कोरोना संक्रमित देशमा नेपालीको खबर खासै राम्रो छैन

writer

चन्द्रशेखर अधिकारी

बुधबार, १२ चैत २०७६


देशभित्र अहिले जस्तो अवस्था छ, देशबाहिर रहेका नेपालीले यस्तो अवस्था भोगेको हप्तौँ भइसक्यो। अध्ययन र रोजगारीका लागि विदेशिएका उनीहरू संक्रमणको भयावह सम्भावनामा बाँचिरहेका छन्।

कोभिड–१९ ले आक्रान्त देशमा रहेका नेपालीहरूले अभिभावकविहीनझैँ बनेको गुनासो गरेका छन्। कतिपयले आफ्नो देश फर्कन पाउनुपर्ने माग गरेका छन् भने केहीले खाद्यान्न आपूर्तिमा सम्बन्धित मुलुकसँग पहल गरिदिन नेपाल सरकारलाई अनुरोध गरेका छन्। केही भने ‘बेकारमा विदेश आइएछ’ भन्दै यो समयमा आफ्नै गाँउघर सम्झिरहेका छन्। उनीहरूले यस्ता गुनासा विदेशमा रहेका नेपाली दूतावासमा टेलिफोन गरेर व्यक्त गर्न थालेका छन्।

कोभिड–१९ ले आक्रान्त देशमा रहेका नेपालीहरूले अभिभावकविहीनझैँ बनेको गुनासो गरेका छन्। कतिपयले देश फर्कन पाउनुपर्ने माग गरेका छन् भने ‘बेकारमा विदेश आइएछ’ भन्नेको संख्या पनि उल्लेख्य छ।

खासगरी, इटाली, स्पेन, पोर्चुगल, बेलायत, अस्ट्रेलिया, अमेरिका, कतार, दक्षिण कोरिया र साउदी अरेबियामा रहेका नेपालीसँग यस्ता अनगिन्ती गुनासा छन्। जापानमा रहेका नेपालीले भने कोरोनाको त्रास देखिएपछि राजदूत प्रतिभा राणा नेपाल फर्केपछि ‘नेतृत्व नै भाग्ने मुलुकको हामी जनता’ भन्दै मनको तीतो पोख्न थालेका छन्।

यही पृष्ठभूमिमा सरकारले सम्बन्धित मुलुक हेर्ने दूतावासलाई आफ्ना नागरिकलाई अभिभावकत्व कमी हुन नदिन लिखित र मौखिक निर्देशन दिएको छ। खाडी मुलुकका राजदूतहरूसँग त परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री महेन्द्र राय यादवले भिडियो कन्फरेन्समार्फत अवस्था बुझ्ने काम गरेका थिए। विदेशका नेपालीमा कोभिड–१९ संक्रमण देखिन थालेपछि सरकार थप गम्भीर भएको हो। ढिलो भएपनि सरकारले चासो देखाएकोमा गैरआवासीय नेपालीले सन्तोष व्यक्त गरेका छन्। अन्नपूर्ण मिडिया नेटवर्कलाई प्राप्त इमेल र फोनकलमा विदेशमा रहेका नेपालीले आफ्ना समस्या र मर्का अभिव्यक्त गरेका थिए।

देशमा लकडाउनको घोषणा गर्नुअघि सरकारले विदेशस्थित दूतावासलाई संक्रमित नेपालीको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न र अवस्थाको दिनहुँ रिपोर्टिङ गर्नसमेत निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकामा दुई, पोर्चुगलमा तीन, बहराइनमा तीन र यूएईमा दुई नेपालीमा संक्रमण देखिएपछि सरकार अधिक गम्भीर बनेको हो। यूएईका राजदूत कृष्णप्रसाद ढकालका अनुसार त्यहाँ संक्रमित दुई नेपाली ठीक भएका छन्। पोर्चुगलमा संक्रमित नेपालीको अवस्था पनि सामान्य बन्दै गएको जानकारी पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावासले जनाएको छ। क्वारेन्टिनमा रहेका नेपालीको अवस्था अवैतनिक दूतमार्फत निगरानी गरिएको राजदूत दीपक अधिकारीले बताए।

स्पेन र इटालीको जानकारी पनि परराष्ट्रले दैनिक माग गरिरहेको छ।इटाली हेर्ने जेनेभास्थित नेपाली नियोगले त्यहाँको अवस्था नाजुक भएपनि नेपाली संक्रमणबाट टाढै रहेको बताएको छ। तर, त्यहाँ रहेका नेपालीलाई खानाको लागि समस्या परेको र कतिपय घरभित्र बस्दाबस्दा दिक्क मानेर नेपाल फर्कन पहल गरिहेको राजदूत एवं राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणि भट्टराईले जानकारी दिए।

अस्ट्रेलियामा पनि नेपालीहरू त्रासमा छन्। त्यहाँ उनीहरूको अवस्था दूतावासले अवलोकन गरिरहेको छ। दूतावास अधिकारीका अनुसार नेपालीहरूबारे बुझ्ने काम गैर आवासीय नेपाली र सरकारी अधिकारीमार्फत भएको छ। कतिपय नेपालीले अत्यावश्यक वस्तु उपलब्ध नभएको गुनासो गरे पनि ठूलो समस्या नभएको जानकारी अस्ट्रेलियास्थित नेपाली दूतावासले दिएको छ।

बेलायतमा एक जना गैरआवासीय नेपालीको निधन कोभिड—१९ बाट भए÷नभएको विषयमा बहस भइरहेको छ। त्यहाँको अवस्थाबारे दूतावासमार्फत बुझ्ने काम भइरहेको परराष्ट्रसचिव शंकरदास वैरागीले बताए।सबै दूतावाससँग मन्त्रालय नियमित सम्पर्कमा रहेको र त्यहाँका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको उनले जानकारी दिए। ‘हामीले त्यहाँका आफ्ना नागरिकलाई कुनै प्रकारको कमजोरी हुन नपाओस् भनेर दूतावासलाई समन्वय गर्न भनेका छौँ,’ उनले भने, ‘दूतावासले पनि दैनिक आफ्ना सूचना यता पठाइरहेका छन्। दूतावासले गैरआवासीय नेपाली र त्यहाँको विदेशी समन्वय डेस्कसँग सहकार्य गरिरहेका छन्।’उनका अनुसार सबै राजदूत सम्बन्धित मुलुकमै रहेर त्यहाँको सरकारसँग सहकार्य गरिरहेका छन्।

कतिपय मुलुकमा आफ्नो व्यवसाय र दैनिक ज्यालादारी काम बन्द भएपछि खानालाई समस्या परेका नेपालीको अवस्था बुझ्न सरकारले निर्देशन दिएको छ। त्यस्तो अवस्थामा खाद्यान्न आपूर्ति मिलाउनेलगायत व्यवस्था गर्न राजदूतहरू क्रियाशील रहेको धारणा परराष्ट्र मन्त्रालयको छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि