आइडल सुचारु गर्ने व्यग्रता

writer

सम्पूर्ण

शनिबार, २२ चैत २०७६


सुरेश पौडेल

प्रोजेक्ट हेड÷निर्देशक, नेपाल आइडल


 

धेरैको जिज्ञासाछ, ‘अब नेपाल आइडल के हुन्छ ?’

यसको निर्विकल्प एकमात्र उत्तर छ, ‘स्थिति सामान्य हुनासाथ पुनः सुचारु हुन्छ।’

सोच्दै नसोचेको तर भुसको आगोझैँ सल्किएको महामारीले संसार ठप्प बनाइदिएको छ। परमाणु हतियार थुपारेको भरमा आफूलाई सुरक्षित एवं शक्तिशाली ठान्ने मुलुकहरूले अब सुरक्षित र शक्तिशालीको नयाँ परिभाषा खोज्नेनै छन्। आज लगभग सारा विश्व ‘लकडाउन’भएर बसेको छ। नेपाल पनि यसबाट अलग रहने कुरै भएन। टेलिभिजनहरूमा मनोरञ्जनात्मक कार्यक्रमको छायांकन रोकिएको छ। ‘ग्य्रान्ड फिनाले’तर्फ अग्रसर तेस्रो सिजनको‘नेपाल आइडल’ पनि स्थगितभएको छ। हुन त धेरैजनाको उपस्थिति रहने हरेकमल्टिक्यामरा अपरेसनमा भइपरी आउने अवस्था जस्तैः भागदौड, आगलागी वा भूकम्पका लागिसुरक्षा योजना बनाइएका हुन्छन्। तर,यो नितान्त भिन्न अवस्था हो। यद्यपि, लकडाउन गरिनुअघि नै सतर्कता अपनाउँदै स्टुडियो तथा उपकरण स्यानिटाइज गर्ने, कार्यक्रम प्रत्यक्ष हेर्न आउने दर्शकलाईगेटमै ज्वरो जाँच र स्यानिटाइजरले हात सफा गर्न लगाउने इत्यादि काम सुरु गरिएको थियो। तर, दिनानुदिन जटिल बन्दै गएको परिस्थितिसामुकेही चलेन र ‘वाइल्डकार्ड इन्ट्री’का लागि टप टेनभित्रका प्रतिस्पर्धीको प्रस्तुति छायांकन हालसम्मका लागि अन्तिम हुन पुगेको छ।टेलिभिजनमा भने अहिले सिजन थ्रीका अडिसन पुनः प्रसारण भइरहेका छन्। आशा गरौँ,यो अवस्थाबाट छिटो मुिक्त पाइनेछ।

म सधैँ भन्ने गर्छु,कम रोमाञ्चित भएका थिएनौँ हामी, प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौड्यालले नेपालमा पनि आइडल सिरिज थालनी गर्ने प्रस्ताव ल्याउँदा। त्यसपछि कसरी के–के भयो भन्नेबारे यसअघिका लेखहरूमा उल्लेख गरिसकेको छु।

विशेषगरी,‘इन्डियन आइडल’सुरु भएपछिनै त्यस्तै प्रकृतिको कार्यक्रम नेपालमा सुरु नभएको होइन। त्यस्तै,‘कौन बनेगा करोडपति’बाट प्रेरित हुँदै कलाकार मदनकृष्ण श्रेष्ठले ‘नगद पाँचलाख’ पनि सञ्चालन नगरेका होइनन्, तर तिनीहरूमा न फ्रेन्चाइजले दिने आकर्षण थियो,न त्यस्तो खालको जनशक्ति, न त प्रविधि नै। टीभीमा जे देखियो, त्यही बनाउने प्रयास गरिएको थियो। वास्तवमा फ्रेन्चाइजले एउटा स्थापित ब्रान्डका साथै त्यस्तो कार्यक्रम निर्माण गर्न अनेकौँ भित्री कुरा सिकाउँछ। त्यसबाहेक यस्ता कार्यक्रमको आत्मा– ‘रियालिटी’को पाटो भिन्नै हुन्छ, जुन सम्बन्धित टिमलेआफ्नो अनुभव र फ्रेन्चाइजदातासँग गरिएकोशृंखलाबद्धकार्यशालाबाट परिष्कृत गर्दै लगेको हुन्छ। वास्तवमा के हो ‘रियालिटी?’

नेपाल आइडलको आगमन नेपाली टेलिभिजनमै मनोरञ्जनात्मक कार्यक्रम निर्माणको सोचमा जबर्दस्त क्रान्तिकारी परिवर्तनको पहिलो खुड्किलोको रूपमा भएको थियो।

बीबीसीका लागि वर्षौंदेखि विभिन्न ‘अवार्ड विनिङ’ कार्यक्रम बनाउँदै आएका बोना ब्रोड्कास्टिङका प्रमुख तथा युरोपका अनेकौँ टेलिभिजन इन्स्टिच्युटका प्रशिक्षक तुरान अली भन्छन्–‘सामान्य अवस्थामा त्यस्तो कार्यक्रम, जसमा कुनै एक पक्षका लागि स्क्रिप्ट तयार गरिएको हुँदैन र छायांकन नगरुञ्जेलसम्मउक्त पक्षको प्रतिक्रिया थाहा हुन्न,त्यो रियालिटी हो।’आइडलको हकमा यो सामान्य जीवनयापन गरिरहेका, चर्चामा नआएका त्यस्ता प्रतिभा जो जमिनसँग जोडिएका छन्, जसको कथाले अरूलाई प्रभावित तुल्याउन सक्छ, त्यो नै रियालिटी हो।

रियालिटीसो टेलिभिजनका १० मध्येको एक फम्र्याट ‘गेम’ अन्तर्गत पर्ने गर्छन्। हरेक फम्र्याटका कथाको स्रोत भिन्न हुन्छ, गेमको हकमा यसको कथाको स्रोत नियम हुन्छ। त्यसैले गेमका नियम जति चुस्त हुन्छ, कार्यक्रमले त्यतिनै दर्शक ‘होल्ड’ गर्न सक्छ।आइडल पनि एउटा ‘गेमसो’ हो। नियमहरूमा बाँधिएको हुन्छ। जस्तैः यसमा भाग लिन १६ देखि ३० वर्षभित्रको हुनुपर्ने, विभिन्न राउन्ड पार गर्नुपर्ने इत्यादि।

आइडलमा सामान्यतया प्रस्तोता र प्रतिस्पर्धीको भाग स्क्रिप्टेड अर्थात्पूर्वनिर्धारित हुन्छ। प्रायः निर्णायककोकाम पूर्वनिर्धारित हुँदैन। यसको सुन्दर पक्ष पनियहीँनिर लुकेको हुन्छ। अन्तिम प्रतिस्पर्धाभन्दा केही एपिसोडअघिसम्म निर्णायक र प्रस्तोता कार्यक्रमका‘हिरो’ हुन्छन्।तर, जसैजसै प्रतिस्पर्धीको व्यक्तित्व अनि प्रस्तुति निखारिँदै जान्छ,उनीहरू दर्शकमाझ स्थापित हुन पुग्छन्। केही महिनाअघिसम्म गुमनाम उनीहरू दर्शकसामु नयाँ हिरो बनेर स्थापित हुन पुग्छन्। आफूमध्येकै कोही, जो हिजोसम्म आफ्नै छेउछाउ हुन्थ्यो, आफूसँगैकोसाथीभाइ, छोेराछोरी, भतिजाभतिजी, भाञ्जाभाञ्जीलगायत चर्चित बन्दै गरेको हेर्नु कम्ती रोचक लाग्दैन। 

यसपटक अघिल्ला दुई सिजनका बाहेक नयाँ अडिसन झापाको बिर्तामोडमा गरियो। जहाँ प्रतिस्पर्धीको उल्लेखनीय उपस्थिति देखियो। त्यहाँ एकदिनले नभ्याएर दुईदिनअडिसन गर्नुप¥यो। भदौमा अडिसन गर्नुपर्दा विभिन्न ठाउँमा पानी परेर दुःख पनि पाइयो तर सहभागीहरूको उत्साहमा कुनै कमी देखिएन।

रचना रिमाल बिर्तामोडकै देन थिइन्। उनले वाइल्डकार्ड इन्ट्रीका लागि पुनः प्रयास गरेकी छन्। पोखराले यसपटक पनि निराश पारेन। नेसन पुनमगर, ममता गुरुङ, मुस्कान रानाभाट पोखराकै देन हुन्। नेसन अहिले उत्कृष्ट चारमा छन्। ममताले वाइल्डकार्डमार्फत पुनः प्रवेश गर्ने प्रयास गरेकी छिन्।पोखराकी दृष्टिविहीन सरिता अधिकारीलाई पनि सम्झनैपर्ने हुन्छ। केबिन ग्लान तामाङले वीरगञ्जबाट अडिसन दिएका थिए। उनी पनि उत्कृष्ट चारमा छन्।

बुटवलबाट भूपेन्द्र थापामगर फेरि छानिएका थिए। अडिसनमा उनको प्रस्तुति निकै दमदार थियो। बुटवलबाटै छानिएका बर्दियाका प्रवीण बेडवालको प्रस्तुति दिनप्रतिदिन निखारिँदो छ। हाल उनी पनि टप फोरमा छन्। अघिल्ला सिजनबाट फेरि दोहोरिएका स्वस्तिका ढकाल र समीक्षा दाहालको प्रस्तुति पनि पहिलेभन्दा यसपटक निखारिएको छ। नेपालगञ्जबाट छानिएका कमल सोब पनि कम थिएनन्। दर्शकमाझ उनले राम्रै छाप छोडेका थिए।काठमाडौं अडिसनबाट मेघा श्रेष्ठ यो सिजनकै एकमात्र ‘गोल्डेन माइक्रोफोन’ पाउने प्रतिस्पर्धी बन्न सफल भइन्। त्यस्तै, जलजला परियारको प्रस्तुति दमदार र कथा भावुक थियो। काठमाडौं अडिसनबाटै छानिएकामोरङकीसज्जा चौलागाई र बर्दिबासका किरण भुजेल पनि बेजोडथिए। सज्जा पनि अहिले उत्कृष्ट चारमा छिन्। किरण र मेघाले वाइल्डकार्डमार्फत पुनः प्रवेश पाउन आ–आफ्ना प्रस्तुति दिइसकेका छन्।

अघिल्लो सिजनमा आएका प्रस्तोता आसिफ शाह कम समयमै दर्शकका प्रिय भइसकेका थिए।उनलाई यसपालि पवनकली अर्थात् माम्पी घोषले साथ दिइरहेकी छिन्।

अघिल्ला दुई सिजनको अनुभवसहित यो सिजनमा निर्णायक पनि परिपक्व हुँदै गएका छन्। उनीहरूलाई रिझाउन यसपटक प्रतिस्पर्धीलाई निकै गाह्रो भयो। त्यसैको परिणाम यो सिजनमा एकजनालाईमात्र गोल्डेन माइक्रोफोन प्राप्त भयो। प्रतिस्पर्धीका प्रस्तुतिमा कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीको विश्लेषणात्मक टिप्पणीबाट स्वयं प्रतिस्पर्धीले धेरै सिके भने न्ह्यू वज्राचार्यको व्यंग्यमिश्रित रचनात्मक टिप्पणी कम रोचक लाग्दैन। त्यसबाहेक पाहुनासँग गरिने हाँसो–मजाकका लागि पनि न्ह्यू चनाखो देखिन्छन्।

नेपाली च्यानलहरूमा मनोरञ्जनात्मक कार्यक्रम त्यो पनि फ्रेन्चाइज, कसैले नसोचेको बेला एपी वानबाट नेपाल आइडल प्रसारण भएको थियो। तर,सुरुवात त्यति सजिलो थिएन। त्यतिबेला एपी वान पनि सञ्चालनमा आइसकेको थिएन र ‘फ्रेन्चाइज के हो ?’ धेरैलाई थाहा थिएन। कतिसम्म भने सिजन वानको अडिसनमा जाँदा हाम्रा गाडीमा लगाइएको आइडलको स्टिकर र युट्युबमा राखेको प्रोमो हेरेका मानिस हामीलाई भेटेरै ‘यतिसम्म त विदेशीको नक्कल नगर्नू नि !’,‘लोगो र म्युजिक पनि चोरेको’ सम्म भन्थे। कतिपयले यसअघि संगीत प्रतियोगिता गर्ने भनेर विभिन्न स्थानमा हजार–हजार रुपैयाँमा फाराम भराएर केही समूह फरार भएको गुनासो पनि सुनाए। स्मरण रहोस्, नेपाल आइडलको फारामका लागि कुनै पैसा लिने गरिन्न। जेहोस्, बिस्तारै मानिसहरूले बुझ्दै गए। त्यसैले अधिकांश दुई कुर्सी ‘राजनीतिक इन्टेरोगेसन’ अर्थात् अन्तर्वार्ता र एउटाको नकल गर्र्र्दै बन्ने गरेका केही हास्य सिरियलबाट वाक्क भएर नेपाली टेलिभिजनबाट टाढा भइसकेका नेपाली दर्शकलाई पुनः टेलिभिजनतिर फर्काउन आइडल सफल भयो। त्यसपछि अन्य पक्षसमेत फ्रेन्चाइजर लोकलनै भए पनि भव्य प्रोडक्सनमा आधारित कार्यक्रम निर्माण गर्न नेपाल आइडलबाट प्रेरितभए। विज्ञापन बजार पनि कार्यक्रमको भव्यताबमोजिमको स्पोन्सरसिप उपलब्ध गराउन तयार भयो। सम्बन्धित जनशक्तिमा एउटा विशाल टिमको सदस्य भएर काम गर्ने आत्मविश्वास जगायो। आज नेपाल आइडलबाहेक जति पनि फ्रेन्चाइज वा लोकल रियालिटी कार्यक्रम छन्, अधिकांशमा नेपाल आइडलमा अनुभव हासिल गरेर गएका जनशक्तिनै छन्।

आज आएर लाग्छ, नेपालमा आइडलको आगमन एपी वानको एउटा कार्यक्रमको रूपमामात्र नभएर समग्र नेपाली टेलिभिजनमै मनोरञ्जनात्मक कार्यक्रम निर्माणको सोचमा जबर्दस्त क्रान्तिकारी परिवर्तनको पहिलो खुड्किलोकोरूपमा भएको रहेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि