‘आजको बिकाउ साहित्यले हामीलाई कहीँ पुर्‍याउँदैन’

writer

सम्पूर्ण

बिहिबार, १५ फागुन २०७६


अविनाश श्रेष्ठ कथा, कविता, नाटक र सम्पादनमा यशस्वी नाम हो। पाँच कवितासंग्रह, दुई नाटक र ‘आधुनिक भारतीय नेपाली कथा’का स्रष्टा श्रेष्ठको ‘तान्या, इन्द्रकमल र अन्धकार’ कथासंग्रह चर्चित छ। साहित्यिक पत्रिकाको सम्पादनमा अब्बल मानिने उनले ‘समकालीन साहित्य’, ‘कविता’, ‘गरिमा’ जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरेका छन्। लेखनका अनेकौं आयामसँग जोएिका श्रेष्ठसँग ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले विविध विषयमा संवाद गरेका छन् । 


पाँच वर्षअघि ‘पाण्डुलिपि’ मासिकलाई दिनुभएको अन्तर्वार्तामा ‘कथा मेरो लागि आँखीझ्याल हो’ भन्नुभएको थियो। खासमा कथा तपाईंका लागि के हो ? 
त्यो बेला कथाको कुनै सन्दर्भ वा प्रश्नको क्रममा मैले त्यसो भनेको थिएँ। तर, कथालाई तपाईं आँखीझ्याल मात्र नभनेर खुल्ला आकाश नै भन्न सक्नुहुन्छ। तपाईंलाई कसैले हेर्न खोज्यो भने तपाईंकै कथामार्फत हेर्न सक्छ। तर, कुनै विधाको परिभाषा दिने आँट म राख्दिनँ। साहित्य र विधाको परिभाषा हुन्छ भन्ने मान्यता पनि राख्दिनँ। साहित्यिक विधाको सटिक परिभाषा आजसम्म कसैले दिन सकेको छैन। 

जसरी आज कथा विकसित भइरहेको छ, त्यसलाई त झन् परिभाषामा बाँध्नै मिल्दैन। आधुनिक कथा लेखन सुरु भएको दुई सय वर्ष पुगिसक्दा कथा लेख्ने ‘टेक्निक’ र कथाको आयाममा धेरै परिवर्तन आइसकेको छ। 

हामीलाई ‘कथा’ किन चाहिन्छ ?

जीवन बुझ्नलाई। यथार्थमा जे देखिन्छ, त्यसलाई कलात्मक किसिमले जीवनलाई बुझ्न कथा चाहिन्छ। कथामा फेन्टासी हुन्छ, व्यंग्य पनि हुन्छ। फेरि मानिस जिज्ञासु हुने भएकाले उसले अर्को व्यक्तिको अनुभवबाट पनि संसारलाई हेर्न सक्छ। त्यसैले हामीलाई कथा चाहिन्छ। 

तपाईंको ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ कविता धेरै पाठकले मन पराए। यो कविताको रचना–गर्भ के थियो ? 

‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ मेरो आफ्नै असफल प्रेमको प्रतिविम्ब बोकेको कविता हो। मैले यो सन् १९७८÷७९ तिर लेखेको हुँ। तर, सन् १९८१ देखि मात्र सुनाउन थालेँ। आसाममा चलेको ‘कोलाज कविता आन्दोलन’मा धेरै पटक सुनाएको छु। गुहावटीमा युवा कवि, पेन्टर, अभिनेता र संगीतकारका माझ हामी कविता सुनाउँथ्यौँ। त्यही बेला धेरैले सुनेको कविता यो हो। पछि नेपालका विभिन्न साहित्यिक पत्रिका र अनलाइनमा पुनःमुद्रण भएपछि नेपाली पाठकको माझ पनि यो कविता मन पराइएको पाएँ। 

रचना–गर्भ भन्नुपर्दा आफ्नो प्रेमपात्रलाई असफल प्रेमी भए पनि अब चाहिँ एक सफल आमा हुनुपर्छ भन्ने भावमा यो कविता लेखेको हुँ।

४० कटेपछि जस्तोसुकै कविको पनि कविता लेखन बोधो हुन्छ भन्नुभएको थियो। के उमेरले काव्यशक्ति निर्धारण गर्छ ?

यो कुरा मैले कवि ईश्वर वल्लभ दाइलाई भनेको थिएँ। म ‘कविता’ पत्रिकामा हुँदा उहाँले एउटा नयाँ कविता छाप्न भनेर दिनुभयो। उहाँको नयाँ कविता पढेपछि मैले भनेको थिएँ, ‘दाइको युवाकालमा आएका कविता कति शक्तिशाली छन्, अहिले त्यो शक्ति पाउँदिनँ।’

मलाई पनि के लाग्छ भने कवि ३५–४० वर्षसम्म भयंकर क्रान्तिकारी हुन्छ। त्यो समयको सृजनाको राप तेजिलो हुन्छ, जुन कुरामा मलाई आत्मविश्वास छ। तर, आज आएर मलाई के लागेको छ भने निरन्तर (ग्याप नराखीकन) कविता लेख्ने कविले भने राम्रो नै लेख्छ। कविको जोश र उत्साहमा भने पक्कै कमी आउँछ।

‘कोलाज कविता आन्दोलन’सँग जोडिनुभयो। धेरैलाई यो आन्दोलन के हो र कस्तो स्वरूपमा थियो, थाहा छैन। केही बताइदिनुस् न। 

‘कवितामा कोलाज के हो ?’  र ‘आन्दोलन कोलाज के हो’ भन्ने बुझ्न आवश्यक छ। पेन्टिङमा बाँकी रहेका सरसामान, रङ, कपडा आदिको प्रयोग गरेर चित्र बनाइन्छ भने त्यसलाई कोलाज भनिन्छ। हामीले पनि पेन्टिङमा जस्तै समाजमा रहेका चित्रकार, कलाकार, अभिनेता, संगीतकार, कवि, कथाकार एकैठाउँमा भेला भएर कला प्रस्तुत गथ्र्यौं। त्यही आन्दोलनलाई नै कोलाज कविता आन्दोलन भनिएको हो। त्यो हामीले उपेक्षित वर्ग र समुदायको स्वर आओस् भनेर चलायौँ। 

आसामको कुनाकुनामा यो आन्दोलनको लहर चल्यो। यो आन्दोलनमा शान्ति थापा, कुमार लामा, संगीतकार भीम सोताङ, विपुल वरुवा, तबलावादक अभिनन्दन वानिक्य, ध्रुव शर्मा आदि कवि–कलाकार जोडिए। सन् १९८१–८४ सम्म चलेको यो आन्दोलनको प्रमुख आरम्भकर्ता र सृजनाकर्ममा म नै प्रमुख भूमिकामा थिएँ। 

‘अश्वत्थामा हतोहतः’ जस्तो प्रयोगशील नाटक लेख्नुभयो। साहित्यमा नाटक विधाको वैशिष्ट्य के छ, जसले तपाईंलाई आकर्षित गर्‍यो ?

नाटक विधाहरूको पनि विधा हो। नाटकमा कविता छैन कि, कथा छैन कि ! योभन्दा ठूलो कुरा त नाटक आलेख भएर मात्र पूर्ण नाटक हुँदैन। जब कलाकारले मञ्चमा प्रस्तुत गर्छ, तब मात्र नाटक पूर्ण हुन्छ। त्यसमा अदृश्य–स्रोत अर्थात् निर्देशनको पनि निकै ठूलो भूमिका रहन्छ। आसामजस्तो नाटकको भूमिमा जन्मेको हुनाले बाल्यकालदेखि नै म यसतर्फ आकर्षित भएँ।

‘अविनाश श्रेष्ठले जुनसुकै काम गर्दा पनि, जस्तो पदमा रहँदा पनि सबैतिरबाट लेखन कर्म नै गरे’ भन्ने गरिन्छ। लेखनसँग यस्तो सामीप्य कसरी बन्यो ?

यो कुरा सुन्दा मलाई पनि सन्तोष नै लाग्छ। मैले ढिलो विवाह गरेको हुँ। विवाहअघि त म पूर्णकालीन लेखक नै थिएँ। जीवनको सम्पूर्ण ऊर्जा यसमै थियो। विवाहपछि भने एउटा उमेर परिवारलाई दिएँ। र, पनि पेशाकै रूपमा लेखन कर्मसँगै जोडिएका काम गरेँ।

किताब सम्पादन गरेँ। चलचित्र लेखेँ, पत्रकारिता गरेँ, साहित्यिक पत्रिकाको सम्पादनमा लामो समय बिताएँ। यसबाहेक मौलिक सृजना त छँदै छ। मेरो बानी के छ भने जे काममा हात हाल्छु, त्यसमा तन–मन दिएर होमिन्छु। यसरी जे काम गर्दा पनि लेखन मसँग जोडिएको छ, म लेखनसँग जोडिएको छु।

तपाईंले धेरै युवा लेखकको प्रथम रचना छाप्नुभएको छ। उनीहरूलाई प्रोत्साहन गर्नुहुन्छ र अघि बढाउने ऊर्जा दिनुहुन्छ। ‘योसँग प्रतिभा छ’ भन्ने चाहिँ कसरी थाहा हुन्छ तपाईंलाई ? 

उसको सिर्जना पढेपछि नै हो। एक जना भक्तपुरतिरको भाइ आएर ‘अन्ना राधाकृष्णको’ भन्ने कथा ल्याएर दिए। म आफैँले सम्पादन गरेर त्यो छापेँ। निकै उत्कृष्ट कथा थियो त्यो। कुमार नगरकोटीको कथा पनि सुरुमा मैले नै छापेको हुँ। नगरकोटीको एक जना साथी उनको कथा लिएर आएका थिए। ‘निकास’ भन्ने त्यो कथा मैले त्यही अंकको समकालीन साहित्यमा छापेँ। 

यसर्थ, टेक्स्ट गम्भीरतापूर्वक हेरेपछि नै उसको प्रतिभा थाहा हुन्छ। सचेत लेखकको शक्ति के हो भने पहिलो लेखमै प्रतिभा देखिन्छ। प्रतिभा नभएकाहरूको भने दोस्रो, तेस्रो र वर्षौंपछि लेखेको लेखमा पनि उही गल्ती देखिन्छ। 

लोकतन्त्र प्राप्तिपछि नेपाली कला र साहित्यको धारमा जुन परिवर्तन आयो, त्यो आज ओरालो लागेको देखिन्छ। पछिल्ला वर्षहरूको साहित्य, कला र सिनेमालाई कसरी हेर्नुभएको छ ? 

म अहिले सबैभन्दा फड्को मारेको क्षेत्र पत्रकारितालाई मान्छु। पछिल्लो दश वर्षमा पत्रकारिताले निकै उचाइ लिएको छ। यसले समाजको वास्तविक यथार्थ उतार्न सकेको छ। सबैभन्दा कमजोर भएको क्षेत्र चाहिँ संगीतजस्तो लाग्छ। सिनेमा राम्रो भएर आएको थियो। फेरि पछिल्लो पाँच वर्षदेखि यो पनि खस्किएको देखिन्छ। मान्छे बिक्ने कुराको मात्र पछि लागे।

साहित्यमा पनि एक–दुई जनालाई मात्र अगाडि ल्याइयो। जो बिक्छन्, उनीहरूको परिधिमा साहित्य घुमेको छ। अरूले यो कुरालाई ख्याल नगरे पनि मैले गम्भीरतापूर्वक लिएको छु। मैले यही सानो जीवनमा धेरै मानिस माथि चढेर खसेको देखेको छु। आजको बिकाउ साहित्यले हामीलाई कहीँ पुर्‍याउँदैन।

तपाईको कमेन्ट

छुटाउनु भयो कि