रेकर्डिङ जारी थियो...

writer

प्रणव

बुधबार, १२ चैत २०७६


कोरोनाको त्रासले मनोरञ्जनका सबै विधामा असर परिरहेको समयमा रेकर्डिङ स्टुडियोमा भने उत्तिकै चाप रहेको रेकर्डिस्टहरू बताउँछन्। पहिलाको तुलनामा स्टुडियो व्यस्त नभए पनि बन्दै गर्नु भने नपरेको उनीहरूको कथन छ। 

कोरानाका कारण मेला–महोत्सव र कन्सर्ट रद्द भए। मुखैमा आएर कार्यक्रम बन्द भएपछि संगीतकर्मी चिन्तित छन्। यसमा पनि सबैभन्दा मारमा परेका छन्, संघर्षरत गायक–गायिका। कोरोनाका कारण उनीहरूले नियमित आम्दानी त गुमाएका छन् नै, बढ्दो दर्शक ‘क्रेज’पनि गुमाउन बाध्य भएका छन्। तर,मंगलबारदेखि ‘लकडाउन’ सुरु हुनुअघिसम्मकतिपय संगीतकार, गायक–गायिका रेकर्डिङ स्टुडियो भएका गल्लीमा देखिन छाडेका थिएनन्। वाद्यवादक पनि स्टुडियोमा गिटार, बाँसुरी बजाउँदै गरेका भेटिन्थे। 

नेपालमा सयौँको संख्यामा म्युजिक रेकर्डिङ स्टुडियो छन्।ती स्टुडियोमा लकडाउनअघिसम्म धमाधम काम भइरहेको थियो। बाहिर निस्किनुनपर्ने र सानो टिमले काम गर्ने हुँदा स्टुडियोको काममा खासै प्रभाव नपरेको स्टुडियो सञ्चालकहरूले बताएका थिए। 

ड्रिम्स रेकर्डिङ स्टुडियोका सञ्चालक प्रकाश केसीका अनुसार उनको स्टुडियोबाट लकडाउनअघि पहिलेकै जति दैनिक दुई वटागीत रेकर्ड भइरहेका थिए। ‘प्रभाव त पर्छ नैतर हाम्रोमा त्यस्तो साह्रो असर परेको छैन,’ उनले भने, ‘म चाहिँ अचेल धेरैजसो बाहिर बस्ने नेपालीको काम गर्छु। यताबाट ट्र्याक बनाएर पठाइदिन्छु र उताबाट भोकल गरेर पठाइदिन्छन्।’

कोठाभित्र बसेर काम गर्नुपर्ने भएकाले खासै प्रभाव नपरेको प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोका म्यानेजर श्यामश्वेत रसाइलीले बताए। सरकारले आइसोलेसनमा बस्नु भनेकाले स्वास्थ्यमा समस्या भएका म्युजिसियन नआउने रछुट्टाछुट्टै सेड्युलका कारण स्टुडियोमा त्यति धेरै भीड नहुने कुरा उनले बताए।  ‘हाम्रोमा एक समयमा धेरै जना हुने भनेको चारपाँच जना हो,’ उनले भने,‘यति मात्र हुँदा खास समस्या हुन्न। त्यसैले लकडाउनअघि नियमित काम रोकिहालेका थिएनौँ।’ 

कन्सर्ट, मेला–महोत्सव सबै स्थगित हुँदा गायक–गायिका फुर्सदमा छन्। धेरैले थाँती रहेका गीत रेकर्ड गर्नलाई यही मौका छोपिरहेका थिए। अहिले गीत निकाल्न पाए अनुकूल समयमा रिलिज गर्न सकिने धेरैको विश्वास थियो। गीत रेकर्डिङपछि म्युजिक भिडियोको काममा ज्यादा खट्नुपर्ने भएकाले कम्तीमा गीत हात पारे म्युजिक भिडियोको कन्सेप्टदेखि निर्देशक र कलाकारसम्म फाइनल गर्न सजिलो हुने धेरैको बुझाइ थियो। तर, लकडाउनपछि रेकर्डिङ स्टुडियोहरू पनि बन्द हुने नै भए। ‘सोमबारसम्म पनि रेकर्डिङको काम भइरहेको थियो,’ संगीतकार अर्जनु पोखरेलले भने, ‘तर, लकडाउनपछि परिस्थिति अर्कै भयो।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट