सञ्चयको अनावश्यक मोह

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


विश्वभरका मानिस कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कसरी जोगिने भन्ने चिन्तामा छन् । संक्रमण फैलिएका देशका सरकारहरूको पहिलो प्रयास संक्रमण थप फैलिन नदिने तथा संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउनमा केन्द्रित छ । संक्रमणका कारण ‘लकडाउन’ गरिएका देशमा पनि आपूर्ति व्यवस्था सहज ढंगले सञ्चालन गरेर जनतालाई दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने ग्यारेन्टी सम्बन्धित देशका सरकारले गरिरहेका छन् । संक्रमण फैलिएका कतिपय देशका शहरमा उपभोक्ताले डिपार्टमेन्ट स्टोर नै खाली हुने गरी दैनिक उपभोग्य सामग्री खरिद गरेको, चाहिनेभन्दा बढी सामान सञ्चय गरिरहेको खबर पनि आइरहेका छन् । ‘सेल्फ क्वारेन्टाइन’ तथा ‘आइसोलेसन’ मा बस्नुपर्दा चाहिने सामग्री जोहो गर्ने भन्दै सर्वसाधारणले आवश्यकताभन्दा बढी दैनिक उपभोग्य सामग्री जोहो गर्ने प्रवृत्ति देखिएको छ । यही प्रवृत्तिको फाइदा उठाउँदै व्यवसायीले भने कालोबजार सुरु गर्न थालेका छन् । नेपालमा अहिलेसम्म कोभिड–१९ को संक्रमण नदेखिएको र जनजीवन सामान्य हुँदा पनि दैनिक उपभोग्य वस्तुको अभाव हुने त्रास सर्वसाधारणमा देखिन्छ । कोभिड–१९ को संक्रमणबाट कसरी जोगिने भन्ने चिन्तामा रहेका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको अभाव हुने चिन्ताले पनि सताउन थालेको छ । 

कोभिड–१९ को संक्रमणसँगै माग बढेको मास्क तथा स्यानिटाइजरको अभाव देखिएपछि अन्य उपभोग्य वस्तुको पनि अभाव हुने त्रासमा उपभोक्ता छन् । नेपालले विभिन्न वस्तु आयात गर्ने देशहरूमा कोभिड संक्रमण फैलिएकाले आयात प्रभावित भएकाले उपभोग्य वस्तु अभाव हुने आम बुझाइ छ । सरकारले छ महिनासम्मका लागि औषधि र उपभोग्य सामानको अभाव हुने अवस्था नरहेको बताइरहे पनि जनता विश्वस्त हुन सकिरहेका छैनन् । अघिल्लो दिनसम्म छेलोखेलो पाइने गरिएको खाना पकाउने ग्यास भोलिपल्टदेखि नै बजारमा अभाव हुन थालेको गुनासो उपभोक्ताले गर्न थालेका छन् । पेट्रोल पम्पमा इन्धन भर्ने सवारी साधनको लाम लाग्न थालिसकेको छ । नेपालमा संक्रमण फैलिएर आपत्काल घोषणा गर्ने अवस्था आइनसक्दा जनता दैनिक उपभोग्य वस्तु पाइँदैन कि भनेर चिन्तित हुन थालेका छन् । 

सरकारले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन प्रभावकारी व्यवस्था मिलाइएको दाबी गरिरहे पनि उसको दाबीलाई जनताले विश्वास गरिरहेका छैनन् । संकटका बेला बढी नाफा कमाउने उद्देश्य लिएका व्यापारी र व्यवसायीले मास्कदेखि ग्याससम्म लुकाउन थालेका छन् । कालोबजारी गर्न लुकाएर राखिएका मास्क बरामद गरिएका छन् । मास्क र स्यानिटाइजरमा सबैको ध्यान गएजस्तै अन्य उपभोग्य वस्तुमा पनि के भइरहेको छ, त्यसतर्फ पनि सरोकारवाला निकायको ध्यान जान जरुरी छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रवीन्द्र आचर्य दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको र आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । संकटका बेला उपभोग्य वस्तुको अभाव नहोस् भनेर उपभोक्ताले बढी नै मौज्दात राख्ने गरेका कारण बजारमा सामान कम भएको हुन सक्ने उनको ठम्याइ छ । विभागले ग्यासको बिक्रीमा समस्या देखिएपछि टोली नै खटाएर बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा एक जना उपभोक्ताले १५ वटासम्म सिलिन्डर स्टक गरेको भेटिएको थियो । सामान्य अवस्थामा एक वा दुई पोका नुन किन्नेले एकैपटक १० देखि १५ पोका नुन किन्न खोजेको अनुगमनका क्रममा भेटिएको छ । सरकारका मन्त्री नै ग्राहकका भेषमा अनुगमनका लागि हिँडेका छन् ।

सरकारले बजारलाई ठीकठाक राख्न गरेको प्रयासलाई व्यवसायी तथा बिक्रेता एवं उपभोक्ताले पनि साथ दिन जरुरी छ । संकटका बेला फाइदा उठाउन खोज्ने व्यवसायीलाई सरकारले सचेत गराउन ढिला गर्नु हुँदैन । कसैले कालोबजारी गरिरहेको छ भने उसलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । आम उपभोक्ताले आफूलाई चाहिनेभन्दा अत्यधिक सामान मौज्दात राख्न खोज्नु हुँदैन । कसैको घरमा एक सिलिन्डर ग्यासले एक महिना चल्छ भने उसले एकैपटक १० वटा सिलिन्डर जम्मा गर्न खोज्नु तर्कसंगत हुँदैन । यसै गरी, नुन, चामल, तेललगायत अन्य दैनिक उपभोग्य सामग्री पनि बढीमा एक महिनासम्मका लागि स्टक गर्दा आपूर्ति व्यवस्था सहज हुन सक्छ । सामान्य अवस्थामा बजारमा माग हुने सामानको अनुपातमा व्यवसायीले सामान आयात गर्ने र त्यही अनुसार मौज्दात राख्ने भएकाले एकैपटक धेरै सामान सञ्चय गर्न खोज्दा माग अत्यधिक बढ्ने र व्यापारीले मौकाको फाइदा उठाउने भएकाले आत्तिएर चाहिनेभन्दा बढी सामान लामो समयका लागि सञ्चय गर्न जरुरी छैन । कोरोना संक्रमण फैलिएर संकटकाल घोषणा भएका देशमा पनि जनजीवन चलेकै छ । त्यसैले आत्तिएर बजारमा हाहाकार मच्चिने गरी आपूर्ति व्यवस्था बिग्रन नदिन सरकारले आफ्ना सम्पूर्ण संयन्त्रलाई प्रभावकारी बनाउन जरुरी छ । 

तपाईको कमेन्ट