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएका थिए। बक्सिङको उक्त छनोट प्रतियोगिता मार्चमा इंग्ल्यान्डको राजधानी लन्डनमा भएको थियो। कोरोना भाइरसबाट संक्रमित हुने बक्सिङ खेलाडी र पदाधिकारी टर्की र क्रोएसियाकाका थिए। 

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिएपछि विभिन्न राष्ट्रका खेलाडी र पदाधिकारीले ओलम्पिक छनोटदेखि लिएर सम्पूर्ण प्रतियोगिता स्थगित गरिनुपर्ने माग राख्दै आएका थिए। यसरी खेलाडी र विभिन्न राष्ट्रका ओलम्पिक कमिटीहरूले ओलम्पिकमा सहभागी नहुने चेतावनी दिएपछि अन्ततः आईओसी र स्थानीय आयोजक ओलम्पिक खेलकुद स्थगित गर्न बाध्य भए। 

यसै वर्षको जुलाईमा जापानको टोकियोमा सुरु हुने भनिएको ओलम्पिक खेलकुद एक वर्ष पछि सारिएको छ। मार्च २४ (चैत ११) गते आईओसीले ओलम्पिक खेलकुद सन् २०२१ मा आयोजना गर्ने निर्णय लिएको हो। तर, आधिकारिक रूपमा प्रतियोगिताको अर्को मिति भने तोकिएको छैन। त्यसअघि जापानका प्रधानमन्त्री आबेले पनि संसद्मा बोल्दै अहिलेको अवस्थामा ओलम्पिक आयोजना सम्भव नहुने धारणा राखेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य केही सरकार र राष्ट्र प्रमुखले समेत ओलम्पिक स्थगित गर्न आईओसीसँग माग गरेका थिए। अर्कोतिर, विश्व स्वास्थ्य संगठनले पनि ओलम्पिकजस्तो ठूलो प्रतियोगिता आयोजनाका लागि यो समय उपयुक्त नभएको सुझाव दिएको थियो। अब आईओसीले विभिन्न राष्ट्रका ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय खेल संघहरू र स्थानीय आयोजक कमिटीसँग छलफल गरेपछि प्रतियोगिताको नयाँ मिति घोषणा गर्नेछ।

१ सय २४ वर्षे इतिहासमा पहिलो पटक

आधुनिक ओलम्पिकको सुरुआत सन् १८९६ मा ग्रिसको एथेन्सबाट भएको हो। यस आधारमा आधुनिक ओलम्पिक सुरु भएको अहिले १ सय २४ वर्ष पुगिसकेको छ। यसबीचमा ओलम्पिक खेलकुदको ३१ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रत्येक चार÷चार वर्षमा आयोजना हुने ओलम्पिक खेलकुदको ३१ औँ संस्करण सन् २०१६ मा ब्राजिलको राजधानी रियो दी जेनेरोमा भएको थियो। त्यतिबेला पनि ‘जिका’ भाइरसको त्रास थियो। तर, त्यो भाइरस अहिलेको जस्तो महामारीका रूपमा विश्वभर फैलिएको थिएन। 

आधुनिक ओलम्पिक खेलकुदको १ सय २४ वर्ष लामो इतिहासमा कुनै पनि प्राकृतिक विपत्तिका कारण प्रतियोगिता स्थगित भएको भने यो पहिलो पटक हो। यसअघि तीन पटक ओलम्पिक खेलकुद स्थगित भएको छ। तर, त्यतिबेला मानव सृजित कारणले प्रतियोगिता हुन सकेको थिएन। ओलम्पिकको पाँचौँ संस्करण सन् १९१२ मा स्विडेनको राजधानी स्टकहोममा सम्पन्न भएको थियो। त्यसपछि छैटौँ संस्करण सन् १९१६ मा जर्मनीको बर्लिनमा आयोजना गर्ने निर्णय भएको थियो। तर, प्रथम विश्व युद्धका कारण सन् १९१६ को ओलम्पिक खेलकुद आयोजना हुन सकेन। पहिलो विश्व युद्धको समाप्तिपछि ओलम्पिकको सातौँ संस्करण सन् १९२० मा बेल्जियममा आयोजना गरियो। त्यसै गरी सन् १९४० र सन् १९४४ मा पनि दोस्रो विश्व युद्धका कारण ओलम्पिक खेलकुद आयोजना हुन सकेन। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि