घरघरै स्यानिटाइजर उत्पादन

writer

सम्पूर्ण

बिहिबार, २० चैत २०७६


हिमाल दाहाल

इटहरी : केही साताअघि पूर्वका उद्योगी महेश जाजु प्रदेश नम्बर १ का पर्यटनमन्त्री जगदीश कुसियतलाई भेट्न पुगे। अभाव चुलिएको समयमा स्यानिटाइजरको एक बट्टा लिएर उनी त्यहाँ पुगेका थिए। ‘यो हाम्रो आफ्नै उत्पादन हो, स्याम्पलका लागि उत्पादन गरेका छौँ,’ उद्योगी जाजुले मन्त्रीसँग भने, ‘स्यानिटाइजर उत्पादन गर्न चाहिने अल्कोहल खरिदमा सहजताका लागि यहाँ आएका हौंँ।’ 

जाजुको समूहले स्यानिटाइजर उत्पादन गर्दै छ भनेर केही दिनअघि एउटा अनलाइनमा समाचार आएको थियो। जाजु त्यो दिन मन्त्रालयमा हुँदा नै तीनचार वटा फोन आए। ‘बेलायतदेखि पनि माग आइरहेको छ,’ उनले भने।

कोरोना भाइरसको संक्रमणको घटना सार्वजनिक हुनुअघिसम्म पनि नेपालीहरू स्यानिटाइजरमा अभ्यस्त भइसकेका थिएनन्। धेरैलाई स्यानिटाइजर के हो भन्ने नै थाहा थिएन। तर, कोरोनासँगै स्यानिटाइजरको नाम, चर्चा र माग चुलिएको छ। साबुन पानीभन्दा स्यानिटाइजरको प्रयोग सजिलो भएकाले पनि माग बढेको हो। ‘पानी कहाँ खोज्नु, स्यानिटाइजरमा पानी प्रयोग हुँदैन, बोक्न र प्रयोग गर्न सजिलो छ,’ एक औषधि पसलमा स्यानिटाइजर खोज्दै पुगेका बेलबारीका प्रकाश कार्कीले भने, ‘बसको यात्रा गर्दा होस् या कसैसँग हात मिलाउनै पर्‍यो भने त्यसपछि तुरुन्तै हात सफा गरिहाल्छु।’

माग बढे पनि आपूर्ति बढेन। बजारमा पाइनै छाड्यो। धेरै व्यवसायी र ग्राहकले स्यानिटाइजरको उत्पादक खोज्न सुरु गर्दै गर्दा धरान उपमहानगरपालिकामा त्यसको उत्पादन सुरु भएको छ। त्यहाँ रहेको केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारका विद्यार्थीले स्यानिटाइजर उत्पादन थालेका हुन्। धरान उपमहानगरपालिका र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा स्यानिटाइजर उत्पादन हुन थालेपछि धरान त्यसमा आत्मनिर्भर बनेको छ।

अहिलेसम्म दुई सय लिटर उत्पादन गरेर विभिन्न वडा तथा सार्वजनिक संस्थामा वितरण गरिसकेको ‘कोभिड टिम’का सदस्य तथा हात्तीसार क्याम्पसका माइक्रोबायोलोजी विभाग प्रमुख धीरेन लिम्बूले जानकारी दिए। यो टिम कोरोनासम्बन्धी सचेतना तथा स्यानिटाइजर उत्पादनका लागि बनाइएको हो। 

लिम्बूका अनुसार स्यानिटाइजर बनाउन गाह्रो छैनझ आधारभूत रूपमा तीन वटा केमिकल मिसाएर यो तयार गरिन्छ। ‘इथाइल अल्कोहल, ग्लिसरिन र हाइड्रोजन पेरोक्साइडको उचित मात्रा मिलाएर यो तयार गर्न सकिन्छ,’ उनले भने, ‘अहिले प्रत्येक वार्डमा हामी स्यानिटाइजर बनाउन सिकाइरहेका छौँ।’

धरानका २० वटा वडालाई पाँच वटा क्लस्टरमा छुट्याएर होटल एसोसिएसनको सहयोगमा तालिम, सचेतनामूलक कार्यक्रम र उत्पादन एकसाथ थालिएको छ। उनका अनुसार यसरी बनाएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसारको हो। 

यता धरानकी उपमेयर मञ्जु भण्डारीका अनुसार धरानका आठनौ ठाउँमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ। स्यानिटाइजर उत्पादन गरेर बाँड्नुका साथै बनाउनसमेत सिकाउने काम भइरहेको छ। ‘सामान दिनुभन्दा सीप दिँदा घरमै पनि बनाउन सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले प्रत्येक वार्ड र टोलमा स्यानिटाइजर बनाउन सिकाइरहेका छौँ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि