‘ट्याक्सीको कमाइले दुई छाक जुटाउनै धौधौ छ’

writer

उर्मिला स्याङ्तान

बिहिबार, १५ फागुन २०७६


झुमबहादुर मगर, चालक,बा.१ज ८३०५

मेरो घर रामेछाप, लखनपुर हो। ट्याक्सी चलाउन थालेको दुई दशक भयो। २०४८ सालमा काठमाडौँ आएँ। गाउँबाट एक दिन हिँडेर दोलालघाटसम्म आएँ। त्यहाँबाट बस चढेर राजधानी आइपुगेँ। गाउँमा स्कुल टाढा थियो, आर्थिक अवस्था पनि कमजोर थियो। त्यसैले पढ्न पाइएन। पढाइलेखाइ नभएपछि भारी बोक्ने काम गर्न थालेँ। छ वर्ष भारी बोकँे। त्यतिखेर एक भारीको पाँचदेखि दश रुपैयाँसम्म पाइन्थ्यो। दिनमा सय रुपैयाँजति कमाइन्थ्यो। त्योबेला यति पैसाले गुजारा सजिलै चलेको थियो। उमेर ढल्किँदै गएपछि भारी बोक्न गाह्रो हुन थाल्यो। भारी बोक्नभन्दा ट्याक्सी चलाउन सजिलो हुन्छ भन्ने लाग्यो। ड्राइभिङ सिकेँ, लाइसेन्स लिएँ र ट्क्यासी चलाउन थालेँ। 

सुरु–सुरुमा ट्याक्सी चलाउँदा डर लाग्थ्यो। जाम हुँदा र उकालो–ओरोलोमा ‘ठोक्किने पो हो कि’जस्तो लाग्थ्यो। पछि बानी पर्दै गयो। त्योबेला मिटरको सात रुपैयाँ थियो। दिनमा एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाइन्थ्यो। साहूलाई पाँच सय रुपैयाँ बुझाउँथेँ। 

पहिला त प्यासेन्जर पनि सोझासाझा हुन्थे। फटाहा हुँदैनथे। अहिले त्यस्तो मान्छे पाउनै मुश्किल छ। कोही–कोही प्यासेन्जर पैसा नदिई बहाना बनाई भाग्छन्। एक दिन पशुपतिबाट स्वयम्भू जान भनेर तीन जना केटा चढे। भाडा तीन सय रुपैयाँ उठ्यो। उता पुगेपछि ‘एकैछिनमा आउँछौँ, काम छ’ भन्देै गए। एक घण्टा कुरेर बसेँ। उनीहरू फर्किएनन्। 

पहिला–पहिला राति पनि चलाउँथें। उमेर ढल्किँदै गएपछि निद्राले पनि नछोड्ने रहेछ। अहिले त दिनमा मात्र चलाउँछु। प्यासेन्जर पाएसम्म जहाँ पनि जाने गर्छु। भ्यालीबाहिर पनि गएको छु। हिजोआज सिजन छैन। दिनमा मुश्किलले दुई हजार रुपैयाँजति हुन्छ। साहूलाई १२ सय रुपैयाँ दिनुपर्छ। कहिलेकाहीँ त साहूलाई दिने पैसा पनि कमाउन हम्मे–हम्मे पर्छ। टुटल, पठाओ जस्ताले हामीलाई अप्ठ्यारोमा पारेका छन्। सिंगल प्यासेन्जर उनैले लाने गरेका छन्। हाम्रो गाँस उनैले खोसेपछि मर्कामा परेका छौँ। जसोतसो यही कमाइले परिवार पालिरहेको छु। 
सडकको पनि समस्या छ। निर्माण सुरु गरेको एक वर्षसम्म पनि सडक निर्माण हुँदैन। धुलोधुवाँको त कुरै के गर्नु ? धुवाँधुलोसँग जुध्दा पनि दुई छाक जुटाउन धौधौ छ।  

तपाईको कमेन्ट

मुख्य समाचार