‘भर्खरका केटाहरू चन्द्रमै पुगुँला जसरी बाइक कुदाउँछन्’

सम्पूर्ण
आइतबार, ०९ चैत २०७६
के छ हालखबर, सर?
सञ्चै छु।
ट्राफिक प्रहरी भएर काम गर्न थाल्नुभएको कति भयो?
१४ वर्ष भयो।
सरको घर कता पर्यो?
सिन्धुपाल्चोक।
अहिले कता बस्नुहुन्छ?
अफिसमै बस्छु।
अनि, परिवार नि?
परिवार गाउँमा बस्छ।
कति कक्षासम्म पढ्नुभएको छ ?
आईए पास गरेको छु।
कुन विषय लिएर पढ्नुभयो?
मानविकी।
ट्राफिक प्रहरीमा कसरी आइयो?
पहिला सिभिल प्रहरीमा थिएँ। त्यसपछि ट्राफिक प्रहरीको तालिम लिएर यता आएँ।
१४ वर्षमा कहाँ–कहाँ ड्युटी गरियो?
चितवन, हेटौँडा, सिराहा, भक्तपुर, काठमाडौँ उपत्यकाभित्र काम गरँे।
काम गर्न सबैभन्दा बढी कहाँ गाह्रो भयो?
काठमाडौँमा।
काठमाडौँमा काम गर्न किन गाह्रो छ?
काठमाडौँका सवारीसाधनको चाप बढी छ। त्यसैले काम गर्न अरू ठाउँभन्दा केही अप्ठ्यारो छ।
परिवारसँग भेटघाट गर्न गइन्छ?
बिदा पाइयो भने दुईतीन महिनामा एक चोटि गइन्छ।
घोडचढीमा पनि ड्युटी गर्नुभएको छ?
छैन।
ट्राफिक प्रहरीको हकमा के भइदिए काम गर्न सहज हुन्थ्यो?
अहिले सबैतिर बाटो बन्ने क्रम जारी छ। सडक भत्केको छ। सम्बन्धित निकायबाट बाटोको काम छिटोभन्दा छिटो भइदिए काम गर्न सहज हुन्थ्यो। बाटो साँघुरो भएको कारण सवारीसाधन आवतजावत गर्न एकदमै गाह्रो भएको छ। चाँडोभन्दा चाँडो बाटो बनिदिए काम गर्न सहज हुने थियो।
हेलमेट नलगाई मोटरसाइकल चलाउने चालक पनि भेटिन्छन्?
मुख्य सडकमा त भेटिँदैनन्। तर, भित्रभित्र गल्लीतिर भेटिन्छन्। भर्खरका ठिटाठिटी हेलमेट नलगाई सडकमा निस्कन्छन्।
अहिले सडक दुर्घटना बढ्यो भन्छन्, किन होला?
पहिलो कुरा ट्राफिक नियमसम्बन्धी ज्ञान नै छैन धेरै चालकमा। टिनएजरको सवारी गति धेरै हुन्छ। भर्खरका केटाहरू चन्दमै पुगुँला जसरी कुदाउँछन्। लापरबाहीले चलाउँछन्। लेन मेन्टन नगर्दा पनि सवारी दुर्घटना बढेको हो।
सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीबाट के–कस्ता काम भएका छन् ?
नियमविपरीत सवारी चलाउनेलाई कारबाही गरिन्छ। त्यसका साथै महाशाखामा कक्षा लिन पनि लगाइन्छ। एकचोटि क्लास लिएको चालक दोहोर्याएर त्यही गल्तीमा कमै समातिन्छन्।
ट्राफिक प्रहरीलाई के कस्ता स्वास्थ्य समस्याले सताउँछन्?
दिनभर उभिरहँदा खुट्टा दुख्ने, धुवाँधुलोका कारण कान चिलाउने, एलर्जी, रुघाखोकी आदि समस्या हुन्छन्।
कोरोना भाइरसको सन्त्रास जताततै छ। तपार्इंहरू कत्तिको सचेत हुनुहुन्छ?
मास्क त धुलोधुवाँका कारण जहिले पनि लगाइन्छ। कोरोना भाइरसको संक्रमणका समाचार आउन थालेपछि बढी सर्तकता अपनाएका छौँ। हात धुने, सरसफाइमा विशेष ध्यान दिने गरेको छु।
यो एरियामा मापसे कारबाहीमा कत्तिको चालक पर्छन्?
दिनको चारपाँच जना परिरहन्छन्।
कति उमेरका चालक मापसेमा पर्ने गर्छन्?
यही उमेरका भन्ने छैन। युवादेखि बूढासम्म मापसेमा पर्ने गर्छन्। कहिलेकाहीँ त महिला पनि मापसे गरेर गाडी हाँकिरहेका हुन्छन्।
मापसे कारबाहीमा निजी या सार्वजनिक, कस्ता गाडीका चालक बढी पर्छन्?
बढीजसो प्राइभेट सवारीसाधन लिएर हिँड्नेहरू पर्छन्।
फुर्सदमा के गरिन्छ?
साथीभाइसँग भेटघाट गर्छु। लुगा धुन्छु, सरसफाइ गर्छु।
प्रस्तुतिः रेणु त्वानाबासु
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७