खेलकुदमा कोरोनाको कहर

writer

सम्पूर्ण

बिहिबार, २२ फागुन २०७६


पछिल्लो दुई महिनादेखि विश्व समुदायलाई त्रस्त बनाइरेहकोे कोरोना भाइरसको असर खेलकुदमा पनि देखिन थालेको छ। कोरोना भाइरस संक्रमण भएका देशले आफ्नो भूमिमा हुने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेका छन्। कोरोनाको संक्रमण नभएका देश पनि केही प्रतियोगिता स्थगित गर्ने तयारी गरेका छन्। 

कोरोना भाइरसको उद्गमस्थल चीनको घरेलु फुटबल लिग चाइनिज सुपर लिग मात्र होइन, जापान र कोरियाको घरेलु लिग पनि स्थगित भएका छन्। इटालीमा सिरी एका केही खेल स्थगित भएका छन्। स्विस सुपर लिगका सबै खेल रोकिएका छन्। युरोपा लिगमा इन्टर मिलान र लुडोगोरेट्स बीचको खेल दर्शकबिनाको स्टेडियममा खेलाइएको छ। 

विश्व खेलकुदकै शक्तिशाली निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले फुटबल प्रतियोगिता के गर्ने भनेर संघहरूसँग छलफल अघि बढाएको छ। यो महिना र आउँदो महिना विश्वकप छनोटसहित एसिया कप छनोट र युरो कप छनोटका खेल हुने तालिका छ।

एसियाली फुटबल महासंघले एसिया कप र विश्व कप छनोटका खेल के गर्ने भन्ने बारेमा फिफासँग छलफल गरेर निर्णय गर्ने बताएको छ। 

फिफाले खेलाडी र दर्शकको स्वास्थ्यभन्दा फुटबल ठूलो नभएको बताउँदै आएको छ। ‘कुनै पनि खेलभन्दा मानिसको स्वास्थ्य महत्त्वपूर्ण हो,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘खेलाडीले डरका कारण संघहरूमा सम्पर्क गरेका छन् र उनीहरू जोखिमयुक्त वातावरणमा हुने खेलका कारण चिन्तित छन्।’ फिफा अध्यक्षले प्रतियोगिता स्थगित हुने संकेत गरेका छन्।

कोरोनाका कारण जापानमा यो वर्ष हुने ओलम्पिकमा पनि प्रश्न उठेको छ। कोरोनाका बिरामी भेटिएको जापानले टोकियो ओलम्पिकका लागि पूर्वतयारीअनुसार नै काम भइरहेको जनाएको छ। ओलम्पिकको उदघाटन जुलाई २४ मा र समापन अगस्ट ९ मा गर्ने तालिका छ। ओलम्पिक सुरु हुने मिति आउन अझै तीन महिना बाँकी रहेकाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अहिले ‘पर्ख र हेर’ कै रणनीतिमा छ। उसले ओलम्पिकबारे जापान र चीनले नै आवश्यक पहल र निर्णय गर्ने बताएको छ। 

इंग्ल्यान्डका खेलाडी मिलाउँदैनन् हात

इंग्ल्यान्डको क्रिकेट टिम यतिबेला श्रीलंका भ्रमणमा छ। तर, इंग्ल्यान्डको कुनै पनि खेलाडीले श्रीलंकामा हात मिलाउनेछैनन्। कोरोना संक्रमणको डरका कारण हात नमिलाउने निर्णय गरिएको कप्तान जोय रुटले बताए। श्रीलंकामा इंग्ल्यान्डले आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत दुई टेस्ट खेल्दै छ।

इरानमा खेलाडीको मृत्यु

कोरोना भाइरसका कारण इरानमा एक जना महिला खेलाडीको मृत्यु भएको छ। इरानको राष्ट्रिय फुटसल टिमकी सदस्य २३ वर्षे इल्हम शेखीको उपचारका क्रममा मृत्यु भएको हो। ज्वरो आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। क्वोम शहरको अस्पतालमा भर्ना भएको दशौँ दिनमा उनको मृत्यु भएको हो।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि