कोरोनाले थलियो थिएटर

writer

प्रणव आकाश

बुधबार, १२ चैत २०७६


चैत–वैशाख महिना थिएटरका लागि उपयुक्त समय मानिन्थ्यो। जाडो सकिएर गर्मी सुरु हुने र यही समयमा स्कुलदेखि कलेजका विद्यार्थीको परीक्षा सकिने भएकाले नाटकघरमा दर्शकको राम्रै भीड रहन्थ्यो। तर, कोरोनाको प्रकोप सुरु भएपछि संघर्ष गरिरहेका थिएटर झन् थला पर्ने स्थितिमा पुगेका छन्।

गत सातादेखि नेपाल सरकारको निर्देशनअनुरूप देशका सबै थिएटर बन्द भएका छन्। सरकारको निर्देशन पालना गरेका थिएटरले चलिरहेका नाटकसँगै रिहर्सल, कार्यशालालगायत सबै गतिविधि बन्द गरेका छन्।

मण्डला, कौसी, थिएटर मल, सर्वनाम, शिल्पीलगायत रंगमञ्चीय संस्थाका गतिविधि कोरोना भाइरसको भयका कारण ठप्प भएका छन्।

जनवरीदेखि जुलाईसम्मको समय नेपाली थिएटरका लागि एकदम उर्बर समय मानिन्छ। यतिबेला सम्पूर्ण थिएटर नाटक, कार्यक्रम, रिहर्सल गर्नमा व्यस्त हुन्छन्। यस वर्ष पनि यस्तै भइरहेको थियो तर कोरोनाको त्रास फैलियो र गर्दागर्दैको काम छोडेर थिएटर बन्द गरिए। सामूहिक कार्यको एउटा राम्रो उदाहरण ‘नाटक मञ्चन’ र त्यही नाटक मञ्चन गर्नेहरू नै एक्लाएक्लै आइसोलेसनमा बस्नुपर्ने भयो।

प्रत्येक वर्ष थिएटर मलले विश्व बाल रंगमञ्च दिवस अर्थात् मार्च २० विभिन्न कार्यक्रम गरी मनाउँथ्यो। थिएटर मल कीर्तिपुरका निर्देशक केदार श्रेष्ठले महामारीको पूर्वसावधानी अपनाएर यस वर्ष त्यस्तो कुनै कार्यक्रम तय गर्न नसकेको बताए। यस कार्यक्रमबाहेक थिएटर मलले विद्यालय बिदाको समयमा गर्दै आएको ‘लिटल थिएटर ग्यारेज’ पनि सञ्चालन गर्न सकेन। पाँच वर्षदेखि निरन्तर गर्दै आएको कार्यक्रम पहिलो पटक रोकिएको श्रेष्ठले बताए।

काठमाडौँ, कालिकास्थानस्थित सर्वनाम थिएटरमा फागुन अन्तिम सातासम्म नाटक ‘सब ठीक छ’ चलिरहेको थियो। विश्वभरि संक्रमण फैलिँदै गएपछि चलिरहेको नाटकमा दर्शकको उपस्थिति न्यून हुन थाल्यो र नाटक निर्माण टोलीले अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्‍यो। सर्वनामका राज शाहका अनुसार कोरोनाकै कारण औपचारिक कार्यक्रम, प्रशिक्षण कक्षा, दुई वटा नाटकको रिहर्सल र एउटा इन्टरनेसनल थिएटर वर्कसप रोकियो। उक्त थिएटर वर्कसपमा जर्मनी, हङकङजस्ता विभिन्न देशबाट सहभागी हुन आउने रंगकर्मीलाई ‘अराइभल भिसा’ नदिने भनेपछि उनीहरू आउन नसक्ने भए र वर्कसप रोकियो।

काठमाडौँ, टेकुस्थित कौसी थिएटरमा पनि दशैँतिहारपछि नाटक मञ्चन भएका थिएनन्। मार्चलाई ‘कमब्याक टाइम’का रूपमा लिएर आकांक्षा कार्कीको निर्देशनमा नाटक ‘एनिमल फार्म’ को रिहर्सल सुरु भइसकेको थियो। निर्देशक कार्की भन्छिन्, ‘दिनको आधा घण्टाजति दिनहुँ कोरोनाकै विषयमा कुरा हुने गथ्र्यो। जसले रिहर्सलमा निकै अप्ठ्यारो पार्‍यो। सरकारी नोटिस आउनेबित्तिकै हामीले जिम्मेवारी बोध गर्‍यौँ र नाटकको रिडिङ रोक्यौँ।’

काठमाडौँ, अनामनगरको मण्डला थिएटरमा पनि यसै महिनाको लागि एउटा थिएटर प्रोग्राम र दुई वटा नाटकको रिहर्सल भइरहेको थियो। मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले सरकारले निर्देशन दिनुअगाडि नै मण्डलाको आन्तरिक बैठकले तय भएका आगामी कार्यक्रम सञ्चालन नगर्ने भन्नेबारे निर्णय गरिसकेको बताइन्।

मान्छे जम्मा नहुने भएपछि थिएटरमा कुनै काम हुँदैन। कोरोनाको सन्त्रास सकिएपछि पनि थिएटर सुरु हुन एक डेढ महिनाभन्दा बढी लाग्छ। नाटक रिहर्सल गर्ने र प्रचार–प्रसारमा जाँदा त्योभन्दा बढी समय पनि लाग्न सक्छ। यो बेलामा आफ्नै हल नहुने थिएटरलाई भाडा र कर्मचारी खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ।

तर, कालो बादलमा चाँदीको घेरा भनेझैँ अप्ठ्यारो अवधिले रंगकर्मीलाई थप सिर्जनशील बनाउने सम्भावना पनि छ। ‘मूल अप्ठ्यारो समयमा नै फुट्छ,’ मण्डला थिएटरकी सिर्जनाले भनिन्, ‘यो संकटको समयले नयाँ विषयको उत्खनन्लाई सघाउन सक्छ।’

‘नेपाली रंगमञ्चमा स्क्रिप्ट छैन’ भनेर बेला–बेलामा बहस हुने गर्छ। नाटक मञ्चन गर्दा पनि आधाजसो नाटक ‘अनुवाद गरेरै मञ्चन गरिन्छ’ भन्ने गुनासो पनि धेरैले गरेका छन्। ‘यस समयले ‘भर्चुअल रिसर्च’ गरेर स्टोरी, ‘कन्सेप्ट’ खोज्ने मौका दिएको छ,’ थिएटर मलका श्रेष्ठले भने, ‘भोलिका दिनमा कोरोना संक्रमणको विषय एउटा गम्भीर कथा बन्न सक्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि