पीपीई नपाउँदा होममेड गाउन

writer

सम्पूर्ण

बिहिबार, २० चैत २०७६


हिमाल

इटहरी : यति बेला देशभर लकडाउन लागू गरिएको छ। केही सम्भावित बिरामीलाई क्वारेन्टिन र आइसोलेसनमा समेत राखिएको छ। तर, उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा भने कम ध्यान दिइएको गुनासो व्यापक छ। संक्रमणसँग जोगिने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) को अभाव रहेको छ। पीपीई प्रयोग नगर्दा स्वास्थ्यकर्मीलाई नै संक्रमणको खतरा हुन्छ। आइसोलेसन र क्वारेन्टिन बनिसकेर बिरामी ल्याउन सुरु भए पनि पोशाक नपाएपछि इटहरीका स्वास्थ्यकर्मीले भने बजारमै पाइने कामचलाउ पोशाक बनाएर लगाएका छन्।

इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले बजारमा पाइने रेनकोट र रेनकोटको प्लास्टिकबाट बनेको गाउन प्रयोगमा ल्याएका छन्। ‘रेनकोट र प्लास्टिककै पोशाक प्रयोग गरिएको छ,’ उपमेयर लक्ष्मी गौतमले भनिन्, ‘डाक्टरको भाषामा पीपीई भनिए पनि त्यो प्लास्टिकको पोशाक रहेछ। हामीले कामचलाउ त्यही पोशाक प्रयोग गरिरहेका छौँ।’ काठमाडौँमा पोशाक बनाउन अर्डर दिए पनि बन्दका कारण पोशाक ल्याउन नसकेको उनले गुनासो गरिन्। यातायातका साधन ठप्प हुँदा बनिसकेको २० थान पोशाक ल्याउन नसकिएको उनले बताइन्। भनिन्, ‘तत्कालको लागि यही प्रयोग गरिरहेका छौँ।’

संघीय सरकारले दिन नसकेपछि स्थानीय सरकारको सहयोगमा गाउन, एप्रोन, क्याप, बुट र चस्माको व्यवस्था गरेको इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा ओटी गाउनसमेत बनाउने काम भइरहेको छ। व्यावसायिक पीपीईजस्तो सुरक्षित नभए पनि यस्तो पोशाकले संक्रमणको सम्भावनालाई कम गर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि