‘क्वारेन्टाइन’मा कलाकार

writer

सम्पूर्ण

बुधबार, १२ चैत २०७६


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण विश्वका धेरै ठाउँ ‘लकडाउन’ गरिएका छन् । भारतमा बढिरहेको कोराना संक्रमणले गर्दा बलिउड पनि लकडाउनको स्थितिमा छ । ‘सोसल डिस्ट्यान्स’ भन्दै कलाकार आ–आफ्नो घरमा बसेका छन् । समयको सदुपयोग गर्न कोही खाना पकाउन सिकिरहेका छन्, कोही किताब पढिरहेका छन्, कोही संगीतमा त कोही व्यायाम गर्दै समय बिताइरहेका छन् ।


दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोणले परिवारसँग समय बिताइरहेकी छिन् । पेरिस फेसन विकका लागि फ्रान्स जाने उनको योजना थियो । कोरोनाका कारण विदेश यात्रा रद्द भएपछि उनी घरमा छिन् । सरसफाइदेखि आफ्नो हेरचाहमा उनले समय बिताइरहेकी छिन् । केही दिनअघि आफ्नो दराज सफा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यसलाई उनले पहिलो एपिसोड बताएकी थिइन् । त्यसपछि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फेस मसाज गरिरहेको फोटो पोस्ट गरेकी थिइन् । क्याप्सनमा लेखेकी थिइन्– ‘सिजन १, एपिसोड २ । कोभिड–१९ को समयमा उपयोगी काम ।’ साथै, उनले ‘सेल्फ लभ एन्ड सेल्फ केयर’ को ह्यासट्याग प्रयोग गरेकी छिन् । यसरी रमाइलो तरिकाले आफ्ना प्रशंसकलाई दीपिकाले आफूबारे अपडेट दिइरहेकी छिन् । इन्स्टाग्राममा तेस्रो एपिसोडमा उनले जुस खाँदै गरेको फोटो हालेकी छिन् । क्याप्सनमा लेखेकी छिन्– ‘सिजन १, एपिसोड ३ । जुस खाऔँ, फलफूल खाऔँ । कोभिड–१९ को समयमा उपयोगी काम ।’

सिद्धार्थ मल्होत्रा
अभिनेता सिद्धार्थ मल्होत्रा खाना पकाउन सिकिरहेका छन् । ‘बटर गार्लिक प्राउन’ बनाइरहेको भिडियो आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेका थिए । ‘केही नयाँ सिक्ने प्रयासका लागि कहिल्यै पनि ढिला भएको हुँदैन,’ उनले भनेका छन्, ‘बटर गार्लिक प्राउन बनाउने मेरो पहिलो प्रयास हो । समयको सदुपयोग गर्नुहोस् । केही नयाँ सिक्ने प्रयास गर्नुहोस् ।’

कंगना रनोट
अभिनेत्री कंगना रनोट मनालीस्थित आफ्नो घरमा क्वारेन्टाइनमा छिन् । हालै उनले आफ्नो इन्स्टाग्राम पेजमा एउटा फोटो सेयर गरेकी छिन् । त्यसमा उनी सद्गुरु लिखित पुस्तक ‘डेथ’ पढिरहेकी छिन् । उनले अरूलार्ई पनि सोसल डिस्ट्यान्सको समयमा किताब पढ्ने सल्लाह दिएकी छिन् । साथै, उनले हरेक दिन आफ्नी दिदी रंगोली चँडेलको छोरा पृथ्वीराजसँगको फोटो पनि इन्स्टाग्राममा सेयर गरिरहेकी हुन्छिन् । क्वारेन्टाइन हुनुअघि उनले चेन्नईमा जयललिताको बायोपिक ‘थलाइवी’ को सुटिङ गरिरहेकी थिइन् । सुटिङ रोकिएपछि उनी मनालीतिर लागेकी हुन् ।

रकुलप्रीत सिंह
अभिनेत्री रकुलप्रति सिंह आफ्नो फिटनेसमा विशेष ध्यान दिइरहेकी छिन् । संक्रमणको जोखिमका कारण जिममा गएर अभ्यास गर्न नसके पनि उनले घरमै व्यायाम गरिरहेकी छिन् । उनले घरको फर्निचरलाई एक्सरसाइज टुल बनाएकी छिन् । घरको सोफामा वर्कआउट गर्दै गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

कट्रिना कैफ
क्वारेन्टाइनमा हुँदा अभिनेत्री कट्रिना कैफ गिटार बजाउँदै देखिइन् । गिटार बजाउँदै, गीत गाउँदै उनी समय बिताइरहेकी छिन् । आफूले गिटार बजाइरहेको भिडियो सोसल मिडियामा पोस्ट गर्दै उनले लेखेकी छिन्– ‘वर्क इन प्रोसेस ।’ तर, भिडियोमा आवाज सुन्न सकिँदैन । उनले क्याप्सन लेखेकी छिन्– ‘वर्क इन प्रोसेस, आवाज केही दिनपछि आउनेछ । आशा गर्छु, मैले निराश बनाउनेछैन ।’

तपाईको कमेन्ट

छुटाउनु भयो कि