लकडाउन, अफवाह र लापर्बाही

writer

हिमाल दाहाल

बिहिबार, २० चैत २०७६


घरको आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्ला चल्यो। अन्धविश्वास गाउँमा मात्र होइन, शहरमा पनि उत्तिकै देखियो। अर्बपति विनोद चौधरीले कोरोनाविरुद्ध भव्य पूजा लगाए। 


देश अहिले लकडाउनको अवस्थामा छ।

शहर बजारमा मानिस फाट्टफुट्ट मात्र देखिन्छन्। अनुमतिप्राप्त सवारीसाधन गुड्छन्। केही बैंक, औषधि पसल, अस्पताल, किराना÷तरकारी पसल खुलेका छन्। जनताका गतिविधि ठप्प छन्। 

तीन महिनाअघि मात्र देखिएको कोरोना भाइरसबाट संसारभर लाखौँ मान्छे संक्रमित छन् भने हजारौँको मृत्यु भइसकेको छ। नेपालमै पनि पाँच जनामा संक्रमण देखिइसकेको छ। 

युरोप तथा खाडी मुलुकबाट आएका ती पाँच जना र उनीहरूजस्तै अन्य आगन्तुकबाट नेपालमा अरू कति जनालाई सर्‍यो, त्यसको नतिजा अबको केही दिनमा आउनेछ। लकडाउनका कारण धेरैलाई संक्रमण नभइसकेको आश गर्न सकिन्छ। 

अहिले सरकार घर–घरमा मानिसलाई बस्न लगाएर संक्रमित पत्ता लगाइरहेको छ। सम्भावित र लक्षण देखिएकालाई छुट्टै राख्न प्रत्येक गाउँ तथा नगरपालिकामा क्वारेन्टिन, आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। 

नेपालः पहिलो संक्रमणदेखि लकडाउनसम्म

पहिलो कोरोना संक्रमितबारे सञ्चारमाध्यममा आउँदासम्म विश्वमा कोरोना भाइरस यति धेरै भयावह रूपमा फैलिसकेको थिएन। उद्गमस्थल मानिएको चीनको वुहानमा मानिसहरू मरिरहेका थिए। बाँकी विश्वले खासै वास्ता गरेको थिएन। 

धन्न, ती कोरोना संक्रमित आफैँ सजग थिए। आफैँलाई क्वारेन्टिनमा राखे। उनी आफू पनि निको भए अनि परिवार पनि जोगाए। दोस्रो संक्रमित पनि आफँै सजग थिइन्। उनको पनि परिवार संक्रमित भएन। त्यसमा उनको सावधानी र सुझबुझले काम गर्‍यो। पाँचौँ संक्रमित बाग्लुङकी युवती क्वारेन्टिनमा बस्न मानिनन्। गाउँ, बजार डुलिरहेकी थिइन्। अहिले पूरै बाग्लुङ त्रस्त छ।

विदेशबाट फर्कनेहरू वाहक

पछिल्लो समय फ्रान्समा पढेर, कतारमा काम गरेर र बेल्जियम घुमेर आउने नेपालीमा कोरोनाको संक्रमण भएको थियो। यीबाहेक भारत, खाडी देश र अन्य विभिन्न मुलुकबाट आएका नेपाली अझै पनि गाउँघरमा होलान्। उनीहरू कोरोना संक्रमित हुने र अरूलाई पनि संक्रमित बनाउने सम्भावना सबैभन्दा बलियो छ।

सरकारले वैदेशिक रोजगारीमा गएकालाई सरकारी क्वारेन्टिनमा बस्न भनेको छ। नभए घरमै अलग्गै बस्न भनेको छ। क्वारेन्टिनमा बस्ने, खाने व्यवस्था राम्रो नभएको भन्दै बसेकाहरू पनि छाडेर भागेका छन्। वास्तवमै न्यूनतम सुविधा पनि नहुँदा लक्षण नै नदेखिसकेको अवस्थामा १४ दिन एकान्तवासमा बस्नु साँच्नै नै कष्टकर हुन्छ। तर, क्वारेन्टिनमा बस्नु उनीहरूको व्यक्तिगत र पारिवारिक स्वास्थ्यको लागि कति आवश्यक छ भन्नेबारे उनीहरूलाई बुझाउन सरकारले सकेन। बुझ्नेहरू जसोतसो बसे। बस्दैनौँ भन्नेलाई पनि छाडियो। आज उनीहरूसँगै उनीहरूको परिवार पनि संक्रमणको जोखिममा छ।

घर पनि नगई सीधै क्वारेन्टिनमा १४ दिन बसेर कोरोना छैन भन्ने प्रमाणित गरेपछि मात्र गाउँघरमा फर्किन दिनुपथ्र्यो। तर, भारतकै बिहार र दिल्लीमा संक्रमण पुष्टि भइसकेपछि पनि त्यहाँबाट आएका हजारौँ नागरिक बेरोकटोक नेपाल छिरे। 

अब विदेशबाट फर्किएकालाई अझ बढी अनुशासनमा राख्ने, उनीहरूको घरपरिवार र छरछिमेकलाई पनि बुझाउन धेरै ढिला गर्नु हुँदैन। यो काम स्थानीय तहले मात्र गर्न सक्छ। जसमा सबै पार्टी, प्रहरी, प्रशासन र सचेत समुदायको सहयोग चाहिन्छ।

कोरोना संक्रमित पहिलो र दोस्रो बिरामी आफैँ सचेत भएको देखियो। दुवै घरमा क्वारेन्टिनमा बसे। समस्या आएपछि अस्पताल गए। जसको कारण उनीहरूले परिवारलाई संक्रमण सारेनन् र आफू पनि निको भए। आत्मअनुशासन नै रोगलाई जित्ने उपाय हो। तर, धेरै मानिस क्वारेन्टिनमा बस्न तयार छैनन्।

विदेशबाट फर्किएकाहरूबाट देशभर दर्जनौँ वा सयौँलाई कोरोना संक्रमण भइसकेको केही चिकित्सकले अनुमान गरेका छन्। यदि त्यो हो भने नतिजा देखिन अझै साता÷दश दिन समय लाग्छ। त्यतिञ्जेल अझ सावधानी अपनाएर मानिसलाई घरमै बस्न कडाइ गर्ने हो भने कोरोनालाई नियन्त्रण गर्न सकिन्छ। होइन भने कोरोना हाम्रो हातबाट फुत्किनेछ, जसको परिणाम भयावह हुन सक्छ।

अन्य रोगी र दीर्घरोगीलाई समस्या

कोरोनाको संक्रमणपछि राम्रा भनिएका अस्पतालसमेत बन्द भएका छन्। कोरोनाजस्तै लक्षण देखिने रुघाखोकी र ज्वरोका बिरामीलाई छुनै चाहिरहेका छैनन्। डाक्टर डराएका छन्। उनीहरूसँग स्तरीय पीपीईसमेत छैन। जसले गर्दा बिरामी, रोगी समस्यामा परेका छन्। उपचार चाहिरहने दीर्घरोगी झन् समस्यामा छन्।

गरिबलाई खाद्यान्न बाँड्ने, बिरामीलाई फोनबाटै परामर्श दिने, सामग्री घरघरै पुर्‍याइदिने काम पनि सुरु भएको छ। तर, त्यो प्रयास न्यून छ र गाउँघरसम्म पुग्न सकेको छैन।

किनमेल र बजारमा सतर्कता

भारतमा मानिसहरू किनमेलको लागि पटक–पटक निस्कँदैनन्। धेरै जनाको सामान किन्नका लागि एक जना बाहिर जान्छ, उसले सामान किनेर ल्याइसकेपछि गेट र ढोका अर्कैले खोलिदिन्छ। उनीहरू सामान राख्छन् र सीधै बाथरुममा गएर नुहाउँछन्, लुगा धुन्छन्। त्यस्तै सामानको कभरलाई सकेसम्म धुन्छन्, नभए स्यानिटाइजरले सफा गर्छन्। वास्तवमा गर्नुपर्ने यही हो। तर, हामी यस्ता साना कुरामा ध्यान दिँदैनौँ। यी कुरालाई गाउँ–गाउँसम्म पुर्‍याउन आवश्यक छ।

कोरोना रोक्न सामान्य मास्क लगाएर निष्फिक्री डुल्नेहरू जोखिममा छन् र अरूलाई पनि जोखिममा पारिरहेका छन्। उनीहरूले मास्क लगाए पनि हातको सम्पर्कबाट कोरोना सर्ने कुरामा ध्यान दिइएको पाइँदैन। 

हात मिलाउन बन्द गरिएको छ, साबुन पानीले हात धुने बानी परेको छ। तर, उपभोग्य सामग्री किनिसकेपछि ती सामग्रीको कभरमा टाँसिएर आउन सक्ने भाइरसको विषयमा धेरैलाई वास्ता छैन। पैसा र अरू वस्तुबाट पनि कोरोना सर्न सक्छ। त्यतातिर ध्यान दिइएको पाइँदैन।

अन्धविश्वास र अफवाहको लहड

घरको आँगन खन्दा कोइला निस्कने र त्यो कोइला लगाए कोरोना नलाग्ने हल्ला यो साता चल्यो। धेरै मानिसले आफ्नो घरको आँगन खने पनि। ‘घरको मूल ढोकाअगाडिको आँगन खन्दा कालो अँगारजस्तो वस्तु भेटिन्छ, त्यसको तिलक बनाएर लगाउनुहोस्, कोरोना लाग्दैन’ भन्ने हल्ला चलेको थियो। देशभरका गाउँ–गाउँमा यस्तो हल्ला चलेको थियो। 

त्यसो त अन्धविश्वास गाउँमा मात्र होइन, शहरमा पनि उत्तिकै देखियो। अर्बपति विनोद चौधरीले कोरोनाविरुद्ध भव्य पूजा लगाए। आर्थिक सहयोग गर्नुभन्दा पनि अन्धविश्वासलाई प्रश्रय दिएको भन्दै आलोचना बढेपछि उनले ५० लाख रुपैयाँ दिने समाचार बाहिरियो।

अझ एक जना पास्चरले इसुले कोरोना निको पार्छन् भन्दै दिएको प्रवचनको भिडियो सामाजिक सञ्जालमा छाएपछि प्रहरीले पक्राउ नै गरे। सरकारले अफवाह फैलाउनेलाई कारबाही गर्ने तदारुकता देखाएको छ।

यसअघि नै पनि कोरोना भाइरसको विषयमा धेरै हल्ला फैलिए। कसैले भने, कोरोना गर्मीमा बाँच्दैन, कसैले भने रक्सी खाँदा निको हुन्छ। तर, यी सब भ्रमका खेती हुन्। घरमै बस्ने, अरू मानिससँग एक मिटरको दूरी कायम गर्ने र स्यानिटाइजर अथवा साबुन पानीले बारम्बार हात धुनु नै कोरोनाबाट जोगिने उपाय हुन्। 

अब राहत सर्वसाधारणलाई

लकडाउनको समय थपिएको छ। संक्रमितहरू पूरै सतहमा नआएसम्म लकडाउनको समय थपिने सम्भावना छ। 

लकडाउनको कारण काम ठप्प हुँदा निम्न वर्गीय परिवारलाई पर्ने समस्यातर्फ पनि सचेत हुनुपर्छ। उनीहरूलाई केही दिनका लागि राहत दिने काम सुरु भएको छ। जसलाई अझ प्रभावकारी बनाउनुपर्छ। भारत र अमेरिकाजस्ता देशले नागरिकलाई घरै बस्न भन्दै आर्थिक प्याकेज घोषणा गरेका छन्। नेपालको त्यो हैसियत छैन। तर, खाद्यान्न भए पनि आपूर्ति गर्न सक्छ। 

बजारमा अभावको मौका छोपेर कालोबजारी मौलाउनेतिर पनि सरकारको ध्यान जानुपर्ने देखिन्छ। अहिले पनि बढी मूल्य लिएर तरकारीदेखि अन्य सामानको किनबेच भइरहेको छ।

अझै लापर्बाही गर्ने ?

फेब्रुअरीको अन्तिमतिर इटालीमा एक जनाको ज्यान गएको थियो। एक महिनापछि इटालीमा दैनिक एक हजार मानिसको ज्यान गइरहेको छ भने पाँच हजार बिरामी अस्पतालमा भर्ना भइरहेका छन्।  युरोपकै अरू देशको अवस्था पनि त्यस्तै छ। इटालीको त्यो अवस्था लापर्बाहीले सिर्जना गरेको हो। सावधानी अपनाउनु भन्ने सरकारको आग्रहविपरीत इटालीमा मानिस अटेरी भए। ज्यादा स्वतन्त्रताको उपयोग गरेर धेरै संक्रमित भए।

कोरोनालाई नियन्त्रण गर्न सरकारले हात धुन सिकाइरहेको छ। मास्क र स्यानिटाइजर प्रयोग गर्न भनिरहेको छ। धेरैले गरिरहेका छन्। तर लकडाउनलाई पहिला–पहिला हुने नेपाल बन्द ठान्ने अनि बिहान मर्निङवाक र साँझ हावा खान निस्कनेले संक्रमण फैलाउने काम गरिरहेका छन्। दिउँसो र राति घर बसे पनि साँझ बिहान जमघट हुने, खेल खेल्ने, कुद्ने, गफिने काम भइरहेकै छन्। निर्ममताका साथ ती सबैलाई रोक्न आवश्यक छ। लापर्बाही घटाउनुपर्छ। नत्र, सारा मेहनत व्यर्थ जाने देखिन्छ। 

शहरी क्षेत्रमा मानिस वर्षौंदेखि क्वारेन्टिनमै हुन्छन्। उनीहरू छिमेकीहरूसँग पनि कुराकानी गर्दैनन्। एक अर्काको वास्ता पनि हुँदैन। तर, त्यसको ठीक उल्टो जमघट र कुराकानी अनि भेटघाट हुने भनेको ग्रामीण क्षेत्रमा हो। 

हुन त कोरोनाको उपचार राज्यले गर्ने व्यवस्था गरेको छ। तर, रोग लागिहाले पनि सामान्य होला भन्दै नियमित काम गरिरहने र पार नलागेपछि डाक्टरकहाँ पुग्ने प्रवृत्ति आम नेपालीमा छ। स्वास्थ्य सेवामा पहुँच धेरैको छैन। त्यसैले उनीहरू हतपती अस्पताल जाँदैनन्। पुगुञ्जेल धेरै ढिलो भइसकेको हुनेछ।

त्यसैले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। चीनमा ड्रोनको सहयोगले घर–घरमा गएर बाहिर निस्कनेलाई घरभित्रै बस्न सूचित गरिन्थ्यो। नेपालमा पनि प्रायः प्रोफेसनल फोटोग्राफरसँग ड्रोन छ। उनीहरूको सहयोग लिन सकिन्छ।

समग्रमा हामीसँग जोगिने उपाय धेरै छन्। तर, ती सबैको सावधानीका साथ उपयोग गर्नु आवश्यक छ। व्यक्ति, स्थानीय तह, प्रहरी र सरकार मिलेर संकटको सामना गर्नुपर्छ। सबैले आ–आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि