देशका आमाहरूको कथा

writer

सामीप्यराज तिमल्सेना

बुधबार, १४ फागुन २०७६


पछिल्लो समय नेपाली समाजमा आएको परिवर्तनले कसैलाई धेरै असर गरेको छ भने ती आमाबाबु नै हुन्। जीवनका आवश्यकता र महत्त्वाकांक्षा पूरा गर्ने मोहमा नेपालमा यस्तो एउटा परिवार पाउन मुश्किल छ, जसका सन्तान परदेशिएका नहून्। नेपाली समाजको यो कठोर यथार्थलाई फिल्म ‘आमा’ले सूक्ष्म रूपमा अभिव्यक्त गरेको छ। 


सिनेमा र साहित्यले सम्भवत: सबैभन्दा बढी प्रयोग गरेको ‘इमोसनल इमेजरी’ आमा हो। त्यसैले संसारभर ‘आमा’ शब्द मात्र नभएर खास संवेदना जनाउने सशक्त भावनाका रूपमा प्रचलित छ। कसैले आमालाई ममताकी खानीका रूपमा चित्रण गर्ने गरेका छन् त कसैले करुणा र सहनशीलताको पर्यायका रूपमा। पूर्वीय दर्शनमा भनिएकै छ, ‘कुपुत्रो जायेत क्वचिदपी कुमाता नभवति।’ अर्थात्, छोरा कुपुत्र हुन सक्छ तर आमा कदापि कुमाता हुन सक्दिनन्। आमाका यही गुणलाई केही साहित्यले अमर पनि बनाएका छन्। म्याक्सिम गोर्कीको ‘आमा’ , महाश्वेती देवीको ‘हजार चौरासी की माँ’ केही यस्ता कालजयी कृति हुन्, जसको सम्झना मात्रले पनि धेरैका आँखा द्रवित हुन्छन्। 

नेपाली सिनेमा पनि आमाको यो ‘इमोसन’ दोहन गर्ने मामलामा धेरै अगाडि छ। कम्तीमा दर्जन फिल्म त यही नामलाई ओल्टाइपल्टाई गरेर बनाइएका छन्। यसमा नेपालको पहिलो फिल्म यही नामबाट बन्नु संयोग त छँदै छ। हिरासिंह खत्रीको निर्देशनमा २०२० सालमा बनेको ‘आमा’लाई नेपाली भाषामा बनेको पहिलो फिल्म मानिन्छ। त्यसबाहेक ‘आमाको माया’, ‘आमाको काख’, ‘आमाको आशीर्वाद’, ‘मेरी आमा’, ‘मेरी मामु’ आदि नाममा थुप्रै नेपाली फिल्म बनेका छन्। 

आमाका दु:खलाई केन्द्रमा राखेर बनेका यी सबै फिल्मको समान विशेषता थियो, आमाको संवेदनामा दर्शक कज्याउने। गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ पनि यस मानेमा अछुतो छैन, तर दर्शक कज्याउन यसले जुन शिल्प र शैली अँगालेको छ, त्यसले यसलाई आमाहरूको भीडमा विशिष्ट बनाएको छ। ‘आमा’मार्फत दीपेन्द्रले प्रवाह गर्न खोजेको संवेदना पूर्ववत् भए पनि उनले आमाहरू र समाजको अन्तरक्रियालाई जसरी पटकथामा उनेका छन्, त्यसले दर्शकलाई फिल्म नहेरेर आफ्नै वरिपरिका कथा हेरेको आभास दिलाउँछ, जुन यसअघिका ‘आमा’मा यति कलात्मक हिसाबले पोखिएको थिएन।  यो फिल्मको पहिलो सफलता नै यही हो कि फिल्म हेरिरहँदा कतै पनि दर्शकले यसलाई फिल्मी महसुस गर्दैनन्। कथामा आफू र आफ्नो परिवेश अनुभूत गर्छन्। 

फिल्ममा तीन आमा छन्, मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त। मिथिलाले यस्ता आमाहरूको प्रतिनिधित्व गरेकी छिन्, जसको छोरो परदेशमा छ। श्रीमान् दुर्घटनामा परेर अचेत भएपछि उनी अमेरिका रहेको छोरो फर्केर आउने आशमा छिन्। सरिता पनि छोराकै पर्खाइमा छिन् तर उनको छोरो मिथिलाको जस्तो परदेशबाट नभई भेन्टिलेटरको सिमाना तोडेर आउनुपर्नेछ। जन्म दिएलगत्तै बिरामी भएर भेन्टिलेटरमा राखेको छोरो कहिले काखमा राखेर खेलाउन पाइएला ? सरिता यही दिनको पर्खाइमा छिन्। उता सुरक्षा पनि सन्तानकै पर्खाइमा छिन्, जो विवाह भएको लामो समय भइसक्दा पनि उनको गर्भमा आउन सकेको छैन। सुरक्षा टेस्टट्युब गरेर भए पनि आमा बन्ने प्रयत्नमा छिन्। यसरी फिल्मले तीन आमाका कथामार्फत सिंगो समाजका आमालाई पर्दामा प्रस्तुत गरेको छ। दीपेन्द्र के खनालकृत ‘आमा’मा सन्तानसँग जोडिएका तिनका सपना भिन्न होलान्, तर पीडा समान छन्। छायांकार, पटकथाकार र निर्देशकको तेहरो जिम्मेवारी सम्हालेका दीपेन्द्रले आमाहरूको यो दु:खी दुनियाँलाई वक्तव्यबाजी नगरी, मन छुने गरी वाचन गरेका छन्। 

सानो क्यानभासमा पनि ठूलो सन्देश दिनमा दीपेन्द्रले आफूलाई प्रमाणित गरिसकेका हुन्। ‘झोले’ मा वैदेशिक रोजगारीको बाध्यतालाई ‘ब्ल्याक ह्युमर’ शैलीमार्फत पस्केका उनले ‘पशुपतिप्रसाद’मा सानो सपनामा बाँचिरहेको चरित्रको दुभाग्र्यपूर्ण अवसानलाई चोटिलो गरी प्रस्तुत गरेका थिए। त्यसपछिका दुई फिल्म ‘धनपति’ र ‘चंगा चेट’मा लय गुमाएका दीपेन्द्र ‘आमा’मार्फत फेरि एक पटक एक ट्र्याकमा फर्किएका छन्। ‘आमा’मा उनले देखाएको शिल्पले कम्तीमा नेपाली फिल्म अझै पनि निजत्वसहित प्रतिस्पर्धाको बाटोमा हिँड्न तयार रहेको संकेत दिन्छ।

पछिल्लो समय नेपाली समाजमा आएको परिवर्तनले कसैलाई धेरै असर गरेको छ भने ती आमाबाबु नै हुन्। जीवनका आवश्यकता र महत्त्वाकांक्षा पूरा गर्ने मोहमा नेपालमा यस्तो एउटा परिवार पाउन मुश्किल छ, जसका सन्तान परदेशिएका नहून्। नेपाली समाजको यो कठोर यथार्थलाई फिल्मले सूक्ष्म रूपमा अभिव्यक्त गरेको छ। सतहमा हेर्दा फिल्म तीन आमाको संवेदनामा केन्द्रितजस्तो लागे पनि यसले सन्तानको आश गर्दागर्दै प्राण त्याग्न बाध्य हुने आमाबाउको नियतिलाई संकेत गरेको छ। जुन भोलिका दिनमा झन् भयावह बन्दै जाने निश्चित छ। त्यसैले त आईसीयूमा अचेत रहँदा पनि देशभक्त खनालका आँखा घरीघरी ढोकामा अड्किरहन्छन्। श्रीमान्को यो मर्म बुझेकी मिथिला यही कारण जवाफ फर्काउन नसक्ने श्रीमान्सँग पनि एक्लै बर्बराउँछिन्, ‘छोरा मिलाएर आइहाल्छ रे। सुर्ता नलिनू। झट्टै आइहाल्छु भनेको छ।’  नेपालमा कुन यस्तो परिवार होला, जसका आमाबाबु संकटको समयमा छोराछोरीको आश नगर्दा हुन् ?  

सिनेमाका लागि कथा साध्य हो भने प्रविधि साधन। यही साध्य र साधनको मिल्दो सम्मिश्रणले मात्र सिनेमा जीवन्त बन्छ। ‘आमा’ पनि साध्य र साधनको यही संगमले दर्शनीय बनेको छ। यसको पहिलो जस जान्छ, निर्देशक दीपेन्द्रलाई। यस फिल्ममा उनले लेखक र छायांकारको पनि भूमिका निर्वाह गरेका छन्। यसले पनि उनलाई चाहेको परिणाम निकाल्न सहज भएको छ। छायांकारका रूपमा उनले ठाउँठाउँमा गज्जबको ब्लकिङ गरेका छन् भने फिल्मलाई ४:३ को रेसियोमा खिच्ने प्रयोग गरेका छन्, जसले सही परिणाम दिएको छ। फिल्ममा ४:३ को एस्पेक्ट रेसियोमा त्यतिबेला फिल्म खिचिन्छ, जब निर्देशकलाई फिल्मका पात्रसँग दर्शकलाई एकाकार गराउनुपर्ने हुन्छ। अहिले विश्वमा प्रचलनमा रहेको रेसियोको तुलनामा ४:३ को फ्रेम कलाकारको टाउकोले भरिन्छ र कलाकारको सानोसानो हरकत पनि दर्शकसम्म सञ्चारित हुन्छ। छायांकनको यो छनोटका कारण पनि फिल्मका पात्र दर्शकसँग सजिलै अन्तरक्रिया गर्छन्। उनको यो छनोटलाई पात्रहरूको खुम्चिएको दुनियाँका रूपमा चित्रण गर्न पनि सकिन्छ। किनकि, पर्दामा चलमलाउने जति पनि पात्र छन्, उनीहरूको जीवन वाइडस्क्रिन छैन, हाफस्क्रिन छ। जीवन त छ तर जीवनमा इन्द्रेणीका सबै रङ छैनन्। 

छायांकनसँगै फिल्मलाई कलाकारको अभिनयले पनि बलियो बनाएको छ। फिल्मलाई मिथिलाले सर्लक्क आफ्नो काँधमा बोकेकी छिन्, सुरक्षा र सरिताले उनको काँधलाई बलियो टेको दिएका छन्। यसमा पनि हल छाड्दा पनि नछाडिने चरित्र सरिताको हो। पर्दामा धेरै स्पेस नपाएकी उनको चरित्रले भने नबोलेरै पनि धेरै बोलेको छ। लेखकले उनको चरित्रलाई थप एक्स्प्लोर गरेको भए, फिल्म थप रोचक हुन सक्थ्यो। यसबाहेक सानोसानो भूमिकामा देखिने आशान्त शर्मा, मनीष निरौला, लक्ष्मी भुसाल आदिले पनि चरित्रलाई आत्मसात् गरेका छन्। तर, पर्दामा नदेखिए पनि रोचक लाग्ने चरित्र अर्पण थापाको हो। फिल्मभरि भ्वाइसओभरमा मात्र सुनिने उनले विदेशिएको छोराको तड्पनलाई पर्दामा जीवन्त बनाएका छन्। 

यति हुँदाहुँदै पनि निर्देशक दीपेन्द्र कथावाचनमा भने थोरै बहकिएका छन्। जस्तो कि, कथा तीन आमाको दुनियाँ दर्शकलाई एक्स्प्लोर गर्नमा केन्द्रित छ तर निर्देशकका रूपमा उनले फिल्मलाई यहीँ मात्र सीमित गरेका छैनन्, अस्पतालको बदमासी देखाउनमा पनि प्रशस्त सिन खर्चिएका छन्। यसका लागि उनले कलाकारलाई काउन्टरमा बारम्बार पैसा डिस्काउन्ट गर्न पुर्‍याएका छन्, जुन रिपिटिटिभ लाग्छ। सुरुका केही दृश्यले नै अस्पतालको स्ट्यान्ड स्पष्ट पारिसकेका छन्। तर, राजधानीका नाम चलेकै अस्पताल मिर्गौला तस्करी काण्डदेखि सरोगेसीको अवैध काण्डमा संलग्न भइरहेको समाचार आइरहँदा पैसाकै लागि मरिसकेको मान्छेलाई भेन्टिलेटरमा राखिरहन चाहने अस्पताल मालिकको दुर्नियतको झलक देखाएर यो क्षेत्रको विकृतिमाथि फिल्मले दनक दिएको छ। सँगै, नयाँ डाक्टरले विद्रोह गरेको देखाएर निर्देशकले समग्र पेशालाई होइन, व्यक्तिलाई गलत देखाएको हो भन्ने सन्देश पनि दिएका छन्। 

मौन युगका प्रसिद्ध अभिनेता चार्ली च्याप्लिनले भनेका छन्, ‘म सधैँ पानीमा हिँड्न रुचाउँछु, ताकि कसैले म रोएको नदेखोस्।’ च्याप्लिनको यही भनाइसँग मेल खाने गरी फिल्मको पूरा अवधिभर निर्देशकले पानी पारेका छन्। यसरी नै झमझम पानी परिरहेको समयमा मिथिलालाई धेरै पटक यताउति गराइएको छ। निर्देशकले पानीलाई आमाको आँशुसँग तुलना गर्न खोजेकोमा कुनै शंका छैन तर संसारभरका फिल्ममा प्रयोग भइसकेको यो सबैभन्दा बासी विम्ब हो। यस्तै विम्ब उनले घडीमा पनि प्रयोग गरेका छन्, जुन स्वाभाविक रूपमा पर्दामा आएको छैन। यस्तै सुरक्षाका श्रीमान् बनेका मनीष निरौला र लक्ष्मी भुसालको स्वभावमा आएको परिवर्तन पनि हठात् लाग्छ। 

बलिउड निर्देशक प्रकाश झाले फिल्म भनेको व्यापार हो भने भनेर नेपालका केही फिल्मकर्मी यतिबेला दंग छन्। तर, निर्देशक दीपेन्द्रले ‘आमा’ बनाएर फिल्म पैसा कमाउने कमोडिटी मात्र नभई सिर्जना पनि हो भन्ने मत राख्नेलाई चित्त बुझाउने आधार दिएका छन्। ‘आमा’मा क्षम्य कमजोरी छन्, तर व्यापार र बजारका नाममा बेतुकका कमेडीले दर्शक बिच्काइरहेको समयमा यस्तो फिल्म आउनु नेपाली सिनेमाका लागि सुखद कुरा हो।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि