घरमा सशुल्क अतिथि

writer

सम्पूर्ण

बिहिबार, २९ फागुन २०७६


अस्मिता खड्का 

आजभोलि काठमाडौँमा घरमा पाहुना राख्ने चलन बढ्दो छ। तर, निःशुल्क नभई सशुल्क। हरेक महिना वा वर्षभरिको एकमुस्ट पैसा तिरेर घरको जस्तै सुविधा उपभोग गर्ने पाहुना नै पेइङ गेस्ट हुन्।


नेपाली समाजमा पाहुनालाई भगवान् मान्ने चलन छ। अतिथि देवो भवः भन्ने संस्कृत उखानलाई नेपालीले आत्मसात् गरेका छन्। हाल पेइङ गेस्ट अर्थात् सशुल्क अतिथिको अवधारणा आएको छ। घरधनीलाई पनि केही आम्दानी हुने र अतिथिलाई पनि घरकै जस्तो सुविधा र न्यानोपन प्राप्त हुने भएकाले यो अवधारणा फैलिँदो छ।

झापाकी नेहा कपुरी प्लस टू पढ्न तीन वर्षअघि काठमाडौँ आएकी थिइन्। राजधानीमा उनी होस्टेलमा बस्न थालिन्। केही समयपछि नै उनलाई होस्टेलको बास उच्चाटलाग्दो लाग्न थाल्यो। उनले फ्ल्याटमा बस्ने सोच बनाइन्। तर, एक्ली युवतीलाई कोठा भाडामा दिन उपत्यकाका घरधनीले आनाकानी गरे। ‘एक्लो केटीलाई त काठमाडौँका मान्छेले भाडामा कोठा पनि नदिने रहेछन्,’ उनले भनिन्। कोठाको खोजीमा उनी लामो समय भौँतारिइन्। त्यसपछि अनलाइनमा ‘हाम्रो बजार’ मार्फत ‘पेइङ गेस्ट’ बारे थाहा पाइन्। एक जना घरधनीसँग सम्पर्क गरिन्। त्यसयता उनी उनी पेइङ गेस्टका रूपमा काठमाडौँ, ढुंगेअड्डास्थित राधा गौडेलको घरमा बसिरहेकी छिन्। 

‘काठमाडौँमा कोठा पाउनै मुश्किल, पाए पनि एक्ली केटी कोठामा बस्दा मान्छेहरूले कस्तो–कस्तो नजरले हेर्दा रहेछन्,’ नेहाले सुनाइन्, ‘पेइङ गेस्टका रूपमा बस्न पाउँदा ढुक्क छु।’ होस्टेलको तुलनामा पेइङ गेस्ट भएर बस्न ठीक लागेको उनले बताइन्। ‘आफ्नै घरमा छुजस्तो लागिरहेको छ,’ उनले भनिन्, ‘घरको जस्तै खाना, स्याहार र स्नेह पाइरहेकी छु।’ 

सशुल्क पाहुना

आजभोलि काठमाडौँमा घरमा पाहुना राख्ने चलन बढ्दो छ। तर, निःशुल्क नभई सशुल्क। हरेक महिना वा वर्षभरिको एकमुस्ट पैसा तिरेर घरको जस्तै सुविधा उपभोग गर्ने पाहुना नै पेइङ गेस्ट हुन्। देशका विभिन्न जिल्लाबाट पढाइ, कामका लागि हजारौँ युवा राजधानी भित्रिने गर्छन्। कोही होस्टेलमा बस्छन्, कोही फ्ल्याट भाडामा लिई दुईचार जना साथीसँग सेयर गरेर बस्ने गर्छन्। एक्लै बस्न रुचाउनेले एक–दुइटा कोठा भाडामा लिएर बस्छन्। तर, अहिलेको अवस्थामा काठमाडौँमा यस्ता कोठा पाउन निकै मुश्किल छ। त्यसमाथि उपत्यकाका घरधनीले एक जनालाई भन्दा परिवारलाई प्राथमिकतामा राख्ने गरेका छन्। त्यसैले नेहाजस्तै उपत्यकाबाहिरका धेरै मानिसका लागि पेइङ गेस्ट नयाँ विकल्पका रूपमा देखापरेको छ। 

राधा गौडेलले केही समयअघि यो सेवा सञ्चालनमा ल्याएकी हुन्। उनले आफूसँग भएका दुई वटा कोठामा दुई जना महिला सशुल्क पाहुना राखेकी छिन्। पाहुनाले उनलाई महिनाको १२ हजार रुपैयाँ तिर्ने गरेका छन्। यसअघि राधा पोखरामा बस्थिन्। पोखराबाट काठमाडौँ आएपछि उनले पेइङ गेस्ट राख्ने जुक्ति निकालेकी हुन्। ‘मेरी छोरी भारत, दिल्लीमा पढ्छे,’ राधाले भनिन्, ‘पहिला उसलाई होस्टेलमा राखेकी थिएँ। तर, होस्टेलको सुविधा मन परेन। पछि उसलाई पेइङ गेस्टका रूपमा राखेँ। त्यहीँबाट मलाई यो आइडिया फुरेको हो।’ 

‘काठमाडौँबाट विभिन्न उद्देश्य बोकी युवा काठमाडौँ आउने गर्छन्,’ उनले थपिन्, ‘राजधानीजस्तो ठाउँमा उनीहरूलाई खान÷बस्न निकै गाह्रो हुन्छ। विशेष गरी केटीहरूलाई। उनीहरूको समस्या बुझेर यो काम सुरु गरेकी हुँ।’ पेइङ गेस्टका रूपमा महिला बढी सुरक्षित हुने उनको बुझाइ छ। ‘हामी परिवारका सदस्यजस्तै उनीहरूको हेरविचार गर्छौं,’ उनले भनिन्, ‘आफू जे खान्छाँै, पेइङ गेस्टलाई पनि त्यही खुवाउँछौँ।’ अनुशासनका नाममा उनीहरूमाथि अनावश्यक नियम नलाद्ने उनले बताइन्। ‘कामका लागि, पढ्नका लागि यहाँ आएका उनीहरूलाई किन अनावश्यक किचकिच गरिरहनु ! चाहिने स्वतन्त्रता दिनुपर्छ।’ यसो गर्दा होस्टेल बस्न नचाहेका र कोठा भाडामा पाउन भौँतारिरहेका मान्छेलाई केही राहत हुने उनले बताइन्। ‘पेइङ गेस्ट राख्दा उनीहरूले घरकै जस्तो सुविधा पाउँछन्, मेरो पनि केही आम्दानी हुन्छ,’ राधाले भनिन्।

अस्मिता राई विद्यार्थी हुन्। केही महिनाअघिदेखि उनले पनि आफ्नो घरमा पेइङ गेस्ट राख्न सुरु गरेकी छिन्। उनले महिलालाई मात्र पाहुना बनाउने गरेकी छिन्। ‘हाम्रोमा पारिवारिक वातावरण छ,’ उनले भनिन्, ‘परिवारजस्तै बस्न रुचाउनेलाई मात्र कोठा दिन्छौँ।’ उनको घरमा कपडा धुने, खाना पकाउने, सरसफाइलगायत सबै सुविधा रहेको उनले सुनाइन्। अस्मिताको घरमा चार जना महिला पाहुना छन्।

अस्मिताको घरमा बस्छिन्, सुविना भट्टराई। ‘पेइङ गेस्टको अवधारणा मेरा लागि त निकै उपयोगी रह्यो,’ उनले भनिन्, ‘केही वर्ष होस्टेलमा बसेँ। त्यहाँभन्दा यहाँको सुविधा एकदमै राम्रो लाग्यो।’ काठमाडौँका अधिकांश होस्टेल असुरक्षित र अव्यवस्थित हुने उनले बताइन्। ‘होस्टलेमा ट्वाइलेट–बाथरुम सेयर गर्नुपर्ने हुन्छ,’ उनले सुनाइन्, ‘फोहोर पनि त्यस्तै हुन्छ। बरु, यहाँ त्यस्तो समस्या छैन।’ विद्यार्थी तथा कामकाजी महिलाका लागि सशुल्क पाहुनाको अवधारणा एकदमै उपयुक्त रहेको उनले बताइन्। 

विदेशी पाहुना

पेशाले इन्जिनियर मुकुन्द ठाकुरले पनि आठ महिनायता पेइङ गेस्टको सुविधा दिँदै आएका छन्। तर, उनका सशुल्क पाहुना नेपाली नभई विदेशी हुने गरेका छन्। पैसा कमाउने उद्देश्यले यो सेवा सञ्चालन नगरेको उनले बताए। ‘मेरो घरमा एउटा कोठा र एउटा फ्ल्याट खाली थियो,’ उनले भने, ‘कोठा यसै खाली राख्नुभन्दा कसैलाई बस्न दिए ठीक हुन्छ भन्ने लागेर सुरु गरेको हुँ।’ आफूकहाँ हालसम्म आठ जना विदेशी पेइङ गेस्ट बसिसकेको उनले बताए। ‘विदेशी छोटो समयका लागि मात्र बस्छन्,’ उनले भने, ‘घर र पारिवारिक वातावरण खोज्ने विदेशी यहाँ रमाउने गरेका छन्।’ 

अमेरिकी नागरिक एरिक लुइस यात्री हुन्। उनी एक्लै यात्रा गर्न रुचाउँछन्। विदेश भ्रमणमा रहँदा उनी होटेलमा बस्नभन्दा पेइङ गेस्टको सुविधा लिन मन पराउँछन्। नेपाल घुम्न आउँदा आफू धेरैजसो सशुल्क पाहुना भएर बस्ने उनले बताए। ‘म ब्याकप्याकर हुँ,’ उनले भने, ‘मजस्तालाई गेस्ट हाउसमा बस्नु झन्झटिलो र महँगो पर्न जान्छ। त्यसैले पेइङ गेस्ट बनेर बस्छु।’ यसरी बस्दा आफूलाई घरको न्यास्रो नलाग्ने उनले बताए। ‘परिवारको सदस्यजस्तै व्यवहार गर्छन्,’ उनले भने, ‘त्यसैले घरबाहिर विदेशमा छु भन्ने महसुस हुँदैन।’ 

नियमन आवश्यक

धेरै युवाले होस्टेल र कोठाको विकल्पका रूपमा पेइङ गेस्टको अवधारणालाई मन पराए पनि होटेल एसोसिएसन अफ नेपालका सीईओ टेकेन्द्र महत सरकारको स्वीकृतिबिना पेइङ गेस्ट सञ्चालन गरिनुलाई अवैधानिक मान्छन्। ‘सरकारको मापदण्डबमोजिम सेवा सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘सरकारबाट स्वीकृति  लिनुपर्छ, राज्यलाई कर तिर्नुपर्छ र कार्यविधिअनुसार सञ्चालन हुनुपर्छ। अन्यथा यस्ता सेवालाई अवैधानिक मानिन्छ।’ 

राज्यको नियमनबिना पेइङ गेस्ट सञ्चालन हुँदा विभिन्न समस्या आउन सक्ने महतको तर्क छ। ‘संविधानले हरेक उपभोक्तालाई इच्छाअनुसार आवतजावत र खानबस्न दिएको छ,’ उनले भने, ‘जुन उपभोक्ताको हकको विषय हो। तर, उपभोक्ताको हकको नाममा पर्यटकलाई घर–घरमा ल्याएर अनियमित-अनियन्त्रित तरिकाले पेइङ गेस्ट राख्दा अनेक समस्या सिर्जना हुन सक्छन्।’ 

यस्ता सुविधा राज्यको नीति–नियमअन्तर्गत भएन भने असुरक्षित हुन सक्ने उनको भनाइ छ। ‘कुन मान्छे कहाँबाट आएको हो ? उसको उद्देश्य के हो ? लगायत उसको व्यक्तिगत विवरणबारे पेइङ गेस्ट सञ्चालकले रेकर्ड राख्दैनन्,’ उनले भने,  ‘कुनै गलत मनसायको व्यक्ति आफ्नो वास्तविक परिचय लुकाएर पनि पाहुना बनेको हुन सक्छ। यस्तो कुरामा सचेत हुन जरुरी छ।’ 


‘पेइङ गेस्ट राख्न सरकारको स्वीकृति लिनुपर्छ’

टेकेन्द्र महत, सीईओ, होटेल एसोसिएसन अफ नेपाल 

राजधानीमा अहिले पेइङ गेस्टको अवधारणा व्यावसायिक रूपमा अघि बढिरहेको छ। होम–स्टे, होटेल र पेइङ गेस्ट यी तीन वटै हस्पिटालिटीअन्तर्गत पर्ने गर्छन्। होटेल उपलब्ध नभएको ठाउँमा होम–स्टे सञ्चालन हुन्छ र यी दुवै नभएको ठाउँमा पेइङ गेस्ट सेवा सुरु गरिन्छ। जब कुनै पनि सेवाबापत पैसाको कुरा आउँछ भने त्यो स्वतः व्यवसायसँग जोडिन्छ। घरमा पेइङ गेस्ट राख्नु भनेको सेवाको नाममा व्यवसाय गर्नु हो। राज्यको स्वीकृतिबिना पेइङ गेस्ट सेवा सञ्चालन गर्दा विभिन्न दुर्घटना निम्तिने सम्भावना रहन्छ। राज्यको मापदण्डबमोजिम सेवा सञ्चालन गरिनुपर्छ। राज्यबाट स्वीकृति  लिनुपर्छ, राज्यलाई कर तिनपर्र्छु र कार्यविधिअनुसार सञ्चालन हुनुपर्छ। अन्यथा, यस्ता सेवालाई अवैधानिक मानिन्छ। यसको अर्थ पेइङ गेस्ट राख्दै नराख्नू भन्न खोजेको होइन। राज्यको निगरानीमा यो काम गरिनुपर्‍यो। सम्बन्धित निकायमार्फत नियमन हुनुपर्‍यो। घरमा पाहुना राख्दा को, किन, केका लागि आएको हो ? उसको जानकारी दिने कागजपत्र, सम्झौतापत्र हुनुपर्‍यो। यसो गर्दा सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ।

अतिथिका रूपमा बस्न आएको मानिस लागुपदार्थ तस्करी, अवैध कारोबार, मानव बेचबिखन, अपहरणजस्ता अपराधमा संलग्न व्यक्ति पनि त हुन सक्छ। पेइङ गेस्टको सेवालाई उसले सेल्टरका रूपमा दुरुपयोग गरिरहेको पनि हुन सक्छ। गलत नियतको पाहुनाका कारण घरधनीलाई मात्र नभई राज्यलाई नै संकट आइलाग्न सक्छ। यसको नियमन हुन आवश्यक छ। घरबेटीले पाहुनाको रेकर्ड राख्नुपर्छ। कागजात आधिकारिक हुनुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार