‘ट्राफिकले जति मरिमेटे पनि जस पाउँदैन’

writer

सम्पूर्ण

शनिबार, २४ फागुन २०७६


सुमन न्यौपाने, ट्राफिक प्रहरी, महानगरीय ट्राफिक प्रहरी परिसर, भक्तपुर

सञ्चै हुनुहन्छ, सर ?
सञ्चै छु।

यहाँको घर कता पर्‍यो ?
झापा।

परिवारमा को–को हुनुहुन्छ ?
श्रीमती र छोराछोरी छन्।

ट्राफिक प्रहरी बन्नुभएको कति भयो ?
भयो केही महिना। 

त्यसअघि के गर्नुहुन्थ्यो ? 
सिभिलमा थिएँ। 

त्यहाँ कतिञ्जेल काम गर्नुभयो ?
२० वर्षजति काम गरियो। 

सिभिलमा हुँदा कहाँ–कहाँ ड्युटी गर्नुभयो ?
सप्तरी, सुनसरी, काठमाडौँलगायत ठाउँमा ड्युटी गरेँ।

यो क्षेत्रमा नभएको भए कुन पेशामा हुन्थेजस्तो लाग्छ ? 
नेपाल प्रहरीमा जागिर नगरेको भए कुनै सरकारी कार्यालयमा काम गर्थें होला। किनभने, सानैदेखि सरकारी जागिर गर्ने इच्छा थियो। 

ट्राफिक प्रहरीमा काम गर्न सजिलो कि गाह्रो ?
जुनसुकै काममा पनि सजिलो-गाह्रो त भई नै हाल्छ। कामबाट सन्तुष्ट भइयो भने सजिलो लाग्छ। काममा असन्तुष्टि छ भने गाह्रो लाग्छ।

ट्राफिक क्षेत्रमा काम गर्दा केकस्ता समस्या देख्नुभयो ?
बाहिरबाट हेर्दा सजिलोजस्तो लाग्छ, तर ट्राफिक प्रहरीले बाटोमा दिनरात खटिएर खूब मेहनत गरिरहेका हुन्छन्। ट्राफिकले जति मरिमेटे पनि जस पाउँदैन। 

ट्राफिक पेशाबारे के भन्नुहुन्छ ?
बाहिरबाट हेर्दा सडकसम्बन्धी सबै काम ट्राफिकको जस्तो देखिन्छ। तर, खास भन्नुपर्दा यो धेरै सरकारी कार्यालयसँग जोडिएको हुन्छ। ट्राफिक बत्ती बिग्रेपछि ‘ट्राफिक प्रहरी के हेरेर बसेको मिलाउनु पर्दैन’ भन्छन्, सर्वसाधारण। तर, ट्राफिक बत्ती राख्ने काम सडक विभागको हो, हाम्रो होइन। यस्ता धेरै समस्या छन्। 

बायाँ र दायाँ लेन के हो ?
यो भनेको मालवाहक, यात्रुवाहक, ढिलो गुड्ने सवारीसाधन बायाँ लेनमा चलाउने र निजी गाडी, मोटरसाइकल, स्कुटर दायाँ लेनबाट चलाउने भनेको हो।

लेनको नियम ल्याउनुको मुख्य कारण के हो ?
यसको मुख्य उद्देश्य सडक दुर्घटना न्यूनीकरण गर्नु र सवारीसाधनलाई व्यवस्थित गरी ट्राफिक जाम कम गराउनु हो। 

यो कहिलेदेखि सुरु भएको हो ?
लेन २०७६ फागुन १४ देखि सुरु गरिएको हो। 

भक्तपुरमा कहाँदेखि कहाँसम्म लेन निर्धारित गरिएको छ ?
भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्म।

ट्राफिक लेनबारे सर्वसाधारणले के कति बुझेका छन् त ?
सर्वसाधारणलाई बुझाउन मौखिक, लिखित जानकारी गराएका छौँ। २० हजार पर्चा छापेर बाँड्यौँ। सयभन्दा बढी होर्डिङ बोर्ड ठाउँ–ठाउँमा राखिएका छन्। साथै, ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालक–सहचालकलाई बुझाउने गरेका छन्। एक हप्तासम्म बुझाउँछौँ। अर्को हप्तादेखि लेन नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गर्छौं। 

अहिले त ठाउँ–ठाउँमा ट्राफिक लाइट छ। यसले तपाईहरूलाई काम गर्न कत्तिको सहज भएको छ ?
सहज नै भएको छ। तर, कुनै–कुनै ठाउँमा ट्राफिक लाइट छ, बिग्रेको छ भने ट्राफिक प्रहरी नै खटिनुपरेको अवस्था छ।

कस्ता सवारीसाधनका चालक सडकमा लापर्बाही गर्छन् ?
सबै चालक लापर्बाह हुन्छन् भन्न मिल्दैन। मोटरसाइकल चालक चाहिँ अलि बढी लापर्बाही गर्छन्। जेब्रा क्रसिङमा पनि स्पिडमा कुदाउँछन्। 

प्रस्तुतिः रेणु त्वानाबासु

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि