कानुनको ‘फेसन स्टडी’

writer

सम्पूर्ण

मङ्गलबार, ०३ पुष २०७५


कञ्चनपुर, महेन्द्रनगरका जयनारायण शाह नेपाल ल क्याम्पसमा एलएलबी पहिलो वर्षमा पढ्छन्। यसअघि त्रिभुवन विश्वविद्यालबाट विज्ञान विषयमा स्नातकोत्तर गरिसकेकका शाह निजामती सेवामा प्रवेश गर्न कानुन विषय पढ्न आएको बताउँछन्। ‘सरकारी जागिर खान कानुन पढ्न आएको हुँ,’ उनी भन्छन्। 

त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आङ्गिक क्याम्पसहरूमा यतिबेला मानविकी संकायमा विद्यार्थी संख्या कम छ। इतिहास, मानवशास्त्रलगायत विषयमा अध्ययन गर्ने विद्यार्थी झनै छैनन्। तर, कानुन संकायमा भने विद्यार्थीको निकै चाप छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने नेपाल ल क्याम्पसमा यस वर्ष १० हजार ८ सय ६० विद्यार्थी भर्ना भएकोे क्याम्पस प्रमुख डीएन पराजुली बताउँछन्। 

करिब छ रोपनी जग्गामा अवस्थित क्याम्पसमा तीन वटा पुराना भवन छन्। जसमध्ये तीन÷चार वटा कोठामा एलएलबीको पढाइ भइरहेको छ। सबै कोठामा विद्यार्थी खचाखच भरिएका छन्। सिट नपाएर कक्षा बाहिर बस्नुपर्ने जनकपुरका रमेश राउत बताउँछन्। ‘बिहानै आइपुग्दा पनि बस्ने ठाउँ पाइँदैन,’ उनी भन्छन्। क्याम्पसमा अहिले एलएलबी, एलएलएम र बीएएलएलबी गरी तीनटा प्रोग्राम सञ्चालित छन्।

तीनै प्रोग्राममा करिब २० हजार विद्यार्थी रहेको क्याम्पस प्रमुख पराजुली बताउँछन्। ‘अहिले क्याम्पसमा करिब दुई हजार विद्यार्थी नियमित आउँछन्,’ उनी भन्छन्, ‘दुई हजार विद्यार्थी आउँदा त क्याम्पसले धान्न सक्ने अवस्था छैन। सबै विद्यार्थी पढ्न आए भने क्याम्पसमा उभिने ठाउँ पनि हुँदैन।’

विश्वविद्यालयले भर्नामा विधि र नीतिनिर्माण गरिदिए यस्तो अवस्था नआउने पराजुलीको तर्क छ। नेपाल ल क्याम्पसबाहेक अन्य छ आङ्गिक क्याम्पसमा अहिले कानुन पढाइ भइरहेको छ। प्रत्येक क्याम्पसले एलएलबी प्रथम वर्षमा करिब आठ सय विद्यार्थी भर्ना लिएको छ। विद्यार्थीको प्रवेश शुल्कबाट क्याम्पसहरूले मनग्गे आम्दानी गरेका छन्। नेपाल ल क्याम्पसले मात्रै प्रथम वर्षको भर्नाबाट करिब साढे १० करोड रुपैयाँ आम्दानी गरेको छ। 

इलामकी दीपा लुङ्गेली नेपाल ल क्याम्पसमा पढ्छिन्। हाल वायुसेवा निगममा कार्यरत उनी कानुन विषय पढ्न सानैदेखिको रहर भएको बताउँछिन्। ‘सानैदेखि ल पढ्ने रहर थियो,’ उनी भन्छिन्, ‘बल्ल पढ्न पाएकी छु।’ बझाङका नवराज थापा पनि कानुन विषय पढ्दै छन्। उपेन्द्र अर्याल

माजशास्त्र विषयमा स्नातक गरेका उनी न्याय क्षेत्रमा धेरै सम्भावना देखेर कानुन पढ्न थालेको बताउँछन्। ‘समाजशास्त्रबाट स्नातक गरे पनि जागिर पाइएन,’ उनी भन्छन्, ‘न्याय क्षेत्रमा धेरै सम्भावना देखेँ। त्यसैले कानुन पढ्न थालेको हुँ।’

‘मिसन स्टडी’ भन्दा ‘फेसन स्टडी’ 
नेपाल ल क्याम्पस प्रमुख पराजुलीका अनुसार ल पढ्नु अहिले फेसनजस्तै भएको छ। भन्छन्, ‘एलएलबी मिसन स्टडीभन्दा फेसन स्टडी भएको छ।’ विभिन्न पेशामा आबद्ध मानिसले कानुन पढिरहेको उनी बताउँछन्। ‘पढ्नुपर्छ भन्दा पनि पढ्दिऊँ न त भन्ने धेरै छन्,’ उनी भन्छन्, ‘कोही भने एउटा डिग्री हुँदाहँुदै पनि कानुन विषय पढ्दा आफ्नो डिग्रीलाई थप सहयोग गर्छ भनेर आउँछन्।’ 

अरू साथीले पढेकाले आफू पनि कानुन पढ्न आएको बताउँछन्, झापाका राजु भट्टराई। ‘सबै साथीले पढेको देखेर मलाई पनि ल पढ्ने रहर लाग्यो,’ उनी भन्छन्। भट्टराईजस्तै एलएलबी प्रथम वर्षमा अध्ययनरत मञ्जु सापकोटा पनि सबैले पढेको देख्दा आफूलाई पनि रहर लागेर पढ्न थालेको बताउँछिन्। क्याम्पस प्रमुख पराजुली एलएलबी पढ्ने विद्यार्थीमा विविधता पाएको बताउँछन्। ‘विभिन्न पेशामा आबद्ध वा एउटा डिग्री सकेका मात्रै होइनन्, एउटा जागिरमा पेन्सन पकाइसकेकाहरू समेत कानुन विषय पढ्न आउँछन्,’ उनी भन्छन्। 

‘सजिलो विषय’ 
जुनसुकै विषयमा स्नातक सकेका विद्यार्थीले सहजै भर्ना पाउने भएकाले कानुन विषयमा विद्यार्थीको चाप बढेको बताउँछन्, अधिवतmा सरोज गिरी। ‘भर्ना मात्र होइन, यस विषयमा पास गर्नसमेत सहज छ,’ उनी भन्छन्, ‘यो विषयमा गणितका अप्ठ्यारा हिसाब गर्नु पर्दैन, न कुनै डाटालाई इन्टरप्रिटेसन नै गर्नुपर्छ। एउटा गेसपेपरको भरमा सहजै पास भइन्छ।’ पछिल्लो समय कानुनी क्षेत्रमा अवसरका सम्भावना बढेकाले विद्यार्थीहरूको आकर्षण यसतर्फ बढेको गिरीको बुझाइ छ। ‘संघीयता कार्यान्वयनसँगै हरेक गाउँपालिकामा एउटा कानुनी सल्लाहकार राख्ने प्रावधान छ,’ अधिवक्ता गिरी भन्छन्, ‘निजामती सेवामा पनि कानुन विषयबाट प्रवेश गर्दा कम प्रतिस्पर्धा गर्नुपर्ने भएकाले विद्यार्थी बढेका हुन्।’
 

स्वतन्त्र पेशा गर्ने सम्भावना 
कानुन विषय पढेर स्वतन्त्र पेशा गर्न सक्ने सम्भावना देखेर यस विषयमा विद्यार्थी आकर्षित भएको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन्। ‘अर्थशास्त्र पढ्दा जागिर पाउने सम्भावना देखेर एकताका अर्थशास्त्र पढ्ने विद्यार्थी धेरै थिए,’ उनी भन्छन्, ‘एकताका शिक्षाशास्त्र पढ्नेहरू उस्तै थिए। सरकारी तथा गैरसरकारी संस्थामा जागिरको सम्भावना देखेपछि समाजशास्त्रतिर सबैको ध्यान मोडियो। गरिखान सजिलो

हुने भएकाले पछिल्लो समय व्यवस्थापनका विद्यार्थी बढे। त्यसै गरी अहिले कानुन विषयमा विद्यार्थी बढ्नु नौलो कुरा होइन।’ 
नेपाल ल क्याम्पसमा दोस्रो वर्षको प्रयोगात्मक विषयको मुट कोर्ट बुझाउन बसेका गुल्मीका चरणप्रसाद भुसाल पेशाले लेखापाल हुन्। ‘एलएलबी पढेर माथिल्लो तहमा जाने सम्भावना भएकाले यो विषय पढेको हुँ,’ उनी भन्छन्। त्यस्तै, झापा जिल्ला अदालतका खरिदार रविन जोगी न्याय क्षेत्रको अधिकृत बन्ने सपनाले कानुन पढिरहेको सुनाउँछन्। व्यवस्थापन विषयमा स्नातकोत्तर सकेर स्थानीय तहमा खरिदार भएका पवन नेपाल पनि कानुन पढेर अधिकृत बन्ने धुनमा छन्। 
 
विद्यार्थी व्यवस्थापन र चुनौती 
कानुन संकायमा यति धेरै विद्यार्थी पढ्न आउँदा क्याम्पसलाई विद्यार्थी व्यवस्थापन ठूलो चुनौती बनेको छ। भर्ना भएका सबै विद्यार्थी क्याम्पस नआउने कुरा क्याम्पस प्रमुख पराजुलीले बताउँछन्। ‘कक्षा सञ्चालनको समयमा क्याम्पस नआए पनि वार्षिक र प्रयोगात्मक परीक्षाका लागि विद्यार्थी क्याम्पस आउँदा व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ,’ उनी भन्छन्।

साइन्स, इन्जिनियरिङ विषयजस्तै लमा पनि कोटा प्रणाली गरेर निश्चित अवधिसम्म मात्र भर्ना लिनुपर्ने अधिवतmा गिरी बताउँछन्। ‘यसरी धेरै विद्यार्थी भर्ना गर्नुभन्दा अन्य विषयमा जस्तै केही आवश्यक मापदण्ड राख्नुपर्छ,’ उनी भन्छन्। यसै सन्दर्भमा क्याम्पस प्रमुख पराजुली भन्छन्, ‘विश्वविद्यालयले नीतिनियम नबनाएसम्म आएजति विद्यार्थी भर्ना लिन बाध्य छौँ।’ 

शिक्षाविद् डा. विद्यानाथ कोइराला भने विद्यार्थी व्यवस्थापनमा खासै समस्या देख्दैनन्। ‘जुन क्याम्पसमा विद्यार्थी कम भएर बन्द हुने अवस्था छ, त्यहीँ लगेर विद्यार्थीलाई व्यवस्थापन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘प्राध्यापकको हकमा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सकिन्छ।’ समय र बजारसँगै कुद्ने विद्यार्थी संख्या सधैँ यही संकायमा नरहने उनी बताउँछन्। भन्छन्, ‘विद्यार्थीले भोलि जहाँ सम्भावना देख्छन्, उतैतिर बाटो लाग्छन्।’ 

बार काउन्सिलका अनुसार नेपालमा करिब १७ हजारले कानुन व्यवसायीको इजाजत–पत्र लिएका छन्। ‘इजाजत–पत्र लिएका सबै वकिल सक्रिय छैनन्,’ अधिवक्ता गिरी भन्छन्, ‘कोही इजाजत–पत्र लिएर बसेका छन् भने कोही इजाजत–पत्र लिएर विदेश गएका छन्।’ कानुन पढेर विदेश जानेलाई उत्तिकै सम्भावना देख्छन्, शिक्षाविद् डा. कोइराला। ‘विद्यार्थी व्यवस्थापन गरी गुणस्तरीय शिक्षा दिन सके कानुन विषय पढेका विद्यार्थीका लागि स्वदेश तथा विदेशमा उत्तिकै अवसर छन्,’ उनी भन्छन्। 
 

‘विद्यार्थी घट्नु-बढ्नु नौलो होइन’ 
डा. विद्यानाथ कोइराला, शिक्षाविद्

नेपालमा पढाइ हुने विभिन्न संकायका विभिन्न विषयमा विद्यार्थी संख्या बढ्ने र घट्ने क्रम चलिरहन्छ। यो नयाँ कुुरा होइन। विद्यार्थीले सम्भावना खोज्छ। जहाँ सम्भावना देख्छ, त्यहीँ जान्छ। कुनै बेला अर्थशास्त्र विषयमा विद्यार्थी धेरै थिए। त्यो बेला विद्यार्थीले अर्थशास्त्र पढ्दा जागिर सजिलै पाइन्छ भन्ने लाग्यो।

त्यसपछि शिक्षाशास्त्रमा विद्यार्थी धेरै भए। विद्यार्थीले शिक्षाशास्त्र पढ्दा शिक्षक बन्न पाइन्छ भन्ने सम्भावना देखे। केही समयपछि समाजशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्यो। समाजशास्त्र पढ्दा सरकारी तथा गैरसरकारी संस्थाले सजिलै जागिर दिन्छन् भन्ने दृष्टिकोण राखेका रहेछन्। पछिल्लो समय व्यवस्थापन संकायमा विद्यार्थी बढी भए। विद्यार्थीले व्यवस्थापन संकाय पढ्दा गरिखान सजिलो हुन्छ भन्ने बुझे। अहिले कानुन संकायमा विद्यार्थी बढी छन्। कानुन अध्ययनमा पनि विद्यार्थीले सम्भावना देखेका छन्। 

कानुन विषय अध्ययन गरेर विद्यार्थीले स्वतन्त्र पेशा गर्न सक्छन्। अहिले संघीय संरचनाअनुसार बनेका हरेक गाउँपालिका, नगरपालिकामा एक–एक जना कानुनी सल्लाहकार राख्न पाउने प्रावधान रहेछ। राम्रो किसिमको वकालत गर्नेलाई स्वदेश तथा विदेशमा राम्रो सम्भावना छ। तर, सबै विद्यार्थी सम्भावना देखेर आएका हुँदैनन्। विद्यार्थीले बजार आकलन गरेर पनि अध्ययन गर्छन्। कोही विषयको सजिलोपनले आएका हुन्छन्। कोही दैनिक हाजिर हुनु नपर्ने भएर पनि आएका हुन्छन्। कसैलाई विषयको रोचकताले तानिरहेको हुन्छ। 

विद्यार्थीलाई व्यवस्थापन गर्न दुई–तीन वटा विकल्प छन्। भौतिक साधनको समस्या छ भने विद्यार्थी कम भएको ठाउँमा विद्यार्थी लग्न सकिन्छ। जस्तो, कुनै क्याम्पसमा मानविकीमा विद्यार्थी भएन भने त्यहाँ लैजान सकिन्छ। त्यसैले ठाउँ समस्या होइन। शिक्षक पनि समस्या होइनन्। नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै भर्चुअल रियालिटीबाट शिक्षण गर्ने हो भने एउटा शिक्षकले एक लाख विद्यार्थीलाई पढाउन सक्छ। नेतृत्व कति प्रविधिमैत्री बन्न सक्छ भन्ने मात्र अहिलेको प्रश्न हो। 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि