‘नेपाली साहित्य मेला–महोत्सवमा रमाइरहेको छ’

writer

सम्पूर्ण

शनिबार, २४ फागुन २०७६


स्वप्निल स्मृति समकालीन र युवा कविमाझ अत्यन्त प्रशंसित नाम हो। दुई दशकदेखि अनवरत रूपमा कविताकर्ममा जोडिएका उनको मुख्य विधा नै कविता हो। ‘रंगैरंगको भीर’ (२०६२) र ‘बाडुली र सुदूर सम्झनाहरू’ (२०६८) कवितासंग्रहका यी कवि अग्र्यानिक विम्ब र मिथमा टेकेर कविता लेख्छन्। किराती स्वाद–सौन्दर्यसहित राजनीतिमाथिको तीखो व्यंग्य गर्ने उनी कविहरूको भीडमा अलग्गै पहिचान बनाउन सफल छन्। कवि स्मृतिसँग नेपाली कविता र उनको जीवनको विभिन्न आयाममाथि केन्द्रित रहेर ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले संवाद गरेका छन्। 


एक दशकअघि दिनुभएको अन्तर्वार्तामा ‘मेरो दिमागमा गोबर मात्र छ’ भन्नुभएको थियो। त्यो हट्यो कि हटेन ? 

एक किसिमले भन्ने हो भने, मेरो दिमागमा विसंगत–विसंगत विचार आइरहन्छन्। यो आत्मटिप्पणी हो। कहिले–कहिले निराशावादी विचार पनि आउने गर्छ। म बाँचिरहेको वातावरणको कारण पनि यस्तो भएको हो कि ! सँगसँगै जीवनमा गरेका गल्तीको बारबार सम्झना हुन्छ। ‘यो बन्छु’ भनेर देखेको सपना पूरा भएको हुँदैन। आफ्नो जीवनको असल चालक म होइन कि भन्ने पनि लाग्छ। यही कुरालाई समेट्न खोज्दा मेरो दिमागमा त गोबर मात्र रहेछ भन्ने लागेर त्यसो भनेको हुँ।

विसंगत विचार चाहिँ किन आउँछ ? 

खासमा हामी बाँचेको समाज र परिवेशमा धेरै कुराको संगति मिलेको छैन। धेरै कुरा अमिल्दा छन्। यसैको प्रतिविम्बमा म छु र मलाई विसंगत विचार आउँछ। 

तपाईंलाई पनि ‘कविता र हतियार उस्तैउस्तै देख्ने’ कविहरूको कोटीमा राख्न मिल्छ कि मिल्दैन ?

कवितालाई हामी कहिले–कहिले प्रहारका निम्ति पनि सृजना गर्छौं। तर, कविता चाहिँ कला र सौन्दर्यसहित आउने विचारको आविष्कार हो भन्ने मलाई लाग्छ। कुनै कविले एउटा सुन्दर कविता लेख्यो भने मानव जातिकै लागि त्यो सम्पत्ति बन्छ। मानव जातिलाई एउटा नयाँ आयाम दिन्छ, त्यस्तो कविताले। साथै, एउटा सुन्दर कविताले विभिन्न किसिमका पीडा र खराबीबाट पाठकलाई मुक्ति दिन्छ। 

एक समय तपाईं जोडिनुभएको ‘रंगवाद आन्दोलन’को चर्चा थियो। आज रंगवाद कहाँ पुग्यो ?

रंगवाद नेपाली साहित्यमा केही नयाँ गर्नुपर्छ भन्ने सोचेर अगाडि सारेका थियौँ। विविधताले भरिएको नेपाली समाज इन्द्रेणीजस्तो छ, अब हामीले लेख्ने साहित्यमा सबै रङको चित्रण हुनुपर्छ भनेर ‘रंगवाद’ नाम राख्यौँ। 

तर, आज नेपाली समाजको विविधता समस्या होइन शक्ति हो भन्ने बहस चलेको छ। भुइँको आवाज पनि बिस्तारै केन्द्रीय आवाजसँग जोडिँदै गएको छ। अनि धेरै मुद्दा फ्लोरमा उठिसकेको हुनाले हामीले किन ढिपी गरिरहने ! सधैँ एउटै विचारको पछि किन दगुर्ने ?

समकालीन साथीभाइ र कविहरूलाई तीक्ष्ण व्यंग्य गरिरहनुहुन्छ। दाउ हेरेर गरिने यस्तो व्यंग्य केका लागि ?

म राजनीति, साहित्य, संगीत र सिनेमालाई नजिकबाट नियालिरहेको हुन्छु। कति बेला मलाई यी क्षेत्रमा भएका काम फिटिक्कै चित्त बुझ्दैन। फेरि, साहित्यको कुरा गर्दा पाठकको, सिनेमाको कुरा गर्दा दर्शकको र राजनीतिको कुरा गर्दा नेता–कार्यकर्ताको सवाल आउँछ।  यी सबै आआफ्नै सुरमा दौडेको र उनीहरूले समाज रूपान्तरणको गति नै उल्टो हुने काम गरेको देख्छु। अनि म व्यंग्य गर्छु। स्वभावैले पनि म साथीभाइसँग रेला गरिरहेकै हुन्छु। 

मनले चित्त नबुझाएको कुरामा ठट्टा गरिन्छ। भित्रै राखिरह्यो भने त गुम्सिन्छ, कुण्ठित भइन्छ।

नेपाली कविता भन्नेबित्तिकै तपाईंको मनमा सबैभन्दा पहिले आउने चित्र (नाम, स्वरूप र सौन्दर्य) कस्तो हुन्छ ? 

नेपाली कविता हामीलाई पहिलो कक्षाबाटै पढाइन्छ। त्यसैबाट हामी सबैमा बाल्यकालदेखि नै कवितामाथि एउटा धारणा बनिसकेको हुन्छ। तर, विद्यालयमा पढेको धारणा भत्काउन सक्यो भने नै त्यो मानिस कवि बन्छ। त्यही धारणामा लेख्यो भने सत्ताले आफ्नो बनाउँछ। मान–प्रतिष्ठा, पुरस्कार पनि मिल्छ। तर कविको कर्तव्य त त्यो होइन। कवि आफैँमा प्रतिरोधी हुन्छ नि त !

मलाई त बनिबनाउ विचारको छेउकुना तानेर, अरूकै विम्ब तानेर बनाइएको कविता फोटोकपीजस्तो मात्रै लाग्छ। फोटोकपीको पनि फोटोकपीजस्तो लाग्ने कविताको बाहुल्य नेपाली कवितामा छ।

कन्टेटमा हेर्दा नेपाली कवितामा प्रगतिशील कविताको लामो परम्परा छ। गोपालप्रसाद रिमालदेखि सिद्धिचरण श्रेष्ठसम्म यही परम्परामा छन्। क्राफ्टमा काम गर्ने कविमा बैरागी काइँला, कथामा इन्द्रबहादुर राई छन्। 

नेपालको पूर्वी क्षेत्रबाट उदाएका कविहरूमा ‘श्रवण मुकारुङको आंशिक र बैरागी काइँलाको पूर्ण छत्रछाया देखिन्छ’ भन्दा अत्युक्ति हुन्छ र !

बैरागी काइँलाले जुन किसिमले एउटा स्टाइल बनाउनुभयो, त्यो त सबैतिर फैलिएको छ। उहाँका आफन्त, भाइ–भतिजा पनि कविता लेखनमा जोडिएका छन्। यसैले बैरागी काइँलालाई एउटा श्रद्धा र शिरका रूपमा मानिन्छ। 

तर, कविलाई श्रद्धा गर्दागर्दै उसको प्रभावबाट मुक्त हुने कुरा सोचेन भने चाहिँ उसकै छत्रछायामा भइन्छ। यद्यपि, मलाई के लाग्छ भने बैरागी काइँलाको लेखनधाराको प्रभाव सिंगो नेपाली साहित्यमा छ। पछिल्लो समयमा श्रवण मुकारुङको प्रभाव छ। यसले गर्दा नयाँ कवि–लेखकमा उहाँहरूको स्पष्ट प्रभाव देखिन्छ। सँगसँगै लेख्दा एकअर्काको प्रभाव पर्ने कुरा सामान्य पनि हो। फेरि हाम्रो भाषा एउटै छ। लेख्ने र भन्ने टेक्निकहरू उस्तै छन्। त्यसैले एकरूप देखिएको हो। तर, एउटा कविले आफूलाई मौलिक देखाउन त ठूलो संघर्ष गर्नैपर्छ।

एक दशकअघि स्वप्निल स्मृति, राबत, चन्द्रवीर तुम्बापो, हेमन यात्रीलगायत कविहरूको सामूहिक नाम र प्रभाव  थियो। आज यी नामको प्रभाव ओरालो लागेको हो ?

हामीले लेखिरहेको विषय त्यतिबेलाको राजनीतिक–सामजिक परिस्थितिसँग मेल खान्थ्यो। यसैले हाम्रा कविता तीक्ष्ण थिए कि ! तर,  हाम्रो कविताको मात्र के कुरा गर्नु ? सिंगो नेपाली साहित्य नै अहिले शिथिल छ। आज नेपाली साहित्य ‘महोत्सव’ र ‘मेला’मा रमाइरहेको छ। ती कार्यक्रममा कसले के बोल्यो, कुनकुन समूहको बहसमा चर्काचर्की भयो भन्नेमै हामी रुमल्लिरहेका छौँ। यसले बहस र  विमर्श त बढाएको छ। योसँगै सृजनात्मकम पाटो पनि बढ्न सक्यो भने हाम्रो साहित्यले अर्को उचाइ लिन सक्छ भन्ने मलाई लाग्छ।

‘जोकर व्यवस्थाबाट शासित हुनु साँच्चिकै कठिन छ’ भनेर एक वर्षअघि कविता लेख्नुभयो। के आजको युग जोकरकै सेरोफेरोमा छ ? 

जहिले अल्पमतको सरकार बन्ने देशमा वाम गठबन्धन वा कथित कम्युनिस्टले बहुमत प्राप्त गर्‍यो। यो ठूलो चमत्कारको कुरा भयो। अनि सरकार बनाउने शक्ति पनि यति चमत्कृत भए कि उनीहरूले हामीलाई उल्टो झन्झन् चमत्कारमा भुलाउने काम कुरा गर्न थाले। जनतालाई सपना देखाउन, ढाँट्न सजिलो बनाए । अनावश्यक कुरालाई भाइरल बनाउनेदेखि महत्त्वपूर्ण कुरालाई मजाकमा उडाए। कसैले उट्पट्याङ कुरा गर्‍यो भने सत्तापक्षबाट पनि त्यसलाई उट्पट्याङ प्रतिउत्तर दिइन्छ। फेरि सरकारको पनि हातभन्दा बढी मुख चलेको देख्छु। यसैले सरकारदेखि जनतासम्म भएका समस्या कम नभएसम्म हाम्रो सरोफेरो उस्तै हुन्छ। नयाँ परिवर्तन आउन जरैदेखि परिवर्तन आवश्यक छ। 

तपाईको कमेन्ट