कोरोनाः कुन तथ्य, कुन भ्रम ?

writer

सम्पूर्ण

बुधबार, २८ फागुन २०७६


सुमित सुवेदी 

कोरोना जनावरमा हुने भाइरस हो । अहिलेसम्म मानिसलाई असर गर्ने भाइरस छ वटा प्रजातिका थिए । नोभेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो । यो भाइरस चीनको वुहान प्रान्तको ‘सी मार्केट’ बाट फैलिएको थियो । एक्काइसौँ शताब्दीमा मानिसलाई असर गर्ने तीन वटा भाइरस भेटिए । सन् २००२ देखि २००४ सम्म सार्स, सन् २०१२ बाट फैलियो मार्स र अहिले नोभेल कोरोना भाइरस देखिएको छ । 

कोरोना भाइरस जुनोटिक भाइरस हो । यो जनावरबाट मानिसमा सजिलै सर्न सक्छ । सार्स ‘सिभिट क्याट’ अर्थात् बिरालोको एउटा प्रजातिबाट मानिसमा सरेको थियो । मार्स ऊँटबाट मानिसका सरेको थियो । नोभेल कोरोना माछा बजारबाट मानिसमा सरेको हो । यो भाइरस चिसा देशमा बढी फैलिएको देखिन्छ । कोरोना रुघाखोकी गराउने भाइरस हो । यसबाट संक्रमितमध्ये ३ दशमलव ४ प्रतिशत व्यक्तिको मृत्यु भएको छ । जसमा अधिकांश ६० वर्षभन्दा माथिको उमेर समूहका छन् । 

रोग प्रतिरोधात्मक क्षमता राम्रो भएका व्यक्तिलाई यो भाइरसले खासै असर नगर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका अनुसार मुुटु रोग, चिनी रोग, क्यान्सर, रक्तचापजस्ता समस्याबाट पीडितहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिलाई कोरोनाले धेरै असर गर्न सक्छ । निमोनिया गराउने, फोक्सोमा पानी जम्ने, शरीरका अन्य अंगले काम गर्न छाड्ने र मानिसको मृत्युसमेत हुन सक्छ । 

लक्षण

–ज्वरो आउने (सामान्यतया १०० डिग्री फरेनहाइटभन्दा उच्च ज्वरो आउँछ)
–सुक्का खोकी लाग्ने 
–श्वासप्रश्वासमा समस्या देखिने
–कफ आउने 
–मांसपेशी दुख्ने 
–थकान महसुस हुने 
–कुनै–कुनै बिरामीलाई वान्ता होलाजस्तो र पखाला लाग्लाजस्तो पनि हुन्छ । 

संक्रमण काल 
यो भाइरस लागेको १४ दिनभित्र यसका लक्षण देखिन्छन् । सामान्यतया चारपाँच दिनमै यसले आफ्ना लक्षण देखाउन सुरु गर्छ

कसरी सर्छ  ?

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दैन । यो हावामा उड्न सक्दैन । भाइरस लागेको व्यक्तिको कफ, सिँगान, थुकका छिटामा यो भाइरस हुन्छ । कोरोना भाइरस भएको व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा, सिँगान पुच्छा उक्त व्यक्तिबाट यी भाइरस बाहिर आउँछन् । बाहिर आएपछि यी भाइरस निष्क्रिय हुन्छन् । तर, मरेका भने हुँदैनन् । भाइरसलाई बाँच्न सक्ने उपयुक्त वातावरण मिल्यो भने यिनीहरू एकदुई दिनसम्म पनि बाँच्न सक्छन् । तर, यति समयसम्म बाँच्न सक्छन् भन्ने यकिन अहिलेसम्म भएको छैन । यसबारे अनुसन्धान भइरहेको छ । 

–खोक्वा हाच्छिउँ गर्दा रोगीको हातमा भाइरस टाँसिन्छन् । ती व्यक्तिसँग अरूले हात मिलाउँदा अर्को व्यक्तिमा सर्छन् । नाक, मुख तथा आँखाबाट सजिलै भित्र छिर्न सक्छन् । 

–हातमा मात्र नभएर कोरोना भाइरस सतहमा पनि लामो समयसम्म रहन सक्छन् । टेबल, कुर्सी, संक्रमितले समाएको आदि ठाउँ अन्य व्यक्तिले छुँदा उसको हातमा पनि ती भाइरस सर्छन् । आँखा, नाक र मुखमा हात लैजाँदा भाइरस शरीरभित्र छिर्छन् । 

संक्रमित हुनबाट कसरी बच्ने 

–कोरोना भाइरस हातमा टाँसिने सम्भावना सबैभन्दा बढी हुन्छ । त्यसैले साबुन पानीले मिची–मिची एक मिनेटसम्म हात धुने । 

–साबुन उपलब्ध नभएको ठाउँमा अल्कोहलको मात्रा धेरै भएको ह्यान्ड स्यानिटाइजर हातमा दल्नुपर्छ । 
–नाक, मुख र आँखामा अनावश्यक अवस्थामा हात नलैजाने ।
–कसैसँग हात नमिलाउने । मिलाउनै परेमा हात मिलाइसकेपछि साबुन पानीले हात धुने । 
–अनावश्यक भीडभाड भएको ठाउँमा नजाने ।
–जथाभावी थुक्ने, सिँगान पुछ्ने काम नगर्ने, टिस्यू पेपरले पुछेर निश्चित ठाउँमा फाल्ने
–हाच्छिउँ गर्दा वा खोक्दा भाइरस तीन फिटभन्दा टाढा नजाने भएकाले रुघाखोकी लागेको व्यक्तिबाट तीन फिट टाढा नै रहने ।  
–रुघाखोकी लागेको व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा टिस्यू पेपर प्रयोग गर्ने । मास्कले मुख छोप्ने । 
–रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने ।
–अनावश्यक हल्लाको पछि नलाग्ने ।

कस्ता व्यक्तिबाट रोग सर्ने सम्भावना हुन्छ ? 

कोरोना भाइरस देखिएको देशमा यसका बिरामीको संख्या ह्वात्तै बढ्यो । तर, नेपालमा अहिलेसम्म कोराना संक्रिमत मानिस अहिलेसम्म भेटिएका छैनन् । एक जनामा संक्रमण देखिए पनि उपचारपछि ठीक भइसकेको अवस्था छ । यो रोग आफैँ उडेर आउँदैन । संक्रमण फैलिएका देशबाट आएका मानिसबाट नै नेपालमा भित्रिने सम्भावना देखिन्छ । त्यस्ता मानिसको सम्पर्कमा नभएका व्यक्तिलाई सामान्य रुघाखोकी लाग्दैमा डराइहाल्नुपर्दैन । तर, नजिकको स्वास्थ्य संस्थामा एक पटक चेक गराउँदा राम्रो हुन्छ । 

उपचार 

कोरोना भाइरसको भ्याक्सिन परीक्षणको क्रममा रहेको छ । यसको उपचार भनेको रोगसँग लड्ने क्षमता वृद्धि गर्नु नै हो । रुघाखोकी लाग्यो भने रुखाखोकीको औषधि खाने । घाँटी दुख्दा त्यसको औषधि खाने । ज्वरो आउँदा सिटामोल खाने । तर, बिरामीको अवस्था गम्भीर छ, श्वासप्रश्वासमा समस्या देखिएको छ भने भेन्टिलेटरमा राखेर श्वासप्रश्वास गराइन्छ र थप उपचार हुन्छ । 

कोरोनाबारे भ्रम 

डब्लूएचओले कोरोना भाइरसका विषयमा फैलिएका भ्रममाथि निम्न तथ्य सार्वजनिक गरेको छ ।
–चिसो मौसम र हिउँले कोरोना मार्दैन । बरु भाइरसबाट जोगिन पटक–पटक हात धुनुपर्छ ।
–तातो पानीले कोरोनाबाट नजोगाउने भएकाले पटक–पटक हात धुनु नै उपयुक्त उपाय हो । 
–कोरोना भाइरस चीनमा उत्पादित सामग्रीबाट सर्दैन । 
–यो भाइरस लामखुट्टेको टोकाइबाट सर्छ भन्ने हल्ला मात्र हो । श्वासप्रश्वासबाट सर्न सक्ने भएकाले मास्क लगाउनु राम्रो । 
–ह्यान्ड ड्रायरले कोरोना भाइरस नमर्ने भएकाले ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
–अल्ट्रा भ्वाइलेट डिसइन्फेक्सन ल्याम्पले कोरोना मार्नुको सट्टा छालामा समस्या ल्याउने हुँदा प्रयोग नगर्नु ठीक हुन्छ । 
–थर्मल डिटेक्टरले सामान्य बिरामी पत्ता लगाउने भए पनि कोरोना संक्रमित पत्ता लगाउन सक्दैन ।
–शरीरभरि अल्कोहल र क्लोरिन छर्केर कोरोना भाइरस मार्न सकिँदैन ।
–घरेलु जनाबरबाट कोरोना सरेको पुष्टि नभए पनि जनावरसँगको सम्पर्कपछि हात धुनु उचित हुन्छ । 
–कोरोना भाइरसको भ्याक्सिन बन्ने क्रममा छ । त्यसैले निमोनिया विरुद्धको भ्याक्सिनले कोरोनाबाट जोगाउँछ भन्ने हल्ला गलत हो । 
–लसुनको सेवनले कोरोनाको रोकथाम गर्ने पुष्टि भएको छैन । जीवाणु मार्ने गुण भएकाले सेवन गर्दा फरक पर्दैन । 
–कोरोना भाइरसले वृद्धवृद्धालाई असर बढी गरेको देखिएको छ । तर, सबै उमेर समूहकाले भाइरसबाट जोगिन उपाय अपनाउनुपर्छ ।
–एन्टिबायोटिकले ब्याक्टेरिया नियन्त्रण गर्ने हो । भाइरस नियन्त्रण गर्दैन । त्यसैले कोरोना संक्रमितले एन्टिबायोटिकको प्रयोग गर्नु हुँदैन ।
–कोरोना रोकथाम र उपचारको औषधि अहिलेसम्म आविष्कार भएको छैन । कुनै पनि औषधि पत्ता लागेको समाचार गलत हो । 

तपाईको कमेन्ट

छुटाउनु भयो कि