वाइल्ड इन्ट्रीः रेस जारी छ

writer

सम्पूर्ण

मङ्गलबार, १८ चैत २०७६


एपी वान टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी सो ‘नेपाल आइडल’ को तेस्रो सिजनमा ‘वाइल्ड कार्ड इन्ट्री’ मार्फत पाँच जना प्रतियोगी फेरि सोमा फर्किएका छन्। उनीहरू उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा गर्दै छन्। ‘अन्नपूर्ण सम्पूर्ण’सँग आफ्ना भावना साझा गर्दै उनीहरू भन्छन्– रेस जारी छ।


‘सुनौलो अवसर पाएँ’

मेघा श्रेष्ठ 


म टप फाइभबाट बाहिरिएकी थिएँ। अडिसनमा सहभागी लाखौँ प्रतिस्पर्धीबाट छानिँदा खुशी लाग्यो। गोल्डेन माइक पाएर टप फाइभसम्म पुग्नु ठूलो उपलब्धि हो। त्यसैले उत्कृष्ट पाँचबाट बाहिरिँदा त्यति दुःख लागेन। आइडलबाट निस्कनासाथ फेरि ‘वाइल्ड कार्ड इन्ट्री’ बाट प्रस्तुति दिन बोलाइयो। यसबीच घर जान पाइनँ। आफन्त र शुभचिन्तकलाई भेट्न नपाए पनि उहाँहरूले फोन गरे आशीर्वाद दिइरहनुभएको छ। उत्कृष्ट पाँचबाट आउट भएकी हुँ, फेरि त्यही पोजिसनका लागि भिड्दै छु। यो मेरा लागि एउटा सुनौलो अवसर हो।



‘धेरैले चिन्न थाले’ 

ममता गुरुङ 


उत्कृष्ट नौमा आउट भएकी थिएँ। त्यतिखेर निकै दुःख लाग्यो। त्यसलगत्तै घर गएँ। घरमा सबै जना निकै खुशी हुनुहुँदो रहेछ। ‘यहाँसम्म पुग्नु पनि ठूलो कुरा हो’ भन्दै सबैले हौसला दिनुभयो। आफन्तले पनि राम्रो गरेको भन्दै फोन र म्यासेज गरे। बाहिर निस्किएपछि चार वटा गीतमा आवाज दिइसकेँ। आइडलपछि कलेज जाँदा ‘ओहो आइडलको ममता आयो’ भन्दै सबैले राम्रो प्रतिक्रिया दिएका थिए। त्यो देखेर निकै खुशी लाग्यो। आइडलमा आएपछि मलाई धेरैले चिन्न थालेका छन्। कति जनाले त ‘तिमी आउट भएपछि आइडल हेर्न छोडेँ’ समेत भने। यस्ता कुराले मेरो हौसला झन् बढ्यो। कक्षा ११ को प्री बोर्ड दिँदै थिएँ। यता आउनुप¥यो। अर्थशास्त्रको पेपर छुट्यो। अस्तिको एपिसोडमा राम्रो प्रस्तुति दिएँजस्तो लाग्छ।



 
‘संगीतको रेस जारी छ’ 

मिग्मा लामा 


म आउट हुँदा धेरैले ‘तिमी उत्कृष्ट चारसम्म पुग्नुपर्ने मान्छे हो’ भनेका थिए। भोटिङ राउन्डमा पुगेपछि अलिकति भोट नपुगेर टप टेनबाट बाहिरिएँ। त्यो मेरा लागि झट्काजस्तै थियो। सुरुमा त विश्वास पनि लागेन। आइडलबाट बाहिरिएपछि ‘यो मेरो अन्त्य हैन’ भन्ने सोचेर अगाडि बढेँ। यहाँबाट घर गएँ। त्यहाँ केही कार्यक्रम गरेँ। पहिला मलाई कसैले चिन्दैनथे। अहिले धेरैले चिन्न थालेका छन्। वाइल्ड कार्डमा आएको थाहा पाएपछि सबै जना खुशी भएका छन्। आफ्ना प्रशंसकलाई निराश बनाउन चाहन्नँ। त्यसका लागि मेहनत गर्दै छु। वाइल्ड कार्डमा बोलाउनुहुन्छ भन्ने लागेको थिएन। तर, बोलाउनुभयो। खुशी लागेको छ। अस्तिको प्रस्तुति राम्रो भएको छ। यदि फेरि आउट भए पनि यसलाई आफ्नो हार मान्नेछैन। मेरा निम्ति संगीतको रेस सदा जारी छ।



‘धेरै सिक्न बाँकी छ’ 

रचना रिमाल 


आइडलबाट आउट हुनुभन्दा अघिल्लो एपिसोडमा मेरो प्रस्तुति राम्रो भएको थिएन। जसले गर्दा आउट भएँ। आफूले शत प्रतिशत दिन नसकेकोमा दुःख लाग्यो। आइडलबाट बाहिरिएपछि पहिला घर गएँ। त्यसपछि विभिन्न कार्यक्रममा गएँ। तर, यसपालि घर जानु पहिलेको भन्दा फरक थियो। बाटोमा हिँड्दा पनि सबैले चिन्थे। कतिपयले मोबाइल निकालेर ‘नानी एउटा फोटो खिचौँ न’ भन्दै सेल्फी खिच्थे। यसबीच काठमाडौँमा छसात वटा गीत रेकर्ड गरँे। त्यसमध्ये एउटा गीत सार्वजनिक पनि भइसक्यो। अरू बिस्तारै आउँदै छन्। वाइल्ड कार्डबाट फेरि आइडलमा आउन पाउँदा खुशी भएकी छु। यो मेरा लागि सुनौलो अवसर हो। प्रस्तुति दिइसकेँ, हेरौँ के हुन्छ। आइडलमा अगाडि बढ्न सकिएन भने पनि सांगीतिक यात्रा जारी राख्नेछु। बल्ल सिक्दै छु, धेरै कुरा सिक्न बाँकी छ।



‘जीवन पूरै बदलियो’

किरणकुमार भुजेल 


म टप सेभेनबाट आउट भएँ। आउट हुँदा नराम्रो लाग्यो। त्यसपछि घर गएँ। त्यहाँ निकै व्यस्त भएँ। मेलिना राईसँग ‘मायामा सँगै’ बोलको गीत गाएँ। अरू गीत पनि रेकर्ड गरँे। त्यसबाहेक कार्यक्रमहरूमा पनि सहभागी भएँ। आफ्नो जीवन पहिलाको भन्दा धेरै फरक पाएँ। आइडलमा आएपछि म साधारण मान्छे पनि सेलिब्रिटीजस्तै भएँ। त्यो देख्दा अनौठो लाग्दो रहेछ। आइडलबाट बाहिरिएपछि आफूलाई माया गर्ने सबैसँग भेटघाट गरेँ। मेरा प्रशंसक धेरै रहेछन् भन्ने कुरा बाहिर गएपछि थाहा पाएँ। अहिले सबैले मलाई भेट्दा राम्रो प्रतिक्रिया दिनुहुन्छ। गायकीको प्रशंसा गर्नुहुन्छ। एउटा गायकलाई त्योभन्दा बढी के नै चाहियो र ? बाटोमा हिँड्दा मेरा प्रशंसकले  फोटो खिच्नुहुन्छ। त्यो देखेर निकै खुशी लाग्छ। फेरि आइडलमा आउने मौका मिलेको छ। यो मौकालाई गुमाउँदिनँ। सेलेक्ट भइनँ भने पनि सांगीतिक क्षेत्रमा लागिरहनेछु। आइडलले प्रसिद्धि दिएको छ। यसलाई सदुपयोग गर्नेछु।


प्रस्तुतिः सुमित सुवेदी
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि