केके भएका थिए इतिहासमा यो साता ?

writer

सम्पूर्ण

शनिबार, २४ फागुन २०७६


मार्च ५

सन् १९४६ को मार्च ५ मा बेलायती पूर्वप्रधानमन्त्री विन्सटन चर्चिलले अमेरिकामा गएर एउटा भाषण गरेका थिए। सो भाषण यति चर्चित भयो कि त्यसलाई इतिहासमा ‘आइरन कर्टेन स्पिच’ भनिन्छ। भाषणका क्रममा चर्चिलले सोभियत संघ र कम्युनिजमको दुष्प्रभाव तथा विस्तारवादी चरित्रप्रति खास गरी अमेरिका तथा उसका युरोपेली साझेदारले सचेत रहनुपर्ने बताएका थिए। उनको भाषणको मर्मप्रति अमेरिका सहमत भएको र भाषणपछि शीतयुद्ध चर्किएको विश्लेषण गरिन्छ। दोस्रो विश्वयुद्धताका सोभियत संघ र अमेरिका साझेदार थिए। युद्धपछि सोभियत संघले पूर्वी युरोपमा विस्तारवादी नीति अवलम्बन गरेकाले त्यसविरुद्ध अमेरिका र बेलायतविरुद्ध रणनीतिक साझेदारी हुनुपर्ने चर्चिलले बताएका थिए।   

मार्च ६

सन् १९५७ को मार्च ६ मा अफ्रिकी देश घाना स्वतन्त्र भएको थियो। सन् १८४४ देखि बेलायतले घानामा उपनिवेश कायम गर्दै आएको थियो। सन् १८२१ मा बेलायतले घानाको एउटा समुद्री तटमाथि नियन्त्रण कायम गरेको थियो भने सन् १८४४ मा घानासहित वरपरका क्षेत्रलाई औपचारिक रूपमै उपनिवेश बनाएको थियो। सुनको खानी रहेको भनेर त्यतिबेला घानालाई ‘गोल्ड कोस्ट’ भनिन्थ्यो। दोस्रो विश्वयुद्धपछि बेलायतले भारतलगायत विभिन्न उपनिवेशलाई स्वतन्त्र गरेको भए पनि अफ्रिकामा चाहिँ उपनिवेश कायमै राखेको थियो। यस्तो अवस्थामा उपनिवेशबाट मुक्त हुने पहिलो अफ्रिकी मुलुक घाना बन्न पुग्यो।

मार्च ७ 

सन् १९३६ को मार्च ७ मा जर्मनीले पहिलो पटक पहिलो विश्वयुद्ध अन्त्य भएपछि जर्मनी र पश्चिम युरोपका फ्रान्स र जर्मनीबीच भएको भर्साइल सन्धि उल्लंघन गरेको थियो। भर्साइल सन्धिले जर्मनीको राइनल्यान्ड क्षेत्र निश्शस्त्र रहने व्यवस्था गरेको थियो। फ्रान्ससँग सीमा जोडिएको राइनल्यान्डलाई निश्शस्त्र राखेमा मात्रै पश्चिम युरोपतर्फ उन्मुख हुने जर्मनीको महत्त्वाकांक्षामा विराम लगाउन सकिन्छ भनेर फ्रान्स र बेलायतले भर्साइलको सन्धिमा सो बुँदा पारेका थिए। तर, आफ्नै भूमिमा जर्मन सुरक्षाकर्मी तैनाथ गर्न नदिएर फ्रान्स र बेलायतले जर्मनीको सार्वभौमसत्ता र सुरक्षामा आँच पुर्‍याउन खोजेको आरोप लगाउँदै जर्मनीले सन् १९३६ को मार्च ७ मा राइनल्यान्डमा सेना पठायो। 

मार्च ८

सन् १९५७ को मार्च ८ मा इजिप्टले बन्द गरिएको स्वेज नहर पुनः सञ्चालनमा ल्यायो। भूमध्यसागर र लालसागर जोड्ने स्वेज नहर इजिप्टसहित आसपासका क्षेत्रमा फ्रान्सले सन् १८६९ मा निर्माण गरेको थियो। अरब क्षेत्रमा उत्खनन् गरिएका पेट्रोलियम पदार्थलगायत सामग्री पानीजहाजमा सोही नहर हुँदै युरोपलगायत ठाउँमा पुग्ने भएकाले स्वेज नहरको आर्थिक तथा सामरिक महत्त्व बढी छ। यस्तोमा सन् १९५६ को जुलाईमा इजिप्टका राष्ट्रपति गामेल अब्देल नासेरले सो नहर राष्ट्रियकरण गरेपछि छिमेकी मुलुक इजरायलले हमला गरेर इजिप्टका केही भूमि कब्जा गरेको थियो। अन्ततः राष्ट्रसंघको अग्रसरतामा इजरायली सेना इजिप्टबाट फिर्ता भएपछि इजिप्टले नहर पुनः सञ्चालनमा ल्याएको थियो। 

मार्च ९

सन् १९४५ को मार्च ९ मा अमेरिकाले जापानमाथि भीषण हमला गर्‍यो। पूर्वी एसिया र दक्षिण एसियाबाट जापानी सैनिकलाई दपेट्दै लगेर जापानको सीमामा सीमित गरेपछि अमेरिकाले जापानलाई निर्णायक रूपमा तह लगाउने गरी राजधानी टोकियोमै हमला केन्द्रित गर्‍यो। मार्च ९ मा अमेरिकाले टोकियोमा बमबारी सुरु गरेको थियो। दुई दिनमा टोकियोमा करिब दुई हजार बम खसालियो। टोकियोको आवासीय क्षेत्रमा समेत थुप्रै बम खसालिएको थियो। टोकियोमाथि बमबारी गरेको पाँच महिनापछि अमेरिकाले जापानी शहर हिरोसिमा र नागासाकीमाथि परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गर्‍यो।    

मार्च १०

सन् १९५९ को मार्च १० मा तिब्बतमा चीनविरुद्ध विद्रोह भएको थियो। त्यतिबेला चीनले सेना पठाएर तिब्बतलाई कब्जामा लिई त्यहाँ आफ्नो शासन सुरु गरिसकेको थियो। चिनियाँ सैन्य कब्जाको विरोध गर्दै तिब्बतीहरूले चीनविरुद्ध विद्रोह गरे। त्यतिबेला दलाई लामा तिब्बतस्थित सरकारी आवासमा थिए। दलाई लामाको सो आवासलाई वरिपरिबाट पहरा दिएर विद्रोहीहरूले विद्रोह आरम्भ गरे। चिनियाँ सैनिकबाट दलाई लामालाई जोगाउन उनको भवनलाई पहरा दिइएको थियो। तर, चिनियाँ फौजसामु टिक्न नसक्ने देखेपछि दलाई लामासहित विद्रोहीहरू भागेका थिए। उनीहरूलाई भारतले शरण दिएको थियो। 

मार्च ११

सन् १९९३ को मार्च ११ मा उत्तर कोरियाले आणविक अप्रसार सन्धिमा गरेको हस्तक्षर फिर्ता लिएको थियो। थप मुलुकले पारमाणविक हतियार बनाउन नपाऊन् भनेर संयुक्त राष्ट्रसंघको अग्रसरतामा आणविक अप्रसार सन्धिमा विभिन्न राष्ट्रलाई हस्ताक्षर गराइएको थियो। उत्तर कोरियाले समेत यसमा हस्ताक्षर गरेको थियो। सोही सन्धिको हवाला दिँदै राष्ट्रसंघ र पश्चिमी मुलुकले उत्तर कोरियालाई पारमाणविक कार्यक्रम बन्द गर्न दबाब दिएका थिए। तर, उत्तर कोरियाले उल्टो सो सन्धिबाट आफूलाई अलग गर्दै पारमाणविक कार्यक्रम जारी राखेको थियो।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि