मच्छिन्द्रलाई उपाधि

writer

सम्पूर्ण

बुधबार, २८ फागुन २०७६


इलाममा सम्पन्न छैटौँ संस्करणको ‘माई भ्याली गोल्डकप’ फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको छ। शनिबार भएको फाइनलमा आयोजक माई भ्याली क्लबलाई १–० गोलले हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले माई भ्याली गोल्डकपको उपाधि जितेको हो।

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी निया एन्डेसले गोल गरेका थिए। वर्षाले बिथोलेको खेलको इन्जुरी समयमा एन्डेसले गोल गर्दै मच्छिन्द्रलाई उपाधि जिताएका थिए।
उपाधिसँगै मच्छिन्द्रले आठ लाख रुपैयाँ पुरस्कार पायो। उपविजेतामा सीमित बनेको माई भ्यालीले पाँच लाखमा चित्त बुझायो।

निर्धारित समयको बाह्रौँ मिनेटमा माई भ्यालीका छिरिङ गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए। बाइसौँ मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो। त्रिचालिसौँ मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरले पनि गोलको अवसर गुमाएका थिए।

प्रतियोगितामा आयोजक टिमका छिरिङ गुरुङ उत्कृष्ट डिफेन्डर बने। माई भ्यालीकै देव लिम्बू उत्कृष्ट गोलरक्षक, मच्छिन्द्रका योगेश गुरुङ उत्कृष्ट मिडफिल्डर, मच्छिन्द्रकै निया एन्डेस उत्कृष्ट फरवार्ड र मच्छिन्द्रकै प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बने। उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक माई भ्यालीका शरण बस्नेत बने। उनले नगद १ लाख १५ हजार रुपैयाँ प्राप्त गरे।

शहीद स्मारक लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्र माई भ्यालीको सेमिफाइनलमा भारतको मानेभञ्जयाङ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो। आयोजक टिमले भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि