केके भएका थिए इतिहासमा यो साता?

writer

सम्पूर्ण

बिहिबार, १५ फागुन २०७६


फेब्रुअरी २७

सन् १९९१ को फेब्रुअरी २७ मा अमेरिकाले कुवेतलाई इराकी पञ्जाबाट मुक्त गरिएको घोषणा गर्‍यो। अमेरिकाका तर्फबाट राष्ट्रपति जर्ज बुसले यस्तो घोषणा गरेका थिए। अमेरिकासमेतको गोप्य समर्थनमा इराकी शासक सद्दाम हुसेनले इरानमाथि हमला गरेका थिए। इरानी सामथ्र्यलाई कम आँकेर गरिएको हमला इरानको सशक्त प्रतिरोधका कारण आठ वर्षसम्म चल्यो र इराकले स्वयं युद्धविराम प्रस्ताव गर्‍यो। युद्धमा भएको क्षतिपूर्ति गर्न सानो तथा सम्पन्न खाडी राष्ट्र कुवेतमाथि हठात् हमला गरी इराकी सेनाले कब्जा जमायो। साना राष्ट्रमाथि इराकले बलमिच्याइँ गरेको भन्दै अमेरिकाले कुवेतस्थित इराकी सेनामाथि हमला गरेर उनीहरूलाई कुवेतबाहिर निकाली कुवेतलाई मुक्त गर्‍यो।

फेब्रुअरी २८

सन् १९८७ को फेब्रुअरी २८ मा सोभियत संघ र अमेरिकाबीच युरोपलाई पारमाणविक हतियाररहित बनाउन पारमाणविक निश्शस्त्रीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो। त्यतिबेला युरोपमा अमेरिका र सोभियत संघ दुवैले हतियार तैनाथ गरेका थिए। ती हतियार हटाउन दुई महाशक्तिबीच भएको सो सन्धिलाई शीतयुद्धको महŒवपूर्ण घटना मानिन्छ। सोभियत संघका राष्ट्रपति मिखाइल गोर्बाचेभले अमेरिकासँग सन्धिको प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अमेरिका सहमत भयो। सन्धिमा गरिएको व्यवस्थाअनुरूप पूर्वी युरोपमा राखिएका सोभियत संघका पारमाणविक हतियार फिर्ता लगियो। पश्चिम युरोपमा अमेरिकाले तैनाथ गरेका यस्ता हतियार पनि हटाइयो। सोभियत संघको प्रभावक्षेत्रअन्तर्गत रहेको पूर्वी युरोपबाट पारमाणविक हतियार हटाउने गोर्बाचेभको निर्णयलाई लिएर सोभियत संघमा ठूलो विरोध भयो। उनलाई अमेरिकी एजेन्ट बनेको आरोपसम्म लगाइयो। 

फेब्रुअरी २९

सन् १९४० को फेब्रुअरी २९ मा अफ्रिकी–अमेरिकी अभिनेत्रीले पहिलो चोटि ओस्कार अवार्ड हात पारिन्। अभिनेत्री ह्याटी म्याकड्यानियल फिल्म क्षेत्रको विश्वप्रसिद्ध पुरस्कार ओस्कार प्राप्त गर्ने पहिलो अश्वेत अभिनेत्री भइन्। उनले फिल्म ‘गन विद द विन्ड’बाट सहायक भूमिकाका लागि यो अवार्ड प्राप्त गरेकी थिइन्। काला जातिका अभिनेता र अभिनेत्रीलाई हलिउड फिल्म उद्योगमा टिक्न गाह्रो हुने अवस्थामा उनले ओस्कार प्राप्त गरेकी थिइन्। उनले ओस्कार ग्रहण गर्दै आफ्नो जातिकै लागि सो पुरस्कार उपलब्धि भएको बताएकी थिइन्। ‘गन विद द विन्ड’ले आठ वटा ओस्कार जितेको थियो। 

मार्च १

सन् १९६१ को मार्च १ मा अमेरिकाले ‘पिस कोर’ नामक नयाँ अभियान सुरु गर्‍यो। अमेरिकी विदेश मन्त्रालयमातहत रहेर सञ्चालित हुने ‘पिस कोर’ कार्यक्रमले देश–विदेशबाट स्वयंसेवक जम्मा गरेर विभिन्न देशमा समाजसेवा गराउने लक्ष्य लिएको थियो। अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले यो कार्यक्रम अघि बढाइने घोषणा मार्च १ मा गरेका थिए। यसअन्तर्गत स्वयंसेवकहरूले अन्य मुलुकका मानिसलाई शिक्षालगायत क्षेत्रमा सहयोग गर्नुपर्ने, उनीहरूलाई अमेरिकी संस्कृतिबारे जानकार गराउनुपर्नेलगायत उद्देश्य राखिएका थिए। ‘पिस कोर’ कार्यक्रम नेपालमा समेत सञ्चालन भएको थियो। कार्यक्रमले समाजसेवाको आवरणमा अमेरिकी सैन्य आकांक्षा पूरा गर्न खोजेको र सोभियत संघविरोधी विश्व जनमत निर्माण गर्न खोजेको भन्दै कार्यक्रमको आलोचना पनि भएको थियो।

मार्च २

सन् १९६५ को मार्च २ मा अमेरिकी सेनाले ‘अपरेसन रोलिङ थन्डर’अन्तर्गत उत्तर भियतनामविरुद्ध भीषण हवाई हमला सुरु गरेको थियो। उत्तर भियतनामको सोम बाङ भन्ने ठाउँमा भियतनामी कम्युनिस्टहरूको अखडा छ भन्ने थाहा पाएर पनि अमेरिकाले उनीहरूलाई काबुमा राख्न सकेको थिएन। त्यसपछि हवाई हमला गरेर उनीहरूलाई तह लगाउने योजना बनाएको थियो। ‘अपरेसन रोलिङ थन्डर’अन्तर्गत भएका हमलामा सय वटा अमेरिकी बमवर्षक विमानले उत्तर भियतनाममा बम खसालेका थिए। नौ महिनासम्म बमबारी जारी रहेको थियो। यति गर्दा पनि अमेरिकी सेनाले आफ्नो उद्देश्य हासिल गर्न सकेन। 

मार्च ३

सन् २००२ को मार्च ३ मा स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघको सदस्य बन्ने निर्णय गरेको थियो। राष्ट्रसंघको सदस्य बन्ने÷नबन्ने विषयमा त्यहाँ जनमतसंग्रह हुँदा सदस्य बन्नुपर्छ भन्ने मत विजयी भएको थियो। राष्ट्रसंघको सदस्य बन्नुपर्छ भन्ने पक्षमा ५५ प्रतिशत मत खसेको थियो भने हुँदैन भन्ने पक्षमा ४५ प्रतिशत खसेको थियो। अन्तर्राष्ट्रिय सम्बन्धमा पूर्ण तटस्थताको नीति अवलम्बन गरेको स्विट्जरल्यान्डले राष्ट्रसंघको सदस्य बन्दा आफ्नो तटस्थतामा आँच आउला भन्ने सोचेर सदस्य बनेको थिएन। बेला–बेला राष्ट्रसंघमा मत विभाजन हुने गरेकाले जुनसुकै पक्षमा मत जाहेर गर्दा अथवा मौन रहँदा पनि स्विट्जरल्यान्डको तटस्थताको पूर्ण पालना नहुने भन्दै स्विट्जरल्यान्ड राष्ट्रसंघमा आबद्ध हुन नहुने स्वर त्यहाँ प्रबल थियो। तर, जनमतसंग्रहले त्यस्तो मत राख्नेलाई अल्पमतमा पारिदियो।

मार्च ४

सन् १९८० को मार्च ४ मा जिम्बावेका क्रान्तिकारी नेता रोबर्ट मुगावे निर्वाचनमार्फत प्रधानमन्त्री पदमा नियुक्त भए। जिम्बावेमा प्रधामन्त्री बन्न सफल पहिलो अश्वेत प्रधानमन्त्री उनी नै हुन्। त्यसअघि गोरा जातिका मानिसले त्यहाँ शासन गर्दै आएका थिए। जिम्बावे कुनै समय युरोपेली राष्ट्रहरूको उपनिवेश थियो। त्यसविरुद्ध मुगाबेले सशस्त्र तथा शान्तिपूर्ण संघर्षको नेतृत्व गरेका थिए। यस क्रममा उनले देशभक्त नेताको छवि बनाएका थिए। आफ्नो राजनीतिक क्रियाशीलतालाई उनले समाजवादी विचारधारासँग समेत एकाकार गराएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएपछि उनको छवि बदलिँदै गयो र उनी तानाशाह बन्न पुगे।   

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि