महिला विश्वकपमा अस्ट्रेलियाको दबदबा

writer

सम्पूर्ण

बुधबार, २८ फागुन २०७६


इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) महिला टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले आफ्नो दबदबा कायमै राखेको छ। महिला टी–ट्वेन्टी विश्वकपको सातौँ संस्करणको उपाधि पनि अस्ट्रेलियाले नै जित्यो। अस्ट्रेलियाले आइतबार घरेलु मैदान मेलबर्न क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा भारतलाई ८५ रनले हराउँदै उपाधि चुमेको हो। अस्ट्रेलियाले महिला टी–ट्वेन्टी विश्वकपको उपाधि जितेको यो पाँचौँ पटक हो। 

सन् २००९ मा सम्पन्न पहिलो संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो भने सन् २०१६ मा सम्पन्न पाँचौँ संस्करणको उपाधि वेस्ट इन्डिजले हात पारेको थियो। अन्य सबै संस्करणको उपाधि अस्ट्रेलियाले जितेको छ। सातौँ संस्करणको फाइनलमा टस जितेर पहिला ब्याटिङको निर्णय लिएको घरेलु टोलीले निर्धारित ओभरमा चार विकेट गुमाएर १ सय ८४ रन बनायो।

जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोलीले भने १९.१ ओभरमै अलआउट हुनुअघि ९९ रन मात्र बनाउन सक्यो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनिङ जोडी एलिसा हेली र बेथ मुनीले १ सय १५ रनको साझेदारी गरे। विकेटकिपरको समेत भूमिकामा रहेकी हेलीले ७५ रनको योगदान गरिन्। सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएकी उनले ३९ बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काइन्।

अर्की ओपनर बेथ मुनीले अविजित ७८ रन बनाइन्। उनले केवल ५४ बलको सामना गरी १० चौका हिर्काइन्। तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान मेग लनिङले टोलीको खातामा १६ रन थपिन्। भारतीय बलर दीप्ति शर्माले दुई विकेट लिइन्। पुनम यादव र राधा यादवले पनि एक÷एक विकेट हात पारे।

जवाफी ब्याटिङमा ओर्लिएको भारतका लागि मध्यक्रमकी दीप्ति शर्माले सर्वाधिक ३३ रन बनाइन्। वेदा कृष्णमूर्तिले १९ र ऋचा घोषले १८ रन जोडे। ओपनर स्मृति मन्धनाले ११ रन थपिन्। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियन बलर मेगन स्कट एक्लैले चार विकेट लिइन्। जेस जोनासनले पनि तीन विकेट हात पारिन्। सोफी मोलिनेक्स, डेलिसा किमिन्स र निकोला केरीले एक-एक विकेट लिए।

अस्ट्रेलियाकी एलिसा हेली ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। बेथ मुनी ‘प्लेयर अफ दी सिरिज’ घोषित भइन्। प्रतियोगिताको सेमिफाइनलमा भारतले इंग्ल्यान्ड र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पछि पारेका थिए। विश्वकपको आठौँ संस्करण सन् २०२२ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ। अन्तर्राष्ट्रिय महिला दिवसको दिन खेलिएको फाइनल खेल हेर्न मेलबर्न क्रिकेट ग्राउन्डमा ८६ हजार १ सय ७४ जना दर्शक उपस्थित भएका थिए। फाइनल खेल सुरु हुनुअघि र पुरस्कार वितरण समारोहमा चर्चित कलाकार केटी पेरीले विशेष प्रस्तुति दिएकी थिइन्।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि