मेलुङमा    ‘मोडर्न’    स्कुल

writer

शिशिर वैद्य

मङ्गलबार, २० फागुन २०७६


एउटा ठूलो चौर, त्यसको उत्तरपट्टि तीनतले ढलान गरी बनाइएको भव्य विद्यालय भवन। भवनको पश्चिममा ल्याब स्थापनाका लागि तयार हुँदै गरेको अर्को भवन। मौसम खुल्दा गौरीशंकरलगायत हिमाल छर्लङ्ङ देखिने कक्षाकोठा।

विद्यालयका हरेक कक्षाकोठामा सीसीटीभी क्यामरा जडान गरिएको छ। हरेक कक्षाकोठाको ढोकासँगै माइकसहित स्पिकर छ। सीसीटीभी क्यामराको कन्ट्रोल रुम प्रधानाध्यापकको कार्यालयसँगै रहेको छ। शिक्षक कक्षामा गए/गएनन्, पढाइ भइरहेको छ/छैन, सबै कुराको निगरानी यहीँबाट हुन्छ। यति मात्रै होइन, विद्यार्थीलाई केही समस्या प¥यो भने कक्षाकोठामा रहेको माइकबाट सीधै प्रधानाध्यापकसँग कुरा गर्न सकिन्छ। अथवा, शिक्षक र विद्यार्थीलाई केही भन्नुपर्दा प्रधानाध्यापकले कोठा–कोठा धाइरहनुपर्दैन, आफ्नो कक्षबाट बोल्न सक्छन्। हरेक कक्षामा अतिरिक्त र ऐच्छिक पुस्तक राख्न सानो ¥याक राखिएको छ। विद्यार्थीलाई चाहिने शब्दकोश एवं पाठ्यपुस्तकसँग सम्बन्धित अन्य केही पुस्तकले विद्यार्थीलाई पाठ बुझ्न मद्दत गर्छ। हाजिरी गर्न औँठा चिन्ने मेसिन जडान गरिएको छ। चौरमा घाम ढल्दै जाँदा आफैँ बल्ने र उज्यालो हुन थालेपछि आफैँ निभ्ने स्वचालित बत्ती जडान गरिएका छन्। विद्यार्थीका लागि सुविधासम्पन्न टेबल र बेन्च अनि ह्वाइट बोर्ड, व्यवस्थित शौचालय एवं अपांगमैत्री संरचनाले शहरका सरकारी विद्यालयभन्दा निकै उच्चकोटिको विद्यालयको झल्को दिन्छ। 

यो दृश्य हो दोलखा, मेलुङ गाउँपालिका, मेलुङमा रहेको त्रिभुवन माध्यमिक विद्यालयको। नमुना विद्यालयका रूपमा स्थापित हुने प्रयासमा रहेको यस विद्यालयमा प्रविधि र प्राविधिक शिक्षक थपिँदै छन्। २०७३ असार १५ गते सरकारले त्रिभुवन माविलाई नमुना विद्यालयका रूपमा छनोट गरेको थियो।

२००७ साल चैत १७ गते स्थापित यो विद्यालय क्षमावती मावि (२००४) पछिको यस भेगको सबैभन्दा पुरानो विद्यालय हो। स्वर्गीय ललितबहादुर कार्कीको व्यक्तिगत प्रयासमा स्थापित एवं सञ्चालित विद्यालय २०१० सालमा सरकारलाई हस्तान्तरण भएको थियो। विद्यालयमा २०५८ सालबाट उच्च मावि र २०६५ बाट स्नातक तह शिक्षा संकाय सुरु भएको थियो। नेपाली र सामाजिकबाहेक अन्य विषय अंग्रेजीमै पढाउने गरिएकोले विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको छ। प्रधानाध्यापक सन्तोष श्रेष्ठ भन्छन्, ‘फरक ढंगले पढाउने प्रयास गरिरहेका छौँ। सिर्जनात्मक सिकाइ र उद्यमशीलता विकासलाई विद्यालयले विशेष ध्यान दिने गरेको छ। यसले सरकारले सुरु गरेको ‘एक स्कुल एक उद्यम’ नीतिलाई सघाउ पुग्नेछ।’

मेलुङ बजारमा निमावि तहको भवन रहेको विद्यालयको माध्यमिक तह भर्खरै तयार भएको नयाँ भवनमा सञ्चालन हुन थालेको छ। यसअघि माध्यमिक तह पनि बजारछेउकै भवनमा थियो। ३२ रोपनी जमिन समाजसेवी रामहरि श्रेष्ठले आफ्ना मातापिताको सम्झनामा स्कुललाई दानमा दिएपछि विद्यालयको नयाँ र आफ्नै भवन बन्न सफल भएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन्। भन्छन्, ‘२००७ सालमै स्थापित भए पनि विद्यालयसँग आफ्नो स्वामित्वको जग्गा छैन। नेपाली सेनाको नाममा रहेको जग्गामा सञ्चालन हुँदै आएको छ। सेनाले हालसम्म कुनै अवरोध नगरे पनि स्थानीय, विद्यालय व्यवस्थापन समिति र शिक्षक सधँै ‘कतै सेनाले उठाउन पो आउने हो कि’ भन्ने आशंकामा रहन्छन्। विद्यालयले आफ्नो नाममा जग्गा नहुँदा चाहेर पनि नयाँ भवन बनाउन आर्थिक सहयोग लिन सकिरहेको थिएन। अहिले विद्यालयसँग लालपुर्जा सहितको आफ्नै जग्गा र भवन छ।’ एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवन बनेपछि विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको छ। 

एसईई दिने विद्यार्थीका लागि आवासको समेत सुविधा भएकाले टाढा–टाढाका गाउँबाट पढ्न आउने विद्यार्थीलाई सजिलो भएको छ। पुरानो भवनमा निमावि र नयाँमा मावि र कलेज सञ्चालन भइरहेकाले विद्यार्थीको चाप रहे पनि कक्षामा भीड छैन। थप नयाँ प्रविधिले विद्यार्थीलाई आकर्षित गर्न विद्यालयका हरेक कक्षामा प्रोजेक्टर राख्ने र विभिन्न ज्ञानवद्र्धक विषयका भिडियो देखाएर पढाउने प्रक्रिया अघि बढिसकेको छ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि