विश्व खेलकुदमा कोरोनाको प्रहार

writer

सम्पूर्ण

बुधबार, ०५ चैत २०७६


रोशन राउत

विश्व खेलकुदमा युरोपियन क्लब फुटबलको आफ्नै महŒव छ। विश्वभरका फुटबलप्रेमी कोही इंग्लिस प्रिमियर लिगका पारखी छन् त कोही स्पेनिस ला लिगाका। इटालियन सिरी ए, फ्रेन्च लिग र जर्मन बुन्डेस लिगाका पाखरी पनि कम छैनन्। विश्वभरका फुटबलप्रेमीका लागि यो रोमाञ्च थप्ने सिजन पनि हो। 

तर, दुर्भाग्य ! युरोपियन लिगहरू रोमाञ्चक मोडमा रहेको यही क्षणमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय खेल गतिविधि ठप्प बन्न पुगेको छ। युरोपियन लिग मात्र होइन, यतिबेला विश्वभरका हरेक खेल गतिविधि शून्य अवस्थामा झरेका छन्। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग प्री–क्वार्टर फाइनल चरणमै स्थगित भएको छ। युरोपा लिगको अवस्था पनि त्योभन्दा फरक छैन।

यसरी च्याम्पियन्स लिग, युरोपा लिग र घरेलु लिगहरू एकै पटक रोकिएपछि विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए) का लागि खेल तालिका समायोजन गर्नु ठूलै टाउको दुखाइ भएको छ। यसको प्रत्यक्ष प्रभाव यसै वर्ष आयोजना हुने भनिएको युरो कप फुटबल र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पर्ने सम्भावना देखिएको छ। इटालियन फुटबल महासंघले त घरेलु लिग पूरा गर्न युरो कप नै स्थगित गरिनुपर्ने प्रस्तावसमेत राखिसकेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एसियाली क्षितिज छिचोल्दै युरोपभर फैलिएपछि खेलाडीसमेत त्यसको चपेटामा पर्ने क्रम जारी छ। इटालियन र स्पेनिस क्लबका थुप्रै फुटबल खेलाडी यो भाइरसबाट संक्रमित भइसकेका छन्। फुटबल मात्र होइन, टेनिस, क्रिकेट, बास्केटबल, एथलेटिक्सलगायत अन्य चर्चित खेल पनि कोरोना भाइरसको मारमा परेका छन्। हरेक खेलका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता एकैपटक स्थगित भएका छन्। विश्व खेलकुदमा यस्तो शून्यताको स्थिति यसअघि विरलै देखिएको थियो।

अन्योलमा ओलम्पिक 
कोरोनाको त्रासकै कारण यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुदको भविष्य पनि अन्योलमा परेको छ। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक आगामी जुलाई २४ देखि अगस्त ९ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुने कार्यक्रम छ।

तर, कोरोना महामारीका रूपमा विश्वभर फैलिएपछि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने माग बढ्न थालेको छ। आयोजक राष्ट्र जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गरेलगत्तै एक ब्रिटिस खेलाडीले टोकियो ओलम्पिकको मिति सारिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनको मागलाई अन्य खेलाडी र खेल पदाधिकारीले पनि साथ दिने क्रम बढ्दो छ। 

ब्रिटेनका धावक गुय लियरमन्थले तत्कालका लागि ओलम्पिक खेलकुद स्थगित गरिनुपर्ने बताएका हुन्। यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले भने हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन। लियरमन्थ गत वर्ष सम्पन्न युरोपियन इन्डोर एथ्लेटिक्स च्याम्पियनसिपमा ब्रिटिस टोलीको कप्तान थिए। उनी आठ सय मिटर दौडका धावक हुन्।

गुय लियरमन्थ ओलम्पिक रोक्न माग गर्ने पहिलो ब्रिटिस खेलाडी हुन्। ‘ओलम्पिक आयोजना गर्ने यो उपयुक्त समय होइन। मानिसको जीवनभन्दा ठूलो अरू केही हुन सक्दैन। यसतर्फ सबैको ध्यान जानु आवश्यक छ,’ उनले भनेका छन्, ‘सफल ओलम्पिक हामी सबैको चाहना हो तर त्यसका लागि उपयुक्त समय पर्खनु बुद्धिमानी हुनेछ।’ उनले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्नु उपयुक्त हुने सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हतार नगरौँ, आगामी अक्टोबरमा ओलम्पिक आयोजना गर्दा हुन्छ। स्थिति अनुकूल भएपछि सन् २०२१ मै आयोजना गर्दा पनि हुन्छ।’ 

यसअघि आइतबार जापानका प्रधानमन्त्री आबेले निर्धारित समयमै ओलम्पिक गर्न जापान तयार रहेको बताएका थिए। ‘कोरोना भाइरसका कारण ओलम्पिक सारिनुपर्ने कारण छैन,’ आबेले भनेका थिए, ‘कोरोनाबाट जोगिने विषयमा हामी सचेत छौँ।’ जापानले ओलम्पिकका लागि २६ अर्ब डलर खर्च गरिसकेको छ।

आईओसीका सदस्य डिक पाउन्डले भने यही अवस्थामा ओलम्पिक हुन नसक्ने बताएका छन्। उनले स्वास्थ्यलाई ख्याल गरी आईओसी यसमा सचेत हुनुपर्ने पनि बताए। ओलम्पिकलाई लक्ष्य गरी गरिएको तयारीलाई कतिपय देशले स्थगित गरिसकेका छन्। अमेरिकाले पनि ओलम्पिक खेलको तयारी यसअघि नै रोकिसकेको छ। टोकियो ओलम्पिकमा ३३ वटा खेल समावेश गर्ने निर्णय भएको छ। ओलम्पिकमा २ सय ६ देशका ११ हजार ९१ खेलाडीको सहभागिता रहने बताइएको छ।

टोकियो ओलम्पिकका लागि ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम पनि बन्द रंगशालामा गरिने भएको छ। आधुनिक ओलम्पिकको सुरुवात ग्रिसबाट भएकाले जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ग्रिसबाटै ओलम्पिक ज्योति ल्याउने प्रचलन रहेको छ। 

तर, कोरोना भाइरसको त्रासका कारण ग्रिसमा ओलम्पिक ज्योति हस्तान्तरण कार्यक्रम बन्द रंगशालामा गरिने भएको छ। ओलम्पिक ज्योति प्रज्वलन र हस्तान्तरण कार्यक्रम अर्को साता प्राचीन ओलम्पियामा हुनेछ। ओलम्पिक ज्योति हस्तान्तरण गरिए पनि ग्रिसमा ओलम्पिक ज्योति भ्रमण गराइनेछैन। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि