आइडल बनाउने ‘ब्याकअप’

writer

सृजना खड्का

बुधबार, १४ फागुन २०७६


‘नेपाल आइडल’ को ब्यान्डमा १० जना सदस्य छन्। कतिपय पहिलो सिजनदेखि नै आइडलमा आबद्ध छन् भने कोही दोस्रो सिजनदेखि जोडिन आइपुगेका हुन्।


एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी सो ‘नेपाल आइडल सिजन’ को तेस्रो संस्करण संगीतप्रेमीमाझ निकै चर्चित छ। ‘पपुलर सो’ मा बज्ने संगीतको पनि धेरैले प्रशंसा गर्ने गरेका छन्। तर, सोमा आक्कलझुक्कल मात्र देखिन्छ ब्यान्डका सदस्यको अनुहार। उनीहरूलाई कतिपयले ‘पर्दापछाडिका हिरो’ भन्ने गरेका छन्।

आइडलका ब्यान्डमा १० जना संगीत साधक छन्। हार्मोनियम सप्तरीका मनेन्द्रकुमार र  काठमाडाँै, नयाँबजारका रूपम सिंह गुरुङले बजाउँछन्। लमजुङका शम्भु बानियाँ र भारतका बीपी सिंह पर्कसनमा छन्। दमकका कृष्ण लिम्बू बेसमा छन्। सर्लाहीका सञ्जीव मैनाली बाँसुरी बजाउँछन्। काठमाडौँ, चुच्चेपाटीका हरिशरण गुरुङ र दार्जिलिङका देवाशिष तामाङ गिटार बजाउँछन्। काठमाडाँै, नयाँबजारका रूपेश सिंह गुरुङ र कीर्तिपुरका सुन्दरकुमार महर्जन ड्रम बजाउँछन्। रूपम र रूपेश दाजुभाइ हुन्। ब्यान्डका सदस्यले प्रतियोगीहरूको प्रत्येक प्रस्तुतिमा वाद्यवादन बजाएर आइडलको मञ्चलाई गुन्जायमान बनाउँछन्।

ब्यान्डका कतिपय सदस्य पहिलो सिजनदेखि नै आइडलमा आबद्ध छन् भने कोही दोस्रो सिजनदेखि जोडिन आइपुगेका हुन्। आइडलमा ब्यान्डका रूपमा काम गरिरहेका उनीहरू एउटै ब्यान्डका सदस्य भने होइनन्। कसैले गायक–गायिकासँग मिलेर काम गरिरहेका छन् भने कोही–कोही ‘फ्रिलेन्सर’ छन्। उनीहरू सबैलाई लाग्छ– ‘राम्रो कला भएको संगीतकर्मी आफँैमा एउटा ब्यान्ड हो।’

अवसरसँगै चुनौती

आइडलको सुटिङ हुने केही दिनअघि उनीहरूको हातमा प्रतियोगीले गाउने गीतको लिस्ट आइपुग्छ। त्यहीअनुसार उनीहरू अभ्यासमा लाग्छन्। आइडलले आफूहरूलाई चुनौती र अवसर दुवै दिएको उनीहरू बताउँछन्। ‘प्रतियोगीले एउटा गीतमा अभ्यास गरे पुग्छ,’ ब्यान्डका सदस्य कृष्ण लिम्बू भन्छन्, ‘हामी २०–३० वटा गीतलाई सेकेन्ड–सेकेन्ड केलाएर त्यसमा अभ्यास गर्छौं। त्यो पनि सोलो होइन, समूहमा। तर, यसले हामीलाई चुनौतीसँगै सिक्ने अवसर सिर्जना गरिदिएको छ।’ 

नेपाल आइडलको हलमा अभ्यास गर्नु छँदै छ, त्यसबाहेक उनीहरू आ–आफ्नो घरमा पनि अभ्यास गर्छन्। ‘आइडलको मञ्च हाम्रो लागि स्कुल हो,’ ड्रमर सुन्दरकुमार महर्जन  भन्छन्, ‘त्यसका लागि हामी घरमा पनि गृहकार्य गर्छौं। पहिलो सिजनमा गाइसकेको गीत भए पनि फेरि अभ्यास गर्नुपर्छ। प्रतियोगीको आवाजअनुसार त्यसको स्केलमा परिवर्तन ल्याउनुपर्छ।’ 

आइडलका प्रतियोगीहरूले आधुनिक, लोक, रक र फिल्मी सबै खालका गीत गाउँछन्। ब्यान्डका सदस्यले उनीहरूले गाउने हरेक गीतमा पोख्त तरिकाले संगीत भर्छन्। ‘सबैको आ–आफ्नो विधा हुन्छ,’ रूपम सिंह गुरुङ भन्छन्, ‘रक बजाउनेलाई लोक बजाउन गाह्रो हुन्छ, लोक बजाउनेलाई रक। तर, हामी जस्तो पनि बजाउँछौँ। यही नै हाम्रो विशेषता हो।’ 

संगीतमा लाग्नु तपस्या गर्नुजस्तै भएको ब्यान्डका सदस्य बताउँछन्। संगीतबिनाको गीत खल्लो हुने उनीहरूको बुझाइ छ। ‘संगीतबिनाको गायकी खल्लो हुन्छ,’ कृष्ण भन्छन्, ‘संगीतबिनाको गीत सुन्दा कस्तो सुनिएला ? नुनबिनाको तरकारीजस्तै।’

सुन्दरलाई भने संगीतले गीतमा प्राण भर्छ भन्ने लाग्छ। ‘गीतलाई स्वादिलो बनाउन संगीत चाहिन्छ,’ उनी भन्छन्, ‘तरकारी पकाउन चाहिने मरमसलाजस्तै हामी पनि गीतलाई मीठो बनाउन चाहिने मरमसला हौँ।’ उनको कुरामा बीपी सिंह पनि सहमत छन्। ‘गायकगायिका बेहुला–बेहुली हुन्,’ बीपी भन्छन्, ‘हामी उनीहरूलाई सिँगार्ने गरगहना र मेकअप हौँ। हामीबिना उनीहरू र उनीहरूबिना हामी अपुरा छौं।’ 

आइडलका प्रतियोगी सुरु–सुरुमा ब्यान्डका सदस्यदेखि डराउँछन्। ‘सामान्य रूपमा गाइरहेका उनीहरू एकैचोटि म्युजिसियन र स्टेज देख्दा नर्भस हुन्छन्,’ गिटारिस्ट हरिशरण गुरुङ भन्छन्, ‘तर, हामी उनीहरूसँग घुलमिल भएर सहज वातावरण बनाइदिन्छाँै। स्टेजमा ढुक्क भएर गाउने हौसला दिन्छौं।’      

नेपालमा यस्तो खालको फ्रेन्चाइज सो आउनुलाई यी संगीत साधकहरूले ठूलो अवसरका रूपमा लिएका छन्। ‘यसले नयाँ प्रतिभा र संगीतकर्मीलाई मात्र नभएर सयौँलाई रोजगारी दिएको छ,’ सञ्जीव मैनालीले भने, ‘यसले संगीतप्रति मान्छेको धारणा परिवर्तन गरिदिएको छ।’

कथा आ–आफ्नै

ड्रमर सुन्दरले सानैदेखि सांगीतिक माहोल पाए। उनका बुबा पनि संगीतकर्मी थिए। तबलाका साधारण ताल उनले बुबाको हात समाउँदै सिके। उनका दाइ पनि गायक हुन्। घरको माहौल नै संगीतमय भएकाले उनलाई संगीत सिक्न कुनै रोकटोक थिएन। स्कुलमा मादल बजाउन सिकाउने घनराज सुब्बालाई उनी अहिले पनि सम्झिरहन्छन्। सुन्दरले डोरेमी संगीत पाठशालामा तबला सिकेका हुन्। धेरैपछि मात्र उनलाई राजु गुरुङले ड्रम सिकाए। ‘सविन राई, अभया सुब्बालगायत गायक–गायिकाका लागि बजाउने ड्रमरलाई राजु सरले स्पेसल क्लास दिनुहुन्थ्यो,’ सुन्दर भन्छन्।

कृष्णले दमकमा नै साथीभाइसँग मिलेर एउटा ब्यान्ड बनाएका थिए। तर, त्यो ब्यान्डबाट अहिले उनी मात्रै संगीतमा सक्रिय छन्। उनको पालामा दमकमा संगीतको खासै माहौल थिएन। ‘कसैले गिटार बजाएको देख्दा पनि मान्छेले अचम्म मान्थे,’ कृष्ण भन्छन्। काठमाडौँ आएर डोरेमीमा संगीत सिक्न थालेपछि उनको संगीतयात्रा सुरु भयो। उनी संगीतमा लागेको १८ वर्ष भयो। काठमाडौँले आफूलाई संगीत मात्र नभई संघर्ष गर्न पनि सिकाएको उनी बताउँछन्। ‘सुरु–सुरुमा मेलोमेसो नपाउँदा निकै दुःख पाइयो,’ उनी भन्छिन्, ‘धेरै हन्डर खाइयो। बिस्तारै संगीत र काठमाडौँबारे बुझ्दै गएँ।’ 

मनेन्द्रकुमार सांगीतिक क्षेत्रमा परिचित नाम हो। उनी नेपाल आइडल ब्यान्डका संयोजक पनि हुन्। घरमा काकाले हार्मोनियम बजाएको सुनेर उनी हुर्किए। सानोमा स्कुलको एउटा कार्यक्रममा उनले हार्मोनियम बजाएका थिए। उनी पनि डोरेमीका विद्यार्थी हुन्। उनी म्युजिकल इन्स्ट्रुमेन्टका टेक्जिसियन पनि हुन्। नेपालका प्रायः संगीतकर्मीको म्युजिकल इन्ट्रुमेन्ट बिग्रिए उनीकहाँ नै जान्छन्। शिव परियारको ‘पिउँदिन भन्दा भन्दै’ गीतमा उनले हार्मोनियम बजाएका छन्। उनी आइडलमा पहिलो सिजनदेखि नै काम गरिरहेका छन्। 

गिटारिस्ट हरिशरण टोलका दाइहरूले गिटार बजाएको देखेर हुर्किए। यो  क्षेत्रमा उनलाई परिवारको सहयोग थिएन। ‘परिवार र आफन्त लाहुरे भएकाले उनीहरू म पनि लाहुरे भएको हेर्न चाहन्थे,’ उनी भन्छन्, ‘तर, मेरो रुचि संगीतमा भएपछि यतैतिर लागेँ।’ उनले नेपालका धेरै चर्चित गायक–गायिकासँग काम गरेका छन्। 

हार्मोनियममा दाइ, ड्रममा भाइ

काठमाडाँैमा जन्मिएका ड्रमर रूपेश सिंह गुरुङ भारतमा हुर्किए। संगीतमा उनले रहर गरेको देखेर बुबाले उनलाई साथ दिए। उनी बसेको ठाउँमा सांगीतिक माहौल थियो। काठमाडौँ आएपछि बिस्तारै उनले बारहरूमा ड्रम बजाउन थाले। 

उनका दाइ रूपम पनि उनीसँगै अहिले आइडलमा काम गरिरहेका छन्। उनी भारतीय एयर फोर्सको जागिर छाडेर संगीतमा लागेका हुन्। ‘यो क्षेत्रमा लागिसक्दा दाइ मेरो सो हेर्न आउनुहुन्यो,’ रूपेश भन्छन्, ‘पछि उहाँलाई पनि संगीतमै केही गर्छु भन्ने लाग्यो र यही क्षेत्रमा आउनुभयो।’ 

भारतको जागिर छोड्दा आफूलाई अप्ठ्यारो नलागेको रूपम बताउँछन्। ‘संगीतकर्मीका रूपमा मलाई धेरैले चिनेका छन्,’ उनी भन्छन्, ‘जागिरे भएको भए एउटा ठाउँमा मात्र सीमित हुन्थेँ। हुन त सांगीतिक क्षेत्रमा रिटायर्ड भइँदैन, पेन्सन पनि आउँदैन। तैपनि, मनमा छुट्टै आनन्दको अनुभूति हुन्छ।’

बाँसुरी मोह

नेपाल आइडलमा गुञ्जिने बाँसुरीको धुन सञ्जीव मैनालीले बजाउँछन्। सानो बेला उनले एक दिन धानको भकारीमा बाँसुरी भेटेका थिए। त्यहीबाट उनको बाँसुरीयात्रा सुरु भएको थियो। ‘सुरुमा भेटेको चिज बाँसुरी हो भन्ने नै थाहा थिएन,’ उनी भन्छन्, ‘जानी नजानी फुकेको देखेर गाउँको एक जना दाइले बजाउन सिकाउनुभयो।’ 

त्यही बाँसुरीमा उनले आफ्नो करिअर देखे। तर, परिवारले संगीत नबुझेकाले खासै साथ नपाएको उनी बताउँछन्। ‘घरको दैलोमा बसेर बजाउँदा दाइले साइत बिग्रियो भनेर एक दिन बाँसुरी उखुबारीमा फ्याँकिदिनुभयो,’ उनी भन्छन्, ‘तैपनि, मैले बजाउन छाडिनँ।’

अहिले सञ्जीव आइडलसँगै स्टुडियोको काममा पनि एकदमै धेरै व्यस्त हुन्छन्। ‘मैले बाँसुरी बजाएका नेपाली हिट गीत धेरै छन्,’ उनी भन्छन्। 

जोजो, बीपी र साधक शम्भु

गिटारिस्ट देवाशिष तामाङलाई आइडलका ब्यान्डका साथीहरूले ‘जोजो’ भनेर बोलाउँछन्। उनी पहिलो सिजनदेखि नै आइडलमा आबद्ध छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने सांगीतिक रियालिटी सो ‘नेपाली तारा’मा पनि गिटार बजाएका थिए। ‘यस्ता रियालिटी सोले हामीलाई संगीतमा केही गर्ने ठाउँ दिएको छ,’ उनी भन्छन्, ‘यस्तो ठाउँले हामीलाई मेहनत गर्न सिकाएको छ। हामी सबै साथीहरू एकअर्कामा भएको ज्ञान लिन्छौँ र दिन्छौं।’ 

सानैदेखि उनी संगीतमा रुचि राख्थे। ‘दार्जिलिङ हुँदा नेपाली गीत–संगीत एकदमै सुन्थेँ,’ उनी भन्छन्, ‘नेपथ्यका गीत सुन्थेँ। बिस्तारै म पनि संगीततिर तानिएँ।’ 

बीपीलाई पनि सानैदेखि अरूले तबला बजाएको देख्दा बजाउने रहर हुन्थ्यो। तबला बजाउन सुरु गर्दा उनी चार–पाँच वर्षका थिए। सात वर्षको उमेरमा उनले स्टेजमा तबला बजाएका थिए। १६ वर्षमा उनी व्यावसायिक तबलावादक भइसकेका थिए। 

उनको परिवारले व्यवसाय गर्छ। कोही पनि सांगीतिक क्षेत्रमा छैन। काठमाडौँमा आएपछि उनले आफ्नो सांगीतिक सर्कल बढाए। मनेन्द्रले उनलाई यो क्षेत्रमा धेरै सघाएका छन्। ब्यान्डका धेरै सदस्यसँग उनको पुरानो सम्बन्ध छ। ‘नेपाली तारा’मा उनले पनि बजाएका थिए। उनको आफ्नै रेकर्डिङ स्टुडियो छ। उनले संगीतबाहेकको दोस्रो संसार देखेका छैनन्। 

शम्भु पनि सानैदेखि संगीतमा लागे। वरिष्ठ तबलावादक स्व. रविनलाल श्रेष्ठलाई उनी आफ्नो गुरु मान्छन्। उनले नै आफूलाई यहाँसम्म ल्याएको उनी बताउँछन्। ‘त्यो बेला रुमलिएको थिएँ,’ उनी भन्छन्, ‘म जुनसुकै बाजा पनि बजाउन सक्थेँ। आफूलाई चिनेको थिइनँ। उहाँले मभित्रको कलाकार चिन्नुभयो। फोकस्ड हुन सिकाउनुभयो।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि