घर जाँच्‍ने चिकित्सक

writer

सम्पूर्ण

आइतबार, १८ फागुन २०७६


 उपेन्द्र अर्याल 

मानिस बिरामी हुँदा अस्पताल जान्छन्। चेकअप गर्छन। उपचार गराउँछन्। बेलाबेला स्वास्थ्य परीक्षण गर्छन्। अब घरले पनि स्वास्थ्य जाँच र उपचारको सेवा पाउन थालेको छ। प्रविधिले यसलाई सम्भव बनाएको हो। ‘स्किल सेवा’ नामक चार जना इन्जिनियरको समूहले घरको चेकजाँच र उपचार गरिरहेको छ। 

स्किल सेवाले कुनै घरमा कहाँ के बिग्रेको छ ? भित्री भागमा भएको समस्या पत्ता लगाउँछ। यसका साथै मर्मत गर्ने काम पनि उनीहरूको समूहले गर्ने सदस्य रमेश तिमल्सिना बताउँछन्। ‘हामी आँखाले देख्न नसकिने समस्या पत्ता लगाउँछौँ,’ उनले भने, ‘समस्या पत्ता लगाएपछि मर्मत पनि गर्छौं। मान्छेका लागि अस्पतालजस्तै हो, घरका लागि हाम्रो सेवा।’

घरहरूमा एउटै किसिमको समस्या बारम्बार आइरहन्छ। आज फ्युज बिग्रिएर फेरिन्छ। फेरि अर्को हप्ता बिग्रिन्छ। पानीको पाइपको समस्या उस्तै हुन्छ। प्लम्बर र इलेक्ट्रिसियनबाट समस्या समाधान भएको हुँदैन।

यसलाई दिगो रूपमा कसरी समाधान गर्ने भन्ने रमेश र उनको समूहले सोच्यो। ‘आज घरमा रङ लगाउनुभयो, एक लाख खर्चेर,’ उनी भन्छन्, ‘दुई हप्तापछि रङ उप्किन्छ। कारण, घरको भित्तामा कुनै समस्या छ। यस्ता समस्या सधैँका लागि हटाउन ‘होम इन्स्पेक्सन’ सुरु गरेका हौँ।’

अहिले उनीहरूसँग थर्मल क्यामरा, मोइस्चर मिटरलगायत उपकरण छन्। उनीहरू घरको एक्सरे गर्छन्। अर्थात्, घरको भित्ताको प्लास्टरभित्र तार चुँडिएको, पानी रसाएको जाँच गरिन्छ। ‘थर्मल क्यामराले भित्री समस्या देखाइदिन्छ,’ रमेश भन्छन्, ‘तार चुँडिएको वा क्र्‍याक भएको पनि सजिलै देख्न सकिन्छ। जसका कारण अन्दाजमा काम गर्नुपर्दैन।’

मानिसको शरीरको ‘होल बडी चेकअप’ गरेजस्तै घरको ‘होम इन्स्पेक्सन’ भएको उनी बताउँछन्। ‘घरको होल बडी जाँचले समस्या सुरुमै पत्ता लगाइन्छ,’ उनी भनछन्, ‘ठूलो क्षति हुन नदिई मर्मत गरिन्छ।’

काम गर्दा उनीहरूसँग भएका धेरै वटा ‘डिभाइस’ बाट समस्याको पहिला भेरीफाई गरिन्छ। कन्र्फम भएपछि समस्याबारे ग्राहकलाई रिपोर्ट गरिन्छ। ‘हामी परीक्षण गरेपछि रिपोर्टमा तपाईंको समस्या यस्तो छ भन्छौँ,’ रमेश भन्छन्, ‘समाधानका तरिका पनि बताउँछौँ। खर्च कति लाग्छ पनि भन्छौँ । यति बताएपछि मात्र घरधनीको अनुमतिमा समस्याको उपचारमा जान्छौँ।’ यो सेवामा घरको ‘स्ट्रक्चर’ को समस्या पत्ता लगाएपछि प्लम्बर, इलेक्ट्रिसियनलाई काममा लगाइन्छ। 

नयाँ घर किन्ने मान्छेलाई पनि यो सेवाले फाइदा पुग्ने रमेशको समूहको विश्वास  छ। ‘कसैले घर किन्छ,’ उनी भन्छन्, ‘तर पूरा घरको अवस्था त थाहा हुँदैन। यस्तो अवस्थामा होम इन्स्पेक्सनले पूरा घरको एक्स–रे गरेर समस्या पत्ता लगाइदिने भएकाले घर किन्ने मान्छे ढुक्क हुन सक्छ।’ नेपालमा यस्तो किसिमको सेवा नयाँ भएको रमेश बताउँछन्। 

इन्जिनियरिङको पढाइ सकेपछि उनीहरू हाइड्रोपावरमा इन्टर्नसिप गर्न गएका थिए। त्यहाँ उनीहरूको आइडिया लागू गर्न कसैले मानेनन्। त्यसपछि आफ्नै आइडियामा केही काम गर्ने भनेर नयाँ कुराको खोजी गरेको रमेश बताउँछन्। ‘ठूला योजनामा काम गर्दा हाम्रो आइडिया लागू गर्न नसकिने रहेछ,’ उनले भने, ‘त्यसैले आफैँ केही गर्न खोज्यौँ।’ त्यसपछि उनीहरूले होम इन्स्पेक्सनको काम सुरु गरे। काम सुरु गरेको अहिले छ महिना भएको छ। ‘हामीले काम थालेको धेरै भएको छैन,’ रमेश भन्छन्, ‘तर, सोचेभन्दा राम्रो काम, दाम र नाम भइरहेको छ। महिनामा १० लाखजति कमाइ भइरहेको छ। खर्च धेरै छ। आम्दानी पनि राम्रै छ।’

स्किल सेवाले बैँक, एनजीओ, प्राइभेट स्कूलहरूको काम गरिसकेको छ। ‘हाम्रो काम नयाँ छ,’ रमेश भन्छन्, ‘त्यसैले हामी मार्केट बनाउँदै छौँ।’

तपाईको कमेन्ट