कोरोनासँगै अफवाह पनि भाइरल

writer

सम्पूर्ण

बुधबार, २८ फागुन २०७६


नेपालमा अहिलेसम्म एउटा मात्र केस देखिएको, त्यो पनि उपचारपछि निको भएको र करिब ४ सय ५० वटा नमुना चेक गर्दा सबै नेगेटिभ आएको अवस्थामा जनजीवन ठप्प पार्ने गरी तर्साउने निर्णय लिन जरुरी छैन। 


प्रा.डा.रवि शाक्य
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर 

चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रूप लिएको छ। चीनमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्यांक आउन थाले पनि विश्वका अन्य देशमा यसको विस्तार नरोकिएकाले यसबाट भयभीत हुनेको संख्या पनि बढ्दो छ। महामारी फैलिँदा आम मानिसमा भय पनि सँगसँगै फैलिरहेको हुन्छ। भाइरसको संक्रमणबाट हुने स्वास्थ्य जोखिम यो पहिलो होइन। यसअघि पनि भाइरसका कारण यस्ता महामारी विश्वले भोगिसकेको छ। तर, यो नयाँ खाले भाइरस भएको र विश्वका ९७ भन्दा बढी देशमा फैलिसकेकाले सबैतिर एकसाथ त्रास फैलिरहेको छ। चीनजस्तो शक्तिशाली देशले नियन्त्रण गर्न सकेन, अमेरिकामा पनि कोरोनाका कारण मानिस मरिरहेका छन्, कोरियामा तीव्र गतिमा यो भाइरसको संक्रमण बढिरहेको खबरका बीच नेपाली जनता शान्तसँग बस्न सक्ने कुरा भएन। कुनै पनि महामारी फैलिँदा त्योसँगै जोडिएर विभिन्न हल्ला बढी नै फिँजिएका हुन्छन्। कुन सही तथ्य हो ? कुन हल्ला हो ? कुन कुरा आधिकारिक निकाय वा सम्बन्धित क्षेत्रका विज्ञले भनेका छन् भनेर पर्गेल्न सकिएन भने त्यसले जोकोहीलाई पनि तनावमा पुर्‍याउँछ। 

सोसल मिडियाको बढ्दो प्रयोगसँगै कोरोना भाइरससँग सम्बन्धित भनिएका अफवाह बढी भाइरल भइरहेका छन्। भाइरससँग सम्बन्धित तथ्यपरक विषयभन्दा हल्लाका भरमा पोस्ट गरिएका भ्रम पार्ने विषयले धेरैको ध्यान तानिरहेको अवस्था छ। यो भाइरस लागेपछि मरिहालिन्छ, यसको कुनै उपचार छैनदेखि लिएर गौमूत्र, लसुन, रक्सी सेवनलगायत थुप्रै घरेलु उपाय अपनाउँदा भाइरसबाट जोगिन सकिने अवैज्ञानिक हल्ला फिँजाएर मानिसलाई तनावमा धकेल्ने काम भइरहेको छ। 

कुनै पनि विषयमा निरन्तर नकारात्मक कुरा मात्र भनिरहने र जतिखेर पनि अत्याउने किसिमले मात्र सूचना सम्प्रेषण गर्दा जोकोहीलाई पनि क्रोनिक स्ट्रेस हुन सक्छ। मानिसलाई अस्वाभाविक चिन्ताको समस्या देखापर्छ। यस्तो चिन्ता कतिपय अवस्थामा व्यक्तिगत तहबाट रियाक्ट हुन्छ भने कतिपय अवस्थामा सामूहिक रूपमा देखापर्न सक्छ। कोरोना भाइरसबाट संक्रमित हुँदा देखिने जस्तै लक्षण देखियो भनेर मानिसहरू अस्पताल आउन थाल्ने छन्। मेरो छाति दुखेको छ। सास फेर्न गाह्रो हुन्छ, जस्ता लक्षण लिएर मानिसहरू अस्पताल पुग्छन्। तनाव बढ्दै जाँदा निद्रा नपर्ने, कामकाजमा ध्यान दिन नसकिने हुन्छ। 

विपत् तथा महामारीका बेला तनाव लिएर थप जोखिममा पर्नेभन्दा पनि कसरी सर्तक भएर जोगिने भन्नेतिर ध्यान जानु जरुरी छ। कतिपय अवस्थामा व्यक्तिगत तहमा देखिने लक्षण समूहमा पनि देखिने हुन्छ। पूरै गाउँका मानिस तथा थुप्रैलाई एकै खालको लक्षण जुन महामारीको लक्षणसँग मिल्ने खालको देखिन्छ, तर वास्तविक रूपमा भने महामारीको असर भने भएको हुँदैन। त्यसैले यस्तो बेलामा ‘इपिडेमिक प्यानिक’ बढाउने तŒवलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरोकारवालाको ध्यान जान जरुरी छ। मानसिक स्वास्थ्यको भाषामा ‘इपिडेमिक हाइपोकोनड्रियासिस’ भनिने लक्षण देखिएमा मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ। 

महामारी तथा विपत्का बेला सम्प्रेषण गरिने सूचना तथा समाचार मानिसलाई तर्साउने भन्दा पनि महामारीबाट कसरी जोगिने भन्नेमा नै केन्द्रित हुनुपर्छ। आधिकारिक निकाय तथा विज्ञलाई कोट गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्छ। सरकार तथा तिनका निकायले निर्णय लिँदा मानिसलाई आतंकित पार्नेभन्दा पनि आश्वस्त पार्ने तरिकाले निर्णयहरू लिँदा मानिसमा कम डर पैदा हुन्छ। 

जमघट गर्नै हुँदैन, स्कुल कलेज बन्द गर्नुपर्छ, भीडभाड हुने ठाउँमा जानै हुँदैन भनेर एकै पटक भन्नुभन्दा संक्रमण फैलिन सक्ने क्षेत्र पहिचान गरेर सतर्कता अपनाउँदै आइसोलेसनमा जाने विधि अपनाउँदा राम्रो हुन्छ। नेपालमा अहिलेसम्म एउटा मात्र केस देखिएको, त्यो पनि उपचारपछि निको भएको र करिब ४ सय ५० वटा नमुना चेक गर्दा सबै नेगेटिभ आएको अवस्थामा जनजीवन ठप्प पार्ने गरी तर्साउने निर्णय लिन जरुरी छैन। जोखिममा रहेका उमेर समूहका मानिसलाई केयर गर्ने मेकानिजम, सरफाइमा जोड तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने खालको जीवनशैलीका लागि आम मानिसलाई सही जानकारी दिने काम पनि सँगसँगै गर्नुपर्छ। कोरोनाको संक्रमण हुनु कता छ कता, संक्रमण भयो कि भनेर तनाव लिएर मानसिक समस्या निम्तिने जोखिमबाट जोगिनेतर्फ पनि ध्यान दिनुपर्छ। 

सार्स, मार्स, स्वाइन फ्लू, बर्ड फ्लूलगायत थुप्रै फ्लूबाट जोगिँदै आएका हामी यसबाट जोगिन नसक्ने भन्ने कुरै छैन। यसबाट डराउनु पर्दैन। सावधानी भने अपनाउनुपर्छ। महामारी फैलिहाल्यो भने चीनमा जस्तो हाम्रो सरकारले नियन्त्रणका लागि काम गर्न सक्दैन कि भन्ने शंका जनतामा देखिन्छ। तर, सरकारले चीनबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर संक्रमण नभएको पुष्टि भइसकेपछि आ–आफ्नो घर जाने अवस्था त बनायो। व्यक्तिगत तहमा सबैले सतर्कता अपनाउने र संक्रमण भइहाल्यो भने अरूलाई सर्न नदिन सावधानी अपनाउने हो भने यो महामारीबाट जोगिन सकिन्छ। यो अन्य फ्लूजस्तै एक प्रकारको फ्लू नै हो। यसले कमजोर स्वास्थ्य भएका, वृद्ध र अन्य रोगबाट ग्रसितहरूलाई नै बढी आक्रान्त पारेकाले त्यस्ता व्यक्तिलाई बढी हेरचाह कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिन जरुरी छ।  

तपाईको कमेन्ट

छुटाउनु भयो कि