फागु लाइभ : कोरोनाको भयबीच सादा होली

writer

सम्पूर्ण

बुधबार, २८ फागुन २०७६


अस्मिता खड्का

यसपालिको फागुन शुक्लपूर्णिमा अर्थात् होलीमा विगतका वर्षमा जस्तो रौनक कतै देखिएन। पोहोरसम्म सडकभरि होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भीड देखिन्थ्यो। सार्वजनिक यातायात ठप्प हुन्थे। यस वर्ष सडकमा होली खेल्ने जमात देखिएन, सार्वजनिक यातायात पनि निर्बाध चले। होलीका लागि आयोजित विभिन्न म्युजिक कन्सर्ट तथा इभेन्ट स्थगित भए।

यो वर्षको होलीमा दिउँसो १२ बजेसम्म न पानी छ्यापियो, न रङ दलियो। बिहानीपख शहरका भित्री गल्लीहरूमा मात्र कोही–कोही बालबालिका एकापसमा लोला र रङले होली खेल्दै गरेका देखिए। दिउँसो १२ बजेसम्म भक्तपुरदेखि काठमाडौँको कलंकी–बानेश्वरसम्म पुग्दा होलीको खासै रौनक देखिएन। तर, दिउँसो १२ बजेपछि भने विशेष रौनकका साथ युवायुवतीले होली मनाए। टुँडिखेल, रत्नपार्क, वसन्तपुर र ठमेलमा विदेशी पर्यटक र नेपाली युवायुवती व्यवस्थित तरिकाले होली खेलिरहेका थिए।

सरकारको आह्वानसँगै कोरोना भाइरसको संक्रमणको जोखिमले मानिस आफैँ सचेत भएर होली खेल्न गएका थिएनन्। यस वर्षको होलीमा पर्यटक नआएकाले खासै रमाइलो गर्न नपाएको भक्तपुर दरबार स्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेल बताउँछन्। भन्छन्, ‘होलीमा पर्यटक नआउँदा पर्यटन व्यवसाय सुनसान बन्यो। यस वर्ष पर्यटक पनि होलीमा रमाएको देखिएन।’

विगतका वर्षमा साथीहरू जमघट भएर रेस्टुरेन्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यस वर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपाने बताउँछन्। ‘यस वर्ष छोराछोरी पनि होलीमा कतै गएनन्,’ उनी भन्छन्, ‘यो रमाइलो गर्नेभन्दा पनि सचेत हुने बेला हो।’
    
यस वर्षको होली निकै फिका भएको बताउँछन्, कौशलटारमा रेडिमेड पसलका सञ्चालक अनुप थापा। ‘कोरोनाले होलीको रङसँगै हाम्रो व्यापार पनि फिका गराइदियो,’ उनी भन्छन्, ‘गत वर्ष होलीको दिनमा मात्र १ सय ५७ होलीका टिसर्ट बेचेको थिएँ। यसपालि जम्मा सात वटा टिसर्ट मात्र बिक्री भए। लोला हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरेको पनि देखिएन।’ 

कलेजका साथीसँग होली खेल्ने एक महिनाअघिदेखिको योजना रद्द गर्नुपरेको बताउँछिन्, कोटेश्वर जडीबुटीकी सुषमा थापा। ‘कोरोना संक्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गर्‍यौँ,’ उनी भन्छिन्, ‘कक्षा १२ को जाँच आउनै लागेको छ। यसपालि साथीहरूसँग मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यौँ।’

यसपालिको होलीले आफूलाई बाल्यकाल सम्झाएको भक्तपुरका आशकुमार पञ्च बताउँछन्। ‘होलीमा विकृति र विसंगति भित्रिरहेका थिए,’ उनी भन्छिन्, ‘होलीको नाममा केटीहरूलाई लोला हान्ने, जबर्जस्ती रङ लगाइदिने गरिन्थ्यो। रक्सी खाएर झैझगडा त्यस्तै हुन्थ्यो। तर, यसपालि कोरोनाका कारण यी सबै चिज भएनन्। यस पटक भक्तपुरमा परम्परागत शैलीको होली मनाइयो।’ 

०००
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेका बेलामा नेपालमा संक्रमण फैलिन नदिन सरकारले समूहगत रूपमा होली नखेल्न  आह्वान् गरेको थियो। जसले गर्दा यसपालि होलीको रौनक हराउने अनुमान धेरेले गरेका थिए। तर, वसन्तपुरको होली रौनकलाई कोरोनाको भयले छुन सकेन।

सरकारले होलीमा आयोजित गरिने विभिन्न कार्यक्रम स्थगित गरे पनि वसन्तपुरमा भने स्थानीय नेवार युवाले मौलिक बाजा बजाएर होलीको रौनकता बढाएका थिए। वसन्तपुरमा मास्क लगाएर होली खेल्नेहरू पनि देखिए। मास्क लगाउदाँ आफू सुरक्षित भइने उनीहरूको भनाइ थियो। 
    
विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यस वर्ष घरमै आफन्तबीच सादा होली मनाए। ‘यस पटक सात्विक होली भयो, न रङ, न रस, न उमंग घरमै सामान्य रूपमा आफन्तसँग दंग,’ गजुरेलले भने, ‘यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो।’ सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई केही सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमंगलाई सामान्य रूप दिए। 
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले होलीमा विगतमा जस्तो रंगिन तस्बिर हालेको देखिएन। काठमाडौँ उपत्यकाका सडक, चोक र घरमा छतबाट पानी खन्याउने, सडकमा समूह जम्मा गरेर रङ दल्ने र फाल्ने तथा नाचगान गर्ने गरेका दृश्य देखिएनन्।

काठमाडौँस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने संख्यामा कमी आएकाले कुनै घटना नभएको बताए। 
०००

कोरोना भाइरसको कारण सरकारले ठूलो संख्यामा भेला भएर होली नमनाउन अनुरोध गरे पनि पोखरामा पर्यटकले नेपालीसँग एकापसमा रङ दलेर होली मनाएका छन्। भारतीय, कोरियाली, जापानी, युरोपेली, अमेरिकी पर्यटकले विभिन्न रङले रंगिएर होली मनाएका छन्। कोरोनाको त्रासका कारण कम संख्यामा स्थानीय बासिन्दाले होली मनाएका थिए। चिलीबाट नेपाल घुम्न आएका पर्यटक रोबाटोले नेपाली मौलिक पर्व होली मनाउँदा निकै रमाइलो भएको अनुभव सुनाए। ‘पहिलो पटक नेपाल आएको हुँ,’ उनले भने, ‘होली खेल्ने मौका जुर्‍यो। निकै रमाइलो लाग्यो।’ 

हरेक वर्षको होली फेस्टिभल मनाउँदै आएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन पोखराले भने सरकारको अनुरोध मान्दै कोरोना भाइरसका कारण यस वर्षको होली मनाएन। पोखराको लेकसाइडका विभिन्न स्थानमा लाइभ कन्सर्टसमेत हुन्थे। यसपालि कन्सर्ट स्थगित भए। 

तपाईको कमेन्ट