श्रीमतीका कारण पीडित पुरुष, पीडा छ पुरुषलाई पनि

writer

गोपाल दाहाल

मङ्गलबार, ०३ पुष २०७५


वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोली गत कात्तिक ३० गते राति साढे ८ बजे विराटनगर बसपार्क क्षेत्रको एभरेस्ट इन होटलको कोठा नम्बर १११को ढोका ढक्ढक्याउन पुग्यो। निकै बेरपछि ढोका खुल्यो। होटलको ओछ्यानबाटै विराटनगरका शंकर मण्डल धानुक र सविना बराइली पक्राउ परे। उनीहरू दुवै विवाहित हुन्। 

उनीहरूलाई पक्राउ गर्न सविनाकै श्रीमान् प्रहरी लिएर होटलको कोठासम्म पुगेका थिए। उनले सविना र उनका ब्वाइफ्रेन्ड शंकरविरुद्ध प्रहरीमा उजुरी गरेका थिए। पक्राउ परेका शंकर पनि विवाहित हुन्। पक्राउ परेका दुवैलाई प्रहरीले एक दिन थुनेर आफन्तको जिम्मा लगायो। तर, सविनाका श्रीमान् अहिले पनि पीडामा छट्पटाइरहेका छन्। ‘म श्रीमती छाडेर विदेश गएको पनि थिइनँ,’ उनी भन्छन्, ‘घरपरिवार छाडेर श्रीमतीलाई कोठामै ल्याएर राखेको थिएँ। तर, आज आफैँले प्रहरी लगेर श्रीमतीलाई पक्राउ गर्नुपर्यो।’ 

‘बिहे गरेको चार वर्षमै यस्तो घटना बेहोर्नुपर्यो,’ उनले दुखेसो पोखे, ‘सँगै बसेकी श्रीमतीले त यसरी धोका दिन्छन् भने अरू कसको विश्वास
गर्नु ?’

विराटनगरको एउटा अस्पतालको ल्याबमा काम गर्ने मिलन (नाम परिवर्तन)ले श्रीमती सविनालाई विराटनगरमै कोठा लिएर राखेका थिए। आर्थिक अवस्था सामान्य भएका मिलन ल्याबमा राति र दिउँसो गरी डबल ड्युटी गर्थे। कोठा आयो, अफिस गयो, उनको दिनचर्या ठीकै चलिरहेको थियो।

एक दिन छिमेकीहरूले उनलाई ‘तिम्री श्रीमतीको चालामाला ठीक छैन’ भनेर सुनाए। उनले ‘त्यस्तो होइन होला’ भनेर खासै चासो दिएनन्। कोठा आउँदा जहिले पनि श्रीमती फोन र फेसबुकमा व्यस्त देखिन थालेपछि शंका गरे र सोधे पनि ‘मान्छेले कुरा काटिराछन्, कोसँग बोल्छौ यसरी ?’

श्रीमतीले ‘साथीसँग’ भनेपछि विश्वास गरे। ‘तर, श्रीमतीको स्वभाव दिनदिनै बद्लिँदै गयो,’ उनी भन्छन्, ‘एक दिन फोनमा कसैसँग माया–प्रेमको कुरा गरिरहेकी थिई। म टुप्लुक्क आइपुगेँ। मैले फोनमा हेर्न खोज्दा हत्तपत्त नम्बर डिलिट गरिन्।’

उनले श्रीमतीको मोबाइलमा कल रेकर्ड हुने एप्स डाउनलोड गरिदिए। अर्को दिन कल रेकर्ड चेक गर्दा उनी छाँगाबाट खसेझैँ भए। ‘श्रीमतीको त एक वर्षदेखि अर्कै केटासँग सम्बन्ध रहेछ,’ उनी भन्छन्, ‘उनीहरूले फोनमा भेट भएदेखि अहिलेसम्म गरेका क्रियाकलाप सबैको कुरा गरेका थिए।’ त्यो सुनेर आफू जिल्ल परेको उनी सुनाउँछन्। ‘म त पागलजस्तै भएँ,’ उनी भन्छन्, ‘न निद्रा लाग्छ, न भोक। काम गर्न पनि मन लागेन तर जागिर चट्टै छाड्न पनि सकिनँ।’

उनी ड्युटीमा हुँदा छिमेकीहरूले ‘तेरो कोठामा श्रीमतीसँग अर्कै केटो बस्छ’ भनेर सुनाउँथे। तर, आफैँले नदेख्दासम्म केही भन्न सकेनन्। सहन गाह्रो भएपछि नजिकका साथीहरूलाई सुनाए। साथीहरूले दिएको आइडियाअनुसार उनले श्रीमतीलाई ‘काठमाडौँ जान्छु’ भनेर साथीको कोठामा गएर बसे। अनि, आफ्नो कोठाको नजिकै साथीहरूलाई निगरानी गर्न लगाए।

दुई दिनपछि साँझमा उनको कोठाअगाडि को ३० प ४४०७ नम्बरको बुलेट मोटरसाइकल आयो र केटीलाई लिएर बजारतिर लाग्यो। उनका साथीहरू पछ्याउँदै गए। मोटरसाइकल विराटनगर बसपार्कको होटल एभरेस्ट इनमा रोकियो। केही समयपछि प्रहरी टोली होटलमा पुग्यो। उनीहरूलाई पक्राउ गरी वडा प्रहरी कार्यालय पु¥याइयो। तर, कुरा यतिमा मात्र सकिएन।

प्रहरी कार्यालयबाट छुटेको दुई दिनपछि सविनाले फोन गरेर उल्टै धम्क्याउन थालिन्। ‘चार वर्ष जागिर खाएर कमाएको पैसा उसैलाई राख्न दिन्थेँ, त्यो पनि सकियो,’ मिलनले भने, ‘उल्टै मैले ऋण लिएकी छु त्यो तिर्नु भनेर बार्गेनिङ गर्छे। यस्तो पीडा कसलाई भनूँ, कसलाई सुनाऊँ ? तनावमा छु।’

लैंगिक हिंसाविरुद्धको १६ दिने देशव्यापी अभियान भर्खरै सकियो। अभियानको समापनको दिन गत सोमबार महिला सञ्जाल धरानमा एक जना पुरुष आफू श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गर्न आए। उनकी श्रीमतीको अर्कै पुरुषसँग अफेयर चलेको उनी सुनाउँछन्।

‘एक पटक त समाज बसेर ‘अबदेखि त्यसो नगर्ने’ शर्तमा मिलापत्र भयो,’ उनी भन्छन्, ‘तर, फेरि पनि त्यस्तै घटना दोहोरिएपछि उजुरी गर्न आएको हुँ।’ उनी अहिले श्रीमतीबाट पीडित भएकाले सम्बन्ध विच्छेद माग गर्दै अदालत पुगेका छन्। महिला सञ्जालकी अध्यक्ष सविता राई भन्छिन्, ‘पहिला पुरुषहरू पीडामा परे पनि लोकलाजका कारण भन्दैनथे तर अहिले पीडितहरू खुलेर भन्न थालेका छन्।’

पहिला पीडामा परेका महिला मात्र उजुरी लिएर आउने इलाका प्रहरी कार्यालय धरानको महिला सेलमा अचेल पुरुष पनि पीडा बोकेर आइपुग्छन्। केही दिनअघि एक जना पुरुष श्रीमतीको ब्वाइफ्रेन्डका कारण घरव्यवहार बिग्रिएको भन्दै प्रहरीमा पुगे। उनी श्रीमतीको व्यवहारले हैरान थिए। ‘जहिले ब्वाइफ्रेन्डसँगै हिँड्छे,’ उनी भन्छन्, ‘उसका सबै कुरा हाम्रो परिवारलाई थाहा भइसक्यो तर डिभोर्स गरौँ भन्दा मान्दिन।’

प्रहरीले फोन गरेर बुझ्न खोज्दा उनी उल्टै कड्किइन् ‘तपार्इंहरूको आवश्यकता छैन, जे हुन्छ अदालतमै हुन्छ।’ इलाका प्रहरी कार्यालयका डीएसपी सुमन तिम्सिनाको अध्ययनमा धरानमा श्रीमतीबाट पीडित हुने पुरुषको संख्या ठूलै छ तर खुलेर उजुरी गर्न आउने कम छन्। उनी भन्छन्, ‘पहिला त अझ पीडा सहेर बस्थे तर अहिले चाहिँ कम्तिमा समस्या लिएर आउन थालेका छन्।’

प्रहरीमा धरानकै एक जना पुरुष चाहिँ आफ्नी श्रीमतीले अर्कै केटासँग रोमान्स गरेको भिडियो पोर्नसाइटमा भेटेको भन्दै प्रहरीमा खबर गर्न पुगे। अर्का पुरुष छ वर्षदेखि छुट्टै बसेकी जेठी श्रीमतीले सताएको भन्दै प्रहरीमा पुगे। ‘प्रहरी कार्यालयमा अचेल यस्तै किसिमका उजुरीको संख्या बढ्दो छ,’ डीएसपी तिम्सिनाल भन्छन्, ‘विदेशमा रहँदा कमाएको पैसा सकेर श्रीमती अर्कैसँग लागेको भन्दै उजुरी गर्नेहरू त छन् नै पछिल्लो समय त आफूसँगै रहेकी श्रीमती पनि अरूसँग लागेको भन्दै प्रमाण पेश गर्ने र श्रीमान् आफैँ लगेर पक्राउ गर्ने गरेका घटना पनि बढेका छन्।’

गत भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिता ऐन २०७४ले ‘पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा’ पतिले सम्बन्ध विच्छेदको उजुरी दिन पाउने व्यवस्था गरेको छ।

यो ऐन लागू भएपछि पीडित पुरुष धमाधम प्रहरीमा उजुरी लिएर पुग्न थालेका छन्। यसअघिको मुलुकी ऐनमा महिलाले सम्बन्ध विच्छेद गर्न सहज भए पनि पुरुषका लागि उजुरी दिन अप्ठ्यारो थियो। डीएसपी तिम्सिना भन्छन्, ‘समाजमा भित्र–भित्र रहेको यस्तो समस्या नयाँ ऐन आएपछि बाहिर आउन थालेको छ। यसले धेरै पुरुष पनि पीडामा रहेको देखाउँछ।’

पुरुष पीडाको मुख्य कारण वैदेशिक रोजगार भएको बताउँछिन्, महिला सञ्जालकी अध्यक्ष राई। ‘अहिले गाउँ–गाउँका पुरुष विदेशमा छन्,’ उनी भन्छन्, ‘उनीहरूमध्ये धेरैका श्रीमती शहरमा छन्। परिवार र श्रीमानसँग टाढा भएर बस्नु पर्दा उनीहरू अन्य पुरुषको सम्पर्कमा पुग्छन्। त्यहीँबाट समस्या सुरु हुन्छ।’ 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि