‘ब्युटी एन्ड फिटनेस एक्स्पो’ सम्पन्न

writer

सम्पूर्ण

आइतबार, २५ फागुन २०७६


काठमाडौँ, भृकुटीमण्डपमा पहिलो पटक ‘ब्युटी एन्ड फिटनेस एक्स्पो २०७६’ भएको छ। ईआरएम कन्सेप्टले फागुन १६ देखि १८ गतेसम्म आयोजना गरेको एक्स्पोमा ब्युटी र फिटनेससम्बन्धी ४० वटा स्टल राखिएका थिए।

ईआरएम कन्सेप्टकी प्रोजेक्ट म्यानेजर ज्योतिका बराइलीले यस्तो किसिमको एक्स्पो नेपालमा पहिलो पटक भएको बताइन्। ‘यसअघि ब्युटीसम्बन्धी ट्रेड फेयर धेरै भए पनि एक्स्पो नै भएको थिएन,’ उनले भनिन्, ‘ब्युटी भनेको फिट हुनु हो भन्ने हाम्रो मान्यता हो। त्यसैले ब्युटीलाई फिटनेससँग जोडेर एक्स्पो गरिएको हो।’ 

एक्स्पोमा ब्युटीसम्बन्धी विभिन्न प्रोडक्टको प्रदर्शनी गरिएको थियो। ब्युटिपार्लर र सलुनमा चाहिने सबै सामान राखिएको एक्स्पोमा नेपालसहित भारत, थाइल्यान्डलगायत देशका स्टल थिए। एक्स्पो घुम्न आएकी सारा लामाले त्यहाँ राखिएको ‘युज एन्ड थ्रो’ सामान आफूलाई मन परेको बताइन्। ‘एट्याचमेन्ट प्याड अन्डरवेयरको कन्सेप्ट एकदम युनिक लाग्यो,’ उनले भनिन्, ‘हरेक महिना महिलालाई चाहिने यस्ता सामान नेपालमै उपलब्ध भए राम्रो हुन्थ्यो। कामकाजी महिलाका लागि त झनै उपयोगी छ।’ 

एक्स्पोमा मायाज ब्युटिपार्लरकी सीईओ गीता गिरीले जुरो बनाएर देखाएकी थिइन्। फोटाजु फर्निचरले ब्युटिपार्लर र सलुनमा चाहिने फर्निचर प्रदर्शनीका लागि राखेको थियो। एक्स्पोमा निःशुल्क हेयर कट, हेयर कलरिङ र नेल आर्टको व्यवस्था पनि रहेको थियो। 

एक्स्पोमा मेकअप स्टुडियोले पनि भाग लिएको थियो। आफूहरूले छालाअनुसार मिल्ने मेकअपका सामान नेपालमा भित्र्याइरहेको मेकअप स्टुडियोका सीईओ हेमन्त निरौलाले बताए। ‘अलि महँगो भए तापनि हाम्रा प्रोडक्ट राम्रो रिजल्ट दिने खालका छन्,’ उनले भने। 

तपाईको कमेन्ट