आईसीसी र बीसीसीआईको बिग्रियो सम्बन्ध

writer

सम्पूर्ण

बुधबार, १४ फागुन २०७६


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईको सम्बन्ध चिसिएको छ। आईसीसीले आफूलाई वास्ता नगरेको बीसीसीआईको ठहर छ। 

सन् २०३१ सम्मको क्रिकेट क्यालेन्डरमा कुन देश कुन प्रतियोगिता आयोजनाका लागि इच्छुक छन् भनेर बुझ्न आईसीसीका प्रमुख कार्यकारी अधिकृत मनु सवानीले केही देशको भ्रमण गरेका थिए। तर, त्यो भ्रमणमा भारत छुटेपछि बीसीसीआई रुष्ट बनेको छ। त्यो भ्रमणअघि आईसीसीले यसबारे जानकारी गराउन सबै सदस्य देशलाई पत्राचार पनि गरेको थियो। पत्रको जवाफमा बीसीसीआईले आफ्नो केही फरक मत र केही नयाँ प्रस्ताव राखेको थियो। आईसीसीले त्यसको जवाफ पनि पठाएको छैन। आफ्नो फरक मतमा जवाफ नपाएको र आईसीसीका मुखिया भारत पनि नआएकाले बीसीसीआईले आईसीसीमाथि शंका गरेको छ। कतै आईसीसी भारतलाई बेवास्ता गरेर अघि बढ्ने त होइन भन्ने डर बीसीसीआईलाई छ। उसले  आईसीसीले गर्ने आधा आम्दानी भारतसँग जोडिएको दाबी गर्दै आएको छ। 

सन् २०३१ सम्म हुने आईसीसीका मुख्य नौ वटा प्रतियोगिताको आयोजना अधिकारका बारेमा आउँदो महिना यूएई, दुबईमा बस्ने आईसीसीको बैठकमा निर्णय हुनेछ। यस बैठकमा भारतले आफ्ना सबै असन्तुष्टि राख्ने तयारी गरिरहेको छ।

आईसीसीले भने भारतका सबै प्रस्तावका बारेमा गत अक्टोबरको बैठकमा नै छलफल गरिसकेको छ। त्यस बैठकमा बीसीसीआईका कार्यवाहक महासचिव अमिताभ चौधरीले भाग लिएका थिए। तर, बीसीसीआईको बोर्डले चौधरीलाई आईसीसीको बैठकमा भाग लिन जान अनुमति दिएको थिएन। बिनाअनुमति बैठकमा गएका चौधरीले बैठकका निर्णयबारे बीसीसीआईलाई पनि जानकारी गराएका छैनन्। त्यसैले पनि क्रिकेटका यी दुई संस्थाबीच सम्बन्ध बिग्रिएको हुन सक्ने अनुमान छ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि