‘देहव्यापारी होइन यौन श्रमिक हौँ’

writer

सम्पूर्ण

शनिबार, २४ फागुन २०७६


सृजना खड्का-अस्मिता खड्का

मिरादेवी (नाम परिवर्तन) यौन पेशामा लागेको सात वर्ष भयो। उनका १८ वर्षका छोरा छन्। आफू र प्लस टू पढिरहेका छोरालाई उनी यही कामबाट खर्च जुटाउँछिन्। एक हप्ताअघि काठमाडौँ, रत्नपार्कबाट उनलाई प्रहरीले समात्यो। यस्ता घटना उनका लागि नौला होइनन्। ‘समातिनु र छुट्नु त हाम्रो दिन–दिनको कहानी हो,’ उनले भनिन्। 

हरेक पटक प्रहरीचौकी पुग्दा उनी र उनका साथीलाई प्रहरीले गाली गर्दै भन्ने गर्छ– ‘यस्तो काम गर्नुभन्दा त बरु मकै पोल्नू, गिट्टी कुट्नू, भारी बोक्नू !’ 

त्यो बेला उनी र उनीजस्ता यौनकर्मी महिला केही बोल्दैनन्। ‘जति पीडा हुन्छ हामी मनमै लुकाएर राख्छौं,’ मिरादेवीले भनिन्, ‘हामी भारी बोक्न, गिट्टी कुट्न नगएको कहाँ हो र ? तर, यस्तो कुरा प्रहरीलाई सुनाएर के फाइदा ?’

श्रीमान्ले छाडेर गएपछि बिहान–बेलुकाको छाक टार्न उनले धेरै ठाउँमा काम गरिन्। होटलमा भाँडा माझिन्, बालुवा बोकिन्। ‘होटलमा काम गर्दा होटल साहूले यौन शोषण गर्न खोज्थ्यो,’ उनले भनिन्, ‘बालुवा बोक्न जाँदा घर बनाउने ठेकेदारले नराम्रो व्यवहार गथ्र्याे। यसै भएन, उसै भएन भनेर यही पेशामा आइयो। तर, प्रहरीले हामीलाई देशका नागरिक नै होइनन् जस्तो व्यवहार गर्छ।’ हरेक ठाउँमा प्रहरीले आफूहरूलाई अपराधीलाई जस्तो व्यवहार गर्दा निकै दुःख लाग्ने उनले बताइन्। आफूले गर्ने काम स्वतन्त्रतापूर्वक गर्न पाइयोस् भन्ने उनको माग छ। ‘हामीले त्यस्तो कुनै पाप गरेका छैनौँ,’ उनले भनिन्, ‘कानुनले मान्यता देओस् कि नदेओस् । तर, अरूले जस्तै हामीले पनि आफ्नो काम निर्धक्क गर्न पाउनुपर्छ।’ 

त्यस्तै, प्रहरीले उनीहरूलाई समातेपछि बारम्बार सुनाउने अर्को वाक्य हो– ‘इजी मनी’ अर्थात् सहज आम्दानी। 

यो कुरा मिरादेवीलाई पटक्कै चित्त बुझ्दैन। ‘एउटा ग्राहकसँग यौन श्रम गरेर कमाएको पैसा कसरी इजी मनी हुन्छ ?’ बोल्न सिपालु मिरादेवीले भनिन्, ‘जो कोहीले यो काम गरेर पैसा कमाउन सक्छ ? आफ्नो ज्यानको बाजी थापेर कमाएको पैसा कसरी ‘इजी मनी’ हुन्छ ?’

‘देहव्यापारी होइन, यौन श्रमिक हौँ’

पार्वती (नाम परिवर्तन) व्यावसायिक यौनकर्मी हुन्। यही कामले उनको घरपरिवार चलेको १० वर्ष भयो। यस बीचमा उनी काठमाडौँको सयभन्दा बढी ठाउँमा डेरा सरिसकिन्। ‘घरबेटीले यौनकर्मी भन्ने थाहा पाउनेबित्तिकै घरबाट निकालिदिन्छन्,’ उनले भनिन्, ‘समाजले हामीलाई हेर्ने दृष्टिकोण राम्रो हुँदैन। हामीलाई हेर्दै कानेखुशी गर्ने धेरै हुन्छन्। जता गए पनि हामीले ठक्करैठक्कर खानुपर्छ।’ 

स्वास्थ्य समस्या पर्दा उनी डाक्टरकहाँ जाँदिनन्। कुनै ग्राहकले ठगेर भाग्यो भने प्रहरीकहाँ उजुरी गर्नेबारे उनले कहिल्यै सोचेकी छैनन्। ‘हामी यौनकर्मी हो भन्ने थाहा पाउनेबित्तिकै जसले पनि हामीलाई गर्ने व्यवहार नै फरक हुन्छ,’ पार्वतीले भनिन्, ‘ग्राहकसँग जाने बेलामा मात्र हामी यौनकर्मी हौँ। बाँकी समय हामी पनि कसैका दिदी, बहिनी र आमा हौँ। तर, जसले पनि हामीलाई एकचोटि यौनकर्मी भनेर चिनेपछि सधैँभरि यौनकर्मीकै रूपमा चिन्छन्, त्यस्तै व्यवहार गर्छन्।’ 

आफूजस्ता महिलालाई सार्वजनिक स्थानमा बस्नै डरमर्दो भएको उनले सुनाइन्। ‘केही नगर्दा पनि चिया खाएको ठाउँबाट प्रहरीले समातेर लैजान्छ,’ पार्वतीले भनिन्, ‘सार्वजनिक बाटोमा हिँड्ने हाम्रो चाहिँ अधिकार छैन र ? हामी पनि यो देशका नागरिक हौँ।’ 

पार्वतीकी साथी अनुजा (नाम परिवर्तन) लाई केही दिनअघि रत्नपार्कमा प्रहरीले समात्यो। ‘पुलिसले चौकी पुर्‍याउनुअघि नै नराम्ररी पिट्यो,’ उनले भनिन्, ‘मेरो जीउमा अझै पनि नीलडाम छन्। हामी त रत्नपार्कमा उभिएको देख्नै हुँदैन, समातिहाल्छ। केही गल्ती नगर्दा पनि पुलिस देखेपछि भाग्न बाध्य हुन्छौँ।’

प्रहरीले समातेर मात्रै आफ्नो समस्या समाधान नहुने उनले बताइन्। ‘वर्षौंदेखि गर्दै आएको पेशा हामी छाड्दैनौं,’ अनुजाले भनिन्, ‘हामीले कसरी सुरक्षित रूपमा यौन श्रम गर्ने भन्ने कुरा बुझिसक्यौं। बुझ्न नसकेको त कानुनको कुरा मात्र हो। कानुनले यौन श्रमिक महिलालाई कुटेर थला पार भन्छ हो ? नत्र हामीलाई दिउँसै सडकमा हिँड्न किन दिइँदैन ?’ 

अनुजालाई मानिसहरूले यौनकर्मी, यौन व्यवसायी, देहव्यापारी भनेको मन पर्दैन। ‘हामी यौनकर्मी होइनौँ, देहव्यापारी होइनौँ, यौन व्यवसायी पनि होइनौँ,’ उनले भनिन्, ‘हामी त यौनको श्रम गर्ने यौन श्रमिक हौँ। हामीले शरीरको व्यापार होइन, शरीरको श्रम गरेका हौँ।’ 

‘यौन वैधानिक पेशा हो’

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको अधिवक्ता सुजन पन्तले बताए। ‘नेपाल पनि आईएलओको सदस्य हो,’ उनले भने, ‘यस हिसाबले यो पेशा वैधानिक पेशा हो। तर, नेपालमा यौन व्यवसायबारे कानुन मौन छ। जसको कारण यौन व्यवसाय वैध वा अवैध भन्ने धारणा स्पष्ट छैन। कानुनी स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक भन्ने बुझिन्छ।’

हालै लागू भएको मुलुकी फौजदारी सहिता ऐनको दफा २१३ ले जबर्जस्ती यौन कार्यमा लगाउनु गैरकानूनी भने तापनि स्वतःस्फूर्त गरिने यौन व्यवहार र व्यवसाय अवैधानिक हो भनी बुझ्न नमिल्ने अधिवक्ता पन्तले बताए। ‘नेपालमा यौन श्रमलाई एकथरीले कानुनी मान्यता दिनुपर्छ भन्छन् भने अर्कोथरी मान्यता दिनु हुँदैन भन्नेमा छन्,’ उनले भने, ‘कानुनी मान्यता दिँदा यौन पेशा मर्यादित हुन्छ भन्ने छ। यसमा ‘आफ्नो शरीर, आफ्नो अधिकार’ भन्ने कुरा पनि आउँछ। अर्कातिर, यौन व्यवसायले महिला हिंसा बढाउने भन्दै मान्यता दिनु हुँदैन भन्नेहरू पनि छन्।’ 

अधिवक्ता पन्तले उमेर पुगेका दुई व्यक्तिबीचको सहमतिमा हुने कुनै पनि कार्यमा राज्यले नियन्त्रण गर्न नमिल्ने बताए। ‘यौनलाई वैधानिक गर्दा धेरै प्रकारका हिंसा रोक्न सकिन्छ,’ उनले भने, ‘महिलालाई साधन बनायो, मेनुमा राख्यो भनेर मात्र हुँदैन। जबसम्म सेक्सलाई कुण्ठाको विषय बनाएर राखिन्छ, समाजमा यौनसम्बन्धी घटना र दुर्घटना भइरहन्छन्।’ 

‘शरीर होइन, सीप बेच्न सिकाउनुपर्छ’

माइती नेपालकी अधिवक्ता उमा तामाङ यौन पेशालाई अमर्यादित ठान्छिन्। ‘यौन पेशा मर्यादित पेशा होइन,’ उनले भनिन्, ‘यसलाई खुला गर्दा समाजमा झनै नराम्रो असर पर्छ। नेपाल सरकारसँग समन्वय गरेर विभिन्न ठाउँमा रेड हान्न जाँदा धेरै यौनकर्मी महिला शोषणमा परेको हामीले देखेका छौँ।’ 

यौन व्यवसायको दलदलमा फसेका महिलालाई त्यहाँबाट निकाल्न एकदमै गाह्रो भएको उनले बताइन्। ‘एकचोटि यो पेशामा फसेकालाई त्यसबाट बाहिर निकाल्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘उनीहरूलाई समातेर सजाय दिँदैमा समस्याको समाधान हुँदैन। सम्बन्धित निकायले उनीहरूलाई बेला–बेलामा निगरानी गर्नुपर्छ।’

छोरी नेपालकी संस्थापक अधिकारकर्मी हिरा दाहाल क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टर, डान्सबारलगायत मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोरी र महिलामाथि हुने यौन शोषणविरुद्ध काम गर्छिन्। उनी यौन पेशामा संलग्न महिलाका लागि पनि लामो समयदेखि काम गर्दै आइरहेकी छिन्। 

‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलादेखि यौनकर्मी महिलासम्म सबैले विभिन्न खाले शोषण भोगिरहेका छन्,’ दाहालले भनिन्, ‘कोही इच्छाले यो पेशा अंगाल्न चाहन्छन् भने हामीले उनीहरूको हकहितका लागि लड्छौँ। उनीहरूको क्षमता वृद्धिका लागि काम गर्छौं र उनीहरूलाई शोषणरहित भएर काम गर्न सिकाउँछौँ।’ 

यो क्षेत्रमा रहरले भन्दा पनि बाध्यताले काम गर्ने महिला धेरै भएको उनले बताइन्। ‘मेरो अनुभवमा यो उद्योगमा बाध्यताले काम गर्ने दिदीबहिनी धेरै छन्,’ उनले भनिन्, ‘उनीहरू समस्यामा छन्, तर आफ्ना अधिकारका लागि लड्न डराउँछन्।’

बाध्यता होस् वा अभिरुचि, जस्तोसुकै कारणले कुनै पनि महिलाले यौन पेशा अँगाल्ने कार्यलाई मान्यता दिनु हितकार नहुने उनले बताइन्। ‘एउटा अधिकारकर्मीको नाताले म उनीहरूका हकहितका लागि लड्छु,’ उनले भनिन्, ‘तर, यौन पेशाले वैधानिकता पाउनुपर्छ भन्ने पक्षमा म छैन। किनकि, ‘सेक्स वर्क’ कहिल्यै पनि ‘डिग्निफाइड वर्क’ भित्र पर्दैन।’ यौनकर्मी भनेपछि समाजले नकारात्मक हिसाबले हेर्ने भएकाले यसले कानुनी मान्यता पाउनेबित्तिकै उनीहरूप्रति झनै विभेद बढ्दै जाने उनको ठहर छ। ‘कुनै पेशा अँगाल्ने बाध्यतामा उनीहरूले इज्जत, सम्मान र मर्यादा गुमाएर बाँच्नु नपरोस्,’ अधिकारकर्मी दाहालले भनिन्, ‘मानवअधिकारको दृष्टिकोणले ‘डिग्निफाइड लाइफ’ जिउनुमै उनीहरूको हित छ।’ 

वैधानिक मान्यताले मात्र समाजको मानसिकता नबदलिने दाहालको धारणा छ। ‘हाम्रो समाजमा यौनकर्मीलाई हेर्ने नजर ठीक छैन,’ उनले भनिन्, ‘समाजका मानिसको कुरा छोडौँ, उनीहरूलाई परिवारका मान्छेले नै स्विकार्दैनन्। त्यसैले यो पेशा अँगालेकाले हेपिएर, बहिष्कृत भएर बाँच्नुभन्दा मर्यादित जीवन जिउनु जाती हो।’ यौन पेशा अँगालेकै आधारमा महिला झन् पीडित भएर बाँच्न नपरोस् भन्ने चाहन्छिन् उनी। ‘समाजको धारणा परिवर्तन नभएसम्म वैधानिकता पाउनु मात्रै यौनकर्मीहरूको समस्याको समाधान होइन,’ उनले भनिन।’ 

यौनकर्मी महिलाका लागि राज्यले अन्य विकल्पको व्यवस्था गर्नु उचित हुने दाहालले बताइन्। ‘चाहना नहुँदानहुदै यौन पेशा अँगाल्नेका लागि सीपमूलक काम छन्,’ उनले भनिन्, ‘त्यसैले उनीहरूलाई शरीर होइन, सीप बेचेर बाँच्न सिकाउनुपर्छ।’ आफूले आफैँलाई प्रेम र सम्मान गर्न नसकेको अवस्थामा मानिस यौन पेशामा लाग्ने उनले बताइन्। ‘‘माई बडी, माई राइट’ भन्दैमा आफ्नो शरीर बेच्नु राम्रो होइन,’ उनले भनिन्, ‘शरीर बेचेरभन्दा सीप बेचेर कमाएको पैसाले दिने सम्मान र सन्तुष्टि बेग्लै खालको हुन्छ।’ 

आफन्त नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई सीमा क्षेत्रमा हुने मानव तथा चेलीबेटी बेचबिखन र यौन कार्यसँग सम्बन्धित विषयवस्तुमा काम गर्छन्। यस क्षेत्रमा लामो अनुभव बटुलेका भट्टराईले यौन पेशालाई वैधानिक मान्यता दिनु उचित नभएको बताए। ‘यौनकर्मी महिलाले कानुनी मान्यता पाउनु मात्र उनीहरूको समस्याको समाधान होइन,’ उनले भने, ‘हामीले कानुनीभन्दा पनि सामाजिक र सांस्कृतिक रूपले हेर्नुपर्छ। समाजको मानसिकता नबुझी यौन पेशाले वैधानिक मान्यता पाउनुपर्छ भनेर उफ्रिनु खतरनाक कुरा हो।’ यौन पेशाले वैधानिक मान्यता पाउनुपर्छ भन्ने कुरा गलत नभई सतही भएको उनले बताए। ‘कहिलेकाहीँ चौतर्फी अध्ययन नगरी यस्ता काम अघि बढाउँदा खतरा निम्तिन्छ,’ भट्टराईले भने, ‘समाजले वर्जित ठानेको र समाजले नै जीवित राखेको यो पेशा आफैँमा चुनौतीपूर्ण र विरोधाभासपूर्ण छ। यदि यौनकर्मीहरू यो पेशा गर्न चाहन्छन् भने उनीहरूका लागि उचित व्यवस्था हुनुपर्छ।’ 

यसको समाधानका लागि सुरुमा समाजको परम्परागत मान्यता भत्काउनुपर्ने उनले बताए। ‘यौन पेशा आफैँमा अप्ठ्यारो पेशा हो,’ उनले भने, ‘त्यसमाथि समाज र राज्यले उनीहरूलाई विभेद गर्दै आएको छ। उनीहरूको गोपनीयतालाई वास्ता गरेको छैन। यस्तो अवस्थामा वैधानिक गर्दा झन् समस्या हुन्छ।’

‘यौनकर्मीकहाँ जाने पुरुषको तथ्यांक खोज्नुपर्छ’ 

समाज जतिसुकै परिवर्तित भए पनि मानिसको सोच परिवर्तन नभएसम्म केही कुरा परिवर्तन गर्न नसकिने लेखक शीतल दाहालले बताइन्। ‘अहिलेको अवस्थामा सबैभन्दा पहिला सोच बदल्न जरुरी छ,’ उनले भनिन्, ‘यौनकर्मी महिलालाई अपमान र गाली गरेर मात्र केही हुँदैन। किनभने, कोही पुरुष महिलाकहाँ नगई महिला एक्लै यौनकर्मी हुँदिनन्।’

सम्बन्धित निकायले यौनकर्मी महिला मात्र नभएर ती महिलाकहाँ जाने पुरुषको पनि खोजी गर्नुपर्ने उनले बताइन्। ‘हामीले जहिल्यै ‘अर्काको श्रीमान् बिगार्ने’ भन्दै यौनकर्मी महिलालाई मात्र गाली गर्‍यौँ,’ उनले भनिन्, ‘तर, त्यसमा संलग्न पुरुष कहाँ गए ? महिलालाई पुरुषसत्ताले बदनाम बनाएको हो। पुरुषसत्ताले यौनकर्मी महिला कति छन् भन्ने तथ्यांक खोज्छ, तर ती महिलाकहाँ जाने पुरुष कति छन् भनेर कहिल्यै पनि खोजी गर्दैन।’ 

यौनकर्मी महिलालाई पेशा परिवर्तन गर्ने वातावरण समाजले नदिएको उनले बताइन्। ‘यौन व्यवसायमा संलग्न कुनै महिला अर्को पेशामा फर्किन चाही भने उसलाई समाजले विभिन्न लाञ्छना लगाएर फर्किन दिँदैन,’ उनले भनिन्, ‘त्यो महिलाको हालत पहिलेभन्दा नाजुक हुन्छ। समाजले उसको जिन्दगी नर्क बनाइदिन्छ।’   

‘भातसँगको लडाइँ’

कम्युनिटी एक्सन सेन्टर (सीएसी) नेपालकी निर्देशक तुलसा लतामाया अमात्यले यौन पेशा र यौनकर्मीबारे बहस निकै पहिलादेखि सुरु भएको बताइन्। ‘हामीले यौनकर्मीसँग लामो समय संगत गर्‍यौँ,’ उनले भनिन्, ‘उनीहरूका दुःख, पीडा र समस्याबारे बुझेर उनीहरूको अधिकारका लागि काम गरिरहेका छौँ।’ 

नेपालमा यसको बहस सुरु हुनुभन्दा पहिला नै अमात्य भारत, नेदरल्यान्ड्स, थाइल्यान्डलगायत देशका रेडलाइट एरियामा पुगेकी थिइन्। ‘त्यहाँ मैले नेपाली दिदीबहिनीसँग पनि भेटेँ,’ उनले भनिन्, ‘उनीहरूमध्ये धेरै जना प्रलोभनमा परेर पुगेका थिए। उनीहरूलाई देखेपछि हाम्रो देशमा यौन पेशासम्बन्धी कानुनी मान्यता प्रभावकारी नहुने देखेँ।’ यौन पेशाले वैधानिकता पाएमा यौनकर्मी थप शोषणमा पर्ने उनको तर्क छ। ‘यसले वैधानिकता पाउनेबित्तिकै सञ्चालकहरू बढ्छन्,’ उनले भनिन्, ‘भोलि धन र शक्ति भएकै मान्छे यस्तो व्यवसायका मालिक हुन्छन्। यस्तो अवस्थामा उनीहरूको शरीरसँगै पाउनुपर्ने पारिश्रमिकमा समेत शोषण हुन्छ।’

यौनकर्मीलाई राज्यले वैकल्पिक काम दिनुपर्ने उनले बताइन्। ‘पछिल्लो समय काठमाडाँैमा मात्र ३० हजारभन्दा बढी यौनकर्मी छन्,’ उनले भनिन्, ‘ती यौनकर्मीकहाँ जाने ग्राहक उनीहरूभन्दा बढी छन्। यदि राज्यले यौनकर्मीलाई अपराधी मान्ने हो भने उनीहरूकहाँ जाने ग्राहकलाई पनि अपराधी मानेर लखेट्नुपर्छ।’

अशिक्षा र गरिबीका कारण धेरैले यो पेशा अँगाल्ने गरेको अमात्यले बताइन्। ‘यस्तो अवस्थामा कानुनी मान्यताभन्दा उनीहरूलाई शिक्षा, चेतना र रोजगारीको अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘सरकारले अधिकारकर्मीको होइन, यौनकर्मी दिदीबहिनीको आवाजलाई सुन्नुपर्छ। अन्यथा, उनीहरूका बारेमा बोल्ने हामी कोही होइनौँ। किनभने यो शरीर होइन, भातसँगको लडाइँ हो।’


‘सेक्स वर्करलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार छ’ 

शान्ति तिवारी, महिला अधिकारवादी 

यौन श्रमलाई वैधानिकभन्दा पनि निरअपराधीकरण गर्नुपर्छ। सेक्स वर्करहरू अपराधी होइनन्। उमेर पुगेपछि मानिसले छनोट गर्ने पेशा उसको स्वतन्त्रताको कुरा हो। कसैले यो गर, त्यो नगर भन्न मिल्दैन। शरीरमाथि मानिसको आफ्नै अधिकार हुन्छ। 

सेक्स वर्क र ट्राफिकिङ अलग कुरा हुन्। सेक्स वर्कमा आउनेजति सबै ट्राफिकिङमा परेर आएको भन्ने बुझिन्छ। तर, उनीहरू सबै ट्राफिकिङमा परेर आएका होइनन्। स्वतः आउने महिलाका पनि आ–आफ्नै कथाव्यथा छन्। यौन श्रम गरेकै कारण उनीहरूलाई अपराधीलाई जस्तो व्यवहार गर्न पाइँदैन। उनीहरूको पनि यो समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। अपराधीको जस्तो व्यवहार गरिने हुनाले उनीहरू आफूमाथि हिंसा हुँदा पनि सहेर बस्छन्। अन्याय भयो भने उनीहरूले उजुरी गर्ने ठाउँ खोइ ? आफ्नो समस्या लिएर गएका कतिपय यौनकर्मी दिदीबहिनी हिंसाको शिकार भएका छन्। एकचोटि आफूसँग नराम्रो व्यवहार भएपछि उनीहरू अर्को चोटि उजुरी गर्न जाँदैनन्। जे पर्छ, सहेर बस्छन्। यौन श्रमिक महिलाले आफू शोषणमा परेर उजुरी दिएको घटना नेपालको इतिहासमा कतै छैन। किनभने, राज्यले उनीहरूलाई नागरिक नै मानेको छैन। अरू सामान्य महिलाका लागि मित्रवत् राज्य यौन श्रमिक महिलाका सन्दर्भमा क्रूर छ। जुनसुकै अपराधीका हकमा पनि मानवअधिकारको कुरा आउँछ। तर, अपराध नै नगरेकी महिलामाथि लाठी बर्सिनु कतिसम्म न्यायसंगत काम हो ? आफूले समातेका सबै मानिसको प्रहरीले छानबिन गर्छ। तर, एउटी यौनकर्मी महिलालाई कहिल्यै पनि तिमी के कारणले यो पेशामा लाग्यौ भनेर कसैले सोध्दैनन्।

सन् २०१६ मा भएको एउटा अध्ययनले नेपालमा ५६ हजार यौनकर्मी महिला छन् भनेको छ। त्यसमा पनि सबैलाई समेटिएको छैन। अहिले दिनमा २०–३० जनाको संख्यामा यौन श्रमिक महिलाको वृद्धि भइरहेको छ। ती सबैको पेशा सरकारले परिवर्तन गर्न सक्छ ? यौनकर्मीलाई अंकुश लगाउने हक कसैलाई छैन। प्रहरीले जति समातेर थुने पनि उनीहरू फेरि त्यही काममा फर्किन्छन्। उनीहरूलाई सार्वजनिक गरेर प्रहरीले बाहिर ल्याउँदा उनीहरू झनै महसुर भएर निस्कन्छन्। यसै बेइज्जत, उसै बेइज्जत भन्दै उनीहरू यसलाई निरन्तरता दिइरहन्छन्। 


‘यौन पेशालाई कानुनी मान्यता दिनुपर्छ’

सुजन पन्त, अधिवक्ता

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओे) ले यौन पेशालाई मर्यादित पेशा भनेर परिभाषित गरको छ। नेपाल पनि आईएलओको सदस्य हो। यस हिसाबले पनि यौन पेशा वैधानिक पेशा हो भनेर भन्न मिल्छ। तर, नेपालमा यौनकर्मीको मुद्दा न राज्यको चासोको विषय बनेको छ, न यो विषयमा खुलेरै छलफल हुन्छ। 

यौन व्यवसायका विषयमा नेपालको कानुन मौन छ। कानुनमा यौन व्यवसाय वैध वा अवैध भन्ने कुनै पनि खालको स्पष्ट धारणा छैन। हालै लागू भएको मुलुकी फौजदारी संहिता ऐनको दफा २१३ ले जबर्जस्ती यौन कार्यमा लगाउनु गैरकानुनी भनेको छ। तर, यसको मतलब स्वतःस्फूर्त गरिने यौन व्यवहार र व्यवसाय अवैधानिक हो भनी बुझ्न मिल्दैन। उमेर पुगेका दुई व्यक्तिबीचको सहमतिमा हुने कुनै पनि कार्य राज्यले नियन्त्रण गर्न मिल्दैन। 

एकथरी यौन पेशालाई कानुनी मान्यता दिनुपर्छ भन्छन् भने अर्काेथरी दिनु हुँदैन भन्छन्। मान्यता पाउँदा यौनकर्मीको पहिचानको सुनिश्चितता हुन्छ भन्ने धारणा छ। यसमा ‘आफ्नो शरीर, आफ्नो अधिकार’ को कुरा पनि जोडिएर आउँछ। अर्कातिर महिलालाई मेनु बनाउँदा महिला हिंसाका घटना बढ्छन् भन्ने पनि छन्। तर, जबसम्म यौन कुण्ठाको विषय रहन्छ, तबसम्म समाजमा यौनसम्बन्धी आपराधिक घटना भइरहन्छन्। 

यौन पेशालाई कानुनी मान्यता दिँदा महिला अधिकारको संरक्षण हुन्छ। यौनकर्मीमाथि हुने विभेद रोकिन्छ। यसले यौनजन्य अपराध रोक्नसमेत सघाउँछ। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि