तातो–चिसो स्पाइसी नुडल्स

writer

अस्मिता खड्का

बिहिबार, १५ फागुन २०७६


जाडो मौसम होस् या गर्मी, थुक्पा, थेन्दुक, लाफिङ र स्पागेटीपारखीका लागि काठमाडौँ, बौद्धपछाडिको फूलबारी गल्ली राम्रो गन्तव्य मानिन्छ। यहाँका हरेक गल्लीमा यस्तै खाले परिकार पाक्ने खाजाघर र मिनी रेस्टुरेन्ट भेटिन्छन्। फूलबारी गल्लीमै अवस्थित छ, ‘टिबेटन स्पाइसी नुडल्स’। यसका सञ्चालक हुन्, शिला लामा। दुई वर्षअघि सञ्चालनमा आएको यो पारिवारिक एवं स्थानीय व्यवसाय हो। यहाँको नुडल्स स्वास्थ्यकर र स्पाइसी रहेको उनी बताउँछिन्। ‘स्पाइसी भए पनि स्वास्थ्यकर छ,’ उनी भन्छिन्, ‘‘कोल्ड एन्ड हट स्पाइसी नुडल्स विद डिफरेन्ट टेस्ट’– हाम्रो स्लोगन नै हो।’

स्पाइसी नुडल्स आफ्नै उत्पादन रहेको उनी बताउँछिन्। घरमा नुडल्स बनाउने काम उनका श्रीमान्ले गर्छन्। पसल र भान्छाको काम शिलाकी बहिनीहरूले सम्हालेका छन्। उनी आफू भने पालैपालो श्रीमान् र बहिनीलाई सघाउँछिन्। ‘म पहिला हाउसवाइफ थिएँ,’ उनी भन्छिन्, ‘घरको कामबाट फुर्सद भएपछि ‘फुड रेन्जर्स’ नामक टेलिभिजन सो हेर्थें। त्यहाँबाट मैले नयाँ–नयाँ परिकार बनाउन सिकेँ। आफूलाई मन परेका परिकार सुरुमा घरमै पकाउँथेँ। दिनैपिच्छे नयाँ परिकार पाक्दा घरमा सबै मक्ख पर्थे। घरका मान्छेलाई मात्र खुशी पारेर भएन। अलिकति पैसा पनि कमाउनुपर्‍यो भनेर रेस्टुरेन्ट खोल्ने सोच बनाएँ।’ नयाँ परिकारको स्वाद अरूलाई चखाउने सोचले उनले थोरै लगानीमा यो व्यवसाय सुरु गरिन्। उनले नुडल्ससँगै बेकरी पनि खोलेकी थिइन् तर त्यो चलेन। बन्द भयो। 

घरमा उत्पादन गरिने नुडल्स बजारमा पाइने प्याकेटको नुडल्सभन्दा नितान्त फरक हुने उनी बताउँछिन्। ‘हामी घरमै नुडल्स बनाउँछौँ,’ उनी भन्छिन्, ‘बजारमा पाइने नुडल्सभन्दा निकै फरक छ। घरमा नुडल्स बनाउने मेसिन राखेका छौँ। बजारबाट मैदा किन्छौं र विभिन्न आकारको नुडल्स तयार पार्छौं। चाउमिन, थुक्पा लगायतमा प्रयोग गरिने नुडल्सभन्दा निकै फरक र स्वास्थ्यकर रहेको छ।’

स्पागेटी, लाफिङ, मःमः, थुक्पा, थेन्दुक हट एन्ड स्पाइसी यहाँका विशेष परिकार हुन्। यहाँ तीन किसिमका स्पागेटी पाइन्छन्, झोल किमा स्पागेटी, पिस स्पागेटी र ड्राई स्पागेटी। भन्छिन्, ‘नुडल्सलाई ३० देखि ४५ मिनेटसम्म तातोपानीमा पकाउनुपर्छ।’ 

हट एन्ड स्पाइसीमा पाक्ने परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटक आफ्नो रेस्टुरेन्टमा आउने उनी बताउँछिन्। ‘हरेक दिन सयदेखि दुई सय ग्राहक त आएकै हुन्छन्,’ उनी भन्छिन्, ‘पिरो भए पनि हाम्रोमा पाइने सेसमी अचार ग्राहकले खूब मन पराउँछन्। भक्तपुर, कीर्तिपुरबाट पनि ग्राहक आउँछन्। कहिलेकाहीँ त बस्ने ठाउँ नै पुग्दैन।’ 

यहाँ पाइने सेसमी अचार अन्य ठाउँमा नपाइने शिला बताउँछिन्। भन्छिन्, ‘हामी धुलो खुर्सानी प्रयोग गर्दैनौँ। अचार बनाउने हाम्रो आफ्नै तरिका छ। सेसमी तेलमा खुर्सानी पकाउँछौँ। पाकेको खुर्सानीलाई फेरि सेसमीकै छोपमा मिसाएर सिसाको बट्टामा राख्छौँ। यसो गर्दा अचार स्वादिष्ट बन्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार