‘लकडाउन’: ‘बेस्ट’ उपाय

सम्पूर्ण
बुधबार, १२ चैत २०७६
कोरोना भाइरस (कोभिड–१९) संक्रमित दोस्रो व्यक्ति पहिचान भएलगत्तै सरकारले चैत ११ गतेदेखि एक हप्तासम्म देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। कोभिड–१९ को उद्गमस्थल छिमेकी देश चीनको हुपे प्रान्तको वुहान शहर र देशको अन्य भूभागमा यो भाइरसको संक्रमण फैलिन नदिन चीनले लिएको ‘लकडाउन’ रणनीति अहिले विश्वभर अवलम्बन गरिएको छ। भाइरसको संक्रमण फैलिन नदिन व्यक्ति–व्यक्ति बीचको दूरी बढाउने तथा संक्रमित व्यक्तिलाई स्वस्थ मानिससँग घुलमिल हुन नदिने उपाय नै प्रभावकारी भएकाले चीनले ‘लकडाउन’ रणनीतिलाई कडाइका साथ लागू गरेको थियो। उसले देशको करिब आधा जनसंख्यालाई आवतजावतमा रोक लगाएको थियो। उसले हुपेमा मात्र छ करोड मानिसलाई हप्तौँसम्म घरमै बन्द गरेर राखेको थियो। संक्रमणको शंका लागेकालाई होटललगायत अन्य भवनमा ‘क्वारेन्टिन’मा राखिएको थियो। प्रभावित क्षेत्रमा यातायात ठप्प पारिएको थियो। उद्योगधन्दा बन्द गरिएका थिए। झण्डै ८० करोड मानिसलाई ‘आइसोलेसन’मा राखेर व्यवस्थापन गर्न सकेकै कारण चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको हो।
सुरुमा चीनको ‘लकडाउन’ रणनीतिलाई पश्चिमा देश तथा मिडियाले आलोचना गरेका थिए। संक्रमण तीव्र रूपमा फैलिन थालेपछि अहिले प्रायः सबैले यही रणनीति अख्तियार गरेका छन्। भारत, अमेरिका, इटाली, फ्रान्स, आयरल्यान्ड, ब्रिटेन, डेनमार्क, न्युजिल्यान्ड, पोल्यान्ड, स्पेनलगायत प्रायः ‘कोरोना पीडित’ देश लकडाउन भएको देखिन्छ। यसलाई उत्कृष्ट र अन्तिम उपाय भनिँदै छ। तर, विश्व स्वास्थ्य संगठन तथा भाइरसका विज्ञहरूले लकडाउन गरेर र आइसोलेसनमा बसेर मात्र यो विश्वव्यापी महाव्याधिबाट पार पाउन नसक्ने बताइरहेका छन्। लकडाउन, आइसोलेसन, क्वारेन्टिनसँगै भाइरस संक्रमितहरूको ‘स्क्रिनिङ’ र उपचारलाई सँगसँगै अघि बढाउन सक्दा मात्र कोरोनासँगको लडाइँमा जीत हासिल गर्न सकिने अवस्था छ। चीनले जसरी कुशलतापूर्वक लकडाउन लागू गर्न सक्यो, त्यसको तुलनामा अन्य देशमा त्यसो हुन सकिरहेको छैन। सरकारले लकडाउन गरेसँगै इटालीका जनताले घरको धुरीमा चढेर असन्तुष्टि जनाएका थिए। लकडाउन भंग गरिएको थियो। पर्याप्त सावधानी अपनाउन नसक्दा उनीहरूले ठूलो क्षति व्यहोरिरहेका छन्।
कोभिड–१९ को संक्रमण सुरु भएको चार महिना पुग्न लागिसकेको छ। यस अवधिमा यो भाइरस विश्वका केही देशबाहेक सबैतिर फैलिसकेको छ। कुन देशमा यो कसरी नियन्त्रण हुँदै छ र कहाँ के कारणले नियन्त्रण हुन सकिरहेको छैन, त्यससम्बन्धी विस्तृत रिपोर्टहरू पनि आइरहेका छन्। संक्रमणको सुइँको पाउनेबित्तिकै जुन/जुन देशले कठोर रणनीतिका साथ लकडाउन तथा आन्तरिक र बाह्य आवागमन बन्द गर्न सके, ती देशमा कोरोनाको प्रभाव न्यून छ। चीनसँग धेरै आवतजावत हुने सिंगापुर र ताइवानमा कोभिड–१९ ले आफ्नो आक्रामक रूप देखाउन सकेको छैन। यसको एक मात्र कारण चीनमा भाइरस फैलिएलगत्तै यी दुवै देशले ऊसँगको आवागमन ठप्प पारे। त्यसपछि जहाँ–जहाँ भाइरसको संक्रमण फैलिँदै गयो, ती–ती देशसँगको आवागमन ठप्प पार्दै जाँदा यी दुई देश जोगिएका छन्।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइसक्दा लकडाउन अघिसम्म नेपाल जोगिनुलाई हामीले ‘ग्रेस टाइम’ का रूपमा लिनुपर्छ। विश्व स्वास्थ्य संगठनले पटक/पटक सचेत गराउँदा पनि नेपालले आफ्नो तर्फबाट सुरक्षित हुन अपनाउनुपर्ने उपायमा भने आलटाल गरेको छर्लंगै छ। संक्रमित देशसँगको तत्काल हवाई सम्पर्क टुटाउनुपर्नेमा नेपालले त्यसो गरेन। कोरोना संक्रमित पुष्टि भएको दोस्रो केस फ्रान्सबाट फर्किएकी किशोरी भएबाट के पुष्टि हुन्छ भने यस्तै अन्तर्राष्ट्रिय उडानबाट आएका धेरै यात्रुमा भाइरसको संक्रमण भएको हुन सक्छ। संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका अन्य व्यक्तिको ‘ट्र्याकिङ’ गर्ने प्रणाली फितलो हुनु, शंकास्पद व्यक्तिलाई नै क्वारेन्टिन र आइसोलेसनमा राख्न नसक्नु सम्बन्धित निकायको कमजोरी हो।
सरकारले भीडभाडमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गरेको आग्रहलाई हामीले पालना गरेनौँ। फागु पूर्णिमादेखि नै सरकारले भीडभाड नगर्न भन्दै आएको थियो। तर, ‘हामीलाई कोरोनाले के नै गर्न सक्छ र ?’ भनेजसरी हामीले सरकारको आग्रहलाई अटेर गर्दै आएका छौँ। सरकारले तोकेको अवधिभर लकडाउनमा आ–आफ्नो घरमा बस्नुको कुनै विकल्प छैन। लकडाउन तोड्नु र जनआन्दोलनका बेला लाग्ने कफ्र्यु तोड्नु फरक कुरा हो भन्ने बुझ्न जरुरी छ। यो बेला आफू बसिरहेको स्थानमा सुरक्षित तवरले बसेर संक्रमण पहिचान गर्नमा सरकारलाई सहयोग गर्नुबाहेक हामीसँग दोस्रो विकल्प छैन।
नेपालमा कोरोना परीक्षण गर्न चाहिने किट तथा स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउनुपर्ने विशेष प्रकारको पोशाक (पीपीई) नै पर्याप्त नभएको, संक्रमण फैलिएपछि कसरी ‘ह्यान्डल’ गर्ने भन्ने दर्बिलो मेडिकल योजना नै नभएको गुनासो आइरहेका बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको अधिकतम क्षमता प्रयोग गरेर जनतालाई मर्न नदिने बताएका छन्। सरकार अधिकतम प्रयत्नका साथ कोरोना संक्रमण फैलिन नदिन लागिपरेका बेला जनस्तरबाट इमानदार सहयोगको खाँचो छ।
यो हरेक व्यक्तिको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कसैलाई पनि हेलचेक्य्राइँ गर्ने छुट छैन। विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी लगायतलाई सरकारले विशेष राहत प्याकेज घोषणा गरेर राहत दिनुपर्छ। लकडाउनमा बस्दा कसैमा कोराना संक्रमणको लक्षण देखिएमा तुरुन्त उपचार हुने व्यवस्था तथा यसको संक्रमणको भयबाट आक्रान्त हुने जनमानसलाई ढाडस दिन सरकारले आधिकारिक संयन्त्रमार्फत जनतालाई सही सूचना प्रवाह गर्न जरुरी छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७