रेकर्डिङ जारी थियो...

writer

सम्पूर्ण

आइतबार, १६ चैत २०७६


प्रणव 

कोरोनाको त्रासले मनोरञ्जनका सबै विधामा असर परिरहेको समयमा रेकर्डिङ स्टुडियोमा भने उत्तिकै चाप रहेको रेकर्डिस्टहरू बताउँछन् । पहिलाको तुलनामा स्टुडियो व्यस्त नभए पनि बन्दै गर्नु भने नपरेको उनीहरूको कथन छ । 

कोरानाका कारण मेला–महोत्सव र कन्सर्ट रद्द भए । मुखैमा आएर कार्यक्रम बन्द भएपछि संगीतकर्मी चिन्तित छन् । यसमा पनि सबैभन्दा मारमा परेका छन्, संघर्षरत गायक–गायिका । कोरोनाका कारण उनीहरूले नियमित आम्दानी त गुमाएका छन् नै, बढ्दो दर्शक ‘क्रेज’ पनि गुमाउन बाध्य भएका छन् । तर, मंगलबारदेखि ‘लकडाउन’ सुरु हुनुअघिसम्म कतिपय संगीतकार, गायक–गायिका रेकर्डिङ स्टुडियो भएका गल्लीमा देखिन छाडेका थिएनन् । वाद्यवादक पनि स्टुडियोमा गिटार, बाँसुरी बजाउँदै गरेका भेटिन्थे । 

नेपालमा सयौँको संख्यामा म्युजिक रेकर्डिङ स्टुडियो छन् । ती स्टुडियोमा लकडाउनअघिसम्म धमाधम काम भइरहेको थियो । बाहिर निस्किनुनपर्ने र सानो टिमले काम गर्ने हुँदा स्टुडियोको काममा खासै प्रभाव नपरेको स्टुडियो सञ्चालकहरूले बताएका थिए । 

ड्रिम्स रेकर्डिङ स्टुडियोका सञ्चालक प्रकाश केसीका अनुसार उनको स्टुडियोबाट लकडाउनअघि पहिलेकै जति दैनिक दुई वटा गीत रेकर्ड भइरहेका थिए । ‘प्रभाव त पर्छ नै तर हाम्रोमा त्यस्तो साह्रो असर परेको छैन,’ उनले भने, ‘म चाहिँ अचेल धेरैजसो बाहिर बस्ने नेपालीको काम गर्छु । यताबाट ट्र्याक बनाएर पठाइदिन्छु र उताबाट भोकल गरेर पठाइदिन्छन् ।’

कोठाभित्र बसेर काम गर्नुपर्ने भएकाले खासै प्रभाव नपरेको प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोका म्यानेजर श्यामश्वेत रसाइलीले बताए । सरकारले आइसोलेसनमा बस्नु भनेकाले स्वास्थ्यमा समस्या भएका म्युजिसियन नआउने र छुट्टाछुट्टै सेड्युलका कारण स्टुडियोमा त्यति धेरै भीड नहुने कुरा उनले बताए ।  ‘हाम्रोमा एक समयमा धेरै जना हुने भनेको चारपाँच जना हो,’ उनले भने, ‘यति मात्र हुँदा खास समस्या हुन्न । त्यसैले लकडाउनअघि नियमित काम रोकिहालेका थिएनौँ ।’ 

कन्सर्ट, मेला–महोत्सव सबै स्थगित हुँदा गायक–गायिका फुर्सदमा छन् । धेरैले थाँती रहेका गीत रेकर्ड गर्नलाई यही मौका छोपिरहेका थिए । अहिले गीत निकाल्न पाए अनुकूल समयमा रिलिज गर्न सकिने धेरैको विश्वास थियो । गीत रेकर्डिङपछि म्युजिक भिडियोको काममा ज्यादा खट्नुपर्ने भएकाले कम्तीमा गीत हात पारे म्युजिक भिडियोको कन्सेप्टदेखि निर्देशक र कलाकारसम्म फाइनल गर्न सजिलो हुने धेरैको बुझाइ थियो । तर, लकडाउनपछि रेकर्डिङ स्टुडियोहरू पनि बन्द हुने नै भए । ‘सोमबारसम्म पनि रेकर्डिङको काम भइरहेको थियो,’ संगीतकार अर्जनु पोखरेलले भने, ‘तर, लकडाउनपछि परिस्थिति अर्कै भयो ।’ 

तपाईको कमेन्ट